
पोखरा, ८ भदौ ।
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले रक्तदान परोपकारी हितसँगै स्वयंको हित रहेको बताउनुभएको छ ।
ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र नेपाल, पार्दी शाखाले आयोजना गरेको रक्तदान शिविरको समुद्घाटन गर्नुहुँदै प्रमुख अतिथि भट्टले रक्तदान कार्यक्रम मानवीय धर्म र सामाजिक कर्म जोडिएको पवित्र कार्य रहेको बताउनुभयो ।
‘स्वेच्छिक रक्तदान एउटा महत्वपूर्ण मानवीय र सामाजिक सेवा हो । यस्ता कार्यक्रमले युवा पुस्तामा मानव सेवा र रक्तदानको महत्वको बारेमा जागरुकता फैलाउन पनि उत्तिकै मद्धत गर्दछ ।’ उहाँले भन्नुभयो ।
संस्थाका अन्तर्राष्ट्रिय पूर्व मुख्य प्रशासिका राजयोगिनी प्रकाशमणिज्यूको १८ औं पुण्य स्मृति तथा विश्व भातृत्व दिवसको अवसरमा नेपाल र भारतमा ब्रह्माकुमारीका प्रायः सबै स्थानीय सेवाकेन्द्रहरूले भदौ ६ देखि ९ गतेसम्म अन्तर्राष्ट्रिय रक्तदान शिविर आयोजना गरेको छ ।
संस्थाले मानवीय सेवा, एकता र करुणाको भावनालाई बढावा दिन यस्ता प्रकृतिको कार्यक्रम आयोजना गरेकोमा आभार व्यक्त गर्नुहुँदै यस कार्यलाई पवित्र र समाजसेवामूलक कार्यका रुपमा आफूले लिएको बताउनुभयो ।
केन्द्रमा अध्यात्मिक चर्चा र ध्यान कार्यक्रमको आयोजना निरन्तर हुने हुँदा सबैको सुख, समृद्धि र शान्ति प्राप्तिका साथ जनजीवन मधुर र समृद्ध बन्न सहयोग पुग्ने अपेक्षा पनि उहाँले राख्नुभयो ।
‘आजको समयमा मानिसहरूले आफूलाई आत्मा सम्झन छाडेका छन् । जसले गर्दा अधर्म, विकार र अज्ञान फैलिएको छ। नयाँ सत्ययुगी सुखमय संसारको स्थापनाको खाँचो छ ।’ उहाँले भन्नुभयो – ‘सबै धर्म र संस्कृतिसँग सम्बन्धित मानिसहरूलाई आफ्नो अन्तरात्मालाई चिन्न, अनुभूति गर्न र राजयोग अभ्यास मार्फत् जीवनमा सकारात्मक परिवर्तन ल्याउन सहयोग पुग्नेछ भन्नेमा आशावादी छु ।’
शाखा प्रमुख ब्रह्माकुमारी अमृत दिदीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा वडा नं. ७ अध्यक्ष राममोहन आचार्य, समाजका अग्रज देवराज चालिसे, संस्थाका महासचिव ब्रह्माकुमार शैलेषराज बराल लगायतले बोल्नुभएको थियो । कार्यक्रममा लेकसाइड शाखा प्रमुख पुनम दिदीले धन्यवाद ज्ञापन र छोरेपाटन शाखा प्रमुख ब्रह्माकुमारी दीपा दिदीले सञ्चालन गर्नुभएको थियो ।
काठमाण्डाै – जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका अनुसार वीरगञ्ज महानगरपालिकाका विभिन्न अस्पतालमा उपचाररत बिरामीमध्ये ४५ जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ ।
वीरगञ्जको नारायणी अस्पतालमा ३२, तराई अस्पतालमा ८, नेशनल मेडिकल कलेजमा ६, एडभान्स अस्पतालमा ५, अलिअर्थो सेन्टरमा २ र भवानी अस्पतालमा २ जना बिरामीको उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख विनोद झाले जानकारी दिनुभयाे ।
अहिले अस्पतालमा हैजाका नयाँ बिरामी भर्नादर घट्दै गएकाे छ । वीरगञ्जका विभिन्न अस्पतालमा झाडापखाला र हैजाका शङ्कास्पद उपचाररत बिरामीको सङ्ख्या बिस्तारै घट्दै गएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख विनोद झाले बताउनुभयाे ।
