समाचार

महानगर नै भएपनि कास्कीकोटमा बसाइँसराइको क्रम बढ्दै ,धारा बनाउने काम भयो पानी चुहिने काम भएन

पोखरा, १४ मंसिर ।

पोखरा बजारदेखि कास्कीकोट करिब १२ किलोमिटरको दुरीमा छ । बजारबाट नजिकै पोखरा महानगरपालिकाकै २४ नम्बर वडामा पर्ने यो गाउँमा खानेपानीको समस्या सदियौँदेखि नै उस्तै छ । स्थानीय गंगा गिरीले अझै डोकोमा पानी बोकेर गुजारा चलाउनुपरेको दुखेसो गर्छिन् । ‘म जन्मेदेखि मेरो आमाले बोकेको डोको आजसम्म मैले पनि बोकिरहेको छु । महानगरमा पानी बोकेरै गुजारा चलाउनुपर्ने अवस्था कहिलेसम्म हो,’ उनले भनिन्, ‘हामीले एक घर एक धाराको कुरा गर्छौं । हामीले संरचना त बनाउँला तर, त्यो धारामा झर्ने पानीको स्रोत खोई ? पानीको मुहानका लागि जाँदा तथानाम गाली खाइन्छ । यसमा प्रदेश सकारले पहल गरिदियोस् ।’संसदीय पत्रकार मञ्च गण्डकीको आयोजना र संयुक्त राष्ट्र संघीय विकास नियोग (युएनडिपी) संसद सहयोग परियोजनाको सहयोगमा पोखरा २४ कास्कीकोटमा भएको नागरिक सुनुवाइमा स्थानीयले महानगरकै वडामा खानेपानीको समस्या रहेको विषय जोडतोडका साथ उठाए । स्थानीय हर्कबहादुर नेपाली र टीकाराम त्रिपाठीले पनि कास्कीकोटको खानेपानीको समस्या समाधानका लागि प्रदेश सरकारले छिटो कदम चाल्नुपर्ने बताए । वडाध्यक्ष भरतबहादुर अधिकारी पनि धारा बनेको तर पानी नआएको स्वीकार्छन् । ‘प्रदेश सरकारले ल्याएको एक घर एक धारा अभियानामा महानगरले पनि साथ दियो तर, धारा बनाउने काम भयो पानी चुहिने काम भएन,’ उनले भने ।

गण्डकी प्रदेश सरकार गठन लगत्तै सरकारले ‘एक घर एक धारा’ नीति अघि सार्‍यो । प्रदेशभरका प्रत्येक घरधुरीमा खानेपानीको समस्या नहुने गरी सरकार लागि पर्‍यो । तर, काम सुरु गरेको ७ वर्ष बित्न लाग्दा समेत नागरिकले खानेपानीको समस्या भोग्दै आएका छन् । दुर्गमका जनता भौगोलिक विकटताले समस्या भोगिरहेका छन् तर, महानगरपालिकाकै नागरिक पानीको जोहो गर्न भौतारिरहेको उनीहरुको दुखेको थियो ।नागरिक सुनुवाइ कार्यक्रममा स्थानीयले खानेपानीसँगै सडक पूर्वाधार, बसाइँसराइ, शिक्षा, पर्यटन, कृषि, स्वास्थ्यका समस्या सुनाउँदै समाधानका लागि प्रदेश सरकारले पहल गर्नुपर्नेमा जोड दिएका थिए । स्थानीय बुद्धिबहादुर बस्नेतले सडकका लागि बजेट छुट्टिए पनि काम अघि नबढेको गुनासो गरे । ‘बास्कोट–गैराबारी, ढोकाको मुखको बाटोका लागि पहिल्यै ७ करोड बजेट परेको सुन्छौं,’ उनले भने, ‘तर, काम भएको छैन यसका काम नहुनुको कारण के हो ?’

कालिका माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रेश्वर बस्ताकोटीले बसाइँसराइ र अन्य कारणले विद्यार्थी संख्या घटिरहेकोमा चिन्ता व्यक्त गरे । ‘हाम्रो विद्यालयले स्कुलबस/पुस्तक/पोसाक निशुल्क गर्दा पनि विद्यार्थी संख्या बढेको छैन । यस क्षेत्रको नमुना विद्यालयल हो । एसइईमा ९९ प्रतिशत विद्यार्थी पास पनि भएका थिए,’ उनले भने, ‘यहाँ बिहानदेखि अरुअरु स्कुल बसको लाइन लाग्छ । यसलाई रोक्न सके विद्यार्थी बढ्छ कि जस्तो लाग्छ ।’महानगर नै भएपनि कास्कीकोटमा बसाइँसराइको क्रम बढ्दै गएकोप्रति सुनकुमारी घर्ती पनि चिन्तित छिन् । अबको केही वर्षमा गाउँमा युवा देख्न मुस्किल पर्ने उनको भनाइ थियो । स्वास्थ्य स्वयंसेविका समेत रहेकी घर्तीले गाउँमा जन्मदर पनि निकै कम रहेको सुनाइन् । ‘मेरो कार्यक्षेत्रमा ६१ वटा घर छन् । तीमध्ये ४ घर खाली नै भइसके । १५ घरमा ४५ वर्ष नाघेका बाआमामात्र भेटिनुुहुन्छ,’ उनले भनिन्, ‘६१ घरमा ३ सय जनसंख्या छ तीमध्ये १ सय १५ बाहिरै बस्नुहुन्छ । अनि जन्मदर हेर्ने हो भने १७ महिना अघि एउटा बच्चा जन्मिएको थियो अब ४ महिनापछि अर्को जन्मिन्छ । गाउँमा यस्तो छ अवस्था ।’ अब प्रदेश सरकारले गाउँको जनसंख्या गाउँमै राख्ने खालका कार्यक्रम ल्याउनुपर्ने बताइन् ।

