
काठमाडौं ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले गए रातिदेखि पेट्रोलियम पदार्थको मूल्य घटेसँगै स्वचालित प्रणालीअनुरुप भाडा समायोजन गर्न सरकारसँग माग गरेको छ ।आयल निगमले बुधबार बिहानदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर रु २०, डिजेल/मट्टितेलमा प्रतिलिटर रु ३० ले मूल्य घटाएको थियो ।
महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौलाले स्वचालित प्रणालीबमोजिम भाडा समायोजन गरिदिन सरकारलाई अनुरोध गरेका हुन् ।
काठमाडौं ।
जारी विश्वकपमा मेक्सिकन टोलीले ऐतिहासिक जित दर्ता गर्दै अर्को चरणमा प्रवेश गरेको खुसीयाली मनाउने क्रममा मेक्सिको सिटीमा दुःखद घटना भएको छ । खुसियाली मनाउने क्रममा भिडमा च्यापिएर कम्तीमा दुई जनाको मृत्यु भएको स्थानीय सरकारले पुष्टि गरेको द गार्जियनले उल्लेख गरेको छ ।
मेक्सिको सिटीको स्वास्थ्य मन्त्रालयका अनुसार ज्यान गुमाउनेमा एक १९ वर्षीया युवती र एक ४४ वर्षीय पुरुष रहेका छन् । उनीहरूको अत्यधिक भीडमा च्यापिएर वा निसास्सिएर मृत्यु भएको हो । स्थानीय सञ्चारमाध्यमहरूले तेस्रो व्यक्तिको पनि मृत्यु भएको समाचार प्रसारण गरे पनि सरकारी अधिकारीहरूले भने त्यसको आधिकारिक पुष्टि गरिसकेका छैनन् ।
आज बिहान मेक्सिकोले इक्वेडरलाई पराजित गर्दै सन् १९८६ पछि विश्वकपको नकआउट चरणमा पहिलोपटक जित दर्ता गरेपछि समर्थकमा खुसीयाली छाएको थियो । सह(आयोजक मेक्सिको अन्तिम १६ मा पुगेको ऐतिहासिक उपलब्धिको उत्सव मनाउन समर्थकहरू सडकमा उर्लिएका थिए ।
नगर सरकारको अनुमान अनुसार मेक्सिको सिटीका सडकहरूमा १० लाखभन्दा बढी मानिसहरू विजय उत्सव मनाउन भेला भएका थिए।
काठमाडौं ।
नेकपा एमालेका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यले सत्तारुढ सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको नेतृत्वले बालबालिकालाई पार्टी सदस्यता दिनु देशको संविधान, कानुन र अन्तर्राष्ट्रिय अभिसन्धि विपरीत भएको टिप्पणी गरेका छन् ।
उनले नेपालको संविधान, राजनीतिक दलसम्बन्धी ऐन र अन्तर्राष्ट्रिय अभिसन्धिले १८ वर्षमुनिका नाबालकलाई पार्टी सदस्य बनाउन पूर्ण निषेध गरेको भन्दै ‘बाल कार्यकर्ता’ उत्पादन नगर्न भनेका हुन् । अरुलाई अर्ती दिने, आफू नसच्चिने प्रवृत्तिले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा नेतृत्व ग्रस्त छ । हालै सम्पन्न महाधिवेशनका दस्तावेज अध्ययन गर्दा उनीहरुको राजनीतिक दिवालियापन प्रष्ट भएको हो ।
महाधिवेशनमा महामन्त्री कवीन्द्र बुर्लाकोटीले पेश गरेको सांगठानिक प्रतिवेदनमा प्रस्तुत तथ्यांकले कानुनकै धज्जी उडाएको देखियो। पार्टीका कुल ५,२३,४६५ सदस्यमध्ये ३५,२५७ जना त १८ वर्षमुनिका बालबालिका मात्रै रहेछन् ।उक्त पार्टीका नेताहरुले बुझ्नुपर्ने कुरा हो कि, चकलेट र सदस्यता फारम उस्तै होइन ।
संख्या ठूलो देखाउने होडबाजीमा बालबालिकाको भविष्यसँग खेलवाड गरिनु हुँदैन । घण्टी बजाउनुस्, तर देशको कानुनको परिधिभित्र बसेर। बालबालिकालाई राजनीति होइन, राम्रो शिक्षा र संस्कार दिनुस् ।
