पोखरा ,२२ पुस।
नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक नियुक्ति प्रक्रिया अन्तिम चरणमा पुगेको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी एसियन कप छनोटका खेल नजिकिदै गर्दा प्रशिक्षक नियुक्तिको तयारी अन्तिम चरणमा पुर्याएको हो।
एन्फाका प्रवक्ता सुरेश शाहकाअनुसार प्रशिक्षक बन्नका लागि ४०५ जनाको आवेदन परेको थियो। एन्फाले गत भदौ अन्तिम साता नयाँ प्रशिक्षकको आवेदन खुलाएको थियो।
इटलीका प्रशिक्षक भिन्सेन्जो अल्बार्टो एनेससँगको करार नथप्ने निर्णय गर्दै एन्फाले नयाँ प्रशिक्षकको लागि आवेदन खुलाएको थियो। प्रशिक्षकको लागि प्रो लाइसेन्ससहित व्यवसायिक स्तरको फुटबलमा कम्तिमा ५ वर्षको अनुभव हुनु पर्ने शर्त थियो।
त्यसपछि आवेदन दिएका ४०५ जना मध्येबाट एन्फाले सुरुमा २० जनाको सर्टलिस्ट गरेको थियो। २० जनाबाट १० जनाको अर्को सर्टलिस्ट गरेपछि अहिले एन्फाले ५ जनाको सर्टलिस्ट तयार पारेको छ।
नयाँ प्रशिक्षक बन्नका लागि नेपालका पूर्वप्रशिक्षकहरु प्रदीप हुमागाइँ, प्याट्रिक असेन्स, ज्याक स्टेफोनेस्की लगायतले आवेदन दिएका थिए।
५ जनाको अन्तर्वार्ता लिएपछि एन्फाले नेपालको नयाँ प्रशिक्षक नियुक्त गर्नेछ। नयाँ प्रशिक्षकको तलब आपसी सहमतिमा तय गरिने प्रवक्ता शाहले बताए।
यसअघि दक्षिण कोरियाले प्रशिक्षक एनिसको तलबका लागि सहयोग गरेको थियो। उनको तलब ५ लाख रूपैयाँ भन्दा कम थियो।
एन्फाले नयाँ प्रशिक्षक केही सातामै घोषणा गर्ने बताएको छ। त्यसपछि नेपालले एसियन कप छनोटको तयारी गर्नेछ।
एएफसी एसियन कप २०२७ को छनोट चरणको अन्तिम चरणमा नेपाल समूह ‘एफ’मा छ। नेपालको समूहमा भियतनाम, लाओस र मलेसिया छन्।
जसअन्तर्गत नेपालले मार्च २५ मा होम म्याच मलेसियासँग खेल्ने तय छ।
एसियन कप छनोटमा मार्चमा मलेसियासँग होम म्याच खेलेपछि नेपालले जुन १० मा लाओससँग अवे म्याच, अक्टोबर ९ मा भियतनामसँग अवे म्याच, अक्टोबर १४ भियतनामसँगै होम म्याच, नोभेम्बर १८ मा मलेसियासँग अवे म्याच र २०२६ मार्च ३१ मा लाओससँग होम म्याच खेल्ने तय छ। सन् २०२७ मा साउदी अरेबियामा हुने एसियन कपमा लागि समूह विजेता मात्र छनोट हुनेछ।