पोखरा ,९ माघ।
तीनबुँदे सहमतिपछि पोखरा महानगरको ताला खुलेको छ। नगरप्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईं तथा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूबीच पोखरा उपत्यका नगर विकास समितिको सभाहलमा भएको छलफलपछि ताला खोल्ने सहमति जुटेको हो। महानगरमा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधीले सोमबार लगाएको ताला ३ बुँदे सहमति पछि बुधबार ताला खोल्ने सहमति जुटेको हो।
सहमतिअनुसार महानगरको चालु नगरसभा यही माघ ११ गते (शुक्रबार) दिउँसो १ बजे बस्ने तय गरिएको छ।मंसिर २३ गते बसेको विशेष नगरसभाले गरेका सम्पूर्ण निर्णय अक्षरंश कार्यान्वयन गर्ने, महानगरको सुशासन र समृद्धिका लागि जनप्रतिनिधी र कर्मचारी एकजुट भएर अघि बढ्ने, अहिले जारी १६ औं नगरसभामार्फत वडा कार्यालय, महाशाखा र शाखामा विनियोजित बजेट शीर्षकान्तर र रकमान्तर हुन नसकेर कार्यान्वयन हुन नसकेका योजनाका रकम रकमान्तर र शीर्षकान्तर गर्ने सहमति भयको हो।
यस सहमतिपछि महानगरका विभिन्न कार्यालय तथा विकास निर्माणका अवरुद्ध कार्य पुनः सञ्चालनमा आउने विश्वास गरिएको छ।
गत सोमबार एमालेका जनप्रतिनिधीले नगरसभा बहिष्कार गरेपछि कांग्रेसले कार्यकक्षमा ताला लगाएका थिए।कांग्रेसको तर्फबाट पोखरा-४ का वडाध्यक्ष देवकृष्ण पराजुलीको नेतृत्वमा तालाबन्दी गरिएको थियो।