२०८३ बैशाख ४ शुक्रबार
२०८३ बैशाख ४ शुक्रबार

अर्थ मन्त्रालयले अन्तर–सरकारी वित्त परिषद् र विषयगत समितिको बैठकमार्फत संघ, प्रदेश र स्थानीय तहबीच वित्तीय समन्वयलाई थप प्रभावकारी र अनुशासित बनाउने गरी १६ बुँदे निर्णय गरेको छ । यी निर्णयले सङ्घीयताको मर्मअनुसार नागरिकले प्रत्यक्ष अनुभूति गर्ने सुशासन, वित्तीय पारदर्शिता र राजस्व चुहावट नियन्त्रणलाई प्राथमिकता दिएका छन् ।

अर्थ मन्त्रालयका प्रवक्ता टंक प्रसाद पाण्डेयका अनुसार बैठकले वित्तीय हस्तान्तरण, राजस्व व्यवस्थापन, बजेट कार्यान्वयन र कानुनी सुधारका क्षेत्रमा स्पष्ट नीतिगत निर्देशन दिएको छ ।

मुख्य बुँदाहरु ;

१. सङ्घीयताको मर्मअनुसार तीनै तहका सरकारले सेवा प्रवाह र सुशासनमा केन्द्रित रहने गरी अन्तर–सरकारी वित्त परिषद्को ११औँ बैठकका निर्णयहरूको तत्काल कार्यान्वयन गर्ने ।

२. अन्तर–सरकारी वित्तीय व्यवस्थापन ऐन २०७४ लगायत वित्तीय सङ्घीयतासम्बन्धी कानुन संशोधन र ‘बजेट अनुशासन सम्बन्धी कानुन’ को मस्यौदा तयार पार्ने प्रक्रिया अर्थ मन्त्रालयले तीव्र गतिमा अघि बढाउने ।
३. वित्तीय हस्तान्तरण प्रणालीमा सुधार गर्दै सङ्घीय बजेट वृद्धिको अनुपातमा वित्तीय समानीकरण अनुदान बढाउने र सशर्त अनुदानलाई क्रमशः घटाउने नीति लिने ।

४. राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसअनुसार विद्युत्, पर्वतारोहण, वन र खानी रोयल्टीमा स्थानीय तहको हिस्सा वृद्धि गर्न नयाँ सूत्र तत्काल कार्यान्वयनमा ल्याउने ।

५. राजस्व चुहावट नियन्त्रणका लागि तीनै तहबीच कडा समन्वय गर्ने । प्रत्येक तहले चालु आर्थिक वर्षभित्रै ‘राजस्व सङ्कलन तथा चुहावट नियन्त्रण सुधार कार्ययोजना’ तयार गरी कार्यान्वयन गर्ने ।

६. दोहोरोपना र साना टुक्रे योजनामा बजेट छरिने प्रवृत्तिको अन्त्य गर्न विकास आयोजनाको न्यूनतम थ्रेसहोल्ड निर्धारण गरी बजेट विनियोजन गर्ने । तीनै तहले ‘आयोजना बैंक’ को अवधारणा अनिवार्य कार्यान्वयन गर्ने र राष्ट्रिय योजना आयोगले तिनको एकीकरण गर्ने ।

७. एक स्थानीय तहमा उत्पादित वस्तु अर्को स्थानीय तह हुँदै ढुवानी गर्दा कुनै पनि प्रकारको कर, दस्तुर वा शुल्क नलगाउने । यसविपरीत शुल्क लगाइरहेका स्थानीय तहलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत तत्काल हटाउन निर्देशन दिने ।

८. चालु खर्चको आर्थिक दायित्व घटाउन तीनै तहले मितव्ययिता नीति कडाइका साथ पालना गर्ने । सङ्गठन संरचना, पुनर्संरचना र कर्मचारी दरबन्दीको पुनरावलोकन गरी प्रशासनिक दक्षता अभिवृद्धि गर्ने ।

९. प्रदेश र स्थानीय तहका स्थायी कर्मचारीको अवकाशपछिको भुक्तानी व्यवस्थापन गर्न ‘योगदानमा आधारित उपदान कोष’ मिति २०८३ साउन १ गतेदेखि अनिवार्य कार्यान्वयन गर्ने । बाँकी प्रदेश र स्थानीय तहलाई सम्बन्धित मन्त्रालयबाट परिपत्र जारी गर्ने ।

१०. बजेट ‘अवण्डा’ मा राख्ने प्रवृत्ति अन्त्य गर्न पुराना रुग्ण आयोजना खारेज वा फरफारक गर्ने । बजेट तर्जुमा गर्दा कार्यक्रम तथा आयोजनालाई क्रियाकलापगत रूपमा बाँडफाँट गर्ने ।

११. आर्थिक कारोबारमा पारदर्शिता कायम गर्न SuTRA, LMBIS र PLMBIS लाई एकीकृत गरी ‘रियल टाइम एकीकृत वित्तीय सूचना प्रणाली’ कार्यान्वयन गर्ने । राष्ट्रिय योजना आयोगले एकीकृत वित्तीय हस्तान्तरण सूचना प्रणाली विकास गर्ने ।

१२. तीनै तहले बेरुजु न्यूनीकरणमा जोड दिई वर्गीकृत विवरण तयार पार्ने र समयबद्ध कार्ययोजनासहित फछ्यौटलाई तीव्रता दिने ।

