
पोखरा, २२ चैत्र ।
नेपाली लेखक संघ कास्कीको छैटौं अधिवेशनले कमल पौडेल अथकको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
समितिको उपाध्यक्षमा चन्द्रावती वाग्ले, सचिवमा रोशन तिमिल्सिना, सह सचिवमा वसन्त चालिसे, कोषाध्यक्षमा गायत्री पराजुली र सदस्यमा भेषराज पौडेल निर्वाचित भएका छन् ।
संघका सल्लाहकार लक्ष्मी थापाको संयोजकत्वमा गठित हीममाया पौडेल र अमृत क्षेत्री सदस्य रहेको निर्वाचन समितिले सो नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
समितिका वाँकी सदस्य तथा सल्लाहकारहरु अब बस्ने कार्यसमिति बैठकले चयन गर्ने लेखक संघ कास्कीका अध्यक्ष कमल पौडेल अथकले जानकारी दिएका छन् ।
नव निर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक लक्ष्मण थापा, सदस्य हीममाया पौडेल, अमृत क्षेत्री र सल्लाहकार डा. लक्ष्मीशरण अधिकारीले अविर, खादा र प्रमाण पत्र प्रदान गरेका थिए ।
नव निर्वाचित कार्यसमितिलाई यस अघिको समितिले माईन्यूट हस्तान्तरण गरेको थियो । यस अघि अधिवेशनको उद्घाटन गर्दै संघका सल्लाहकार प्रा डा लक्ष्मीशरण अधिकारीले लेखकीय स्वतन्त्रता सहित लोकतन्त्रवादी लेखक साहित्यकारको जमघट हुने थलो लेखक संघ भएको बताए । उनले देशको कठिन घडीमा लेखक साहित्यकारहरूको सिर्जनाले विशेष अर्थ राख्ने धारणा व्यक्त गरे ।
संघका अध्यक्ष रीता अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय उपाध्यक्ष इश्वरमणि अधिकारी, प्रदेश अध्यक्ष दीपक समीप उपाध्यक्ष कमल पौडेल अथक र सचिव सञ्जय न्यौपाने प्राञ्जलले बोलेका थिए ।
पोखरा, २२ चैत्र ।
नेपाली नयाँ वर्षको अवसर पारेर आयोजना हुन लागेको “पोखरा नाइट स्ट्रिट रेस–२०८३” (रात्रिकालीन सडक दौड) को तयारी अन्तिम चरणमा पुगेको छ । पोखरा क्लिक र पोखरा प्रवद्र्धन केन्द्रको आयोजनामा यही चैत २८ गते पोखरामा हुने उक्त प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आज (शनिबार) पोखराको फिस्टेल ड्रिम पार्कमा आयोजित पत्रकार सम्मेलन जानकारी गराइएको हो ।
पाँच किलोमिटरको उक्त दौड चैत्र २८ गते बेलुका ७ बजे बाराहीघाटबाट सुरु भई सेन्टर प्वाइन्ट, हल्लनचोक, जिरो कि.मि., सिर्जनाचोक, सभागृहचोक, न्यूरोड, चिप्लेढुङ्गा हुँदै महेन्द्रपुलस्थित झण्डा पार्क अगाडि पुगेर सम्पन्न हुने भएको हो ।
रात्रिकालीन व्यवसाय प्रवद्र्धन, शान्ति–सुरक्षा सन्देश प्रवाह र खेलकुदमार्फत पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको कार्यक्रमका संयोजक दीननाथ बरालले बताए । “जाग्छ पोखरा, दौडाउँछ पोखरा” भन्ने नारासहित आयोजना हुन लागेको दौडले पोखरालाई २४ सै घण्टा सुरक्षित सहरका रूपमा स्थापित गर्न सहयोग पुग्ने उनको भनाइ थियो ।
