पोखरा, २० मङ्सिर ।
पोखराको हरित यातायात प्रणाली विकास परियोजना तिन चरण गरी सम्पन्न गरिने छ। यस परियोजनाको पहिलो चरणमा सहरी यातायात व्यवस्थापनका लागि प्रारम्भिक चरणको काम सकिनेछ । यस्तै दोस्रो चरणमा हरित यातायात प्रणालीको विकास गरिने छ भने, तेस्रो चरणमा दिगो हरित यातायात प्रणालीको विकास गर्ने गरी प्रतिवेदन तयार गरिएको छ ।यस सम्बन्धी अध्ययन प्रतिवेदन कोरियाली टोलीले नगर प्रमुख धनराज आचार्यलाई बुझाएको छ । पोखरा महानगरपालिका र गणतन्त्र कोरियाको भूमि, पूर्वाधार र यातायात मन्त्रालय बिच यस अघि भएको सम्झौता बमोजिम तयार प्रतिवेदन अध्ययन टोलीले नगर प्रमुख आचार्यलाई बुझाएको हो ।
पोखराको विद्यमान सार्वजनिक यातायात व्यवस्थालाई प्रविधिमैत्री बनाउँदै सहज र सरल बनाउने विषयमा अध्ययन टोलीले गहिरो गरी अध्ययन गरी प्रतिवेदन तयार गरेको छ । यसअघि पनि पोखराको सार्वजनिक यातायात प्रणालीको विषयमा स्थलगत अध्ययन गरेको कोरियाली रेलमार्ग अनुसन्धान संस्थानले पोखराका ८४ वटा बस रुटहरूमा १ हजार २८६ स्थानमा बस स्टप निर्माण गर्नुपर्ने ३ स्थानमा बस टर्मिनल आवश्यक रहेको बताएको छ । परियोजना अन्तरगत कोरियाले विभिन्न साझेदार संस्थाहरूको समन्वयमा पहिलो चरणमा १५ लाख अमेरिकी डलर खर्च गर्नेछ । यसको आधा रकम बस स्टप र बसहरूमा मेसिन जडान गर्दा खर्च हुनेछ । पोखराको मुख्य चोक पृथ्वीचोकलाई थप विस्तार गरिनेछ । तिन चरणमा गरी सम्पन्न गरिने यस परियोजनाको पहिलो चरणमा सहरी यातायात व्यवस्थापनका लागि प्रारम्भिक चरणको काम सकिनेछ । यस्तै दोस्रो चरणमा हरित यातायात प्रणालीको विकास गरिने छ भने, तेस्रो चरणमा दिगो हरित यातायात प्रणालीको विकास गर्ने गरी प्रतिवेदन तयार गरिएको छ ।
विश्वमा भएको उत्कृष्ट सहरी यातायात व्यवस्थापनको नमुना पोखरामा हुने कोरियन टोलीले विश्वास दिलाएको छ । परियोजनाका दौरानमा हाल नेपालमा रहेका सवारीहरूको अवस्था र कोरियामा भइरहेको यातायात व्यवस्थापनको अनुभवलाई समेत प्रयोग गरिनेछ । प्रतिवेदन अनुसार परियोजनाको अन्त्यमा पोखराको सार्वजनिक सहरी यातायात व्यवस्थापन प्रविधिमैत्री र स्मार्ट हुनेछ । पोखरामा चल्ने सार्वजनिक यातायातको सेवाका बारे हरेक नागरिकहरूले डिजिटल माध्यमबाट जानकारी पाउने छन् । अहिले जस्तो कुनै पनि स्थानमा लामो समयसम्म बस कुर्नु पर्ने छैन भने, चालकहरूले समेत जथाभाबी यात्रु चढाउन र ओराल्न पाउने छैनन् । क्याम्पीङ्चोक देखी बगर (बस स्टप १९), निर निवास देखी शान्तिनगर चोक (बस स्टप ११) र नुवारचोक देखी महिमा किराना (बस स्टप १८) सम्म गरी तिन वटा मुख्य बस चल्ने रुटहरू हुनेछन् ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यस परियोजना मार्फत पोखरामा वातावरणमैत्री यातायात प्रणालीको विकासमा टेवा पुग्नुका साथै सार्वजनिक यातायात प्रयोग गर्ने यात्रुहरूको सङ्ख्यामा वृद्धि, कार्बन उत्सर्जनमा न्यूनीकरण र सार्वजनिक यातायातको सम्पूर्ण जानकारी प्राप्तिमा यात्रुहरूलाई सहजता पुग्ने विश्वास व्यक्त गरे । उनका अनुसार पोखरामा बढ्दो सहरीकरण र ट्राफिक चापलाई व्यवस्थित गर्नका लागि पनि यो परियोजना प्रभावकारी हुनेछ ।यस परियोजनाले पोखरामा समावेशी, दिगो र लचिलो, वातावरणमैत्री र प्रभावकारी यातायात प्रणालीको विकासमा टेवा पुग्ने विश्वास गरिएको छ । परियोजनामा गणतन्त्र कोरियाको भूमि, पूर्वाधार र यातायात मन्त्रालय, कोरिया रेलमार्ग अनुसन्धान संस्थान, राष्ट्रिय यातायात विश्वविद्यालय कोरिया र तारकम को. लिमिटेड सहित विभिन्न दातृ निकायहरूले साझेदारी गर्नेछन् ।
यस परियोजनाको पाइलोटिङ यही महिनाको अन्त्यबाट सुरु गरिनेछ । यसका लागि आवश्यक स्थानीय व्यवस्थापनको काम पोखरा महानगरपालिकाले गर्नेछ भने, आवश्यक प्रविधि र उपकरणहरू भने कोरियाली टोलीले गर्नेछ । पहिलो चरणमा पोखराको लामाचौर–छोरेपाटन रुटमा ६ स्थानमा बस स्टपहरू निर्माण गरी परीक्षण गरिनेछ ।