कास्की ,२१ फागुन।
काठेखोला गाउँपालिकाका महिलाहरुले आलु र अकबरे खुर्सानीको बीउ उत्पादन गर्न सामूहिक खेती थालेका छन् । काठेखोला वडा नं. २ भीमापोखरा, वडा नं. ३ धम्जा र वडा नं. ४ तंग्रामका महिलाहरु समूहमा आवद्ध भएर ‘कार्डिनल जात’को आलु र अकबरे खुर्सानीको बीउ उत्पादनमा जुटेका हुन् ।काठेखोला गाउँपालिका र हेफर नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा बिवाईसी बागलुङद्वारा सञ्चालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशिलता विकास तथा बजारीकरण परियोजनाअन्तर्गत काठेखोलाका हरेक वडालाई उत्पादनसंग जोड्न मठेदेउराली आमा समूहले धम्जा, भावना र सरस्वती आमा समूहले भीमापोखरा तथा सप्तरंगी सामाजिक उद्यमी महिला सहकारीले तंग्राममा ‘कार्डिनल जात’को आलुको बीउ उत्पादन गर्न सामूहिक खेती गरेका हुन् ।
काठमाडौंस्थित श्रीराम निकेतन वायोटेक प्रालिबाट प्रतिदाना १८ रुपियाँका दरले २ हजार दाना खरिद गरी समूहलाई वितरण गरिएको बिवाईसीका कार्यक्रम संयोजक चुडामणि उपाध्यायले जानकारी दिए । मठेदेउरालीलाई १ हजार, भावाना÷सरस्वतीलाई ५ सय र सप्तरंगी मलिा सहकारीलाई ५ सय दाना वितरण गरिएको हो ।
आमा समूहले उत्पादन गरेको बीउ आफ्ना बहिनी समूहसँगै पालिकाका आठ वटै वडा वितरण गरिने छ । आज सानो परिणाममा काम गरेपनि भोलि किसानलाई व्यवसायिक आलु खेतीमा प्रेरित गर्न बीउ उत्पादनमा जोड दिइएको उपाध्यायको भनाइ छ । परियोजनाले पाला, भीमपोखरा, धम्जा, तंग्राम, लेखानी, बिहुँ र रेशमा दुध उत्पादन, आलु, बाख्रा, अकबरे खुर्सानी, तरकारी र फलफूल पकेट क्षेत्रको रुपमा विस्तार गर्ने लक्ष्य लिएको छ ।
काठेखोलाको भीमापोखरा, रेश र ८ लेखानीमा अकबरे खुर्सानीको पकेट क्षेत्र विस्तार गर्ने परियोजनाको लक्ष्यअनुसार, एउटा वडामा आधा किलो अकबरे खुर्सानीको बीउ वितरण गर्ने तयारीसमेत गरिएको छ । ‘हामीले अकबरेको बेर्ना उत्पादन गरेर काठेखोलाका धेरै भाग समेट्न खोजेका हौं तर बीउ अभाव भयो,’ उपाध्यायले भने । नेपालभरि खोजी गर्दा प्राप्त भएको एक किलो बीउको अहिले परीक्षण भइरहेको र सफल भएपछि मात्र समूहलाई वितरण गरिने उपाध्यायले जानकारी दिए । राम्रो बजार रहेको अकबरे खुर्सानीबाट किसानले नगदै आम्दानी गर्न सक्ने परियोजनाले विश्वास लिएको छ ।
यस्तै, परियोजनाले पशुपालनका लागि अत्यावश्यक घाँसको लागि किम्बुको नर्सरीसमेत स्थापना गरेको छ । किम्बु बाख्राका लागि उपयुक्त घाँस हो । दाङको स्वर्गद्वारी कृषि फर्मबाट भि–वान जातको २० हजार कटिङ बिरुवा ल्याइएको छ । काठेखोलाको अछते बजारमा एक रोपनी जमिनमा किम्बुको नर्सरी स्थापना गरिएको छ । नर्सरीमा हुर्किरहेका ९५ प्रतिशत किम्बुका बिरुवा असार महिनामा प्रत्येक वडामा दुई हजारका दरले वितरण गर्ने परियोजनाको सोच छ । किम्बुलाई राम्रोसंग हुर्काउन सके अर्काे वर्षदेखि बाख्रापालक किसानलाई घाँसको कहिल्यै समस्या उपाध्यायको भनाई छ ।
गत वर्ष मात्रै लेखानीकी लालकुमारी पुनले अकबरे खुर्सानी विदेश निर्यात गरेर दुई लाख रुपियाँ आम्दानी गर्न सफल हुनुभएको थियो । पुनकोे फर्मबाट वर्षमा झण्डै ७ क्विन्टल अकबरे खुर्सानी दुबइमा निर्यात भएको थियो । यस्तै, यसअघि तंग्रामस्थित सप्तरंगी र वसन्त सामाजिक उद्यमी महिला सहकारी संस्थामा आवद्ध महिलाहरुले बाख्रा बेचेर एकै वर्षमा झण्डै पौने २ करोड रुपैयाँ गाउँ भित्र्याउन सफल भएका थिए ।