२०८३ जेष्ठ ५ मंगलवार
२०८३ जेष्ठ ५ मंगलवार

पोखरा, १२ भदौ।

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्ट समक्ष गण्डकीका मुख्य न्यायाधिवक्ताको कार्यालयले प्रतिवेदन पेश गरेको छ  । मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्मा पौडेलले कार्यालयको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन बिहीबार एक कार्यक्रमका बीच हस्तान्तरण गर्नुभएको हो ।

प्रदेश प्रमुख भट्टले मुख्य न्यायाधिवक्ता मुख्यमन्त्रीका कानुनी सल्लाहकार रहेकाले प्रदेश सरकारको न्यायिक कामकारबाही नै मुख्य न्यायाधिवक्ताको प्रमुख दायित्व रहने उल्लेख गर्नुभयो । ‘प्रदेश सरकारलाई कानुनी सल्लाहका साथै न्यायिक कामकारबाहीमा सहायता प्रदान गर्ने जिम्मेवारी मुख्य न्याधिवक्ताको हो ।’ भट्टले भन्नुभयो ।

संवैधानिक व्यवस्था अनुरुप प्राप्त जिम्मेवारीअनुसार कार्यालयले आफ्ना कार्य सम्पादन गर्दै आएको विश्वास व्यक्त गर्नुहुँदै उहाँले कार्यालयले संघीयताका तहगत स्पष्टताका विषयमा नागरिक छलफल चलाउने, स्थानीय न्यायिक समितिको क्षमता अभिवृद्धिका लागि तालिम प्रशिक्षण लगायतमा जोड दिन ध्यानाकर्षण गराउनुभयो ।

कार्यक्रममा मुख्य न्यायाधिवक्ता शर्माले वार्षिक रुपमा प्रतिवेदन पेश गर्नुपर्ने कानुनी प्रावधान अनुसार गत आर्थिक वर्षमा सम्पादन गरिएका कार्यहरुको संक्षिप्त विवरण पनि प्रस्तुत गर्नुभयो । मुख्य न्यायाधिवक्ताको कार्यालयबाट प्रदेश सरकारको प्रतिनिधि भई प्रतिरक्षा गरिएका मुद्दा, लिखित रुपमा राय माग भई आएका विषय, राय सुझावसहित पठाइएका नीति, ऐन नियम आदि विषय प्रतिवेदनमा समेटिएको उहाँले जानकारी गराउनुभयो ।

मुख्य न्यायाधिवक्ता शर्माले कार्यालयले प्रदेश सरकारलाई विभिन्न विधेयकहरुमा निर्माणमा सहयोग गरेको र कार्यालय शुन्य बेरुजुको प्रयासमा रहेको उल्लेख गर्नुभयो ।

नेपालको संविधानको धारा १६० मा प्रत्येक प्रदेशमा एक मुख्य न्यायाधिवक्ता रहने संवैधानिक व्यवस्था रहेको छ । मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका शर्त सम्बन्धी ऐन, २०७५ को दफा ११ ले मुख्य न्यायधिवक्ताले प्रत्येक वर्ष आफूले सम्पादन गरेको कामको वार्षिक प्रतिवेदन तयार गरी प्रदेश प्रमुख समक्ष पेश गर्नुपर्ने व्यवस्था गरेको छ । उक्त प्रतिवेदन प्रदेश सभा समक्ष पेश गर्न प्रदेश प्रमुख कार्यालयबाट मुख्यमन्त्री कार्यालयलाई पठाउनेछ ।

कार्यालयले वर्ष भरिमा संवैधानिक एवं कानूनी विषयमा दिएको राय सल्लाहको संक्षिप्त विवरण, प्रदेश सरकार बादी वा प्रतिवादी भई दायर भएका मुद्दा मामिलामा प्रतिरक्षा गरिएको संक्षिप्त विवरण, मुद्दा मामिलामा गरिनुपर्ने सुधारको विवरण लगायत प्रतिवेदनमा उल्लेख गर्दछ ।

“कुमामोतो नेपाली समाज तथा आसो फुटबाल क्लब द्वारा तीज बीसेस विभिन्न कार्यक्रमको आयोजना” 

