समाचार

कर्मचारी विवादले पोखरा महानगरपालिका अशान्त,बैठकमै सुरु भयो चर्काचर्की

पोखरा, १२ मंसिर।

पोखरा महानगरपालिकाको विशेष नगर सभाबारे छलफल गर्न मंगलबार बसेको बैठकमा काँग्रेस र एमालेका वडाध्यक्षबीच चर्काचर्की भयो । पोखरा उपत्यका नगर विकास समिति कार्यालयमा बसेको बैठकमा दुई पार्टीका वडाध्यक्षबीच चर्काचर्की भएको हो । ‘अवस्था असमान्य बनेको हो । हात हाल्ने परिस्थिति नै बन्न लागेपछि बैठक स्थगित भयो,’ एक वडाध्यक्षले भने । काँग्रेसबाट निर्वाचित २५ नम्बर वडाका अध्यक्ष तथा कार्यपालिकाका प्रवक्ता मोतिलाल तिम्सिना बोल्न लाग्दा एमालेबाट निर्वाचित वडाध्यक्षहरुले रोकेका बैठकका एक सदस्यले बताए । ‘बोलिरहँदा नबोल्नुस् भन्नुभयो । केहीबेर दुवै पक्षको भनाभन भयो,’ ती सदस्यले भने, ‘अवस्था बिस्तारै असामान्य बन्दै गयो । बैठक बस्न सक्ने अवस्थै बनेन र स्थगित भयो ।’ प्रवक्ता तिम्सिनाले बैठकमा बोल्न पाउने आफ्नो अधिकारमा एमालेले अवरोध गरेको बताए । ‘बैठकमा म पनि बोल्न पाउँछु नि । मेयर’सावसँग समय लिएर बोल्दै थिएँ, नबोल्नुस् भन्नुभयो,’ उनले भने, ‘मैले बोल्न रोकिनँ । अनि टेबुलमा मुड्की बजारेरै चर्काचर्की गर्न थाल्नुभयो ।’ पोखरा १५ का वडाध्यक्ष तोरणबहादुर बानियाँले अघिल्लो दिनको बैठकमा बोलेका सदस्यले नबोल्ने भनेपछि तिम्सिनालाई रोकेको बताए । ‘मेयर’सावले अघिल्लो दिन बोलेका सदस्य बोल्न आवश्यक नभएको भनेर बैठक सुरु गर्नुभयो । उहाँ (तिम्सिना) ले बोल्न थालेपछि साथीहरुले रोक्नुभयो तर उहाँ झोक्किएर मुड्की बजार्न थाल्नु भयो । त्यसपछि मात्रै चर्काचर्की परेको हो,’ उनले भने । यही विषयमा सोमबार बिहान पनि बैठक बसेको थियो । त्यस दिन बसेको बैठकमा सहमति नजुटेपछि भोलिपल्ट मंगलबार प्रतिनिधि थपेर बैठक बसेको हो ।

कर्मचारी विवादले पोखरा महानगरपालिका यतिखेर अशान्त छ । एमालेले केही समय आन्दोलन नै गर्‍यो भने काँग्रेसले करार कर्मचारीको म्याद कुनै हालतमा नथप्ने अडान लियो । १४ कात्तिकमा बसेको कार्यपालिका बैठकले २८ जना प्राविधिकसहित ३५ कर्मचारीलाई १ मंसिरदेखि बिदा गर्ने निर्णय गरेपछि विवाद उब्जिएको हो । एमालेले राजनीतिक पूर्वाग्रह आधारमा कर्मचारी हटाउन लागेको आरोप लगाएको छ । यद्यपि, कर्मचारीहरु अदालत पुगेका छन् । यही विषयसहित विभिन्न एजेण्डा राखेर एमालेले ‘विशेष नगर सभा’ माग गरेको छ । १९ कात्तिकमा नगर सभा माग गरिएकोमा १३ मंसिरभित्रै बैठक बोलाउनुपर्ने कानूनी व्यवस्था छ ।

मेयर धनराज आचार्यले नियमित नगर सभा सम्मुखमा भएकाले विशेष नगर सभा टार्न चाहेका छन् । त्यसैले दलहरु सहमत भए विशेष नगर सभा छोडेर नियमित सभामै जोड दिन खोजेका हुन् ।‘कर्मचारीको विषय अदालतमा पुगेको छ । विशेष नगर सभाको प्रमुख एजेण्डा यही थियो । अब सभामा छलफल हुने कुरै भएन,’ उनीनिकट स्रोतले भन्यो, ‘अरु एजेण्डाहरु नियमित सभामै पनि गर्न सकिन्छ भन्ने छ । नियमित सभा पनि आउनै लागिसक्यो । त्यसैले विशेष सभा दलहरुबीच सहमति जुटे नगर्ने कि भनेर छलफल चलेको हो ।’

पुसमा नियमित सभा हुनुपर्छ । विशेष नगर सभाका लागि छलफल गर्न मेयर आचार्यले दुवै पार्टीका प्रतिनिधिलाई बैठकमा बोलाएका हुन् । काँग्रेसबाट दलका नेता दिवशमान प्रधानाङ्गसहित ५ जना वडाध्यक्ष सहभागी थिए भने एमालेबाट दलका नेता राधिका शाही योगीसहित ४ वडाध्यक्ष र एकजना कार्यपालिका सदस्य सहभागी थिए । पछिल्लो समय पोखरा महानगरमा काँग्रेस र एमालेबीच दुरी बढ्दो छ । कार्यपालिकामा बहुमत भएको काँग्रेस र नगर सभामा बहुमत भएको एमालेका जनप्रतिनिधिबीच संवाद र छलफलसमेत नहुने अवस्था बनिसकेको छ ।

बाराही संवाददाता

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

खेलकुद समाचार

विश्वकप फाइनल खेलेका ८ खेलाडी दक्षिण अफ्रिका टोलीमा परेनन्

[ad_1] ३० साउन, काठमाडौं । दक्षिण अफ्रिकाले दुई महिनाअघि भएको आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा भारतविरुद्ध खेलेका ८ खेलाडीलाई
अन्तरवार्ता भिडियो समाचार

साइप्रसबाट ‘डंकी रुट’ हुँदै स्पेन छिरेकी नेपाली युवती

[ad_1] ३० साउन, बार्सिलोना। काठमाडौंमा एउटा मेनपावर कम्पनीमार्फत् २०८० बैशाखमा स्याङ्जा मूल घर भएकी ३० वर्षीया अञ्जु (परिवर्तित नाम) साइप्रस