नवलपरासी,१४ असोज।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको बर्दघाट नगरपालिका – ४ दाउन्ने जंगल स्थित खुर्सानीखोलामा सडक भासिएपछि राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ ।
सडकको माथिल्लो भागमा रहेको पर्खाल भत्किएपछि विद्युत हाइटेन्सन लाइन सडकमा ढलेको थियो । उक्त पोल हटाउने प्रयास गर्दागर्दै सडक भासिएपछि राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको हो ।
सोमबार साँझ ५ बजेपछि अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेपनि तत्काल सम्भव नभएको प्रहरीले जनाएको छ । सडक डेढ फिट भासिएको र बाँकी भाग पनि चर्किएकाले मर्मत सम्भारका लागि सडक डिभिजन कार्यालय चितवन र विद्युत प्राधिकरणसंग समन्वय भइरहेको डीएसपी बोहराले बताए ।
सडक अवरुद्ध भएपछि नारायणगढबाट आउँदै गरेका सवारी साधनलाई दुम्कीबास र बुटवल तर्फबाट जाँदै गरेका सवारी साधनलाई बर्दघाटमा रोकिएको छ ।