– रामचन्द्र राई

हरितालिका तीज पर्व २०८२ को शुभकामना आदान–प्रदान तथा दर खाने कार्यक्रम अन्तर्गत, कुमामोतो नेपाली समाजद्वारा आयोजित अनलाइन तीज गीत/नृत्य प्रतियोगितामा सिर्जना नगरकोटी पहिलो भएकी छिन् । त्यस्तै, संस्कृति मगर र अन्सुमा परियारको जोडी दोस्रो स्थानमा, र आशा बलाल तेस्रो स्थानमा रहन सफल भए ।

विजेता सहभागीहरूलाई क्रमशः २० हजार, १५ हजार, र १० हजार जापानी येन नगद पुरस्कार, होक्काइडो “घी”, र प्रमाणपत्रसहित सम्मान गरिएको थियो । समाजकी महिला उपाध्यक्ष रूपा नेपाली सांस्कृतिक संयोजक रहने गरी, निर्णायक मण्डलमा सल्लाहकार सुरेन्द्र डंगोल र नायिका रागिनी खड्गी समेतको सहभागिता थिए ।

निर्णायक सुरेन्द्र डंगोलका अनुसार प्रतियोगिताको परिणाम दर्शकको भोट र निर्णायकको अङ्कको आधारमा तय गरिएको थियो । कुमामोतोस्थित स्पाइस आरोमा रेस्टुरेन्टमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि प्रा. डा. हरिदेवकोटाले विजेता तथा सहभागीहरूलाई बधाई दिँदै भने: “मञ्च ठूलो होस् वा सानो, त्यसको सम्मान गर्नैपर्छ । तपाईं आज सामान्य कलाकार होला, तर कुनै दिन देश चिनाउने कलाकार बन्ने सम्भावना हरेकमा हुन्छ । धैर्यता र अनुशासनसाथ कर्म गर्न कहिल्यै नछोड्नुहोस्।”

त्यस्तै, अर्का अतिथि कवि तथा कलाकार मञ्जुल मितेरीले भावनात्मक शैलीमा सन्देश दिँदै सहभागीहरूलाई प्रोत्साहित गरे । यसपटकको प्रतियोगिताको प्रथम पुरस्कार एनआरएनए जापानका अध्यक्ष सुभास लामिछाने, दोस्रो पुरस्कार स्पाइस आरोमा रेस्टुरेन्ट, र तेस्रो पुरस्कार आसो फुटबल क्लबले प्रायोजन गरेका थिए ।

होक्काइडो “घी” र Yehey Remit सह–प्रायोजकका रूपमा थिए। येहे रेमिट द्वारा सञ्चालित लक्की ड्रमार्फत विभिन्न सहभागीहरूले २० हजार येन बराबरको नगद पुरस्कार र होक्काइडो “घी” जितेका थिए । कुमामोतो नेपाली समाजका अध्यक्ष रोशन भट्टराईले जापानमा नेपाली समुदायको संख्यामा तीव्र वृद्धि भइरहेकाले समस्याहरू समाधान गर्न समाज र संगठनहरूको भूमिका अत्यावश्यक रहेको बताए । उनले भने : “हामी फुटेर होइन, जुटेर मात्रै समाधान सम्भव हुन्छ, एनआरएनए जापान र नेपाली दूतावाससँग सहकार्य गर्न हामी तत्पर छौं ।”

तीज पर्वकै सन्दर्भमा कुमामोतोमा सक्रिय आसो फुटबल क्लबले लोटस इन्डो नेपाली रेस्टुरेन्टमा दर खाने तथा शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रमका प्रमुख अतिथि समाजका अध्यक्ष रोशन भट्टराईले खेलकुद र समाज बीचको सम्बन्धको चर्चा गर्दै क्लबसँग सहकार्य गर्न सधैं इच्छुक रहेको बताए ।

एनआरएनए क्युसुका सह–संयोजक पवन अधिकारीले सांस्कृतिक तथा सामाजिक पर्वहरूलाई मिलेर मनाएझैं, साझा समस्या समाधानमा पनि समाज र क्लबले महत्वपूर्ण भूमिका खेलेको बताए । त्यस्तै, एनआरएनए क्युसु सदस्य बद्री सापकोटा र सुजन कटुवालले पनि शुभकामना मन्तव्य राखेका थिए ।

