पोखरा ,३० माघ।
पोखरामा जारी २४ औं संस्करणको आहा रारा पोखरा गोल्डकपमा आज पहिलो सेमीफाइनल खेल हुँदैछ । पहिलो सेमीफाइनल खेलमा नेपाल पुलिस र चर्च ब्वाइज युनाइटेड भिड्दैछन् । चर्च ब्वाइजले एनआरटी र त्रिभुवन आर्मी क्लबलाई हराउँदै सेमीफाइनलको यात्रा गरेको हो भने पुलिसले आयोजक सहारा क्लब र बिग्रेड ब्वाइजलाई हराउँदै । पुलिसको सेमीफाइनलसम्म आइपुग्दा दुवै टिम डेडबलको सिकार भएका छन् त्यो पनि कर्नर बलमा । उता चर्च ब्वाइजका लागि भने फिनिसिङमा समस्या देखिदै आइरहेको छ । पुलिसका उज्जवल राई र विवेश पाण्डेको कर्नर प्रहारमा जित हासिल गरेको छ । उनीहरु चर्च ब्वाइजका लागि चुनौति बन्न सक्नेछन् । यता पुलिसका लागि मिलन राई आयोमि फाकुन्ले, नविन लामा चुनौति बन्न सक्छन् । दुई खेलमा यि खेलाडीले पाएको अवसरको भरपुर सदुपयोग गर्न सकिरहेका छैनन यद्यपि यिनीहरुले अवसरहरु भने सिर्जना गरिरहेका छन् ।
पाहुना टोली ब्ल्याक बुल्स पोखरामा जारी २४ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । ब्ल्याक बुल्सले थन्डर बोल्ट्स नर्थ युनाइटेड सिक्कीमलाई ३–० ले हराउँदै सेमीफाइनलको यात्रा तय गरेको हो । ब्ल्याक बुल्सले खेलको तेस्रो मिनेटमै गल्ति गरेपनि आत्मघाति गोल हुनबाट जोगियो । कुशान गानिजान्भोको ब्याकपासलाई एलिजोन एलिजोन्भोले क्लियर गर्न खोजेको बल आफ्नै पोष्टतर्फ गएपनि पहिलोबार हुँदै बाहिरिदाँ संकट टरेको थियो । ११ औं मिनेटमा अजिजबेक खुर्सोन्बोले डिफेन्स लाइटबाट अघि बढाउँदै वान भर्सेस वानको स्थितिमा गोल गरेनन् । लगत्तै १२ औं मिनेटमा आदर्श तामाङको पासमा रोवर्ट कोविनाले गोलरक्षक अघि बढेको फाइदा उठाउँदै प्रहार गरेको बल क्रसबारमा लाग्दै फर्कदा थन्डर अग्रता लिनबाट चुक्यो । १५ औं मिनेटमा एसिलबेक ओरिफजोन्बेको क्रसलाई थन्डरका गोलरक्षक लाक्पा भुटियाले पन्च गर्दै बचाए । लगत्तै १६ औं मिनेटमा बुल्सले फ्रिकीक पाएपनि सदुपयोग गर्न सकेन । १८ औं मिनेटमा थन्डरका फोफोनाको प्रहारमा बुल्सका डिफेन्डर कुशान बाधक बने । ३८ औं मिनेटमा बुल्सका लागि इस्लोमजोन अब्दुकोडिरोभले उत्कृष्ट गोल गर्दै टोलीलाई अग्रता दिलाए । अजिज्वेकको पासलाई नियन्त्रणमा लिदैँ उनले थन्डरका डिफेन्डर सोनम भुटियालाई बिट गर्दै गरेको प्रहारले दोस्रोबार हुँदै जालि चुम्यो । पहिलो हाफमा १–० को अग्रता लिएको बुल्सले दोस्रो हाफमा थप दुइ गोल ग¥यो । ७० औं मिनेटमा थन्डरका टालाले फ्रिकीकबाट आएको बलमा गरेको हेडर पोष्ट नजिकैबाट बाहिरिदाँ बराबरी बनाउनबाट चुक्यो । ७३ औं मिनेटमा बुल्सका लागि परिवर्तित खेलाडी साइदजामोल डाभलतजोन्बले गोल गर्दै अग्रता दोब्बर पारे । कुभोन्चबेकको स्थानमा ७२ औं मिनेटमा मैदान प्रवेश गरेका साइदजामोलले साभाक्तजोनको पासमा उत्कृष्ट गोल गरे । साभाक्तजोनले त्यसको दुइ मिनेट पछि अर्थात ७५ औं मिनेटमा प्रहार गरेको बलले जाली चुमेको थियो । जितपछि प्रतिक्रिया दिदैँ ब्ल्याक बुल्सका प्रशिक्षक अब्दुलाजिज निशोन्बेले आफु नेपाल पहिला नै आइसकेको र यहाँको खेलाडीको बारेमा जानकारी रहेको बताए । उनले सिक्कीम विरुद्धको खेलमा पाएको अवसरको सदुपयोग पुर्ण रुपमा गर्न नसकेको सुनाउँदै त्यसलाई सेमीफाइनलमा सुधार गर्ने बताए ।