कार्यक्रममा नेकपा एमाले पोखरा २४ कमिटीले त्यस क्षेत्रबाट निर्वाचित सांसद प्रकाश बराललाई आगामी बजेटमा समेट्नुपर्ने योजना ज्ञापन पत्रमै उल्लेख गरेर बुझाएको थियो । वडा कमिटीले बुझाएको ज्ञापन पत्रमा मोटरबाटो, लिफ्टिङ खानेपानी, सिंचाई कुलो र बाटो स्तरोन्नतीको विषय समेटिएको थियो ।
ढोकाको मुख हुँदै गुन्टेचौर कृषि सडक हुदैं गैह्राबारी मतदान केन्द्र, बाङ्काटी हुँदै लौरुक जोड्ने पक्की सडक निर्माण, लौरुक–कास्कीकोट लिफ्टिङ खानेपानी योजना नियमित रुपमा सुचारु गर्ने कार्यक्रम अर्को वर्षको बजेटमा समेट्न आग्रह गरिएको नेकपा एमाले पोखरा २४ कमिटीका अध्यक्ष बलराम गौतमले जानकारी दिए । इस्लामी–चतुरघाट मूलको पानी ठूलाखेत गैह्राबारी, कोइलीपानी, डाँडाखेत सुन्तलाबारी सिँचाइ कुलो निर्माण, कृषि सडक गुण्टेचौर, खोरियापानी, बाहुनपानी, काफलगैरी, स्यालढुंगा मोटरबाटो स्तरोन्नति र चिसापानी–मिठाआल, गुन्टेचौर मोटरबाटो स्तरोन्नती गर्नका लागि पनि ज्ञापनपत्रमार्फत माग गरिएको अध्यक्ष गौतमले बताए ।

जनताको गुनासो, सुझाव सुनेपछि गण्डकी प्रदेश सभा, अर्थ तथा विकास समितिका सभापति भोजराज अर्यालले आवश्यकताका आधारमा योजना छनोट गर्नका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराउने बताए । कास्कीकोटमा खानेपानीसँगै सडक पूर्वाधार, बसाइँसराइ, शिक्षा, पर्यटन, कृषि, स्वास्थ्य प्राथमिकतामा रहेकाले आगामी वर्षको बजेटमा सरकारलाई जानकारी गराउने उनले प्रतिवद्धता जनाए ।‘बजेटलाई अझ बढी जनमुखी बनाउन शक्तिको आधारमा नभई आवश्यकतामा आधारमा बजेट बिनियोजन गर्नका लागि सरकारको ध्यानाकर्षण गराउँछौं,’ उनले भने, ‘यहाँहरुले जे जे विषय उठाउनुभएको छ । त्यसको भावनाहरु पूरा हुने गरी प्रदेश सरकारसँग पु¥याउँछौं र सकेसम्म आगामी वर्षको योजना बनाउँदा यहाँको भावनाको सम्बोधन गर्ने गरी कार्य गर्छौं ।’
प्रदेश सभा सदस्य प्रकाश बरालले आफ्नो निर्वाचन क्षेत्रमा चुनावी घोषणापत्र अनुसार काम गर्दै आएको बताए । केही काम हुँदै गरेको केही आगामी वर्षहरुमा पुरा गर्ने गरी काम गरिरहेको उनको भनाइ थियो । कार्यक्रममा उठेका केही विषयमा जनता आफै पनि सजग भएर लाग्नुपर्नेमा उनको जोड थियो ।

वडाध्यक्ष भरतबहादुर अधिकारीले कास्कीकोटमा खानेपानीको समस्या यो आर्थिक वर्षमा पूरा हुने बताए । अहिले पाइप बिछ्याउने, टंकी बनाउने, धारा मर्मत गर्ने काम रफ्तारमा अघि बढेकाले आगामी वैशाखसम्म पानीको समस्या समाधान हुने उनको भनाइ थियो । यसका लागि प्रदेश सरकार, महानगरपालिका र वडा कार्यालय लागिपरिरहेको उनले सुनाए । सडक पूर्वाधार, बसाइँसराइ, शिक्षा, पर्यटन, कृषि, स्वास्थ्यका समस्यालाई तीनै तहको सरकार मिलेर समाधान गर्दै जाने उनले प्रतिबद्धता जनाए ।

बाराही संवाददाता

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

खेलकुद समाचार

विश्वकप फाइनल खेलेका ८ खेलाडी दक्षिण अफ्रिका टोलीमा परेनन्

[ad_1] ३० साउन, काठमाडौं । दक्षिण अफ्रिकाले दुई महिनाअघि भएको आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा भारतविरुद्ध खेलेका ८ खेलाडीलाई
अन्तरवार्ता भिडियो समाचार

साइप्रसबाट ‘डंकी रुट’ हुँदै स्पेन छिरेकी नेपाली युवती

[ad_1] ३० साउन, बार्सिलोना। काठमाडौंमा एउटा मेनपावर कम्पनीमार्फत् २०८० बैशाखमा स्याङ्जा मूल घर भएकी ३० वर्षीया अञ्जु (परिवर्तित नाम) साइप्रस