क्लबका म्यानेजर बिपिन घलेले बिदेशमा रहेपनि खेल क्षेत्रमार्फत देश र समाजलाई चिनाउन मद्दत मिलेको बताए ।क्लब संयोजक मदन गुरुङले चाडपर्व र रीतिरिवाजलाई जहाँ गएपनि सम्मानपूर्वक सम्झनु आवश्यक रहेको भन्दै, भावनात्मक एकताको सन्देश दिन कार्यक्रम आयोजना गरिएको बताए ।

काठमाडौं । सरकारले फेसबुकसहितका सामाजिक सञ्जाललाई ७ दिनभित्र सूचीकरण हुन समय दिने निर्णय गरेको छ ।

भदौ ९ गते बसेको मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्न कडाइ गर्ने निर्णय गरेको हो ।

सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका २०८० र सर्वोच्च अदालतको आदेश अनुसार सामाजिक सञ्जाललाई जवाफदेही बनाउने निर्णय सरकारले गरेको हो । यसका लागि सात दिनको समय दिएर सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरण हुन आह्वान गरिने भएको छ ।
तोकिएको समयभित्र सूचीकरण नहुने वा सम्पर्कमा नआउने सामाजिक सञ्जाललाई नेपालभित्र नचल्ने गरी निष्क्रिय बनाउने निर्णय सरकारले गरेको छ । यसका लागि सञ्चार मन्त्रालयमार्फत नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ ।

उमा आलेमगर
पोखरा, ११ भदौँ ।

हरेक वर्ष विश्वभर विश्व ताल दिवस मनाइन्छ। यसको उद्देश्य पानीका प्राकृतिक स्रोतहरूमध्ये ताल र पोखरीको महत्वबारे चेतना फैलाउनु हो । सभ्यता निर्माणदेखि नै ताल, पोखरी र जलाशयहरू केवल पानीका भण्डार मात्र होइनन्, सांस्कृतिक, सामाजिक र आध्यात्मिक सम्पदाका रूपमा स्थापित छन् ।

नेपालजस्तो हिमाल, पहाड र तराईले भरिएको देशमा तालहरूको विशेष महत्व छ । यहाँका हिमनदीबाट बनेका ताल, भूगर्भीय प्रक्रियाबाट बनेका पोखरी र मानव निर्मित जलाशयहरू हाम्रो जीवन, संस्कृति र पहिचानसँग प्रत्यक्ष जोडिएका छन् ।

तालहरूको महत्व

तालहरू केवल पानीका भण्डार होइनन्, जीवन चक्रका संवाहक हुन् ।

पानीको स्रोत ः खानेपानी, सिँचाइ र अन्य प्रयोजनका लागि तालले जीवनदायिनी जल प्रदान गर्छन् ।

जैविक विविधता ः विभिन्न प्रजातिका माछा, चराचुरुङ्गी, जलजन्तु र जलवनस्पतिहरू तालमा आश्रित हुन्छन् ।

जलवायु सन्तुलन ः तालहरूले तापक्रम नियन्त्रण गर्छन्, हावामा आद्र्रता बढाउँछन् र प्रदूषण न्यून पार्छन् ।

सांस्कृतिक महत्व ः रारा, फेवाताल वा गोसाइँकुण्डजस्ता तालहरू प्राकृतिक सुन्दरता मात्र होइन, धार्मिक आस्था र सांस्कृतिक सम्पदासँग पनि गाँसिएका छन् ।

पर्यटन र अर्थतन्त्र ः तालहरूले देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन, पर्यटक आकर्षित गर्न र स्थानीय समुदायलाई आम्दानी दिलाउन सहयोग गरेका छन् ।

तालहरूमाथि बढ्दो संकट

तर विडम्बना के छ भने, आज ती अमूल्य सम्पदाहरू अस्तित्व संकटमा परेका छन् ।

प्रदूषण र फोहोर ः प्लास्टिक, रासायनिक पदार्थ र घरेलु फोहोरको थुप्रो तालमा पुगेर पानी प्रदूषित भइरहेको छ ।

अतिक्रमण र शहरीकरण ः ताल वरिपरिका जमिन द्रुत शहरीकरण र अनियन्त्रित निर्माणका कारण संकुचित हुँदै गएका छन् ।

जलवायु परिवर्तन ः बढ्दो तापक्रम, हिमनदीको पग्लन र असामान्य वर्षाले तालहरूको स्तर घटाइरहेका छन् ।

