काठमाडौं,१४ पुष ।
दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा करिब १८१ जना सवार विमान दुर्घटना भएको छ । ल्याण्ड गर्ने बेला धावनमार्गमा चिप्लिएर विमान दुर्घटना भएको हो । त्यसपछि विमानमा आगो लागेको थियो ।समाचार एजेन्सी योनहापले यो दुर्घटनामा अहिलेसम्म २८ जनाको मृत्यु भएको पुष्टि भएको जनाएको छ । जेजु विमान दुर्घटनामा परेको हो । सो विमानमा १७५ जना यात्री र चालक दलका ६ सदस्य थिए । सो विमान थाइल्याण्डको बैंककबाट फर्किएको थियो ।विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गमा चिप्लिएर विमान दुर्घटना भएको बीबीसीले जनाएको छ । दुर्घटनास्थलबाट दुई जनालाई जीवितै उद्धार गरिएको रोयटर्सले जनाएको छ ।
सामाजिक सञ्जालमा अपलोड गरिएको अप्रमाणित फुटेजमा विमान धावनमार्गबाट चिप्लिएर पर्खालमा ठोक्किएको देखिन्छ, त्यसपछि त्यसको केही भाग एकाएक विस्फोट हुन्छ। अन्य फुटेजमा आकाशमा कालो धुवाँको ठुलो मुस्लो उडिरहेको समेत देखिन्छ।