पोखरा महानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष दीपेन्द्र मस्र्यानीले रात्रिकालीन दौड नयाँ अवधारणाका रूपमा रहेको उल्लेख गर्दै यसले पोखराका विभिन्न क्षेत्रलाई जोड्ने माध्यम बन्ने विश्वास व्यक्त गरे ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले गण्डकी प्रदेशमा पहिलोपटक आयोजना हुन लागेको यस्तो प्रतियोगिताले खेल पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पु¥याउने बताए ।
होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले फेवा नववर्ष महोत्सवको पूर्वसन्ध्यामा आयोजना हुने उक्त प्रतियोगितासँग सहकार्य गरिएको जानकारी दिए । उनले विदेशी धावकको सहभागिता सुनिश्चित गर्न विशेष पहल गरिने बताए ।
फिस्टेल ड्रिम पार्कका निर्देशक कमल बस्नेतले पार्कमा नयाँ संरचना थपिएको जानकारी दिँदै प्रतियोगितामा उत्कृष्ट २० धावकलाई पार्क प्रवेश टिकट उपलब्ध गराइने बताए ।
पार्कका मार्केटिङ म्यानेजर कृष्णप्रसाद ढकालले ३० करोड बराबरको आईपीओ जारी गर्ने तयारी भइरहेको जानकारी दिए ।
केन्द्रका उपाध्यक्ष असफल गौतमले नेपाली नयाँ वर्ष लक्षित कार्यक्रमहरू कम भइरहेका बेला उक्त दौडलाई प्रभावकारी बनाउने र पोखराको सडक पनि पर्यटन प्रवद्र्धनका लागि सुरक्षित छ भन्ने सन्देश दिने उद्देश्य रहेको बताए ।
रेस डाइरेक्टर ओम गुरुङले प्रतियोगिताको प्राविधिक तयारी तीव्र पारिएको भए तापनि ट्राफिक व्यवस्थापनमा स्थानीयको पनि साथ र सहयोगको अपेक्षा गरे ।
केन्द्रका सचिव सागर सुनारले हाल खेलाडी दर्ता प्रक्रिया जारी रहेको जानकारी दिए । इच्छुक सहभागीले पोखरा क्लिकको अनलाइन पोर्टलमार्फत चैत्र २५ गते बिहान ११ः५९ बजेसम्म दर्ता गर्न सक्नेछन् ।
प्रतियोगितामा खुला, महिला, विदेशी र यू–१६ गरी चार विधामा प्रतिस्पर्धा हुनेछ। खुलातर्फ विजेताले क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने अन्य विधाका विजेतालाई ७ हजार रुपैयाँसहित प्रोत्साहन पुरस्कार प्रदान गरिनेछ । सहभागी धावकलाई बिमा सुविधा, रिफ्लेक्टिभ टिसर्ट उपलब्ध गराइनेछ भने हेडल्याम्प प्रयोग गर्न सकिने व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
करिब सात लाख रुपैयाँ लागतमा सम्पन्न हुने प्रतियोगिता प्रदेश खेलकुद परिषद् गण्डकीको सहकार्य तथा पोखरा ९ वडा कार्यालयको समन्वयमा तथा विभिन्न संघ–संस्थाको सहयोगमा आयोजना हुँदैछ ।
पोखराको शहरी गतिशीलता, सुरक्षित वातावरण र स्वस्थ जीवनशैलीप्रतिको सन्देश प्रवाह गर्नुका साथै नयाँ वर्षमा पर्यटन प्रवद्र्धनमा समेत टेवा पु¥याउने अपेक्षा गरिएको छ ।
