२०८३ जेष्ठ ५ मंगलवार
२०८३ जेष्ठ ५ मंगलवार
पोखरा, ८ भदौ ।
 
लामाचौरमा आयोजित अन्तर मावि छात्रा भलिबल प्रतियोगितामा पोखराको टप्स मावि र शान्ता मावि फाइनलमा प्रवेश गरेका छन् । आइतबार पहिलो सेमिफाइनलमा टप्सले सिर्जना माविलाई सोझो सेटमा पराजित गरेको हो । पहिलो सेट २५–२० मा जितेको टप्सले दोस्रो सेट २६–२४ ले आफ्नो पक्षमा पार्दै उपाधि नजिक पुगेको हो ।
 
यस्तै, दोस्रो सेमिफाइनलमा शान्ता माविले पोखरा युनाइटेडको चुनौती २–१ सेटमा पन्छाउँदै टप्ससँग उपाधि भिडन्त पक्का गरेको हो । पहिलो सेट २४–२६ मा गुमाएको शान्ताले बाँकी सेटमा उत्कृष्ट पुनरागमन गरेको हो । उसले दोस्रो र तेस्रो सेट समान २५–१९ मा जित्न सफल भयो । टप्सले पहिलो चरणमा पश्चिमाञ्चल र दोस्रो चरणमा बालमन्दिरलाई हराउँदा शान्तले प्रतिभा र केफ माविलाई पराजित गर्दै विजयी यात्रा जारी राखेका छन् ।
 
यसैबीच, पहिलो सेमिफाइनलमा टप्सले पास आउट खेलाडी हालेको भनी प्रोटेस्ट परेकामा छानबिनमा त्यस्तो नपाइएको नेपाल भलिबल संघ उपाध्यक्ष यामबहादुर गुरुङले प्रस्ट पारे । फाइनल महोत्सव अन्तिम दिन भदौ १० गते हुने आयोजकले जनाएको छ । प्रतियोगितामा ११ टिमले भाग लिएका थिए । पोखरा एक्सपर्ट एजुकेशसन लामाचौर कप अन्तर मावि छात्रा भलिबल विजेताले १ लाख र उपविजेताले ५० हजार तथा सर्वोत्कृष्ट खेलाडीले ५ हजार प्राप्त गर्नेछन् ।
 
साथै, विधागत उत्कृष्टलाई आकर्षण पुरस्कार छ । नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा संस्थाको २९ औं वार्षिक समारोह एवं तीज अवसरमा २७ औं संस्करणको ‘लामाचौर तीज महोत्सव–२०८२’ को मुख्य आकर्षण लामाचौर कप भलिबल हो । इन्द्रराज्यलक्ष्मी मावि प्रागंणमा भदौ ८ देखि १० गतेसम्म लामाचौर कपसहित विविध सांगीतिक एवं सांस्कृतिक हुँदैछन् । महोत्सवको आइतबार पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उद्घाटन गरे । खेलतर्फ खुला पुरुष भलिबल प्रतियोगिता, तीज गीत प्रतियोगिता, अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता यहाँका थप आकर्षण हुन् ।
 

पोखरा, ८ भदौ ।

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले रक्तदान परोपकारी हितसँगै स्वयंको हित रहेको बताउनुभएको छ ।

ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र नेपाल, पार्दी शाखाले आयोजना गरेको रक्तदान शिविरको समुद्घाटन गर्नुहुँदै प्रमुख अतिथि भट्टले रक्तदान कार्यक्रम मानवीय धर्म र सामाजिक कर्म जोडिएको पवित्र कार्य रहेको बताउनुभयो ।

‘स्वेच्छिक रक्तदान एउटा महत्वपूर्ण मानवीय र सामाजिक सेवा हो । यस्ता कार्यक्रमले युवा पुस्तामा मानव सेवा र रक्तदानको महत्वको बारेमा जागरुकता फैलाउन पनि उत्तिकै मद्धत गर्दछ ।’ उहाँले भन्नुभयो ।

संस्थाका अन्तर्राष्ट्रिय पूर्व मुख्य प्रशासिका राजयोगिनी प्रकाशमणिज्यूको १८ औं पुण्य स्मृति तथा विश्व भातृत्व दिवसको अवसरमा नेपाल र भारतमा ब्रह्माकुमारीका प्रायः सबै स्थानीय सेवाकेन्द्रहरूले भदौ ६ देखि ९ गतेसम्म अन्तर्राष्ट्रिय रक्तदान शिविर आयोजना गरेको छ ।

संस्थाले मानवीय सेवा, एकता र करुणाको भावनालाई बढावा दिन यस्ता प्रकृतिको कार्यक्रम आयोजना गरेकोमा आभार व्यक्त गर्नुहुँदै यस कार्यलाई पवित्र र समाजसेवामूलक कार्यका रुपमा आफूले लिएको बताउनुभयो ।  

