कास्की ,१ पुष।
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा अनुसन्धान गरी जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको छ । लामिछानेमाथि अनुसन्धान गरी तयार पारिएको प्रतिवेदन सोमबार जिल्ला सरकारी वकिल कार्यालयमा बुझाइएको कास्की प्रहरीका अनुसन्धान अधिकृत डीएसपी वसन्त शर्माले जानकारी दिए ।
पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन गरेको अभियोगमा लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक पूर्वडीआईजी छविलाल जोशी, लीला पछाईं, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङ प्रहरी हिरासतमा छन् । प्रहरीले लामिछानेलाई कात्तिक २ गते हिरासतमा लिएको थियो ।
उनीहरूमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा अनुसन्धान भइरहेको छ । सम्पत्ति शुद्धीकरणमा अनुसन्धानका लागि दुई महिनासम्म हिरासतमा राखेर अनुसन्धान गर्न मिल्ने कानूनी प्रावधान छ । जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले प्रहरीबाट भर्खरै अनुसन्धान प्रतिवेदन प्राप्त भएको र अध्ययनको क्रममा रहेकाले मुद्दा अदालतमा पेश गर्नेबारे तयारीमात्रै भइरहेको बताइन् । लामिछानेसहितलाई अनुसन्धानका लागि पछिल्लो पटक थपिएको म्याद आज सकिदैछ । प्रहरीले मंगलबार पुनः म्याद थपका लागि अदालतमा पेश गर्ने तयारी गरेको छ । जिल्ला न्यायाधिवक्ता काफ्लेले मंगलबार पनि अदालतमा म्याद थपका लागि अपिल गरिने बताइन् ।