मानव लापरबाही ः संरक्षणमा बेवास्ता गर्ने, ताललाई केवल दृश्य सौन्दर्यको रूपमा मात्र उपयोग गर्ने प्रवृत्तिले संकट अझै गहिरो बनाएको छ ।

नेपालमै पनि पोखराको फेवातालमा बढ्दो प्रदूषण, मुगुको रारा तालमा घट्दो पानीको स्तर वा काठमाडौं उपत्यकाका पुराना पोखरीहरूको अस्तित्व संकटमा पर्नु यस्तै उदाहरण हुन् ।

संरक्षणका उपाय

ताल संरक्षण केवल सरकारी निकायको जिम्मेवारी मात्र होइन, सम्पूर्ण समाजको साझा कर्तव्य हो।

ताल वरिपरिको वातावरण सफा राख्ने र फोहोर व्यवस्थापन गर्ने ।

सामुदायिक सहभागितामा संरक्षण समिति गठन गर्ने ।

विद्यालयदेखि विश्वविद्यालयसम्म ताल संरक्षणबारे शिक्षा दिने ।

ताल संरक्षणसम्बन्धी नीति कडाइका साथ कार्यान्वयन गर्ने ।

जिम्मेवार पर्यटन प्रवद्र्धन गर्ने र ‘इको–टुरिजम’लाई प्राथमिकता दिने ।

वैज्ञानिक अध्ययन र प्रविधिमूलक उपाय प्रयोग गर्ने ।

निष्कर्ष

ताल हाम्रो जीवन, संस्कृति र भविष्यसँग गाँसिएको सम्पदा हो। हरेक तालमा एउटा जीवनको कथा लुकेको छ—रारा तालको नीलो गहिराइमा नेपालको पहिचान छ, फेवातालमा माछापुच्छ्रे हिमालको प्रतिबिम्ब छ, गोसाइँकुण्डमा लाखौँ भक्तजनको आस्था छ ।

विश्व ताल दिवस ले हामीलाई सम्झाउँछ—ताल केवल पानीको थुप्रो होइन, प्रकृतिको आत्मा हो ।

ताल जोगाउनु भनेको पानी जोगाउनु, जैविक विविधता जोगाउनु, संस्कृति जोगाउनु र अन्ततः भविष्य जोगाउनु हो ।

यातायात व्यवस्था विभागले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने विषयमा सर्वसाधारणमा रहेको अन्योललाई सम्बोधन गर्दै स्पष्टीकरण दिएको छ ।

विभागले आगामी असोज १ गतेभित्रै इम्बोस्ड प्लेट जडान नगर्ने सवारीलाई तत्काल कुनै किसिमको दण्ड, जरिवाना वा कारबाही नगरिने स्पष्ट पारेको हो ।

विभागले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै असोज १ गतेदेखि सवारी दर्ता, नामसारी र नवीकरण गर्दा इम्बोस्ड प्लेट अनिवार्य गर्ने निर्णय यथावत् रहे पनि तत्काल जडान नगर्ने अन्य सवारीधनीलाई जरिवाना नगरिने कुरामा आश्वस्त पारेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘मिति २०८२ असोज १ गतेदेखि जडान नगरेको खण्डमा तुरुन्त जरिवाना वा कारबाहीमा परिने भन्ने भ्रमसमेत उत्पन्न भएको विषयमा तत्काललाई कुनै किसिमको दण्ड/जरिवाना नगरिने बेहोरासमेत स्पष्ट पारिन्छ ।’

विभागले सवारीधनीहरूलाई आफूलाई अनुकूल भएको समयमा सम्बन्धित यातायात कार्यालयमा गई स्वेच्छिक रूपमा इम्बोस्ड प्लेट जडान गरी सरकारको ‘डिजिटलाइजेसन’ अभियानमा सहयोग गर्न अनुरोध गरेको छ ।

इम्बोस्ड नम्बर अनिवार्य गर्ने निर्णय भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको अध्यक्षतामा प्रदेशका यातायात मन्त्री र स्थानीय तहका प्रतिनिधि सम्मिलित समितिको २०८२ साउन २० गतेको बैठकले गरेको थियो ।