केन्द्रमा अध्यात्मिक चर्चा र ध्यान कार्यक्रमको आयोजना निरन्तर हुने हुँदा सबैको सुख, समृद्धि र शान्ति प्राप्तिका साथ जनजीवन मधुर र समृद्ध बन्न सहयोग पुग्ने अपेक्षा पनि उहाँले राख्नुभयो ।

‘आजको समयमा मानिसहरूले आफूलाई आत्मा सम्झन छाडेका छन् । जसले गर्दा अधर्म, विकार र अज्ञान फैलिएको छ। नयाँ सत्ययुगी सुखमय संसारको स्थापनाको खाँचो छ ।’ उहाँले भन्नुभयो – ‘सबै धर्म र संस्कृतिसँग सम्बन्धित मानिसहरूलाई आफ्नो अन्तरात्मालाई चिन्न, अनुभूति गर्न र राजयोग अभ्यास मार्फत् जीवनमा सकारात्मक परिवर्तन ल्याउन सहयोग पुग्नेछ भन्नेमा आशावादी छु ।’

शाखा प्रमुख ब्रह्माकुमारी अमृत दिदीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा वडा नं. ७ अध्यक्ष राममोहन आचार्य, समाजका अग्रज देवराज चालिसे, संस्थाका महासचिव ब्रह्माकुमार शैलेषराज बराल लगायतले बोल्नुभएको थियो । कार्यक्रममा लेकसाइड शाखा प्रमुख पुनम दिदीले धन्यवाद ज्ञापन र छोरेपाटन शाखा प्रमुख ब्रह्माकुमारी दीपा दिदीले सञ्चालन गर्नुभएको थियो । 

काठमाण्डाै – जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका अनुसार वीरगञ्ज महानगरपालिकाका विभिन्न अस्पतालमा उपचाररत बिरामीमध्ये ४५ जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ ।

वीरगञ्जको नारायणी अस्पतालमा ३२, तराई अस्पतालमा ८, नेशनल मेडिकल कलेजमा ६, एडभान्स अस्पतालमा ५, अलिअर्थो सेन्टरमा २ र भवानी अस्पतालमा २ जना बिरामीको उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख विनोद झाले जानकारी दिनुभयाे ।

अहिले अस्पतालमा हैजाका नयाँ बिरामी भर्नादर घट्दै गएकाे छ । वीरगञ्जका विभिन्न अस्पतालमा झाडापखाला र हैजाका शङ्कास्पद उपचाररत बिरामीको सङ्ख्या बिस्तारै घट्दै गएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख विनोद झाले बताउनुभयाे ।

वीरगञ्ज महानगरपालिकाका ५ वटै वडामा देखिएको हैजाको मुख्य कारण पानी नै हुनसक्ने प्रारम्भिक अनुमान छ । १२ नम्बर वडाबाट फैलिएको झाडापखालाका बिरामीलाई हैजा भएको हो/होइन भनेर प्रारम्भिक परिक्षणमात्रै भएको र विस्तृत अध्ययनको नतिजा आउन अझै केही दिन लाग्ने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख विनोद झाले बताउनुभयाे । मुख्य के कारणले हैजा भएको हो भनेर पत्ता लगाउनका लागि कल्चरको रिपोर्ट नै पर्खनुपर्ने पनि उहाँले जानकारी दिनुभयाे ।

महामारी फैलन नदिन घरघरको पानी परीक्षण कार्य शुरू भएको छ । घरघरको पानीको अवस्था के छ पहिचानका लागि जनचेतना अभिवृद्धिका काम पनि हुँदैछ । ‘पानी उमालेर वा पियुष मिसाएर शुद्धीकरण गरेर मात्रै खान भनेका छाैँ । जनचेतना फैलाउनका लागि महानगरसँग मिलेर घरघरमा ब्रुसर बाँड्ने काम पनि जिल्ला स्वास्थ्य कार्यालयले गरिरहेको छ’, झाले भन्नुभयाे ।

हैजाका लक्षण

वाकवाकी लाग्ने ,अचानक पखाला लाग्ने, बान्ता हुने, आँखा गढ्ने, थकान हुने, पिसाब कम लाग्ने, मानसिक स्थितिमा परिवर्तन आउने, मुख सुक्खा हुने, अत्यधिक तिर्खा लाग्ने, मुटुको चाल अनियमित हुने, रक्तचाप घट्ने

हैजाबाट जोगिने उपाय

उमा आलेमगर
पोखरा, ८ भदौँ ।

नेपालको सांस्कृतिक वैभवलाई निरन्तरता दिने पर्वहरूमध्ये हरितालिका तीज विशेष महत्व बोकेको पर्व हो। भाद्र शुक्ल तृतीयाका दिन मनाइने यो पर्व हिन्दु नारीहरूको आस्था, विश्वास र जीवनशैलीसँग गहिरो रूपमा गाँसिएको छ।

