पोखरा, २४ मंसिर।
पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज पर्सा लगिएको छ ।सानो पाइला सहकारीको रकम अपचलन गरेको कसुरमा बयानका लागि उनलाई आज पर्सा लगिएको हो । लामिछानेलाई १२ बजे नै पोखरा अन्तर्राष्ट्रय विमानस्थल पुर्याइएको छ । प्रहरीका अनुसार उनलाई पोखराबाट काठमाडौँ, काठमाडौँबाट सिमरा विमानस्थलमा उतारेर पर्सा पुर्याइने छ ।
सूर्यदर्शन सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा कात्तिक ३ देखि कास्की प्रहरी हिरासतमा रहेका लाछिानेलाई आइतबार कास्की जिल्ला अदालतले चार दिन म्याद गरेको थियो ।उनलाई यसअघि अदालतबाट कात्तिक ४ मा , कात्तिक ८ मा सात, कात्तिक २० मा १०, कात्तिक २५ मा १३ दिन र मंसिर ९ मा १५ दिन म्याद थप भएको थियो । यसबीचमा बयानका लागि उनलाई रुपन्देही, काठमाडौँ र चितवनसमेत पुर्याइएको थियो । बयानमा क्रममा उनले इन्कारी जवाफ दिएको बताइन्छ ।लामिछानेलाई चितवनमा बयान सकाएर मध्यरातमा कास्की ल्याइएपछि प्रहरी विवादमा मुछिएको छ । चितवन प्रहरीले विज्ञप्ति प्रकाशित गरी लामिछानेकै सुरक्षाका लागि रातको समयमा कास्की लगिएको जनाएको छ । उनलाई भेट्न कास्की आएका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, राप्रपा प्रमुख सचेत ज्ञानेन्द्र शाहीले लामिछानेमाथि अन्याय भएको जिकिर गरेका छन् । रवि पत्नी निकिताले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएपछि आयोगले समेत अनुसन्धान थालेको छ । कात्तिक २ मा काठमाडाैँबाट पक्राउ परेका लामिछानेलाइ ३ गते कास्की ल्याइएकाे थियाे ।