निर्णयअनुसार असोज १ गतेदेखि नयाँ दर्ता, नामसारी र नवीकरण हुने सवारीमा इम्बोस्ड प्लेट अनिवार्य गरिने उल्लेख छ । तर, यो निर्णय सार्वजनिक भएपछि विभिन्न सञ्चारमाध्यम, सामाजिक सञ्जाल र नागरिकस्तरबाट व्यक्त भएका गुनासा र चासोप्रति विभागले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विभागले ‘डिजिटल नेपाल’को अवधारणा अनुसार यातायात क्षेत्रलाई क्रमशः डिजिटलाइज गर्दै जानु मुलुकको आवश्यकता भएको समेत बताएको छ ।

काठमाडौं, १० भदौ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले बालबालिका, आफ्नो हेरचाह आफैँ गर्न नसक्ने अशक्त, असहाय र ९० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरुको हकमा राष्ट्रिय परिचयपत्र नभए पनि सेवा लिन कुनै बाधा नपर्ने प्रावधानको पुनःस्मरण गराएको छ।

विभिन्न स्थानीय तहले परिचयपत्र अनिवार्य रहेको भन्दै सेवा प्रवाहमा कठिनाइ भएको बताउँदै आएपछि विभागले यस्तो प्रावधान स्मरण गराएको हो।

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने प्रयोजनका लागि ज्येष्ठ नागरिकले दुःख पाएको तथा अशक्तलाई पनि अनिवार्य रुपमा राष्ट्रिय परिचयपत्र नम्बर आवश्यक रहेको भन्ने गुनासो आएपछि विभागले थप स्पष्ट पारेको हो ।

सरकारले २०८१ असार २० गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी विभिन्न सार्वजनिक सेवामा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरेको थियो ।

सरकारले सामाजिक सुरक्षा भत्ता, बिमा निवृत्तिभरण, राजस्व, सवारी चालक अनुमतिपत्र, कम्पनी दर्ता, बैंकिङ तथा वित्तीय सेवा, टेलिफोन तथा सिमकार्ड, सामाजिक सुरक्षा कोष र घरजग्गा कारोबारमा परिचयपत्र अनिवार्य गरिएको छ ।

पोखरा, १० भदौ

गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले परम्परागत तीज गीत प्रतियोगिताले मौलिक तीजे भाकाहरू जीवन्त राख्न सघाउ पुग्ने बताउनुभएको छ ।

पोखराको मालेपाटन स्थित सूर्यचन्द्र विकास समाजले आयोजना गरेको ११ औं मालेपाटन तीज गीत प्रतियोगिताको शुभारम्भ गर्नुहुँदै प्रदेश प्रमुख भट्टले पछिल्लो प्रविधियुक्त समयमा तीजको मौलिकतालाई पनि असर गरिरहेको सन्दर्भमा यस्ता प्रतियोगिताहरुको महत्व रहने उल्लेख गर्नुभयो ।

‘निराहार व्रत बस्नुअघि माइत गएर खाइने दर हप्तौंअघि होटल तथा पार्टी प्यालेसहरुमा खाने प्रचलन बढ्दो छ । सुसभ्य तीज गीतहरु सुन्नै मुस्किलको अवस्था छ । समाजको यो परिवेशका बीचमा सूर्यचन्द्रले आयोजना गरेको यस्ता तीज गीत प्रतियोगिताले हाम्रा भाकाहरु जीवन्त राख्न सघाउ पु¥याउनेछ ।’ उहाँले भन्नुभयो ।  

संस्कृति सम्पूर्ण समाजको जीवन पद्धति रहेको बताउँदै उहाँले मानिसको धर्म, भाषा, शिष्टाचार, अनुष्ठान र कला संस्कृतिमा समाविष्ट हुने उल्लेख गर्नुभयो ।

‘नेपाली संस्कृति धेरै पुरानो र विविधतायुक्त छ । युवाहरूले आफ्नो संस्कृतिलाई प्रवद्र्धन र रक्षा गर्न जरुरी छ ।’ उहाँले भन्नुभयो – ‘समयकाल परिवर्तनसँगै कुनै पनि संस्कृतिको नराम्रा पक्षलाई सुधार्नु जरुरी छ भने अनुकूल सांस्कृतिक पक्षलाई बचाइराख्न पनि उत्तिकै आवश्यक हुन्छ । यिनको मूल्य, मान्यता र पहिचानलाई भने कायम गर्नुपर्ने हुन्छ ।’