ऐतिहासिक सन्दर्भ र धार्मिक आधार

तीजको उत्पत्तिसम्बन्धी प्राचीन धार्मिक आख्यानहरू शिव पुराण र स्कन्द पुराणमा उल्लेख पाइन्छ । कथा अनुसार, पार्वतीले भगवान् शिवलाई वर पाउन कठोर तपस्या गरिन् । उनले लगातार १०८ वर्षसम्म कठोर ब्रत बसेको उल्लेख पनि कतिपय ग्रन्थहरूमा छ । अन्ततः शिवले पार्वतीको भक्ति स्वीकार गरी विवाह गरे । यही प्रसंगलाई स्मरण गर्दै हिन्दु महिलाहरूले तीजमा निराहार ब्रत बस्ने परम्परा बसालिएको हो ।

नेपालमा तीज मनाउने परम्परा करिब १८औँ शताब्दीको आसपासदेखि व्यवस्थित रूपमा प्रचलनमा आएको मानिन्छ । खासगरी शाह राणा शासककालमा दरबारभित्र तीज विशेष चहलपहलसहित मनाइने गर्थे । दरबारमा सुरु भएको चलन क्रमशः सर्वसाधारणमा फैलियो ।

परम्परागत स्वरूप

परम्परागत रूपमा तीज धार्मिक अनुशासन, नारीको आत्म–संयम र पारिवारिक समर्पणको पर्व थियो। महिलाले निराहार ब्रत बस्दै शिव–पार्वतीको पूजा गर्थे र दाम्पत्य सुख, परिवारको दीर्घायु र समृद्धिको कामना गर्थे ।

गाउँघरमा तीज महिलाको सामूहिक भेटघाटको अवसर हुन्थ्यो, जहाँ उनीहरूले आफ्ना पीडा, गुनासो र अनुभव गीतमार्फत व्यक्त गर्थे । “तीज गीत“ हरूले त्यस समयको सामाजिक यथार्थ उजागर गर्ने महत्वपूर्ण माध्यमको रूपमा काम गर्थे ।

बदलिँदो सांस्कृतिक रूप

आज तीजको स्वरूप धार्मिक सीमाभन्दा बाहिर निस्केर व्यापक सामाजिक र सांस्कृतिक उत्सवमा परिणत भएको छ ।

‘दार खाने’ प्रथा ः पहिले घरभित्र सीमित यो परम्परा अहिले होटल, पार्टी प्यालेस र सहर–सहरमा भव्य कार्यक्रमका रूपमा रूपान्तरण भएको छ।

गीत–संगीतको नवीनता ः परम्परागत लोकधुन मात्र नभई आधुनिक तीज गीतहरू बजारमा आउन थालेका छन ्। युट्युबमा मात्रै हरेक वर्ष सयौं नयाँ तीज गीत अपलोड हुन्छन्, जसले करोडौं भ्युज पाउँछन्।

सामाजिक सञ्जालको प्रभाव ः फेसबुक, टिकटक र इन्स्टाग्रामले तीजलाई नयाँ पुस्तामाझ अझै लोकप्रिय बनाएको छ ।

आधुनिकता र विवाद

आधुनिक तीजका स्वरूपले धेरै बहस जन्माएको छ।

एक समूहले यसलाई व्यवसायीकरण र ग्ल्यामराइजेशन भएको आरोप लगाउँछ । उनीहरूका अनुसार, धार्मिक आस्था भन्दा बढी “बजार“ हावी भएको छ।

अर्कोतर्फ, नयाँ पुस्ता यसलाई संस्कृतिको अनुकूलन र समयानुकूल विकासको प्रक्रिया ठान्छ ।

उदाहरणका लागि, केही वर्ष यता आएका कतिपय तीज गीतहरूलाई अश्लीलता र तडकभडकको आरोप लागे पनि, ती गीतहरूले महिलाको स्वतन्त्रता, इच्छाशक्ति र आधुनिक जीवनशैलीलाई प्रतिबिम्बित गरेको तर्क पनि गरिन्छ ।

महिला चेतना र सशक्तिकरण

तीज आज महिला चेतनाको पर्वका रूपमा पनि पुनर्परिभाषित भएको छ।

२०५० सालपछि महिला आन्दोलनको विस्तारसँगै तीजका अवसरमा महिला अधिकार र समानतासम्बन्धी बहस सार्वजनिक रूपमा उठ्न थाले ।

विभिन्न महिला संघ–संस्थाले तीजकै दिन सभा, ¥याली र गोष्ठी आयोजना गर्दै लैंगिक समानता, घरेलु हिंसा, शिक्षा र रोजगारजस्ता विषयमा आवाज उठाएका छन् । यसैले, तीजलाई आज केवल “पति दीर्घायुको कामना गर्ने पर्व“ नभई, “नारीको अधिकार र अस्तित्वको पर्व“का रूपमा पनि बुझ्न थालिएको छ ।

आर्थिक र पर्यटन प्रभाव

पछिल्ला तथ्यांकअनुसार, तीज अगाडि सपिङ मलबजारमा ३०–४० प्रतिशतसम्म बिक्री वृद्धि हुने गरेको व्यापारीहरू बताउँछन् । लुगाफाटा, गहना, सौन्दर्य प्रसाधन र होटल व्यवसाय तीजकै कारण चहकिलो हुन्छ ।

