पोखरा,९ पुष ।
पोखरा महानगरपालिका वडा नं. २३ संघर्षशील बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष विक्रम पाण्डे र सचिव तथा व्यवस्थापक कमल सुवेदीलाई प्रहरीले पक्राउ गरेको छ । निक्षेपकर्ताका बचत रकम हिनामिना गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखराको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको कास्की प्रहरीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए । सहकारी ऐन, २०७४ बमोजिम अनुसन्धान भइरहेको यस घटनामा सम्मानित कास्की जिल्ला अदालतबाट सहकारी ठगीसम्बन्धी मुद्दामा सात दिनको म्याद थप भइसकेको छ । यसैबीच जिल्ला प्रहरी कार्यालय कास्कीले पीडितलाई जाहेरी दर्ता गर्न आह्वान गरेको छ । गण्डकी प्रदेशको सहकारी रजिष्ट्रारको कार्यालय पोखरामा प्राप्त उजुरीका आधारमा जाहेरी दर्ता गर्न आह्वान गरेको हाे ।
सहकारीमा रकम जम्मा गरेको प्रमाण स्वरूप शेयर धनी प्रमाण पत्र, पासबुक, भौचर, स्टेटमेन्ट, मुद्दति प्रमाणपत्रलगायतका कागजातसहित पीडितले जाहेरी दिन सक्नेछन् ।पीडितले आफ्नो नागरिकताको प्रतिलिपिसहित यही पुस २० गतेभित्र अनिवार्य रूपमा जाहेरी दर्ता गर्नुपर्ने जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । मुद्दाको हद म्यादलाई मध्यनजर गर्दै पीडितलाई चाँडोभन्दा चाँडो जाहेरी दिन आग्रह गरिएको छ ।