पोखरा , ४ मंसिर।
कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको मालढुंगा–बेनी सडकखण्ड आजबाट ८ दिनसम्म दैनिक ६ घण्टा बन्द गरिने भएको छ । सडक कालोपत्र र स्तरोन्नतिका लागि आज मंसिर ४ गतेदेखि मंसिर ११ गतेसम्म दैनिक ६ घण्टा बन्द गर्न लागिएको हो ।
पर्वतको कुश्मा नगरपालिका–१ मालढुंगामा सडकको क्षेत्राधिकारमा पर्ने ढुंगा फुटाएर पन्छाउन र मालढुंगाबाट लस्तीसम्म कालोपत्र गर्न ‘प्राइमकोट’ बिछ्याउनका लागि आज बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सवारीसाधन आवतजावत बन्द गर्न लागिएको बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालयका सूचना अधिकारी विष्णु चापागाईंले जानकारी दिए । कुश्मा–१ मालढुंगाबाट जलजला गाउँपालिका–८, ७, ४ र ३ नम्बर वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने सडक कालोपत्र गर्न सञ्चालित यस आयोजनाको हालसम्मको भौतिक प्रगति ६२ प्रतिशत रहेको छ । १३ किलोमिटर दूरीको बेनी–मालढुंगा सडकलाई ११ मिटर फराकिलो बनाएर अस्फाल्ट प्रविधिको कालोपत्र र ढलान गर्न बेनी–जोमसोम–कोरला सडक आयोजना र एपेक्स–खड्का–कृष्ण जेभीबीच २०७७ चैतमा ५२ करोड ८६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।मुस्ताङको कोरला नाकाबाट दक्षिणको सुनौलीसम्म जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत यो सडकलाई ११ मिटर चौडा पारेर कालोपत्र गर्न लागिएको हो ।