पोखरा ,२७ फागुन।
पोखरा महानगरपालिकाले मानव सेवा फाउन्डेसनलाई कोटिहोम गर्न दिने निर्णय गरेको छ । सोमबार महानगरपालिकामा बसेको बैठकले कोटिहोम आयोजनाको लागि सहमति जनाएको छ ।
तर स्थान हेरफेर गर्ने निर्णय सहमति जुटेको जनाइएको छ । महानगरपालिका, तीनवटै सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय तथा आयोजक मानव सेवा फाउन्डेसनका प्रतिनिधिहरू सम्मिलित छलफलपछि यस्तो सहमति जुटेको हो ।मानवसेवा फाउण्डेसनका संस्थापक विजय भण्डारीले पनि धर्मका लागि अधर्म गर्न तयार छु, बाराहीघाटमा नै कोटीहोम गर्न कसैले रोक्न नसक्ने अभिव्यक्ति दिए । सुरुमा रुख कटानबाट सुरु भएको कोटिहोम विवाद यहाँदेखि भने व्यक्तिगत ‘इगो’ को रुपमा देखिन थाल्यो ।
महानगरले कार्यपालिका बैठकबाट निर्णय गरेर कोटीहोम गर्न नदिने निर्णय गरो । कोटिहोमको लागि अनुमति दिएको नेपाल ट्रष्टलाई पनि सहमति रोक्न आग्रह गर्ने निर्णय गरयो तर, ट्रष्टले मानेन , आफ्नो सम्पत्ति भाडामा दिँदा अरुलाई सोध्न नपर्ने जवाफ पनि दियो ।
महानगरको निर्णयविरुद्ध आयोजक उच्च अदालत पुग्यो । अदालतले फागुन १ गते कोटिहोम नरोक्न अन्तरिम आदेश दियो नेपाल ट्रष्टबाट तीतो जवाफ पाएको महानगरलाई उच्चले अर्को झट्का दियो । आदेश एकपक्षीय भन्दै महानगरका मेयर धनराज आचार्य स्वयं वारेसमार्फत् ११ फागुनमा उच्च अदालत पुगे । उनले अदालतको आदेश एकपक्षीय रहेको हुँदा खारेज गर्नुपर्ने माग राखेका थिए ।
तर, अदालतले यहाँपनि उनलाई साथ दिएन । कोटिहोम नरोक्नु भन्ने पुरानै आदेशलाई निरन्तरता दियो ।आयोजकले चाहिँ फागुन २३ गते साइत जुरेको हुँदा भूमिपूजन कार्यक्रमको तयारी थाल्यो । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यही मितिमा साइत दिएको थियो ।
भूमिपूजन रोक्नकै लागि २३ गते बिहान अचानक कार्यपालिका बैठक डाकियो । कार्यपालिका सदस्यहरुलाई महानगरले बैठकको लागि भनेर बिहीबार राति १० बजेतिर सूचना पठाएको थियो ।
कार्यपालिकाबाट यो निर्णय गराएर केही वडाध्यक्षसहित नगरप्रहरीहरु महायज्ञस्थल बाराहीघाट पुगे ।भित्र भूमिपूजन कार्यक्रम चल्दै थियो । नगरप्रहरी पुगेर टेबुल उठाउन थाले ।
आयोजक पक्ष पनि भिड्नको लागि तम्तयार थियो । उनीहरुले नगरप्रहरीको प्रतिकार गरे ।
स्थिति तनावग्रस्त बन्न पुग्यो । भूमिपूजन रोक्नका लागि महानगरले स्थानीय प्रशासनको पनि साथ खोजेको थियो । तर, नेपाल प्रहरीले महानगरलाई साथ दिएन । नगरप्रहरीलाई बाराहीघाट स्थलबाट बाहिर निस्किएपछि भूमिपूजन सम्पन्न भयो । गेटको बाहिरपट्टि रहेका नगरप्रहरी आफ्नो गाडी लिन भित्र पस्न खोजे । भित्रपट्टि रहेका स्थानीय युवाहरुले भित्र आउन दिएनन ।
त्यो धकेलाधकेल अचानक झडपमा परिणत हुन पुग्यो । जहाँ २४ जना घाइते हुन पुगे । प्रहरीले भने १३ जना घाइते रहेको विवरण उपलब्ध गराएको थियो । स्थिति छिनमै युद्धभूमिजस्तो देखिन थाल्यो ।
कोटिहोमको उत्कर्ष बनेको त्यो झडपपछि अब के हुन्छ भन्ने अन्योलता नै थियो । त्यो झडपले धेरै पक्षको भूमिकामाथि प्रश्न उठ्यो, प्रशासन मुक भएको आरोप लाग्यो । झडप पहिला कसले सुरु गर्यो भन्ने बहस उठ्यो, पोखराले दिने सन्देशमाथि चिन्ताहरु पोखिए । यतिसम्म कि धार्मिक साम्प्रादायिकता खलल हुने तरिकाबाट टिकाटिप्पणी उठ्न थाले । धार्मिक द्वन्द्व निम्तिने खतरा बढ्यो ।यही झडपपछि, सोमबार जे निर्णय भयो, झडप हुनुभन्दा अगाडि नै हुनुपथ्र्यो ।