हामीले हाम्रा सन्ततिलाई दिने भनेकै हामीसँग भएको संस्कार, संस्कृति, रीतिरिवाज र चालचलन हो भन्नुहुँदै उहाँले धार्मिक, सामाजिक, सांस्कृतिक तथा वैज्ञानिक महत्व र विशेषता भएका यस्ता पर्वहरूको संरक्षण गर्नु हामी सबैको साझा कर्तव्य रहेको उल्लेख गर्नुभयो ।

२०५१ सालमा स्थापित संस्थाले ३१ वर्षको लामो अवधिमा साहित्य र संस्कृतिको धरोहर बनेर साहित्य, कला, संस्कृति, राष्ट्रिय कवि सम्मेलन, दुव्र्यसन सम्बन्धी सचेतना, विभिन्न स्वास्थ्य शिविर, वातावरण संरक्षण, महिला सशक्तिकरण, पठन संस्कृतिको विकासका लागि पुस्तकालय, विद्यार्थी तथा जेष्ठ नागरिक सम्मान जस्ता विविध क्षेत्रमा काम गर्दै आइरहेको जानकारी पाउँदा खुशी लागेको बताउनुभयो । 

पोखरा, ९ भदौँ ।

विद्यालय सुधारको माग राखी आन्दोलन गरिरहेका सिर्जना बहिरा माध्यामिक विद्यालयका विद्यार्थीहरुसँग सोमबार सहमति भएको छ । पोखरा महानगरपालिका वडा नं. २६ का अध्यक्ष नरेन्द्र थापाको पहलमा भएको सर्वपक्षिय भेलामा विद्यार्थीहरुले उठाएको समस्याका लागि महानगरको शिक्षा महाशाखामा लेखी पठाउने सहमति भएको हो ।

विद्यार्थीहरुले उठाएका समस्या समाधानका समिति बनाई छानविन गर्न महानगर शिक्षा महाशाखालाई पत्राचार गर्ने सहमति भएको वडाध्यक्ष नरेन्द्र थापाले बताउनु भयो । सहमति पश्चात विद्यार्थीले कुनै पनि निकाय अगाडी आन्दोलन नगर्ने र शिक्षकहरुले नियमित पठन पाठन गराउने सहमति भएको अध्यक्ष थापाले बताउनु भयो ।

छलफलका क्रममा छानविन पछि दोषी देखिएकालाई कारवाही गरिने प्रतिवद्धता जनाउँदै अध्यक्ष थापाले कसैको उक्साहटमा लागेर आन्दोलनमा नलाग्न सुझाव दिदै, केही समस्या भए सिधै आफुसँग राख्न आग्रह गर्नु भयो । सिर्जना बहिरा मा.वि फरक प्रकृतिको विद्यालय भएकाले त्यहाँको समस्या समाधानका लागि आफु गंभिर रहेको अध्यक्ष थापाले बताउनु भयो ।

छलफलमा वडा अध्यक्ष थापा, वडा सदस्य तिर्थबहादुर राजभाट, वडा शिक्षा समितिका चन्द्रबहादुर रानाभाट, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाशलाल श्रेष्ठ सहित सदस्यहरु, गण्डकी बहिरा संघका अध्यक्ष किसान तामाड, उपाध्यक्ष पार्वती भूजेल, महासचिव विश्वमित्र भिरकोटी, सल्लाहकार सुर्यमोहन बराल, दोभासे अञ्जली सुनार, विद्यार्थी प्रतिनिधि भेषराज ढकाल, अमित सुनार, मलिना श्रेष्ठ, अभिभावक गौरादेवी पाईजा रिंकु मगर, हृदयकुमार श्रेष्ठ सहितको सहभागिता रहेको थियो ।

विद्यालय प्रशासनले बिद्यार्थी विजय बि.क.लाई फसाएको, आफुहरुलाई सुरक्षा नभएको, पठन पाठनमा समस्या भएको, विद्यालयमा आर्थिक अनुशासन नभएको लगायतका समस्याहरु राख्दै आएको थिए । आफुहरुको माग सुनुवाई नभएको भन्दै विद्यार्थीहरुले बिगत दुई दिन देखी विद्यालयमा पठन पाठन ठप्प पारी संघर्षका कार्यक्रमहरु गर्दै आएका थिए ।