प्रतियोगितामा पोखरा महानगरपालिका र पोखरा भ्रमण वर्ष २०२५÷०२६ प्रवद्र्धक रहेको प्रतियोगितामा सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश, फिस्टेल ड्रिम पार्क, शान्ति निकेतन स्कुल, हिमश्री फुड्स, चाइनिज गार्डेन रेष्टुरेण्ट, सहारा क्लब, होटल संघ पोखरा नेपाल, रेवान पोखरा, पोखरा पर्यटन परिषद्, अटोवेज प्रा.लि., सिटीजन फर्निचर, परिचय एड्भरटाइजिङ, पोखरा वडा नं. ३, ५, ६, ७, ८, ११, जिल्ला खेलकुद विकास समिति कास्की, टान गण्डकी, पोखरेली ट्याक्सी सेवा प्रा.लि., पोखरा उद्योग वाणिज्य संघ, समियोग टुरिष्ट रिसोर्ट, नाट्टा गण्डकी सहित विभिन्न संघ संस्थाको सहयोग रहने छ भने मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर हस्पिटल पार्टनर र नेलम्बो नेपाल मेडिकल पार्टनर रहेका छन् ।
पोखरा, २२ चैत ।
मधेशी आयोगले सातौं वार्षिक प्रतिवेदन गण्डकी प्रदेश प्रमुखसमक्ष पेस गरेको छ । प्रदेश प्रमुखको कार्यालयमा आइतबार आयोजित कार्यक्रममा आयोगकी सदस्य आभासेतु सिंहले वार्षिक प्रतिवेदन प्रदेश प्रमुख भट्टलाई प्रदान गरिन् ।
नेपालको संविधानको धारा २९४ को उपधारा ९३० अनुसार पेश भएको प्रतिवेदनमा आर्थिक वर्ष २०८१र८२ मा सम्पन्न गरेका गतिविधि, पहल र उपलब्धि समेटिएको छ । प्रतिवेदनमा मधेशी समुदायको अधिकार संरक्षण, सामाजिक न्यायको प्रवर्द्धन, समावेशी विकास तथा नीतिनिर्माणका क्षेत्रमा आयोगले गरेका कामकारबाहीलाई विस्तृत रूपमा समेटिएको सदस्य सिंहले जनाइन् ।
कार्यक्रममा प्रदेश प्रमुख भट्टले मधेशी समुदायको हकहित सुनिश्चित गर्न आयोगको भूमिका महत्वपूर्ण रहेको बताए । आयोगले सरकारी सेवामा मधेसीहरूको प्रतिनिधित्व वृद्धि गर्न आवश्यक प्रशिक्षण कार्यक्रम गरेकामा खुशी व्यक्त गरे ।
भट्टले मधेसको समस्या मधेसको मात्र नभएर सबैको साझा समस्या भएकाले देश, सरकार, समाजले एकजुट भएर समाधान गर्नुपर्ने बताए । प्रदेश प्रमुखको कार्यालयले सिफारिस कार्यान्वयनका लागि प्रतिवेदनलाई प्रदेशसभामा पठाइने पनि जानकारी दिए ।
सबैभन्दा बढी जनसंख्या रहेको मधेशमा धेरै समुदाय रहेको उल्लेख गर्दै उनले मधेशमा रहेका दलित समुदायको पक्षमा काम गर्न पनि आग्रह गरे ।
आयोगकी सदस्य सिंहले मधेशी समुदायको हकहितका लागि नीति, नियम बनाउन आग्रह गर्दै मधेशी समुदायको पक्षमा काम गर्न प्रादेशिक रुपमा बजेटको विनियोजन गर्न पनि अनुरोध गरिन् ।
पोखरा, २२ चैत ।
यही चैत २९ गतेदेखि आगामी वैशाख १ गतेसम्म फेवा किनारमा आयोजना हुने २१ औं फेवा नव बर्ष महोत्सव २०८३ लाई सफल पार्न विभिन्न संघसंस्थाले सघाउने प्रतिबद्धता जनाएका छन् ।
महोत्सवको आयोजक संस्था होटल संघ पोखरा नेपालले पोखरास्थित विभिन्न पर्यटन सम्बद्ध संस्थाका अध्यक्ष र पदाधिकारीसँग हालै गरेको छलफलमा उनीहरुले फेवा महोत्सव समग्र पोखरेलीको महोत्सवको रुपमा आफूहरुले बुझेको बताएका थिए ।
