कास्की ,२० पुस।
चलचित्र ‘पुष्पा–२’ को स्क्रिनिङका क्रममा भागदौडमा महिलाको मृत्यु भएको अभियोगमा अभिनेता अल्लु अर्जुन धरौटीमा रिहा भएका छन् । शुक्रबार हैदराबादको नामपल्ली अदालतले अल्लुलाई नियमित जमानत दिएको हो।
अल्लु अर्जुनका वकिल अशोक रेड्डीका अनुसार अतिरिक्त महानगरीय सत्र न्यायाधीशले अल्लुलाई दुई जमानत पेस गर्न भनेका छन्, जसमा उनले प्रत्येक ५० हजार भारतीय रुपैयाँको दुईवटा जमानत भर्नेछन्। अल्लुलाई आइतबार अनुसन्धान अधिकृत समक्ष उपस्थित हुन निर्देशन दिइएको छ ।
अल्लु अर्जुनलाई घटनाको सम्बन्धमा १३ डिसेम्बरमा पक्राउ गरिएको थियो र १४ डिसेम्बरमा तेलंगाना उच्च अदालतले उनलाई चार हप्ताको लागि अन्तरिम जमानत दिएको थियो। यसको अवधि जनवरी १० मा समाप्त हुने थियो।
पक्राउपछि उनलाई ४ बजे स्थानीय अदालतमा पेस गरिएको थियो, जहाँबाट उनलाई १४ दिनको लागि न्यायिक हिरासतमा पठाइएको थियो । अल्लुले तेलंगाना उच्च अदालतमा अन्तरिम जमानतको लागि अपील गरेका थिए। त्यसपछि साँझ ५ बजे उनलाई रु ५० हजार रुपैयाँको व्यक्तिगत धरौटीमा अन्तरिम जमानत दिइएको थियो । यसैबिच अल्लुलाई चंचलगुडा केन्द्रीय कारागार लगिएको थियो ।
अभिनेता भोलिपल्ट शनिबार बिहान करिब ६ः३० बजे चञ्चलगुडा केन्द्रीय कारागारबाट रिहा भएका थिए । यस अवधिमा अल्लु करिब १८ घण्टा हिरासतमा रहे ।
वास्तवमा ४ डिसेम्बरमा फिल्म पुष्प–२ को स्क्रिनिङका क्रममा हैदराबादको सन्ध्या थिएटरमा भागदौड भएको थियो । सो क्रममा रेवती नामकी एक महिलाको मृत्यु भएको थियो भने उनको बच्चा घाइते भएका थिए ।
डिसेम्बर ३१ मा पनि प्रहरीले अल्लु अर्जुनसँग ३ घण्टाभन्दा बढी सोधपुछ गरेको थियो । अल्लु बिहान ११ बजे चिक्कडपल्ली प्रहरी चौकी पुगे। उनको सोधपुछ दिउँसो २:४५ बजेसम्म चलेको थियो । हैदराबाद सेन्ट्रल जोन डीसीपीको नेतृत्वमा रहेको टोलीले अभिनेतासँग सोधपुछ गरेको थियो।
यता, हैदरावादको उस्मानिया विश्वविद्यालयका केही व्यक्तिले २२ डिसेम्बरमा अल्लु अर्जुनको घरमा तोडफोड गरेका थिए । यस घटनामा ८ अभियुक्त पक्राउ परेका छन् । तीमध्ये ६ जनालाई डिसेम्बर २३ गते जमानत दिइएको थियो ।