सहरमा आयोजना हुने तीज मेलामा विदेशी पर्यटकसमेत सहभागी हुने गरेका छन् । यसरी, तीजले नेपालको आन्तरिक अर्थतन्त्र मात्र होइन, पर्यटन क्षेत्रलाई पनि सहयोग पु¥याएको छ ।

निष्कर्ष

बदलिँदो तीजले नेपाली समाजमा धेरै प्रश्न खडा गरेको छ । एकातिर परम्परा, धार्मिक आस्था र सामाजिक सम्बन्धलाई बलियो बनाउने संस्कार छ भने अर्कोतर्फ आधुनिकता, व्यवसायीकरण र महिला चेतनाले नयाँ स्वरूप दिएको छ ।

सांस्कृतिक संरक्षणको नाम आधुनिक रूपान्तरणको बहस अझै चलिरहेको छ। तर, विवाद र आलोचना बीच पनि तीज नेपाली नारीहरूको जीवनसँग गाँसिएको, उनीहरूको आस्था, पहिचान र आत्म–अभिव्यक्तिको पर्वका रूपमा अझै बलियोसँग उभिएको छ ।

पोखरा, ७ भदौ ।

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्की शाखाले आगामी भदौ २० र २१ गते पोखराको न्युरोड स्थित सिटी स्क्वायर बैंक्वेटमा ‘आठौं इक्यान एजुकेसन फेयर’ आयोजना गर्ने भएको छ । इक्यान कास्कीले शनिबार पोखरामा पत्रकार सम्मेलन गरी टाइम्स एजुकेसनल कन्सल्टेन्सीको प्रस्तुतिमा शैक्षिक मेला आयोजना गर्ने जानकारी दिएको हो ।

लामो समयदेखि आयोजना हुन नसकेको गण्डकी प्रदेशको सबैभन्दा ठूलो शैक्षिक मेला यस वर्ष नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाबाट अनुमति लिएर इकान कास्कीले आठौं संस्करण आयोजना गर्न गइरहेको छ ।

मेलामा अमेरिका, अस्ट्रेलिया, क्यानडा, बेलायत लगायतका कलेज एवं विश्वविद्यालयका प्रतिनिधि, इक्यानका सदस्य संस्था, ब्रिटिस काउन्सिल लगायतका ६० स्टल रहनेछन् । मेलामा सहभागी विद्यार्थीलाई लक्की ड्र मार्फत ल्यापटप, ट्याब, मोबाइल, मुभी टिकट लगायत आकर्षक उपहार प्रदान गरिनेछ ।

पत्रकार सम्मेलनमा इक्यान कास्कीका अध्यक्ष ओमप्रकाश गैह्रेले गण्डकी प्रदेशका विद्यार्थीलाई लक्षित गरेर नेपाल सरकारबाट स्वीकृतप्राप्त कन्सल्टेन्सी मात्रै शैक्षिक मेलामा सहभागी हुने बताए । उनले भने, ‘विश्व ग्लोबल भिलेजका रूपमा परिवर्तित भइरहेको वर्तमान परिवेशमा नेपाली विद्यार्थीले आफूले चाहेको विषय, संसारका जुनसुकै कुनामा रहेका कलेज, विश्वविद्यालयमा उच्च शिक्षा हासिल गर्न पाउनु उनीहरूको नैसर्गिक अधिकारको कुरा हो ।’

इक्यान कास्कीका उपाध्यक्ष एवं मेला संयोजक सन्तोष शाहीले पोखरामै अन्तर्राष्ट्रिय विश्वविद्यालय र कलेजको उपस्थितिमा हुने शैक्षिक मेलाले विदेशमा पढ्न इच्छुक विद्यार्थीका लागि एकै थलोमा परामर्शको अवसर प्रदान गर्ने बताए । उनले भने, ‘मेलामा आएपछि आफ्नो रोजाइ र क्षमता अनुसारका विश्वविद्यालय वा कलेजमा छान्न पाउने अवसर विद्यार्थीलाई मिल्ने छ ।’

इक्यानका केन्द्रीय उपाध्यक्ष भुवनबहादुर क्षेत्रीले नेपालभर हाल ७ सय २० कन्सल्टेन्सी नेपाल सरकारको शिक्षा मन्त्रालयमा सूचीकृत भएको जानकारी दिँदै ती कन्सल्टेन्सीबाट विश्वसनीय सेवा लिन सकिने बताए । इक्यानका सदस्यले विद्यार्थीलाई विदेश पठाउने मात्र नभइ अध्ययन पश्चात नेपाल फर्काउने अभियान पनि सञ्चालन गरिरहेको उनले बताए । ‘अवसरको खोजी गर्ने मानवीय स्वभाव नै हो,’ उनले भने, ‘यद्यपि इक्यानले नेपाल फर्काउने अभियान चलाउन अर्को शैक्षिक मेला छिट्टै आयोजना गर्दैछ ।’  