पोखरा। पोखरा महानगरपालिका वडा नं. २१ द्वारा आयोजित आर्थिक वर्ष २०८२/८३ को सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। स्थानीय सरकार र नागरिकबीच दोहोरो संवाद स्थापित गर्दै विकास प्रक्रियामा नागरिकको रचनात्मक सहभागिता, जवाफदेहिता तथा पारदर्शिता प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
सार्वजनिक सुनुवाइ कार्यक्रममा जनप्रतिनिधि, स्थानीय बासिन्दा, राजनीतिक दलका प्रतिनिधि, स्वास्थ्यकर्मी, शिक्षक, विद्यार्थी, कर्मचारी, टोल विकास संस्थाका पदाधिकारी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिसहित करिब १५० जनाको सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागीहरूले दैनिक सेवा प्रवाह, विकास निर्माण, स्वास्थ्य सेवा तथा त्यसको सुधार, साङ्गठनिक सुशासन, पारदर्शिता र जवाफदेहिता, सडक, ढल, नाला तथा पानी निकास व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण र सदुपयोग, पर्यटकीय स्थलको स्तरवृद्धिलगायत समुन्नत वडा निर्माणसँग सम्बन्धित विषयमा प्रश्न, गुनासा तथा सुझाव प्रस्तुत गरेका थिए।

सहभागीहरूले उठाएका प्रश्न तथा जिज्ञासाको जवाफ दिँदै सम्बन्धित कर्मचारी तथा वडा अध्यक्ष दिपक प्रसाद सुवेदीले आर्थिक वर्षका लागि विनियोजित बजेट, योजना तथा कार्यक्रमहरूको प्राथमिकता र आगामी कार्ययोजनाबारे जानकारी गराउनु भएको थियो ।
सो अवसरमा वडा अध्यक्ष सुवेदीले आफ्नो वडाले महानगरले दिएको लक्ष्यअनुसारको राजस्व संकलन गर्न सफल भएको भए पनि महानगरबाट आवश्यक रकम प्राप्त हुन नसक्दा अझै ४ करोडभन्दा बढी रकम भुक्तानी गर्न बाँकी रहेको जानकारी दिनुभयो। सीमित बजेटमा असीमित आवश्यकता पूरा गर्नुपर्ने चुनौती रहेको उल्लेख गर्दै उहाँले समृद्ध वडा निर्माणका लागि वडा कार्यालय निरन्तर प्रयासरत रहेको बताउनुभयो।

कार्यक्रममा वडाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै वडा सचिव कृष्ण प्रसाद शर्माले चालु आर्थिक वर्षमा सेवा प्रवाहलाई नियमित, चुस्त र दुरुस्त रूपमा सञ्चालन गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार कार्यालयले हालसम्म अनलाइनबाहेक ७८ वटा पत्र दर्ता गरेको छ भने विभिन्न प्रकृतिका ४ हजार ९३४ वटा पत्र चलानी गरेको छ।
वडा कार्यालयले नियमित रूपमा वडा समितिको बैठक सञ्चालन गर्दै आएको र हालसम्म ३५ वटा बैठक सम्पन्न भई ११३ वटा विभिन्न विषयमा निर्णय गरिएको जानकारी पनि उहाँले दिनुभयो।
सेवा प्रवाहतर्फ नागरिकता, नाता प्रमाणित, घरबाटो, चार किल्ला, योजना सम्बन्धी, छात्रवृत्ति सम्बन्धी, नामसारी, अविवाहितलगायत विभिन्न प्रकृतिका गरी कुल ४ हजार ९३४ वटा सिफारिस प्रदान गरिएको वडा सचिव शर्माले जानकारी दिनुभयो।
वाराही सञ्चार प्रा.लि.ले सहजीकरण गरेको सार्वजनिक सुनुवाइ कार्यक्रमको सञ्चालन माधव पराजुलीले गर्नुभएको थियो।
चितवन ।
