पोखरा ,१० माघ।
‘स्वास्थ्यको लागि,पोखराको लागि’ मूल नाराका साथ १९ औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन २०२५, यही फाल्गुन ३ गते पोखरामा हुने भएको छ । यस म्याराथनलाई सव्य र भव्य बनाउनको लागि आयोजक भूतपूर्व खेलाडी मञ्चले २३ वटा उपसमिति नेपालमा र ६ वटा अन्तर्राष्ट्रिय समिति बनाएर काम अगाडि बढाइएको आयोजक संस्थाले जनाएको छ ।स्वदेशी तथा विदेशी धावकले नयाँ रुटमा दौडिँदै म्याराथन पुरा गर्नेछन्। सुरुवात पोखरा रङ्गशालाबाट हुनेछ भने पोखरा–६ हल्लन चोकमा समापन हुने छ ।
सफल दूधको मुख्य प्रायोजन र भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा हुन लागेको सफल पोखरा अन्तर्राष्ट्रियता म्याराथनको मूल नारा ‘स्वास्थ्यको लागि,पोखराको लागि’ रहेको छ ।
यसपालि म्याराथनलाई विशेष बनाउनका लागि मुख्य म्याराथनका विधाहरुका सहभागीहरूलाई चिप्सको प्रयोग गरिने भएको छ जसले धावकको दौड समय सटिक तरिकाले मापन गर्दछ ।सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनले प्रथम विजेतालाई रु ५ लाख, दोस्रोलाई ३ लाख, तेस्रोलाई २ लाख, चौथोलाई ५० हजार, पाँचौँ लाई ३० हजार, छैटौँ लाई २० हजार, सातौँ लाई १५ हजार र आठौँ हुनेलाई १० हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेको छ । साथै गण्डकी प्रदेशको खेलाडीहरूलाई प्रोत्साहन स्वरूप छुट्टै पुरस्कारको व्यवस्था पनि गरेको छ । साथै , महिला तथा पुरुष हाफ म्याराथन, १० कि.मि पुरुष तथा महिला, ५ कि.मि छात्र, छात्रा, भेट्टेरन ( उमेर ५० बर्स माथि), ह्विल चियर तथा दृष्टिविहीन तर्फका हरेक प्रतियोगितामा पनि पुरस्कार राखिएको छ ।
यस प्रतियोगितामा रन फर फन नामक श्रेणी पनि समावेश गरिएको छ, जसले सहभागीतालाई प्रोत्साहन गर्दै स्वस्थ जीवनशैलीको सन्देश प्रवाह गर्ने उद्देश्य राखेको छ। रन फर फन मा सबै उमेर समूहका सहभागीहरूले आफ्नो क्षमता अनुसार रमाइलो र उत्साहपूर्वक दौडिन सक्ने पनि आयोजकको भनाइ छ ।यस सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई अझ व्यापक बनाउन पोखराकै प्रतिष्ठित औद्योगिक प्रतिष्ठान सुजल डेरी प्रालिको सफल दूधको मुख्य प्रायोजन रहेको छ ।