३ भदौ, काठमाडौं ।
सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल–७ स्थित तिपेनी क्षेत्रीय अस्पतालको माथिल्लो भागमा सुख्खा पहिरो जाँदा इन्द्रावती नदी आंशिक रुपमा थुनिएको छ ।
जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका एसपी सन्तोष खड्काका अनुसार, पहिरो जाँदा ढुंगा माटोसहितको गेग्रान नदीमा खस्दा आंशिक थुनिएको हो । यद्यपि, तत्काल थप खतराको सम्भावना नरहेको उनले बताए ।‘फेरि पहिरो गयो भने नदीको वहावमा अवरोध भएर गाउँ वस्तीतिर समस्या गर्छ कि भन्ने हो, अहिलेकै अवस्था चाहिँ खतरामुक्त नै हो’, उनले भने, ‘त्यसका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली स्ट्याण्ड बाई छ ।’आवश्यक परे विष्फोट गराएर भएपनि खोल्ने गरी तयारी अवस्थामा रहेको उनले बताए ।
नेपाली सेनाका अनुसार, पहिरो गएपछि जोखिममा रहेका स्थानीय तथा अस्पतालका सामग्रीहरु सुरक्षित स्थानमा सार्न सेनाको इन्द्रध्वज गणबाट फौज खटिएको छ ।जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकले विज्ञप्ति जारी गरेर खोलामा एक्कासी बाढी आउन सक्ने जोखिम भएको भन्दै पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं। ७, ८ तथा मेलम्ची नगरपालिका वडा नं। ७, ९, ११, १२, १३ र इन्द्रावती गाउँपालिका १०, ११ र १२ लगायतका तटिय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई उच्च सतर्कता अपनाउन भनेको छ ।