शैक्षिक मेलाको प्रस्तुतकर्ता टाइम्स एजुकेसनल कन्सल्टेन्सीका प्रबन्ध निर्देशक प्रेम सुवेदीले उचित परामर्शका लागि इक्यान मेलामै सहभागी हुन आग्रह गरे । मेलालाई ब्रिटिस काउन्सिल नेपालको साथ रहनेछ । मेलाको पावर्ड बाइमा बेलायत स्थित युनिभर्सिटी अफ वर्केस्टर र योर्क सेन्ट जोन युनिभर्सिटी रहेका छन् । मेलाको प्लाटिनम प्रायोजकमा ग्रेस इन्टरनेसनल, गोल्ड प्रायोजकमा चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेसन÷आईआईई र बैंकिङ पार्टनरमा एनएमबी बैंक रहेका छन् । पर्यटकीय राजधानी पोखरामा हुन लागेको बृहत् शैक्षिक मेलामाबाट यस क्षेत्रका विद्यार्थी, अभिभावक तथा अन्य सरोकारवालाले लाभ लिन सक्ने इक्यान कास्कीले जनाएको छ ।

उमा आलेमगर
पोखरा, ७ भदौँ ।

नेपालको हिन्दु संस्कृति विविध परम्परा र धार्मिक विश्वासहरूले भरिएको छ। तीमध्ये कुसे औसी पितृ पूजाको विशेष पर्व हो, जुन बाबाको सम्झना र पितृजनको पुण्यका लागि मनाइन्छ। यो पर्व नेपाली पात्रो अनुसार आश्विन महिनाको कृष्ण पक्षमा पर्छ र यस दिन परिवारले पितृ पूजाको विधिपूर्वक अनुष्ठान गर्छ।

ऐतिहासिक र धार्मिक पृष्ठभूमि

कुसे औसीको उत्पत्ति हिन्दु धार्मिक ग्रन्थहरू, विशेषगरी विष्णु पुराण र भागवत पुराणमा उल्लेखित पितृ तर्पण विधिसँग जोडिएको छ। पुराणहरूमा वर्णित छ कि पितृजनको सम्झना र तर्पणले परिवारमा सुख, समृद्धि र शान्ति ल्याउँछ।

पौराणिक कथा अनुसार, पितृजनको पुण्यले सन्तानलाई जीवनमा मार्गदर्शन, सुरक्षा र सफलताको अनुभव गराउँछ। त्यसैले कुसे औसीमा परिवारका सदस्यहरूले पितृहरूको सम्झनामा अनुष्ठान गर्दै भावनात्मक र आध्यात्मिक लाभ प्राप्त गर्छन्।

परम्परागत अभ्यास

कुसे औसीमा विभिन्न धार्मिक र सांस्कृतिक अनुष्ठानहरू पालन गरिन्छः

पितृ तर्पण ः नदी किनार, पोखरी वा घरमा पितृ स्थलमा पानी, दही, चामल र पुष्प अर्पण गरिन्छ। यसलाई धार्मिक मान्यतामा अत्यन्तै महत्वपूर्ण मानिन्छ।

पूजा र ध्यान ः बाबाको तस्बिर वा पितृ स्थलमा दीप, धूप बालिन्छ। परिवारले प्रार्थना गर्दै पितृजनको पुण्यको कामना गर्छ।

भजन र कथा सुनाइने प्रथा ः पुराना अनुभव, पारिवारिक कथा वा पितृजनका सम्झनाहरू साझा गरिन्छ।

यसरी कुसे औसीले मात्र धार्मिक उद्देश्य पुरा गर्ने होइन, पारिवारिक सम्बन्ध र भावनात्मक सम्पर्कलाई पनि बलियो बनाउँछ।

सामाजिक र भावनात्मक महत्व

कुसे औसी केवल पूजा गर्ने दिन होइन। यो दिन परिवारका सबै सदस्य एकत्रित हुन्छन्, पुराना सम्झनाहरू ताजा हुन्छन् र बाबाको योगदान, माया र मार्गदर्शन सम्झिन्छन्।

विशेष गरी, सहर–गाउँ, घर–आँगन, विद्यालय र समाजमा यस दिनको महत्व व्यापक रूपमा महसुस हुन्छ। बाबाको सम्झनामा आँसु झार्ने चलन भावनात्मक राहतको माध्यम पनि बन्यो।

दिदी–बहिनी, भाइ–भाई, सन्तान र आमाबुबा एकसाथ भेला भएर पारिवारिक सम्बन्धलाई बलियो बनाउँछन्। कुसे औसीले समाजमा सामूहिक संवेदनशीलता र सम्मानको भावना बढाउने भूमिका पनि खेलेको छ।

आधुनिक अभ्यास र प्रवृत्ति

समयसँगै कुसे औसीको अभ्यासमा केही आधुनिक आयाम पनि आएका छन्। सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्ममा बाबाको तस्बिर र सम्झनामा पोस्ट राख्ने चलन बढेको छ।