भरतपुर अस्पताल न्यूनतम सेवा मापदण्ड एमएसएसमा उत्कृष्ट भएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले गरेको अनुगमन तथा मूल्याङ्कनमा भरतपुर अस्पताल देशकै सङ्घीय अस्पतालमध्ये ८९ अङ्कसहित उत्कृष्ट बनेको हो ।
अस्पतालले ८९ अङ्क प्राप्त गर्दै उत्कृष्ट बन्न सफल भएको हो । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ७७ अङ्कसहित दोस्रो, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ७१ अङ्कसहित तेस्रो भएका छन् भने पाटन अस्पतालको मापन भइरहेको जनाइएको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका तर्फबाट संयोजक डा। श्रीराम तिवारीले भरतपुर अस्पताल देशभरका १४ वटा सङ्घीय अस्पतालमा सेवा प्रवाहमा राम्रो रहेको बताउनुभयो । मन्त्रालयले अस्पतालको सेवा गुणस्तर मापनका लागि एक हजार ४ सय ९७ विभिन्न सूचकहरु बनाएर परीक्षण गरेको हो । गत वर्ष अस्पतालले ८८ अङ्कसहित उत्कृष्ट बनेको थियो ।
भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा। विश्वबन्धु बगालेले अघिल्लो आर्थिक वर्षभन्दा चालु आवमा अस्पतालले अझै राम्रो गरेको बताए । बिरामीले पाउने सेवा सुविधा, अस्पतालमा उपलब्ध उपकरण, कामको तालिका, सरसफाइ, औषधि, जनशक्तिको अवस्था सबै कुरालाई अस्पतालले अद्यावधिक गरेको उनको भनाइ छ ।
कूल ६ सय शैयाको भरतपुर अस्पतालमा दैनिक दुई हजार ५ सय देखि तीन हजारसम्म बहिरङ्ग सेवामा बिरामी आउने गर्दछन् । अस्पतालले १४ वटा अतिविशिष्ट सेवा सञ्चालन गर्दै आएको छ । जिल्लाका निजी अस्पतालमा स्वास्थ्य बिमा बन्द भएपछि बिमाका बिरामीको चाप यहाँ बढेको छ ।
सूचक राम्रो देखिए पनि बिरामीको उच्च चाप र न्यूनतम स्रोतसाधनमा काम गर्नुपर्दा चाहेर पनि बिरामीको अपेक्षाअनुसार अझै सेवा दिन नसकिएको बगालेले बताए ।
काठमाडौं ।
प्रतिनिधिसभाका सांसदहरूलाई संघीय संसद् सचिवालयले प्रशिक्षण दिएको छ । संसद भवनभित्रको सभा हलमा भोलिसम्म प्रशिक्षण चल्ने संसद सचिवालयले जनाएको छ ।
संसदीय प्रशिक्षण शाखाले दिइरहेको यस प्रशिक्षणमा संसदीय प्रक्रिया र अभ्यासबारे जानकारी गराइने छ ।
नवनिर्वाचित सांसदमा संसदीय प्रक्रिया, अभ्यास साथै नियमबारे जानकारीको अभावमा सदनमा परिपक्वता नदेखिएको भन्दै टिप्पणी भइरहेको बेला संसद सचिवालयले प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो । नवनिर्वाचित सांसदहरु संसदमा बोल्ने क्रममा त्रुटीपूर्ण अभिव्यक्ति दिन थालेपछि सामाजिक संजालमा चर्को टिप्पणी हुन थालेको छ।
महाशिला गाउँपालिकामा सञ्चालन भइरहेको “तरकारी मूल्य श्रृङ्खलामा नविनताका माध्यमबाट ग्रामीण महिला उद्यमीहरूको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि परियोजना” ले ग्रामीण महिलाको आयआर्जनमा उल्लेखनीय सुधार ल्याएको छ । सहकारीमार्फत सामूहिक बजारिकरण प्रणाली विकास भएपछि कृषक महिलाहरू व्यवसायिक तरकारी खेतीतर्फ आकर्षित भएका छन् ।