वीरगञ्ज महानगरपालिकाका ५ वटै वडामा देखिएको हैजाको मुख्य कारण पानी नै हुनसक्ने प्रारम्भिक अनुमान छ । १२ नम्बर वडाबाट फैलिएको झाडापखालाका बिरामीलाई हैजा भएको हो/होइन भनेर प्रारम्भिक परिक्षणमात्रै भएको र विस्तृत अध्ययनको नतिजा आउन अझै केही दिन लाग्ने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख विनोद झाले बताउनुभयाे । मुख्य के कारणले हैजा भएको हो भनेर पत्ता लगाउनका लागि कल्चरको रिपोर्ट नै पर्खनुपर्ने पनि उहाँले जानकारी दिनुभयाे ।
महामारी फैलन नदिन घरघरको पानी परीक्षण कार्य शुरू भएको छ । घरघरको पानीको अवस्था के छ पहिचानका लागि जनचेतना अभिवृद्धिका काम पनि हुँदैछ । ‘पानी उमालेर वा पियुष मिसाएर शुद्धीकरण गरेर मात्रै खान भनेका छाैँ । जनचेतना फैलाउनका लागि महानगरसँग मिलेर घरघरमा ब्रुसर बाँड्ने काम पनि जिल्ला स्वास्थ्य कार्यालयले गरिरहेको छ’, झाले भन्नुभयाे ।
हैजाका लक्षण
वाकवाकी लाग्ने ,अचानक पखाला लाग्ने, बान्ता हुने, आँखा गढ्ने, थकान हुने, पिसाब कम लाग्ने, मानसिक स्थितिमा परिवर्तन आउने, मुख सुक्खा हुने, अत्यधिक तिर्खा लाग्ने, मुटुको चाल अनियमित हुने, रक्तचाप घट्ने
हैजाबाट जोगिने उपाय
- धारा वा अन्य पानीको स्रोतबाट सीधै पानी नपिउने
- काँचो सागसब्जी, फलफूल र राम्राेसँग नपाकेकाे माछामासु नखाने
- उमालेको वा प्रशोधन गरिएको पानी मात्रै पिउने
- खाना पकाउनुअघि, खाना खानुअघि र शौचालय प्रयोग गरेपछि साबुनपानीले राम्ररी हात धुने
- दूषित पानी वा खानाबाट टाढा रहने र सरसफाइमा ध्यान दिने
- शौचालय सफा राख्ने र जथाभाबी शौच नगर्ने
- सङ्क्रमित व्यक्तिकाे खानपिन, सरसफाइमा विशेष ध्यान दिने
- हैजाको लक्षण देखिएमा तुरुन्तै स्वास्थ्यकर्मीको परामर्श लिने
उमा आलेमगर
पोखरा, ८ भदौँ ।
नेपालको सांस्कृतिक वैभवलाई निरन्तरता दिने पर्वहरूमध्ये हरितालिका तीज विशेष महत्व बोकेको पर्व हो। भाद्र शुक्ल तृतीयाका दिन मनाइने यो पर्व हिन्दु नारीहरूको आस्था, विश्वास र जीवनशैलीसँग गहिरो रूपमा गाँसिएको छ।
ऐतिहासिक सन्दर्भ र धार्मिक आधार
तीजको उत्पत्तिसम्बन्धी प्राचीन धार्मिक आख्यानहरू शिव पुराण र स्कन्द पुराणमा उल्लेख पाइन्छ । कथा अनुसार, पार्वतीले भगवान् शिवलाई वर पाउन कठोर तपस्या गरिन् । उनले लगातार १०८ वर्षसम्म कठोर ब्रत बसेको उल्लेख पनि कतिपय ग्रन्थहरूमा छ । अन्ततः शिवले पार्वतीको भक्ति स्वीकार गरी विवाह गरे । यही प्रसंगलाई स्मरण गर्दै हिन्दु महिलाहरूले तीजमा निराहार ब्रत बस्ने परम्परा बसालिएको हो ।
नेपालमा तीज मनाउने परम्परा करिब १८औँ शताब्दीको आसपासदेखि व्यवस्थित रूपमा प्रचलनमा आएको मानिन्छ । खासगरी शाह राणा शासककालमा दरबारभित्र तीज विशेष चहलपहलसहित मनाइने गर्थे । दरबारमा सुरु भएको चलन क्रमशः सर्वसाधारणमा फैलियो ।
परम्परागत स्वरूप
परम्परागत रूपमा तीज धार्मिक अनुशासन, नारीको आत्म–संयम र पारिवारिक समर्पणको पर्व थियो। महिलाले निराहार ब्रत बस्दै शिव–पार्वतीको पूजा गर्थे र दाम्पत्य सुख, परिवारको दीर्घायु र समृद्धिको कामना गर्थे ।