कतिपय परिवारहरूले सार्वजनिक कार्यक्रम, पूजा समारोह वा स्मृति सभा आयोजना गर्छन्। बालबालिकालाई पितृ संस्कार, परम्परा र भावनात्मक सम्मान सिकाउने अवसरको रूपमा पनि प्रयोग गरिन्छ।

यसरी, आधुनिक अभ्यासले परम्परालाई नयाँ पुस्तासँग जोड्दै, सामाजिक र सांस्कृतिक चेतनालाई प्रवद्र्धन गरेको छ।
स्वास्थ्य र मनोवैज्ञानिक लाभ

कुसे औसीमा भावनात्मक श्रध्दांजलि दिनु र बाबाको सम्झनामा रोदन गर्नु केवल मानसिक स्वास्थ्यमा लाभदायी छ।

भावनात्मक रोदनले तनाव कम गर्छ, मन हलुका बनाउँछ र आत्मसन्तुलन कायम गर्छ। परिवारसँगको सम्बन्ध बलियो हुँदा सामाजिक सुरक्षा र भावनात्मक स्थायित्व बढ्छ।

यसरी, धार्मिक, सामाजिक र मनोवैज्ञानिक दृष्टिले कुसे औसी बहुआयामिक पर्व बनेको छ।

निष्कर्ष

कुसे औसी पितृपूजाको पर्व मात्र होइन। यो श्रद्धा, सम्मान, भावनात्मक स्वास्थ्य र सामाजिक सम्बन्धको पर्व हो। बाबाको सम्झना, पूजा र तर्पण मार्फत परिवारले आफ्नो जीवनमा स्थायित्व, प्रेम र सांस्कृतिक चेतना अनुभव गर्छ।

समय र प्रविधिको परिवर्तनसँगै यस पर्वको स्वरूपमा केही आधुनिकता आएको भए पनि यसको मूल भाव – श्रद्धा र सम्मान – आज पनि कायम छ।

पोखरा, ७ भदौ ।

पोखरा र काठमाडौंमा अजेङक्या एडमिसन फेयर नेपाल २०२५ हुने भएको छ । दिप आईटी एण्ड शैक्षिक परामर्श सेवा, दिप कम्प्युटर संस्थान र क्यापिटल शिक्षा र आप्रवासनको संयुक्त आयोजनामा अजेङक्या भर्ना मेला तथा एआई ,एमएल, एआर , भीआर तथा सीएस कार्यशाला हुन लागेको हो ।

कार्यशाला पोखरामा भदौ १७ र १८ गते र काठमाडौंमा भदौ २० र २१ गते हुनेछ ।

प्लस टु विज्ञान र व्यवस्थापन–कम्प्युटर क्षेत्रका विद्यार्थीहरूका लागि उक्त मेला गर्न लागिएको पाेखरामा पत्रकार सम्मेलन गरेर शैक्षिक परामर्श सेवाका प्रमुख कार्यकारी अधिकृत दिनेश लामिछाने जानकारी दिए । कार्यशाला बिहान साढे ७ देखि दिउँसो १ बजे र दिउँसो साढे १ देखि साँझ ६ बजे गरी दुई सत्र सञ्चालन हुने छन् ।

 विद्यार्थीहरूले आफ्नो समयअनुसार कुनै पनि सत्रमा निःशुल्क सहभागी हुन सक्नेछन् । कार्यशालामा अन्तर्राष्ट्रिय स्तरका प्रशिक्षकबाट प्रत्यक्ष प्रशिक्षण दिइने आयाेजकले जनाएकाे छ ।

सहभागीहरूले भर्चुअल वास्तविकता कृत्रिम बुद्धिमत्ता, मेसिन सिकाइ र साइबर सुरक्षा विषयमा सिक्नेछन् । प्रत्येक ४० मिनेटको सत्रपछि १० मिनेट मनोरञ्जनात्मक गतिविधि राखिनेछ, जसले विद्यार्थीको सिकाइ र उत्साहलाई बढावा दिने बताइएकाे छ ।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले स्पट भर्नामार्फत अजेङक्या डीवाई पाटिल विश्वविद्यालयमा ३ लाख ५० हजार रुपैयाँसम्मको छात्रवृत्ति पाउने अवसर पाउने लामिछानले जानकारी दिए ।

कार्यक्रममा दैनिक करिब ४ सय विद्यार्थीको सहभागिता रहने बताउँदै पोखरा र काठमाडौंमा गरि मेला अवधिभर १६ सयभन्दा बढी विद्यार्थाीेलाई प्रतक्ष्य लाभ हुने आयोजकको दावी छ ।

सभ्य र अनुशासित भएर पर्व मनाऊँ ‘ -प्रजिअ शर्मा 

पोखरा -६ गते शुक्रवार 

पोखरा महानगरपालिका वडा नं १५ ले आयोजनामा वडा स्तरीय ‘तिज गीत प्रतियोगिता तथा तीज विशेष कार्यक्रम’ सम्पन्न भएको छ। श्री सिद्ध माध्यमिक विद्यालयको प्राङ्गणमा शुक्रवार आयोजित प्रतियोगिता धूमधामका साथ सम्पन्न भएको हो। 