पोखरा, ९ भदौ ।

जिएम समाज र ढुंगेदेउराली क्लब लामाचौर भलिबल प्रतियोगिताको फाइनल प्रवेश गरेका छन् । रोचक त के भने लिग चरणका समूह विजेता टिम सेमिफाइनलबाटै यात्रा टुंगाउन पुगे । सोमबार लामाचौर कप खुला पुरुष भलिबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा आयोजकलाई सोझो सेटमै पराजित गर्दै जि.एम. समाज फाइनल पुगेको हो ।

समूह ‘बि’ को उपविजेता कावासोतीको जि.एम. समाज समूह ‘ए’ को विजेता आयोजक नवआदर्श सामुदायिक विकास समाजविरुद्ध फाइनल प्रवेशका लागि कोर्ट उत्रिएकोमा ३–० सेटमा सहजै हराउन सफल भएको हो । घरेलु दर्शकले आयोजकलाई हुटिङ गरे पनि जि.एम. समाजले २५–१३, २५–२० र २५–२० सेटमा खेल आफ्नो पक्षमा पारेकोे हो । म्यान अफ दि म्याच विश्वास अधिकारी घोषित भएको नेपाल भलिबल संघ केन्द्रीय उपाध्यक्ष यामबहादुर गुरुङले बताए ।

यसैगरी, दोस्रो सेमिफाइनलमा स्याङ्जा पौवेगौडेको ढुंगेदेउराली क्लबले विभागीय एपिएफ पोखरालाई सोझो सेटमै पराजित गरी उपाधि नजिक पुगेको हो । एपिएफ समूह ‘बि’ को विजेता हुँदै सेमिफाइनल पुगेको थियो । समूह ‘ए’ को उपविजेता ढुंगेदेउराली हो । ढुंगेदेउरालीले पहिलो सेट २५–१९ जितेर अग्रता कायम गरेको थियो । बाँकी सेट २५–२३ र २५–१९ मा रोमाञ्चक जित हात पार्दै जि.एम. समाजसँग फाइनल सुनिश्चित गरेको हो । ढुंगेदेउरालीका लिफ्टर राजन दर्माली म्यान अफ दि म्याच घोषित भए ।

६ टिमले भाग लिएको प्रतियोगितामा आयोजक र एपिएफ लिग चरणमा समान २–२ खेल खेल जितेर सर्वाधिक ६ अंकका साथ समूह विजेता हुँदै सेमिफाइनल खेलेका थिए । सोमबारकै लिग चरणमा आयोजकले ढुंगेदेउरालीलाई ३–१ सेटमा र एपिएफले जि.एम.समाजलाई ३–१ सेटमै हराएको थियो । माछापुच्छे« गाउँपालिका र कृष्णदल फूलबारी अंकविहीन हुँदै अघिल्लो दिन प्रतिस्पर्धाबाट बाहिरिएका थिए ।

फाइनल मंगलबार दिउँसो १ बजे हुनेछ । त्यसअघि, बिहान ११ बजे अन्तर मावि छात्रा भलिबलको फाइनल हुनेछ । जसमा टप्स र शान्ता मावि फाइनल प्रतिस्पर्धा गर्नेछन् । पुरुषतर्फ विजेताले ३ लाख र उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीलाई १० हजार दिइनेछ । अन्तरमावितर्फ विजेताले १ लाख र उपविजेताले ५० हजार तथा सर्वोत्कृष्ट खेलाडीले ५ हजार प्राप्त गर्नेछ । साथै, दुवै इभेन्टमा उत्कृष्ट विधामा आकर्षण पुरस्कार व्यवस्था छ ।

नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा संस्थाको २९ औं वार्षिक समारोह एवं तीज अवसरमा २७ औं संस्करणको लामाचौर तीज महोत्सव आइतबारदेखि सुरु भएको हो । मंगलबारसम्म संचालन हुने महोत्सवमा कलाकारको दैनिक प्रस्तुति, तीज गीत प्रतियोगिता, अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता लगायत विविध कार्यक्रम भइरहेको क्लब अध्यक्ष दिनेश भण्डारीले बताए । महोत्सवमा औद्योगिक तथा व्यापारिक ५० स्टल राखिएको क्लब अध्यक्ष दिनेश भण्डारीले बताए । महोत्सवको अन्तिम दिन मंगलबार चर्चित कलाकार प्रकाश दूतराज, श्रीदेवी देवकोटा, राजु ढकाल, कृति गुरुङ लगायत कलाकारको प्रस्तुति हुनेछ ।

