पोखरा ,१ फाल्गुण।
२० लाख पर्यटक भित्र्याउने लक्ष्यकासाथ पोखरा महानगरपालिकाले सन् २०२५ लाई ‘पोखरा भ्रमण वर्ष २०२५’ को रुपमा मनाउँने जनाएको छ । यसका लागि फागुन ३ गते शनिवारका दिन औपचारिक कार्यक्रम गरी घोषणा गर्ने त महानगरले जनाएको छ । आन्तरिक र बाह्य गरी यस वर्ष २० लाख पर्यटक भित्र्याउने र पोखरामा पर्यटकको लागि आकर्षण थप्न विभिन्न प्याकेज दिने तयारीमा महानगर छ ।
भ्रमण वर्षको घोषणा कार्यक्रमका तयारी पुरा भएको विहीबार पत्रकार सम्मेलनमा पोखरा महानगर प्रमुख धनराज आचार्यले बताए । औपचारिक कार्यक्रम आगामी शनिवार हुने भए पनि भ्रमण वर्षको कार्यक्रम भने जनवरीको पहिलो दिनदेखिनै सुरु भइसकेको उनले बताए । तीनवटै तहका सरकार, पर्यटन बोर्ड र निजी क्षेत्र मिलेर पोखरामा भित्रिने पाहुनाको आकार बढाउनका लागि भिन्दै प्याकेज तयार पार्ने उनले बताए।
पोखरा महानगर गत चैत ४ गते पर्यटकीय राजधानी घोषणा भएको थियो । पर्यटकीय राजधानी घोषणाको एक वर्ष भएको अवसरमा महानगरले पोखरा भ्रमण वर्ष मनाउन लागेको हो । ‘भ्रमण वर्षभरि नै पोखराको पर्यटन प्रवद्र्धनसम्बन्धी कार्यक्रमहरू सञ्चालन गरिने आचार्यले बताए । उनले भने, ‘विदेशमा पोखराको प्रवर्द्धन गर्ने गरी सद्भावना दूतसमेत घोषणा गर्ने योजना छ ।’ घोषणा कार्यक्रम तथा वर्षैभरी अभियानका विभिन्न गतिविधि संचालन गर्नका लागि मेयर आचार्यको संयोजकत्वमा १ हजार ५१ सदस्यीय मूलआयोजक समिति, प्रमुख आचार्यकै नेतृत्वमा ७३ सदस्यीय एक निर्देशक समिति र पर्यटन व्यवसायी गोपीबहादुर भट्टराईको संयोजकत्वमा २० सदस्यीय कार्य सम्पादन समिति र अन्य ४३ समिति गठन गरिएको छ ।
सुन्दर अन्नपूर्ण हिमश्रृंखलालाको काखमा अवस्थित प्राकृतिक, सांस्कृतिक तथा साहसिक क्षेत्रको अद्वितीय सङ्गम पोखरा हिमाल, ताल, गुफा, कोट धार्मिकस्थल लगायत सुन्दर पर्यटकीय स्थलहरूले सजिएको छ । पोखरालाई अझै समृद्ध बनाउन अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रूपमा पूरा गर्नु पर्ने विभिन्न काम तथा योजनाहरूको लामो व्याख्यासहित पर्यटन राजधानी घोषणा कार्यक्रमका लागि गठित विज्ञहरुको समुहबाट तयार दस्तावेज र प्रतिवेदनलाई पूर्णरूपमा अङ्गीकार गरेको पत्रकार सम्मेलनमा आचार्यले बताए । साथै महानगरपालिकाको नीति तथा कार्यक्रममा समेत संलग्न गरी अगाडी बढिरहेको उनले जनाए ।
यसै क्रममा पर्यटन राजधानी पोखरालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा ब्राण्डिङ्ग गर्न तथा पोखराको आन्तरिक एवं वाह्य पर्यटनलाई हालसम्मकै उच्चविन्दुमा पुराउन, पोखराको प्राकृतिक, मानव निर्मित गन्तव्य स्थलहरूको प्रचार प्रसार गर्न र यी सम्पूर्ण क्षेत्रहरूको महत्व तथा अवस्थितिलाई जनसमक्ष पुराउन भ्रमण वर्षले सहयोग पुग्ने विश्वास महानगरको छ । साथै पोखराको अर्थतन्त्रलाई चलायमान बनाउँदै स्वच्छ पोखरा, स्वस्थ्य र खुसी पोखरेली बनाउने अभियानमा यो वर्षलाई आधार वर्षको रूपमा लिइएको आचार्यको भनाई छ । घाेषणा सभाकाे प्रमुख अतिथि संघीय अर्थमन्त्री बिष्णु पाैडेल रहेका छन् ।