कूल १४ समूहको सहभागिता रहेको प्रतियोगितामा चेतना आमा समूह प्रथम भएको छ। प्रथम चेतना आमा समूहले  १५ हजार रुपैयाँसहित प्रमाण पत्र प्राप्त गरेको छ । ढुंगेसाँघु दिदी बहिनी समूह दोस्रो हुँदै १० हजार ५० रुपैयाँ र प्रमाण पत्र प्राप्त गरेको छ । विश्वकर्मा आमा समूह तेस्रो हुँदै ७ हजार ५० रुपैयाँ र प्रमाण पत्र प्राप्त गरेको छ। 

यस्तै श्री सिद्ध मा.विको विद्यार्थी समूह ‘क’ र लक्ष्मी टोल आमा समूह सान्त्वना हुँदै ३-३   हजार रुपैयाँ र प्रमाण पत्र प्राप्त गरेका छन् । भने, उत्कृष्ट नृत्य गर्दै अस्मिता क्षेत्रीले ३ हजार रुपैयाँ हात पारेकी छन्। 

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि तथा कास्कीका प्रमुख जिल्ला अधिकारी श्री रुद्रादेवी शर्माले तीज पर्वको धार्मिक,सामाजिक र सांस्कृतिक महत्त्व रहेको भन्दै यस पर्वले टाढा रहेका परिवार, आफन्त र साथी भाइलाई नजिक ल्याउने बताइन्। तीज पर्वको मौलिक संस्कृतिलाई संरक्षण गर्दै पछिल्लो समय देखिँदै आएको कमी कमजोरीलाई सुधार्दै सभ्य र अनुशासित भएर पर्व मनाउन उनले सुझाव दिइन्। प्रजिअ शर्माले समुदायमा कोही व्यक्ति समस्यामा छन् र, उनीहरूले ती समस्या वा घटना बाहिर ल्याउन सकिरहेका छैनन् भने त्यस्ता समस्या लिएर आफ्नो कार्यालयमा आउन आग्रह गरिन्। अहिले भित्र दबाएर राखिएका साना घटनाले भोली अपराध निम्त्याउने हुँदा त्यस्ता समस्यालाई गुम्स्याएर नराखी बेलैमा समाधान खोज्न र त्यसका लागि आफूहरू सहयोग गर्न तयार रहेको बताइन्।

पोखरा १५ का वडा अध्यक्ष तोरण बानियाँले महिला दिदीबहिनीहरूको विशेष पर्व तीज पर्वको कार्यक्रम गरिरहँदा गत वर्ष गण्डकी प्रदेशको नेतृत्व सम्हाल्न आउनुभएकी  डिआइजी दुर्गा सिंहलाई प्रमुख अतिथिका रूपमा पाएको र यस वर्ष कास्की जिल्ला प्रमुख रुद्रादेवी शर्मा अर्थात् महिला नेतृत्वलाई प्रमुख अतिथिका रूपमा पाएको भन्दै आगामी वर्ष पनि कास्कीको कुनै निकाय सम्हाल्न आउने महिला नेतृत्वलाई पाउने विश्वास व्यक्त गरे। अध्यक्ष बानियाँले पूर्वाधारसँगै मानवीय विकास गर्ने लक्ष अनुरूप यहाँका हरेक जाति सम्प्रदायले मनाउने चाड पर्व र रीतिरिवाजलाई वडाले उत्सवका रूपमा मनाउने र ती पर्वको वडाले अपनत्व लिँदै नागरिकसँगै पर्व मनाउने बताए। 

कार्यक्रम संयोजक तथा कार्यपालिका सदस्य मन्दिरा परियारले शुभकामना मन्तव्य राख्दै १५ नं वडाले खादा मालालाई गत वर्षदेखि नै बन्द गरेकाले अतिथिहरूलाई घर वरपर फुल्ने फूलले स्वागत गरिएको बताइन्। 

कार्यक्रममा विशेष अतिथिको रूपमा गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखराका प्रहरी वरिष्ठ उपरीक्षक जनार्दन जिसी, पोखरा महानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख निर्मला शर्मा, वडा सदस्यहरू बलराम पौडेल, आशिष भण्डारी, सेतीमाया गुरुङ, पूर्व वडा अध्यक्ष, पूर्व वडा सदस्य लगायतको उपस्थिति रहेको थियो।  

कार्यक्रममा वडामा रहेर एसइईमा ४ जिपिए ल्याउने दुई जना विद्यार्थी र श्री सिद्ध माध्यमिक विद्यालयबाट एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरिएको थियो। 

वडा सचिव युवराज पौडेलले सञ्चालन गरेको कार्यक्रममा प्रतियोगिताको निर्णायकको रूपमा लोकदोहोरी गायिका सिता केसी, कृष्ण सुवेदी र माया थापा थिए। 