महोत्सवबारे जानकारी दिंदै होटल संघ पोखरा नेपालका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले पोखराको सहिदचोकदेखि खहरेचोकसम्म आयोजना हुने महोत्सवमा यसपटक पंचै बाजा प्रतियोगिता विशेष रहने अवगत गराए । यस अन्तर्गत खहरेबाट अम्बोटसम्म दुलही लिन जानेदेखि खहरेमा रत्यौली खेल्ने जस्ता रमाइला गतिविधि समावेश हुने जानकारी उनले गराए । पर्यटक दौड, दोहोरीका कार्यक्रम र सांगीतिक कन्सर्ट पनि महोत्सवमा समेटिने उनले सुनाए ।
आयोजक संघको सल्लाहकार परिषद्का संयोजक एवं होटल संघ नेपालका केन्द्रिय सदस्य भरतराज पराजुलीले नेपाली कला र संस्कृतिको संरक्षण गर्दै पोखरामा पर्यटक आकर्षित गर्ने र उनीहरुको बसाई अबधि लम्ब्याउँदै मनोरञ्जन प्रदान गर्ने उद्धेश्य महोत्सवले लिएको बताए ।
कार्यक्रममा पोखरा महानगरपालिका व्यवसाय प्रबद्र्धन केन्द्रका प्रमुख नवराज अधिकारीले फेवा महोत्सव महोत्सव मात्र नभई नयाँ बर्षमा आयोजना गरिने कारण यो पर्व पनि भएको बताए । सरकारले गर्नुपर्ने महोत्सव निजी क्षेत्रबाट आयोजना गरिनु सराहनीय कदम भएको भन्दै उनले संघको प्रशंसा गरे ।
कार्यक्रमका अवसरमा महोत्सवलाई एकआपसमा हातेमालो गरी मिलेर सफल पारिनुपर्ने, महोत्सवका अवसरमा पोखराको कला, संस्कृति र सहासिक गतिविधि प्रदर्शन गर्न सकिने, महोत्सव आगन्तुक पर्यटकलाई हिंडडुलमा दुःख नहुने गरी संचालन गरिनुपर्ने, होटलको दररेट महंगो हुन नहुने, महोत्सवको डिजिटल प्रबद्र्धनमा जोड दिनुपर्ने र महोत्सवले जेन–जी युवालाई समेत आकर्षण गर्न सक्नुपर्ने विषय सुझावको रुपमा राखिएको थियो । सुरक्षा, ट्राफिक र पार्किङ व्यवस्थापनका विषयमा समेत महोत्सवमा सुझाव राखिएको थियो ।
सो अवसरमा पोखरा पर्यटन परिषद्, पोखरा उद्योग वाणिज्य संघ, टान, नाट्टा, रेवान, नेपाल हवाई खेलकूद संस्था, पोखेली ट्याक्सी सेवा प्रालि, ना, पोखरा च्याम्बर अफ कमर्स, गाउँ पर्यटन प्रबद्र्धन मञ्च, ओटेफ, टेवान, गुरुङ पर्यटन व्यवसायी संघ, फेवा डुंगा व्यवसायी संगठन, मुद्रा सटही व्यवसायी संगठन र वडा नम्बर ६ का तर्फबाट सुझाव राखिएको थियो । कार्यक्रमको संचालन संघका सचिव पार्वता पाण्डेले गरेकी थिइन् ।
पोखरा, २२ चैत ।
पोखरास्थित गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको एमबिएस तेस्रो सेमेस्टरका विद्यार्थीहरूको सक्रियतामा आइतबार एक विशेष समारोहबीच बिदाइ तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ । क्याम्पसको आफ्नै सभाहलमा आयोजित उक्त कार्यक्रममा एमबिएस चौथो सेमेस्टरका विद्यार्थीहरूलाई बिदाइ गरिएको छ भने नवआगन्तुक प्रथम सेमेस्टरका विद्यार्थीहरूलाई भव्य स्वागत गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीराम सुवेदीले उच्च शिक्षाको क्षेत्रमा गुप्तेश्वर महादेव क्याम्पसले आफ्नो छुट्टै पहिचान बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो लक्ष्य केवल किताबी ज्ञान दिने मात्र नभई बजारमा प्रतिस्पर्धा गर्न सक्ने कुशल व्यवस्थापक र नैतिकवान नागरिक उत्पादन गर्नु हो ।” उहाँले बिदाइ भएर जाने विद्यार्थीहरूलाई कार्यक्षेत्रमा सफलताको शुभकामना दिँदै नयाँ विद्यार्थीहरूलाई क्याम्पसको गरिमा कायम राख्न आग्रह गर्नुभयो ।
