१३ भदौ ,पोखरा।
सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच गण्डकी प्रदेश सरकारमा नौ मन्त्रालय बनाउने सहमति भएको छ ।नयाँ सत्ता समीकरण अनुसार एमाले पनि सरकारमा सहभागी हुने भएपछि मन्त्रालयको सङ्ख्या बढाउने सहमति भएको हो। कांग्रेसले मुख्यमन्त्रीसहित पाँच र एमालेले चार मन्त्रालय लिने सहमति भएको छ।
कुन दलले कुन मन्त्रालय लिने भन्ने विषयमा अझै सहमति हुन सकेको छैन । मख्यमन्त्री पाण्डेले आफूलाई विश्वासको मत दिने नेकपा (माओवादी केन्द्र) को चुनाव चिन्ह लिएर निर्वाचित नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटा र स्वतन्त्र प्रदेशसभा सदस्य राजीव गुरुङलाईसमेत समेटेर सरकार पुनःगठन गर्ने कांग्रेसले जनाएको छ ।
यसअघि एमाले संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री हुँदा मन्त्रालय सङ्ख्या १२ बाट घटाएर सातमा पुर्याइएको थियो । अहिले दलहरुबीच मन्त्रालयको बाँडफाँट मिलाउन फेरि मन्त्रालय थप्ने सहमित भएको छ ।