८ भदौं, चितवन ।
तनहुँको आँबुखैरेनीस्थित ऐना पहरा नजिकै भएको बस दुर्घटनामा मृत्यु भएका २७ जनाको शवको भरतपुर अस्पतालमा पोष्टमार्टम थालिएको छ ।बिहान ८ बजेदेखि पोष्टमार्टम सुरु गरिएको छ। मध्यान्न १२ बजेसम्म सबै शवहरुको पोष्टमार्टम सकेर सम्बन्धित पक्षलाई जिम्मा लगाइने छ ।
अस्पतालका फरेन्सिक चिकित्सक डा. कश्यप श्रेष्ठको नेतृत्वमा ३ जना चिकित्सकहरुको टोलीले शवहरुको पोष्टमार्टम गरिरहेको छ ।दुर्घटनामा परेर मृत्यु भएकाहरुको शव पोखरा लैजाने कि भरतपुर ल्याउने भन्ने कुराको मतभेद हुँदा शव ल्याउन ढिला भएको थियो ।दूरीका हिसावले पोखराभन्दा नजिक रहेको भरतपुर अस्पतालमा नै पोष्टमार्टम सजिलै हुने देखिएपछि भरतपुर अस्पताल ल्याइएको अस्पतालका मेसु डा. पौडेलले बताए ।
शुक्रबार राति साढे १२ बजेतिर १३ वटा गाडीमा राखेर शवहरू अस्पतालमा ल्याइएको थियो । एक जना घाइतेको भरतपुरमा नै उपचारका क्रममा मृत्यु भएकोको थियो। दुर्घटनामा १६ जना घाइते भएको र उनीहरुलाई शुक्रबार नै हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको थियो । उनीहरुको त्रिभुवन शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।