१३. कानुन तर्जुमा गर्दा संविधानको धारा २३२ (२) बमोजिम राष्ट्रिय नीति अनुरूप समन्वय गर्ने । संविधानको अनुसूची ५ मा रहेको सङ्घको एकल अधिकारसँग बाझिने कानुनका सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत आवश्यक कारबाही गर्ने ।

१४. पर्यटन प्रवद्र्धन र अन्तर–प्रादेशिक सहकार्यका लागि छिमेकी मुलुकका पर्यटक सवारीलाई भन्सार बिन्दुमा अस्थायी पैठारी शुल्क तिरेपछि प्रदेशबाट थप कर नलिई नेपालभर निर्वाध आवागमनको व्यवस्था मिलाउने ।

१५. प्रदेश तथा स्थानीय तहको बजेट कार्यान्वयन र सरकारी भौतिक संरचना निर्माणलाई तीव्रता दिन जग्गा प्राप्ति प्रक्रियाका कानुनी जटिलता र ढिलासुस्ती सम्बोधन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई अनुरोध गर्ने ।

१६. आन्तरिक राजस्व अभिवृद्धिका लागि वनजन्य तथा नदीजन्य स्रोतको दिगो उपयोगमा देखिएका कानुनी, नीतिगत र प्रक्रियागत अड्चन हटाउन प्रधानमन्त्री कार्यालय, सङ्घीय मामिला मन्त्रालय र वन मन्त्रालयलाई अनुरोध गर्ने । यी निर्णयले सङ्घीय शासन प्रणालीमा वित्तीय अनुशासन, पारदर्शिता र तीन तहबीचको समन्वयलाई मजबुत बनाउने अपेक्षा गरिएको छ ।

अर्थ मन्त्रालयले यी निर्णयको तत्काल कार्यान्वयन सुनिश्चित गर्न सम्बन्धित मन्त्रालय तथा निकायलाई निर्देशन दिइसकेको छ ।

काठमाडौं ।
लेबनानमा शुक्रबार बिहानबाट १० दिने युद्धविराम लागू भएको छ । योसँगै इजरायली सेना र लडाकू समूह हेजबुल्लाह बीचको लडाइँ रोकिएको छ । जसले अमेरिका र इरान बीचको शान्ति वार्ताको प्रमुख अवरोध पनि हटेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन् ।युद्धविराम लागू हुनुभन्दा केही घण्टा अघिसम्म पनि इजरायल र हिजबुल्लाहबीच आक्रमण जारी थियो ।

अमेरिकी विदेश मन्त्रालयले बिहीबार एक ज्ञापनपत्रमा युद्धविरामको रूपरेखा प्रस्तुत गर्दै भनेको छ कि इजरायलले “आत्मरक्षामा सबै आवश्यक उपायहरू लिने” आफ्नो अधिकार कायम राख्नेछ, तर जमिन, वायु वा समुद्रबाट लेबनानी लक्ष्यहरू विरुद्ध “आक्रामक कारबाही” गर्ने छैन ।

ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरूसँग इरानसँग अर्को प्रत्यक्ष वार्ता यसै सप्ताहन्तमा हुन सक्ने बताएका छन् ।

लेबनानी अधिकारीहरूका अनुसार हालको लडाइँमा लेबनानमा २१०० भन्दा बढी मानिस मारिएका छन् र दस लाखभन्दा बढी विस्थापित भएका छन्। इजरायली अधिकारीका अनुसार दुई नागरिकसहित कम्तीमा १३ इजरायली सैनिक पनि मारिएका छन् ।

कन्चनपुर।

कञ्चनपुरको बेलडाँडी गाउँपालिकाकी उपाध्यक्ष शान्ति नाथलाई प्रहरीले हत्या आरोपमा पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी हेमबहादुर शाहीका अनुसार नाथलाई बिहीबार महेन्द्रनगरबाट पक्राउ गरिएको हो ।
ज्यानसम्बन्धी मुद्दामा उहाँलाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा राखिएको छ । मुद्दा इलाका प्रहरी कार्यालय बेल्डाँडीबाट दर्ता भएको हो’, शाहीले भने ।

गत वर्ष वैशाख ९ गते कञ्चनपुरको बेलौरी नगरपालिका(१०, शिवनगरस्थित घटियाघाट रोड नजिकै मोटरसाइकलसहित जलेको अवस्थामा हरिकिसन रानाको शव भेटिएको थियो । उक्त घटना सडक छेउमै भएकाले दुर्घटना वा हत्या भन्ने विषयमा प्रहरीले सुरूदेखि नै अनुसन्धान गरिरहेको थियो ।

मृतक हरिकिसनकी पत्ती फिरियादेवीले उपाध्यक्ष नाथविरुद्ध योजनाबद्ध रूपमा धम्की दिएको, आर्थिक लेनदेनका लागि दबाब सिर्जना गरेको तथा ज्यान मार्ने षड्यन्त्र गरेको आरोप लगाउँदै किटानी जाहेरी दिएकी थिइन् ।

कृषि अनुदान दिलाउने बहानामा मृतकसँग ठूलो रकम असुल्ने प्रयास गरिएको र रकम नदिएपछि पटक(पटक ज्यान मार्ने धम्की दिइएको फिरियाको जाहेरीमा उल्लेख छ । सोही जाहेरीका आधारमा पक्राउ उपाध्यक्षलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

यसैबीच, नेपाल राना थारु समाजका केन्द्रीय अध्यक्ष कमल रानाको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र बुझाउँदै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेको छ।

उता, प्रहरी नियन्त्रणमा रहेकी उपाध्यक्ष शान्ति नाथको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगरमा भर्ना गरिएको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।