१७ भदौ ,पोखरा।
गण्डकी सरकारमा नेकपा एमालेबाट नियुक्त ४ जना मन्त्रीले आज शपथ लिएका छन् । एमाले केन्द्रीय लेखा आयोग सदस्य पद्मा जिसीको नेतृत्वमा गएका ४ जना मन्त्रीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको सपथ खुवाएका हुन् ।
नवलपुरकी पद्माले कृषि, भूमि व्यवस्था तथा सहकारी, बागलुङका कृष्ण पाठकले स्वास्थ्य, पर्वतका मित्रलाल बस्यालले उद्योग तथा पर्यटन र कास्कीका प्रकाशबहादुर केसीले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रीका रुपमा शपथ लिएका छन् ।भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री दीपक मनाङेको जिम्मेवारी हेरफेर गर्दै वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको हो ।सत्ताको रस्साकस्सीमा दुई पटकसम्म यो मन्त्रालय दीपक मनाङे भनिने राजीव गुरुङले हात पारेका थिए ।कांग्रेसले आफ्नो भागबाट नेसपाका फणीन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरूङलाई मन्त्री बनाएको छ ।
कांग्रेसबाट मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, अर्थमन्त्री डा. टकराज गुरुङ, सामाजिक विकास तथा स्वास्थ्यमन्त्री विन्दुकुमार थापा गरी तीन जना मात्र मन्त्री छन् ।४ मन्त्री नियुक्ति गरेर शपथ खुवाएसँगै गण्डकीको मन्त्रिपरिषदले पूर्णता पाएको छ ।