हेफर प्रोजेक्ट इन्टरनेशनल नेपाल र महाशिला गाउँपालिकाको साझेदारीमा सञ्चालित उक्त परियोजनाअन्तर्गत कृषक व्यवसाय पाठशाला, बजार व्यवस्थापन तालिम, फसलपछिको व्यवस्थापन, जलवायु स्मार्ट कृषि अभ्यास तथा सामूहिक बजारिकरण कार्यक्रम सञ्चालन हुँदै आएका छन् । परियोजनाको कुल बजेट ३ करोड ६२ लाख ३६ हजार ४ सय ८७ रुपैयाँ रहेको छ ।
परियोजनामार्फत हालसम्म २ लाख १२ हजार २ सय ११ केजीभन्दा बढी तरकारी बजारिकरण भएको छ । जसबाट १ करोड १३ लाख २९ हजार ६ सय ४९ रुपैयाँ बराबरको कारोबार भएको परियोजनाले जनाएको छ । परियोजनाले आगामी महिनासम्म कारोबार रकम २ करोडभन्दा माथि पुग्ने अपेक्षा गरेको छ ।

गत जुलाईदेखि मार्चसम्म मात्रै टमाटर, काउली, बन्दा लगायत विभिन्न तरकारीको सामूहिक बिक्री गरिएको थियो । यस अवधिमा सबैभन्दा बढी कारोबार सेप्टेम्बर महिनामा भएको देखिन्छ । कृषकहरूले सहकारीमार्फत प्रत्यक्ष बजार पहुँच पाएपछि बिचौलियामाथिको निर्भरता घटेको बताएका छन् ।
परियोजनाले उत्पादन लागतसमेत घटाएको जनाएको छ । परियोजना सुरु हुनुअघि प्रतिकेजी टमाटर उत्पादन लागत ५१ रुपैयाँ ५६ पैसा रहेकोमा हाल ४१ रुपैयाँ २५ पैसामा झरेको छ । त्यस्तै काउली र बन्दाको उत्पादन लागत पनि उल्लेखनीय रूपमा घटेको तथ्यांकमा उल्लेख छ ।
महाशिला गाउँपालिकाले स्थानीय स्तरमै तरकारी संकलन तथा प्रशोधन केन्द्र स्थापना गर्न बजेट विनियोजन गरिसकेको जनाएको छ । साथै बजार सहजकर्ता परिचालन र बिक्री केन्द्र व्यवस्थापनको कामसमेत अगाडि बढाइएको छ ।
परियोजनाअन्तर्गत जलवायु स्मार्ट कृषि अभ्यास, मल्चिङ प्रविधि, नर्सरी स्थापना तथा व्यवसायिक खेती विस्तारले कृषक महिलाको व्यवसायिक क्षमता वृद्धि भएको बताइएको छ । विशेषगरी महिला कृषकहरू सहकारीमार्फत बजारसँग जोडिन थालेपछि ग्रामीण क्षेत्रमा रोजगारी र जीविकोपार्जनमा सकारात्मक प्रभाव परेको सरोकारवालाहरूले बताएका छन् ।
यद्यपि उच्च ढुवानी लागत, कमजोर भण्डारण सुविधा तथा बजार मूल्यसम्बन्धी सीमित जानकारी अझै चुनौतीका रूपमा रहेका छन् । परियोजनाले आगामी दिनमा बजार पूर्वाधार र प्रशोधन प्रणालीलाई थप सुदृढ गर्दै कृषकको आम्दानी वृद्धि गर्ने लक्ष्य राखेको छ ।
पर्वत जिल्लाको महाशिला गाउँपालिका सुन्दर प्राकृतिक सम्पदाले भरिपूर्ण यो क्षेत्र कृषि सम्भावनाले सम्पन्न भए पनि यहाँका कृषकहरूले लामो समयसम्म उत्पादनको उचित मूल्य नपाउने, बजार पहुँचको अभाव, उच्च ढुवानी लागत, कमजोर भण्डारण सुविधा र बिचौलियाको भर पर्नुपर्ने जस्ता चुनौतीहरू भोग्दै आएका थिए। मेहनत धेरै, आम्दानी कम। यसले कृषि पेशालाई निराशाजनक बनाइरहेको थियो।
यही अवस्थालाई परिवर्तन गर्न हेफर इन्टरनेशनल नेपाल, महाशिला गाउँपालिका र इन्प्रेड नेपालको साझेदारीमा “तरकारी मूल्य श्रृङ्खलामा नविनताका माध्यमबाट ग्रामीण महिला उद्यमीहरूको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि परियोजना” सञ्चालनमा आयो ।
