२० भदौ, उदयपुर ।
उदयपुरको कटारी नगरपालिका–१०, सोरुङ छबीसेमा आमा छोराको हत्या भएको छ । वडा कार्यालय नजिकै किराना पसल गर्दै आएकी अन्दाजी ४० वर्षीया निर्मला थापा र उनका छोरा अन्दाजी ६ वर्षीय छोरा आरुष थापाको आज बिहान पसलमै शव भेटिएको हो ।बिहान पसलमा आउने ग्राहकहरुले आमाछोराको शव देखेका थिए । आमाको शव भूइँमा घोप्टो परेको र छोराको खाटमा रगतमा डुबेको अवस्थामा फेला परको हो ।छोराको शवमा हतियार प्रहार गरेको चोटहरु देखिएको छ ।
घटनास्थल कटारी बजारबाट ३२ किलोमिटर उत्तरपहाडी भेगमा पर्दछ । मृतक निर्मला थापाका श्रीमान अशोक थापा दुईवर्ष अघि कान्छी श्रीमती लिएर भारततिर गएका थिए ।स्थानीय दिपक राउतले बुधबार साँझ ८ बजेसम्म मुल घरको देवरहरुसँग मृतक निर्मलाको फोनमा कुरा भएको बताए । ‘साना साना देवरहरु थिए उनीहरुलाई बिहान आउँछौ भनेका थिए रे’, राउतले भने, ‘बिहान घरमा खसी काट्ने सल्लाह थियो रे राति हत्या भएछ ।’ बिहान घटनाबारे थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।