गाउँघरमा तीज महिलाको सामूहिक भेटघाटको अवसर हुन्थ्यो, जहाँ उनीहरूले आफ्ना पीडा, गुनासो र अनुभव गीतमार्फत व्यक्त गर्थे । “तीज गीत“ हरूले त्यस समयको सामाजिक यथार्थ उजागर गर्ने महत्वपूर्ण माध्यमको रूपमा काम गर्थे ।
बदलिँदो सांस्कृतिक रूप
आज तीजको स्वरूप धार्मिक सीमाभन्दा बाहिर निस्केर व्यापक सामाजिक र सांस्कृतिक उत्सवमा परिणत भएको छ ।
‘दार खाने’ प्रथा ः पहिले घरभित्र सीमित यो परम्परा अहिले होटल, पार्टी प्यालेस र सहर–सहरमा भव्य कार्यक्रमका रूपमा रूपान्तरण भएको छ।
गीत–संगीतको नवीनता ः परम्परागत लोकधुन मात्र नभई आधुनिक तीज गीतहरू बजारमा आउन थालेका छन ्। युट्युबमा मात्रै हरेक वर्ष सयौं नयाँ तीज गीत अपलोड हुन्छन्, जसले करोडौं भ्युज पाउँछन्।
सामाजिक सञ्जालको प्रभाव ः फेसबुक, टिकटक र इन्स्टाग्रामले तीजलाई नयाँ पुस्तामाझ अझै लोकप्रिय बनाएको छ ।
आधुनिकता र विवाद
आधुनिक तीजका स्वरूपले धेरै बहस जन्माएको छ।
एक समूहले यसलाई व्यवसायीकरण र ग्ल्यामराइजेशन भएको आरोप लगाउँछ । उनीहरूका अनुसार, धार्मिक आस्था भन्दा बढी “बजार“ हावी भएको छ।
अर्कोतर्फ, नयाँ पुस्ता यसलाई संस्कृतिको अनुकूलन र समयानुकूल विकासको प्रक्रिया ठान्छ ।
उदाहरणका लागि, केही वर्ष यता आएका कतिपय तीज गीतहरूलाई अश्लीलता र तडकभडकको आरोप लागे पनि, ती गीतहरूले महिलाको स्वतन्त्रता, इच्छाशक्ति र आधुनिक जीवनशैलीलाई प्रतिबिम्बित गरेको तर्क पनि गरिन्छ ।
महिला चेतना र सशक्तिकरण
तीज आज महिला चेतनाको पर्वका रूपमा पनि पुनर्परिभाषित भएको छ।
२०५० सालपछि महिला आन्दोलनको विस्तारसँगै तीजका अवसरमा महिला अधिकार र समानतासम्बन्धी बहस सार्वजनिक रूपमा उठ्न थाले ।
विभिन्न महिला संघ–संस्थाले तीजकै दिन सभा, ¥याली र गोष्ठी आयोजना गर्दै लैंगिक समानता, घरेलु हिंसा, शिक्षा र रोजगारजस्ता विषयमा आवाज उठाएका छन् । यसैले, तीजलाई आज केवल “पति दीर्घायुको कामना गर्ने पर्व“ नभई, “नारीको अधिकार र अस्तित्वको पर्व“का रूपमा पनि बुझ्न थालिएको छ ।
आर्थिक र पर्यटन प्रभाव
पछिल्ला तथ्यांकअनुसार, तीज अगाडि सपिङ मलबजारमा ३०–४० प्रतिशतसम्म बिक्री वृद्धि हुने गरेको व्यापारीहरू बताउँछन् । लुगाफाटा, गहना, सौन्दर्य प्रसाधन र होटल व्यवसाय तीजकै कारण चहकिलो हुन्छ ।
सहरमा आयोजना हुने तीज मेलामा विदेशी पर्यटकसमेत सहभागी हुने गरेका छन् । यसरी, तीजले नेपालको आन्तरिक अर्थतन्त्र मात्र होइन, पर्यटन क्षेत्रलाई पनि सहयोग पु¥याएको छ ।
निष्कर्ष
बदलिँदो तीजले नेपाली समाजमा धेरै प्रश्न खडा गरेको छ । एकातिर परम्परा, धार्मिक आस्था र सामाजिक सम्बन्धलाई बलियो बनाउने संस्कार छ भने अर्कोतर्फ आधुनिकता, व्यवसायीकरण र महिला चेतनाले नयाँ स्वरूप दिएको छ ।
सांस्कृतिक संरक्षणको नाम आधुनिक रूपान्तरणको बहस अझै चलिरहेको छ। तर, विवाद र आलोचना बीच पनि तीज नेपाली नारीहरूको जीवनसँग गाँसिएको, उनीहरूको आस्था, पहिचान र आत्म–अभिव्यक्तिको पर्वका रूपमा अझै बलियोसँग उभिएको छ ।