यो परियोजनाले केवल तरकारी उत्पादन बढाउने लक्ष्य मात्र राखेको छैन, यसले ग्रामीण महिलालाई व्यवसायिक कृषि उद्यमीका रूपमा स्थापित गर्ने, उत्पादनदेखि बजारसम्मको सम्पूर्ण मूल्य श्रृङ्खलामा उनीहरूको पहुँच विस्तार गर्ने, र स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउने दीर्घकालीन उद्देश्य बोकेको छ।

परियोजना सुरु भएसँगै महाशिलाका विभिन्न वडामा कृषक व्यवसाय पाठशाला सञ्चालन गरियो। कृषकहरूलाई आधुनिक खेती प्रविधि, जलवायु स्मार्ट कृषि अभ्यास, व्यवसाय योजना निर्माण, फसलपछिको व्यवस्थापन तथा बजार व्यवस्थापनसम्बन्धी व्यवहारिक तालिम प्रदान गरियो। खेतमै सिकाइ, समूहगत अभ्यास र सहकारीमार्फत सामूहिक छलफलले कृषकहरूमा नयाँ आत्मविश्वास पैदा गर्यो।
विशेषगरी ग्रामीण महिलाहरूको जीवनमा यस परियोजनाले उल्लेखनीय परिवर्तन ल्याएको छ। जो महिलाहरू पहिले घरायसी काममा मात्र सीमित थिए, उनीहरू आज व्यवसायिक तरकारी खेती, सहकारी नेतृत्व, उत्पादन व्यवस्थापन र बजार कारोबारमा सक्रिय भूमिका निर्वाह गरिरहेका छन्। उनीहरूको आर्थिक आत्मनिर्भरता बढेको छ, निर्णय प्रक्रियामा सहभागिता बलियो बनेको छ, र परिवारको जीवनस्तरमा सकारात्मक सुधार आएको छ।
परियोजनाको अर्को महत्वपूर्ण उपलब्धि भनेको सामूहिक बजारिकरण प्रणालीको स्थापना हो। सहकारीमार्फत कृषकहरूले आफ्ना उत्पादन व्यवस्थित रूपमा संकलन गरी बजारसम्म पुर्याउन थालेका छन्। यसले बिचौलियामाथिको निर्भरता घटाएको छ र किसानले आफ्नै उत्पादनको उचित मूल्य पाउने वातावरण सिर्जना गरेको छ।
हालसम्म दुई लाख १२ हजार दुई सय ११ केजीभन्दा बढी तरकारी बजारिकरण भइसकेको छ भने एक करोड तेह्र लाख रुपैयाँभन्दा बढीको कारोबार सम्पन्न भएको छ। यो उपलब्धि केवल तथ्यांक होइनस यो ग्रामीण महिलाको परिश्रम, सहकार्य र आत्मविश्वासको प्रतिफल हो।

परियोजनाले उत्पादन लागत घटाउन पनि महत्त्वपूर्ण योगदान दिएको छ। मल्चिङ, गुणस्तरीय नर्सरी, उन्नत प्रविधि र व्यवस्थापन सुधारका कारण टमाटर, काउली र बन्दाजस्ता तरकारीको उत्पादन लागत घटेको छ भने उत्पादकत्व बढेको छ। यसले कृषकको नाफा वृद्धि गरेको छ।
स्थानीय सरकारले पनि यस अभियानलाई थप टेवा पुर्याएको छ। तरकारी संकलन तथा प्रशोधन केन्द्र निर्माण, बजार सहजकर्ता परिचालन तथा बजार पूर्वाधार विकासका लागि बजेट विनियोजन गरिएको छ। यसले परियोजनाको दीगो प्रभाव सुनिश्चित गर्ने विश्वास बढाएको छ।
यद्यपि चुनौतीहरू अझै बाँकी छन्। उच्च ढुवानी लागत, पर्याप्त भण्डारण सुविधाको अभाव र बजार मूल्यसम्बन्धी सूचना प्रणालीको सीमितता समाधान गर्नुपर्ने विषय हुन्। तर, महाशिलाले परिवर्तनको बाटो समातेको छ।
आज महाशिलाका महिलाहरू केवल किसान मात्र होइनन्, सफल उद्यमी बन्ने यात्रामा छन्। उनीहरूको मेहनत, सहकार्य र सही अवसरले देखाएको छ—यदि ज्ञान, प्रविधि र बजारसँग जोड्न सकियो भने ग्रामीण महिलाहरूले स्थानीय अर्थतन्त्रलाई नयाँ उचाइमा पुर्याउन सक्छन्।
महाशिलाको यो हरियो रूपान्तरण एउटा परियोजनाको सफलता मात्र होइनस यो सम्भावनाको कथा हो, आत्मनिर्भरताको कथा हो, र समृद्ध भविष्यतर्फको साझा यात्रा हो।







