काठमाडौं, ५ पुष ।
नेपालमा एक जनामा ‘मंकीपक्स’ पुष्टि भएको छ । साउदी अरेबियाबाट फर्किएका एक नेपालीमा मंकिपक्स पुष्टि भएको स्वास्थ्य मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
एमपक्स मानिसबाट मानिसमा वा जनावरबाट मानिसमा सर्ने गर्दछ ।यो पोक्सभिरिडे परिवारको अर्थोपक्स भाइरस जिनस अन्तर्गत पर्ने डबल स्ट्रन्डेड डीएनए भाइरस हो । मंकीपक्सका लक्षण बिफरसँग मिल्दाजुल्दा हुन्छन् । यद्यपि बिफरको तुलनामा मंकिपक्स कम गम्भीर र विरलै घातक हुन्छ ।
विश्वव्यापी बिफर खोपको अन्त्यपछि मंकीपक्स मध्य, पूर्वी र पश्चिम अफ्रिकामा निरन्तर रूपमा देखा परिरहेको छ । यो भाइरस विभिन्न साना स्तनपायी जनावर (लोखर्के, बाँदर) बाट भाइरस सर्ने गर्छ । सरुवा रोग विशेषज्ञहरूका अनुसार ‘मंकीपक्स भाइरस’ मानिसबाट मानिसमा भने थुकको छिटा, खुल्ला छाला, मुख, आँखामा भाइरस परे सर्न र संक्रमण गर्छ । संक्रमितसँग नजिकमा रहने व्यक्तिमा ‘मंकीपक्स’ सर्ने जोखिम हुन्छ ।