तनहुँ,१६ पुष ।
प्रसिद्ध पर्यटकीय गन्तव्य बन्दीपुरको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ ‘बन्दीपुर भ्रमण वर्ष २०२५’ घोषणा गरिएको छ । बन्दीपुर गाउँपालिकाले सन् २०२५ लाई भ्रमण वर्षका रूपमा मनाउने निर्णय गरेको छ।
पर्यटन प्रवर्द्धनमार्फत बन्दीपुरमा नयाँ पर्यटकीय गन्तव्यको पहिचान, रोजगारी सृजना तथा आर्थिक गतिविधि थप चलायमान गराउने उद्देश्य रहेको गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले जानकारी दिए । भ्रमण वर्षलाई सफल पार्न गाउँपालिकाले पर्यटन व्यवसायी बैश गुरुङको संयोजकत्वमा २१ जनाको भ्रमण वर्ष सचिवालय गठन गरेको छ । सचिवालयमा होटल संघ, रेष्टुरेन्ट तथा बार एसोसिएसन (रेवान) पर्यटन विकास समिति, उद्योग वाणिज्य संघ, होमस्टे महासंघलगायतको प्रतिनिधित्व छ ।अध्यक्ष थापाका अनुसार प्राकृतिक एवं सांस्कृतिक सम्पदाको संरक्षण एव विकास गर्दै जिम्मेवार पर्यटकीय क्रियाकलापका माध्यमबाट समृद्ध एवं सुसंस्कृतयुक्त बन्दीपुरको परिकल्पना र पर्यटक आगमनको संख्या वार्षिक दुई लाख पुर्याउने उद्देश्यसहित बन्दीपुर भ्रमण वर्ष आयोजना गरिएको हो । सचिवालय संयोजक गुरुङका अनुसार भ्रमण वर्षमार्फत स्वदेश तथा विदेशमा बन्दीपुरको पर्यटन प्रवर्द्धन गरी पर्यटकको संख्या दोब्बर बनाउने गरी योजना बनाइएको छ ।
उनका अनुसार भ्रमण वर्षमा वार्षिक एक लाख आन्तरिक र एक लाख विदेशी पर्यटक बास बस्ने गरी ल्याउने योजना बनाइएको छ । भ्रमण वर्षलाई आधार वर्ष मानेर आगामी तीन वर्षमा वार्षिक आठ लाख पर्यटकलाई बन्दीपुर पुर्याउने लक्ष्य रहेको उनले स्पष्ट पारे । गुरुङका अनुसार भ्रमण वर्षमा पर्यटकको औसत बसाइ तीन दिन बनाइनेछ । साथै विदेशी पर्यटकको दैनिक औसत खर्च ७५ अमेरिकी डलर र नेपाली पर्यटकको औसत खर्च दैनिक तीन हजार रुपैयाँ पुर्याइनेछ । हाल बन्दीपुरमा मात्रै ७५ होटल र चार वटा होमस्टे (घरबास)का साथै समग्र गाउँपालिकामा एक सय २० होटल र १२ वटा होमस्टे सञ्चालनमा छन् । जसमा दैनिक एक हजार सात सय जना अट्ने क्षमता छ ।
भ्रमण वर्षमार्फत बन्दीपुरको पर्यटन क्षेत्रमा थप रोजगारी र स्वरोजगार सृजना, होटल तथा रेष्टुरेन्टमा थप लगानी बढाउनु साथै बन्दीपुरलाई नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने उनको भनाइ छ । भ्रमण वर्षमा पर्यटकलाई आकर्षित गर्न पर्यटकको उमेर र रुचिअनुसारको प्याकेज निर्माण गर्नुका साथै गाउँमै कमाऔँ गाउँमै रमाऔँ तथा वातावरणीय संरक्षणका लागि जनसहभागिता पनि बढाइने गाउँपालिकाकाे लक्ष्य छ । भ्रमण वर्ष सफल पार्न कुल चार करोड ४३ लाख ५० हजार रुपैयाँ खर्च हुने गाउँपालिकाको अनुमान छ । अनुमानित खर्च विवरणमा संघ, प्रदेश र स्थानीय सरकारका साथै अन्य विभिन्न राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सरकारी तथा गैरसरकारी संघ संस्थाबाट अपेक्षा गरिएको प्रतिबद्धतालाई समेत राखिएको छ ।