समारोहमा क्याम्पस प्रमुख धर्मराज बरालले एमबिएस तहको अध्ययन अनुसन्धानमा आधारित हुनुपर्नेमा जोड दिनुभयो । उहाँले विद्यार्थीहरूलाई सिर्जनशील हुन र क्याम्पसले उपलब्ध गराएका स्रोतसाधनको अधिकतम प्रयोग गर्न सुझाव दिनुभयो । त्यसैगरी, प्राध्यापक संघका अध्यक्ष लेखनाथ बरालले शैक्षिक गुणस्तर सुधारमा प्राध्यापक र विद्यार्थीको समन्वय आवश्यक रहेको औंल्याउनुभयो ।
आइक्युएसी प्रमुख एवं एमबिएस कोअर्डिनेटर राजकुमार सुवेदीले क्याम्पसले गुणस्तर सुनिश्चितताका लागि चालेका कदमहरूबारे प्रकाश पार्नुभएको थियो । त्यस्तै सृजनशील विद्यार्थी मञ्चकी सचिव स्मृति थापाले विद्यार्थीहरू बीचको भ्रातृत्व र रचनात्मक कार्यले नै क्याम्पसको वातावरण जीवन्त रहने धारणा राख्नुभयो ।
बिदाइ भई जान लागेका चौथो सेमेस्टरका विद्यार्थी सफल देवकोटाले आफ्नो दुई वर्षे शैक्षिक यात्राको अनुभव सुनाउँदै क्याम्पसले प्रदान गरेको ज्ञान र मार्गदर्शन जीवनभरका लागि प्रेरणाको स्रोत बन्ने बताउनुभयो । नवआगन्तुक प्रथम सेमेस्टरका विद्यार्थीहरूले क्याम्पसको स्वागतले आफूहरूलाई थप उत्साहित बनाएको र शैक्षिक लक्ष्य प्राप्तिका लागि प्रतिबद्ध रहने बताएका थिए ।
बिदाई हुने विद्यार्थीहरूलाई सम्मान स्वरुप मायाको चिनो प्रदान गरिएको सो कार्यक्रममा विभिन्न विभागका विभागीय प्रमुख, प्राध्यापक तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
पोखरा, २२ चैत्त ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने ‘पोखरा स्पोर्टस अवार्ड’लाई भव्य, सभ्य र थप प्रभावकारी बनाउने उद्देश्यसहित कास्की जिल्ला तथा गण्डकी प्रदेशका विभिन्न खेल संघसंग छलफल गरेको छ । आगामी बैशाख १८ गते पोखरामा हुने दशौं संस्करणको पोखरा स्पोर्टस अवार्डलाई खेलाडीमैत्री, पारदर्शी र समावेशी बनाउने लक्ष्यसहित सुझाव संकलन गर्न मञ्चका कार्यवाहक अध्यक्ष राजाराम पौडेलको अध्यक्षतामा छलफल तथा अन्तरक्रिया आयोजना गरिएको होे । पौडेलले खेल क्षेत्रको वास्तविक अवस्था बुझ्दै अवार्डलाई अझ व्यवस्थित बनाइने स्पष्ट पारे ।
छलफलमा सहभागी संघका प्रतिनिधिहरूले अवार्डको स्तर उकास्न विगतका कमजोरी सुधार्दै अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । उनीहरुले यस पटक कार्यविधि निर्माण गरेकोमा खुसी व्यक्त गर्दै त्यसलाई अझ सुधार गर्दै जान र अवार्डका सम्पन्न गर्नका लागि संघको तर्फबाट सक्दो सहयोग गर्ने बताए ।