पोखरा, ९ भदौँ ।

लेखनाथ उद्योग बाणिज्य संघको अधिबेशन नजिकिदै गर्दा ब्यबसायीका नेताहरुले घरदैलो अभियानलाइ तिब्र पारेका छन् । उम्मेद्वारहरु मतदाता भेटघाट गर्ने र मत माग्ने क्रममा व्यवसायीको घरदैलोमा पुगिरहेका छन। लेखनाथ उद्योग वाणिज्य संघको भदौ २० र २१ गते हुने १५ औं अधिवेशनमा अध्यक्षको उमेद्वार राजेन्द्र ओझा नेतृत्वको प्यानलमा रहेका उम्मेद्वारहरुले घरदैलो अभियानलाइ तिब्र पारेका हुन् ।

ओझाको प्यानलउद्योगी व्यवसायीको एकता, यसैमा संघको सफलता’ भन्ने नारा सहित चुनाबी अभियानमा होमिएको छ । घर दैलोको क्रममा ब्यबसायीहरुले गरेको माया र आत्मियता देखेर ओझा चुनाब जित्नेमा बिश्वस्त देखिन्छन्। बिगतदेखि नै संघमा बिभिन्न पदमा बसेको र रोल क्रमको कारणले पनि ब्यबसायीले आफुलाइ जिताउने उनको दाबी छ ।

घरदैलोको क्रममा स्थानीय कृषिका उत्पादन, हस्तकला र घरेलु तथा साना उद्योगबाट उत्पादित सामाग्रीको प्रत्यक्ष बिक्री र गुणस्तरीय बजार पूर्वाधार विकासमा ध्यान दिने योजना रहेको अध्यक्षका उम्मेद्वार ओझाले जानकारी दिएका छन ।

उनले सबै उद्योगी व्यवसायीको डिजिटल प्रोफाइल, नेटवर्किङ प्लेटफर्म, अनलाइन रजिष्ट्रेशन र ई–पेमेन्ट सजिलै उपलब्ध गराउने बताए । लेखनाथ क्षेत्रमा औद्योगिक क्षेत्र आवश्यक भएकोले त्यसका लागि पहल गर्ने उनको प्यालनले जोड दिने बताएका छन् ।

लेखनाथ उद्योग वाणिज्य संघको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाको नेतृत्वमा रहेको प्यालनबाट बरिष्ठ उपाध्यक्षमा उपेन्द्रराज सुबेदी ‘राजु’ प्रथम उपाध्यक्षमा मेनुका श्रेष्ठ, महासचिबमा जिबन तिवारी, उपमहासचिबमा लक्ष्मी प्रसाद ढुंगाना, कोषाध्यक्षमा टिकाराम सापकोटा रहेका छन् । कार्यसमितिको सदस्यहरुमा कृष्णप्रसाद सुबेदी, घनश्याम ढुंगाना, किशोर अधिकारी, नबराज पौडेल, सन्तोष हमाल, शिबराज अधिकारी, सुरेन्द्र गुरुङ,भीमप्रसाद सुबेदी ‘सन्तोष’, महिला सदस्यमा लक्ष्मी ठाकुर सुनार र सपना सुबेदी तिवारी, एसोसिएट सदस्यमा प्रवेश बन्जारा र संस्थागत सदस्यमा बिरभद्र कंडेल च्नावी मैदानमा उत्रिएका छन् ।

संघको महासचिब समेत रहेकी जानुका पराजुली अधिकारी अध्यक्षको उमेद्वार रहने गरि अर्को प्यानल घोषणा गरेर घर दैलोमा ब्यस्त छन् । चुनाब नजिकिंदै गर्दा यतिबेला दुवै समूह चुनाबी अभियानका क्रममा मतदाता ब्यबसायीहरुको घरदैलोमा पुगिरहेका छन ।

संघमा हाल २ हजार भन्दा बढी मतदाता रहेका छन

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।