पोखरा, ८ मंसिर ।
पोखरा महानगरपालिका वडा नं १५ ढुङ्गेसाँघु पट्नेरीस्थित अन्नपूर्णेश्वर शिवालय शिवशक्ति धाममा गण्डकी प्रदेशकै पहिलो ऐतिहासिक शुक्लागण्डकी कोटीहोम हुँदैछ । यही मंसिर १७ देखि २७ गतेसम्म सञ्चालन हुने कोटीहोमको तयारी अन्तिम चरणमा पुगेको छ । शुक्लागण्डकी (सेती नदी) को तटमा हुने कोटीहोम स्थलमा आवश्यक भौतिक संरचना निर्माण गरिएको छ । साथै मन्दिरमा रंगरोगन र ध्वजापताकाले सजाइएको छ । धामका अध्यक्ष मदन गिरीका अनुसार कोटीहोमका प्रमुख वाचक, धामका संरक्षक, यज्ञ संकल्पकर्ता शोभाकान्त ढकाल शनिबार पोखरा आएका छन् ।
अमेरिकामा बस्दै आएका प्रमुख वाचक ढकाल शनिबार पोखरा आएका हुन् । अन्नपूर्णेश्वर शिवालय शिवशक्ति धाम तथा बृहत्तर धार्मिक क्षेत्र विकास समितिले ढकालको स्वागत गरेको थियो ।पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा-१५ कोलपाटनस्थित राधेराधे मन्दिरमा विशेष पूजामा सहभागी भएका ढकाललाई बाजागाजाहित कोटीहोम स्थलमा पुर्याइएको समिति सचिव कमला बरालले बताइन् ।
सो अवसरमा ढकालले हरिहर क्षेत्रलाई धार्मिक स्थलको रुपमा विकास गर्न संकल्पित भएर लाग्न आग्रह गरे । हरिहर क्षेत्रलाई सांस्कृतिक पहिचान, धार्मिक एवं पुरातात्विक सम्पदाको जगेर्ना र संरक्षण गर्दै पर्यटकीय स्थलको रुपमा विकास गर्न सकिने ढकालले दावी गरे । पोखरा-१५ का वडासदस्य बलराम पौडेलले प्रकृतिले दिएको सम्पदालाई संरक्षण गरेर यस क्षेत्रको विकास गर्न वडा कार्यालय लागिपरेको बताए । धाममा १०८ शिवलिङ्ग, १०८ गौमुखी धारा, स्नानका सेती नदीसम्म पुग्न १०८ सिँढी, ज्येष्ठ नागरिक मिलन केन्द्र स्थापना गर्ने उद्देश्यले कोटीहोम आयोजना गरिएको समिति उपाध्यक्ष राजकुमार बरालले जानकारी दिए । कोटीहोममा कथा वाचनका लागि १५ जना भन्दा बढी धर्मगुरु सहभागी हुने बताइन्छ ।