गण्डकी प्रदेश आर्चरी संघका उपाध्यक्ष योगेन्द्र शेरचनले सबै खेल र खेलाडीलाई समेट्दै उनीहरूको प्रतिभा प्रस्तुत गर्ने वातावरण बनाउन सके अवार्ड अझ आकर्षक बन्ने बताए । टेबल टेनिस संघ गण्डकीका अध्यक्ष दिलिप जोशीले एउटै खेल र खेलाडी दोहोरिने प्रवृत्तिले नयाँ प्रतिभा ओझेलमा पर्ने भएकाले मूल्यांकन प्रक्रियामा सुधार आवश्यक रहेको धारणा राखे ।
फेन्सिङ संघ कास्कीका अध्यक्ष विजय शाहीले राष्ट्रिय स्तरमा नपुगेका तथा नयाँ खेललाई पनि अवार्डमा समेट्नुपर्नेमा जोड दिए । यसले खेल क्षेत्रको दायरा फराकिलो बनाउने उनको भनाइ थियो । जुडो संघ कास्कीका अध्यक्ष पदम बहादुर छन्त्यालले खेलाडीले राम्रो प्रदर्शन गरे पनि पर्याप्त प्रवद्र्धन नपाएको गुनासो गर्दै मञ्चले अवार्डमार्फत खेलाडीलाई प्रोत्साहन गरेकोमा धन्यवाद व्यक्त गरे ।
कबड्डी संघ गण्डकीका अध्यक्ष हरि जिसीले प्रदेशमै सीमित खेललाई पनि प्राथमिकता दिनुपर्ने र ‘पिपल्स च्वाइस’ अवार्ड छनोट निष्पक्ष हुनुपर्ने बताए । एथलेटिक्स संघ कास्कीका सचिव सिद्धान्त अधिकारीले खेलअनुसार फरक मापदण्ड आवश्यक पर्ने भएकाले कार्यविधिमा लचिलोपन आवश्यक रहेको बताए ।
सेपाकताक्रो गण्डकीका अध्यक्ष श्याम बहादुर श्रेष्ठले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उपलब्धि हासिल गरेका खेललाई जनस्तरसम्म पु¥याउन अवार्ड महत्वपूर्ण माध्यम बन्ने बताए । ह्यान्डबल संघ कास्कीका अध्यक्ष चित्रबहादुर थापाले एकल र समूहगत खेललाई एउटै आधारमा मूल्यांकन गर्न नहुने उल्लेख गर्दै स्तरअनुसार छुट्टै मापदण्ड आवश्यक रहेको बताए ।
आर्चरी संघ कास्कीका वसन्त गौचनले जिल्ला स्तरमै सीमित खेललाई पनि अवार्डमा समेट्नुपर्नेमा जोड दिए । साथै, खो–खो संघका विशाल कुँवर, हक्कीका हित गुरुङ र पौडी संघ गण्डकीका अध्यक्ष आनन्द कुँवरले पनि समावेशीता, पारदर्शिता र खेलाडी प्रोत्साहनका विषयमा सुझाव दिएका थिए । पोखरा स्पोर्टस अवार्ड कार्यविधी निर्माण समितिका सदस्य राजन पौडेलले नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले निर्माण गरेको कार्यविधिको बारेमा जानकारी गराएका थिए ।
छलफलबाट प्राप्त सुझावका आधारमा ‘पोखरा स्पोर्टस अवार्ड’लाई अझ समावेशी, प्रतिस्पर्धात्मक र प्रेरणादायी बनाउने तयारी अघि बढाइएको मञ्चका महासचिव परशुराम शर्माले बताए । आगामी बैशाख १८ गते आयोजना हुने पोखरा स्पोर्टस अवार्डमा वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेल पत्रकार, वर्ष उत्कृष्ट खेल संघसंस्था र पिपल्स च्वाइस अवार्ड गरी आठ विद्यामा अवार्ड प्रदान गरिदैछ । उक्त अवार्ड खेलाडी सम्मानमा गण्डकीकै ठूलो इभेन्ट हो ।
