२१ भदौ, काठमाडौं ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलम ९ साउन २०८१ मा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटना जाँच आयोगले प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को नियमानुसार ठूला जहाज दुर्घटना जाँच गर्दा प्रारम्भिक निष्कर्ष सार्वजनिक गर्ने गर्नुपर्छ ।प्रारम्भिक प्रतिवेदन अनुसार दुर्घटनाको एक सम्भावित कारणमा अपरेटर (सौर्य एयरलाइन्स) ले अपरेसन र ग्राउन्ड ह्यान्डलिङ म्यानुअल अनुसार जहाजमा सामान राख्नुपर्नेमा त्यसको पालना नगरेको पाइएको छ ।
यस्तो म्यानुअल नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृत गराउनुपर्छ । सौर्यसँग त्यस्तो म्यानुअल भए पनि त्यसको पालना नभएको देखिएको छ । उक्त म्यानुअलमा सामान जोख्ने, त्यसलाई लोड गर्ने र जहाजभित्र कसरी सुरक्षित राख्ने भन्ने उल्लेख हुन्छ । यसको परिपालना नभएको प्रारम्भिक प्रतिवेदनले देखाएको छ ।
साथै, जहाजले कार्गोसहित लोड बोकेर उड्दा बाहिरको तापक्रम, विमानस्थलको उचाइ, लोडसहित आधारमा टेकअफका बेला लिने गतिको क्याल्कुलेसन गर्ने गरिन्छ । जसलाई ‘भी–स्पीड’ भनिन्छ । यो उडानका बेला यस्तो क्याल्कुलेसन नगरी जहाजले टेकअफ लिएको देखिएको छ ।यसलाई समेत आयोगले दोस्रो सम्भावित कारण भनेको छ । यस्तो विधि उल्लेख भएको ‘क्विक रिफरेन्स ह्यान्डबुक’ पाइलटसँग हुने गर्छ । जाँच आयोगले प्राधिकरणबाट मर्मतका लागि दिने (फेरी फ्लाइट) अनुमतिमा उल्लेख नियमहरूको पूर्णपालना हुन नसकेको समेत उल्लेख गरेको छ ।
जाँच आयोगको प्रारम्भिक प्रतिवेदनमा वायुसेवा कम्पनीहरूले फेरी फ्लाइटमा गर्ने लापरबाहीतर्फ संकेत गरिएको छ । यसमा नागरिक उड्डयन प्राधिकरणले आँखा चिम्लिरहेको समेत देखिन्छ । अबको जाँच सोहीतर्फ उन्मुख हुने समेत प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ ।यद्दपि, प्रारम्भिक प्रतिवेदनमा आएका कतिपय विषय पूर्णप्रतिवेदन आइसक्ने समयमा थप सूचनाका आधारमा अर्को निष्कर्षमा पुग्ने सम्भावना समेत हुन्छ ।सौर्यको दर्ता नम्बर ‘९एन–एनएमई’ भएको ‘सीआरजे–२००’ सिरिजको जहाज टेकअफ गर्नासाथ त्रिभुवन विमानस्थलमा दुर्घटनामा परेको थियो । दुर्घटनामा १८ जनाको मृत्यु थियो ।क्याप्टेन मनिषरत्न शाक्यलाई भने जीवितै उद्धार गरिएको थियो । जहाज उडेको २० सेकेन्डमै दाहिनेतर्फ कोल्टिँदै भुइँमा बजारिएको थियो । धेरै यात्रुको सोही क्रममा ज्यान गएको समेत प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ । दुर्घटनाको १ मिनेट ४० सेकेन्डमा दमकल घटनास्थल पुगेको समेत प्रतिवेदनले देखाएको छ ।
प्रतिवेदनले सबै वायुसेवा कम्पनीलाई कार्गो उडान सम्बन्धी म्यानुअल पालना गर्न सुझाव दिएको छ । ननसेडुल फ्लाइट र फेरी फ्लाइटका नियमहरूको नियमन दुरुस्त बनाउन र नियम समेत रिभ्यु गर्न प्रतिवेदनले प्राधिकरणलाई सुझाव दिएको छ ।