पोखरा,९ पुष।
पोखरास्थित बलिदानी बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्याङ्जा हरिनाश गाउँपालिका गाउँपालिका वडा नं. ३ घर भई हाल पोखरा महानगरपालिका वडा नं. ८ आलुमाइलाचोक बस्दै आएका २७ वर्षीय नवीन भण्डारी छन् ।
प्रहरीका अनुसार पक्राउ परेका भण्डारी सहकारीका ऋण उपसमिति सदस्य तथा लोन अधिकृत हुन् । भण्डारी सहकारीमा जम्मा भएको रकम सहकारी ऐन, नियमावली तथा संस्थाको नियम विपरीत हिनामिना एवं अपचलमा संलग्न भई हालसम्म फरार रहेका थिए । उनलाई सोमबार पृथ्वीचोकबाट पक्राउ गरी मंगलबार अदालतमा उपस्थित गराइएको कास्की प्रहरीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।