अवार्डका लागि गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद् गण्डकीसहित कास्कीका पोखरा महानगरसहित पाँचै वटा पालिकाको विशेष सहयोग रहनेछ । अवार्ड सफल पार्न विभिन्न संघसंस्थाले सहयोग गर्ने क्रम जारी छ ।
पोखरा २२ चैत्र ।
लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो डिष्ट्रिक्ट कन्भेन्सन सम्पन्न भएको छ । पोखरा इभेन्ट सेन्टरमा भएको भव्य कन्भेन्सनबाट आगामी लायन वर्षका २०२६र२७ लागि डिष्ट्रिक्ट गभर्नरमा प्रजापती बास्तोला, फस्ट भाईस डिष्ट्रिक्ट गभर्नरमा कुश प्रसाद मल्ली र सेकेन्ड भाईस डिष्ट्रिक्ट गभर्नरमा कृष्ण प्रसाद शर्मा निर्वाचित भएका छन् ।
कन्भेन्सनमा उपस्थित प्रमुख अतिथि इन्टरनेसनल डाइरेक्टर पंकज मेहता र विशेष अतिथिका रुपमा उपस्थित पाष्ट इन्टरनेसनल डाइरेक्टर सञ्जय खेतानले नेपालमा लायन्स क्लबले गरेको कार्यको प्रशंसा गर्दै मेम्बरसिप ग्रोथमा अझ ध्यान दिन आग्रह गरे ।
लायन्स क्लब अफ पोखरा अन्नपूर्णले व्यवस्थापन गरेको उक्त कार्यक्रम ऐतिहासिक र स्मरणीय बनेको कार्यक्रमका अध्यक्ष तथा हालका डिष्ट्रिक्ट गभर्नर मिलन बाबु मल्लले जानकारी दिए ।
डिष्ट्रिक्ट गभर्नर इलेक्ट बास्तोलाले क्याबिनेट सचिवमा जीवन गोर्खाली, क्याबिनेट कोषाध्यक्षमा पुरुषोत्तम प्रसाद पराजुलीलाई मनोनित गरेका छन् । त्यसैगरी चिफ एडभाईजरमा राजु श्रेष्ठ र चिफ गभर्नर एडमा रामराजा थापालाई मनोनित गरेका छन् । साथै उनले कार्यक्रममा बोल्दै आफ्नो कार्यकालमा सामाजिक सेवा, नेतृत्व विकास र संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राख्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा मल्टिपल काउन्सिल चियरपसर्न तथा आईपिडिजी मिलन थापा, मल्टिपल फस्ट पर्सन, मल्टिपल काउन्सिल मेम्बर तथा पिडिजी ध्रुब बहादुर थापा, मल्टिपल कोअर्डिनेटर तथा पिडिजी योगेन्द्र प्रधान, मल्टिपल डिष्ट्रिक्ट चियरपर्सन तथा पिडिजी हरि प्रसाद मरहट्टा, पाष्ट मल्टिपल काउन्सिल चियरपर्सन प्रेम बहादुर श्रेष्ठ, पिडिजी ध्रुव श्रेष्ठ लगायत अन्य डिष्ट्रिक्टबाट उपस्थित अतिथिसहित १ हजार भन्दा बढी लायन्स र लियो सदस्यहरुको उपस्थिती थियो ।
क्याबिनेट सेक्रेटरी पुरुषोत्तम बस्नेतले सञ्चालन गरेको उक्त कन्भेन्सन कार्यक्रममा उत्कृष्ट कार्य गर्ने लायन्स लिडरहरुलाई सम्मान गरिएको थियो । कन्भेनर सुर्य प्रसाद बरालले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।
त्यसैगरी उक्त दिन सम्पन्न लियो डिष्ट्रिक्ट काउन्सिल ३२५ जे नेपालको कन्भेन्सनबाट आगामी वर्षका लागि लियो डिष्ट्रिक्ट प्रेसिडेन्टमा आशिष थापा र लियो भाईस डिष्ट्रिक्ट प्रेसिडेन्टमा माधव तिमल्सिना निर्वाचित भएका छन् । इलेक्ट लियो प्रेसिडेन्ट थापाले लियो डिष्ट्रिक्ट सचिवमा सहनसिल बराल र कोषाध्यक्षमाबिनिता बोगटीलाई मनोनित गरेका छन् ।





