पोखरा ,१४ पुस।
पोखरा महानगरपालिका वडा नम्बर १३ ले साहित्य पर्व २०८१ गर्ने भएको छ । साहित्य र संस्कृतिलाई प्रोत्साहन गर्न कार्यक्रम गर्न लागिएको आइतबार आयोजित पत्रकारमा कार्यक्रम संयोजक राजेन्द्र भण्डारीले बताए । पुस २० गते वडा कार्यालय परिसरमा कार्यक्रम हुनेछ ।
साहित्य पर्वमा डा अभि सुवेदीले वर्तमानले देखेको र भविष्यले खोजेको शीर्षकमा विद्वत् प्रवचन दिने छन् । पोखरा १३ को भौगोलिक इतिहास र वर्तमानबारे राजनीतिक विश्लेषक विश्व सिग्देलले प्रवचन दिने कार्यतालिका छ । समाज रुपान्तरणमा साहित्यको भूमिकाबारे साहित्यकार सरुभक्तले धारणा राख्नेछन् ।साहित्य पर्वमा लोककवि अलिमियाँका लोकगीत पनि सुनाइनेछ । ५ नारी सर्जकले कविता वाचन गर्ने छन् ।
कवि तीर्थ श्रेष्ठले कविता वाचन गर्ने अर्काे शत्रको सहजीकरण पत्रकार शोभाकान्त सिग्देलले गर्ने छन् । गायिका बाबा राणाको सांगीतिक जीवन आरम्भदेखि हालसम्मका अनुभवबारे प्रकाश पार्ने र गीत गाउन अनुरोध गरिने कार्यक्रम संयोजक भण्डारीले जानकारी दिए ।
कार्यक्रममा कविता, ¥याप गीत, लोकगीतसमेत समेटिने छन् । ‘यो साहित्यिक पर्वबाट स्थानीय र राष्ट्रिय क्षेत्रमा ध्यान आकर्षण गर्ने अपेक्षा राखिएको छ,’ उनले भने ।
पोखरा १३ का वडाध्यक्ष किरण बरालले आफ्नो पूर्ववत घोषणा र प्रतिवद्धता अनुरुप साहित्य पर्व गर्न लागिएको सुनाए ।‘म निर्वाचित भएपछि साहित्यिक पर्व गर्ने योजना थियो । साहित्यमार्फत समाजलाई जोड्न सकिन्छ। यो वडाले धेरै साहित्यकार जन्माएको पनि छ । उहाँहरुलाई पनि सम्मान गर्दै नयाँ पुस्तारलाई ती सबै कुराको जानकारी दिन पर्व गर्न लागिएको बरालले बताए।