पोखरा ,२० कार्तिक ।
सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई मंगलबार अदालतमा लगिँदै छ । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनलाई कास्की जिल्ला अदालतमा मंगलबार लगिने भएको हो ।
उनको हिरासतमा बस्ने म्याद गत १४ गते बुधबार नै सकिएको छ । तिहारको सार्वजनिक बिदाका कारण उनको म्याद थप हुन सकेको छैन उनको थप सात दिन म्याद थप हुनसक्ने सम्भावना छ । उनलाई अदालत लैजाने समय एकीन नभएको अनुसन्धान अधिकृत, कास्की प्रहरीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए । शर्माका अनुसार रविसँगै छविलाल जोशी र लीला पछाइलाई पनि मंगलबार अदालत उपस्थित गराइँदैछ ।
सरकारी वकिलको कार्यालयले लामिछानेसँग बयान लिने काम सकिसकेको छ । बयान सकिए पनि अनुसन्धान भने जारी छ । सहकारी ठगी र सङ्गठित अपराध मुद्दामा पक्राउ परेका लामिछानेमाथि सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान भइरहेको डीएसपी शर्माले जानकारी दिए । कार्तिक २ गते शुक्रबार काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई शनिबार ३ गते बिहान कास्की ल्याइएको थियो । कात्तिक ४ गते छ दिन र त्यसपछि कार्तिक ८ गते कास्की जिल्ला अदालतले साथ दिन म्याद थप गरेर प्रहरीलाई अनुसन्धान गर्न अनुमति दिएको थियो ।