पोखरा ,२३ पुष।
पोखरा महानगरपालिकाको मेयर आचार्यलाई फिर्के खोलामा बनेका १६० संरचना हटाउने बाटो खुलेको छ । यही पुस १६ गते रिट निवेदन उच्च अदालत पोखराले खारेज गरिदिएपछि महानगरलाई काम गर्ने बाटो खुलेको हो ।
न्यायाधीशद्वय मिलनकुमार राई र उमेश कोइरालाको संयुक्त इजलासले रिट खारेज गरिदिएको हो । फैसलाको पूर्णपाठ भने आउन बाँकी छ । फिर्केमा अतिक्रमण गरी बनाइएका संरचना हटाउने काम अघि बढ्छ कि बढ्दैन ? अब पूर्ण पाठ आएपछि पोखरा महानगर मेयर आचार्यमा भर पर्नेछ ।
पोखरा महानगरपालिका, वडा नं. ४, ५, ७ र ८ लाई विपक्षी बनाएर स्थानीय राजन रौनियार, फिर्के तमु समाजको तर्फबाट अख्तियार प्राप्त लीलबहादुर गुरुङ, मनीषा वैद्य, शेरबहादुर गुरुङ, भरत कुँवर खाँण, हीरा गुरुङ, सरिता देवकोटा, भगवती अधिकारी, शकुन्तला कुँवर, मनरुपा ढकाल, सम्मरबहादुर कार्की, इन्द्रमणि पौडेल र खिनकुमारी क्षेत्री गरी १३ जनाले रिट हालेका थिए ।
महानगपालिकाले प्राविधिक वासुदेव पौडेलको संयोजकत्वमा २०८० साउन ४ देखि भदौ २ सम्म गरेको फिर्केको नापजाँचमा १ सय ६० संरचना खोलाघरमै बनेको पत्ता लागेको थियो । खोलाघरको सीमांकन गरी ५ सय ८८ वटा स्तम्भ गाडिएको थियो ।