पोखरा, ६ भदौँ ।

बेष्ट डेस्टिनेशन एजुकेशनल प्रालिको नयाँ शाखा पोखरामा विस्तार हुने भएको छ । २०७६ सालदेखि चितवनमा सञ्चालन हुँदै आएको अग्रणी शिक्षा परामर्श संस्था बेष्ट डेस्टिनेशन एजुकेशनल प्रालिले भदौं ११ गतेदेखि पोखरामा नयाँ शाखा विस्तार गर्न लागेको हो ।

विद्यार्थीलाई विदेश अध्ययनका लागि सही मार्गदर्शन र पारदर्शी सेवा प्रदान गर्ने उद्देश्यका साथ प्रालिले पोखरा सिद्धार्थचोकमा नयाँ शाखा विस्तार गरेको अध्यक्ष सञ्जय कुँवरले जानकारी दिए ।

‘पोखरामा जापान अध्ययनको बजार ठूलो छ तर यहाँ अझै पनि उचित मार्गदर्शन र व्यवस्थित प्रक्रिया अभाव छ । हाम्रो नयाँ शाखाले यस खालको अभावलाई पूरा गर्दै विद्यार्थीलाई सही जानकारी, पारदर्शी प्रक्रिया र व्यावसायिक सहयोग पुरÞ्याउनेछ,’ उनले भने ।

प्रालिले शाखा विस्तारको अवसमा विभिन्न छुट कार्यक्रम ल्याएको छ । जसमा जापानी भाषा कक्षामा २० जनालाई भर्ना शुल्क छुट, आयल्स पिटिइ तयारीका कक्षामा २० जनालाई निशुल्क कक्षाहरु सञ्चालन गरिने अध्यक्ष कुँवरले बताए । यस्तै विभिन्न संघसंस्थाको सहकार्यमा विविध तालिम कार्यक्रममा छुटको अवसर समेत रहेको कुँवरको भनाइ छ ।

प्रालिले आगामी दिनमा जापानी भाषा शिक्षा र अन्तर्राष्ट्रिय परीक्षा तयारीका लागि आधुनिक प्रशिक्षण केन्द्र स्थापना, अन्तर्राष्ट्रिय विश्वविद्यालय तथा संस्थासँग साझेदारी गरेर छात्रवृत्ति तथा अवसर र अनलाइन काउन्सेलिङ प्लेटफर्म विस्तार गरेर ग्रामिण क्षेत्रका विद्यार्थीलाई पनि सेवा पु¥याउने लक्ष्य राखिएको अध्यक्ष कुँवरले जानकारी दिए । यस्तै व्यावसायिक तथा सीपमुलक तालिम र देशभर थप शाखा विस्तार गर्ने प्रालिको तयारी छ ।

पोखरा, ६ भदौँ ।

नेपाल सरकारले ल्याउन लागेको संघीय शिक्षा ऐनको विरोधमा यतिवेला देशभरका निजी तथा आवासीय विद्यालय आन्दोलित भएका छन् ।

संघीय शिक्षा ऐनमा ल्याउन लागिएको निजी तथा आवसीय विद्यालयलाई गैर नाफा मुलक बनाउने र पूर्ण छात्रवृत्तिलाई हटाउन माग गर्दै आन्दोलित वनेका हुन् । प्याव्सन, एन प्याव्सन, हिसान र अपेनले संयुक्तरुपमा आन्दोलनका कार्यक्रम घोषणा गरी आन्दोलन गरेका छन् ।

पूर्ण छात्रावृत्ति भन्ने शव्द हटाइनु पर्ने, विद्यालयहरुमा उत्पादन नहुने सामाग्रीहरु जस्तै पोशाक, स्टेशनरी, शैक्षिक सामाग्री, खाना, खाजा प्रावधान खारेज गुर्नपर्ने, कम्पनी ऐन अनुसार दर्ता भई सञ्चालनमा रहेका विद्यालयहरुलाई गैर नाफमुलक बनाउँदै लगिने भन्ने प्रावधान हटाइनुपर्ने माग निजी तथा आवसीय विद्यालयको रहेको छ ।

त्यसैगरी छात्रवृत्ति वितरणको अधिकार सम्बन्धित विद्यालयमा रहनुपर्ने, पालिका प्रतिनिधिको सहभागितामा एक पारदर्शी समिति गठन गरी वितरण गर्ने सकिने व्यवस्था गरिनुपर्ने, छात्रवृत्ति सम्बन्धी ऐन २०२१ को दफा ३(क), नियमावली २०६० को नियम १०(क) मा ४५ प्रतिशत आरक्षण छात्रवृत्ति सम्बन्धी व्यवस्था तथा केही नेपाल ऐन संसोधन गर्ने ऐन २०७७ ले ११ वटा विश्वविद्यालयमा कक्षा ६ देखि १० सम्म सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीले मात्र उच्च शिक्षा तथा सिटीइभिटी कार्यक्रम अन्तर्गत अध्ययन गर्न पाउने व्यवस्था भएको विभेदकारी उल्लेखित ऐन नियमका दफाहरु खारेज गरिनुपर्ने माग राखेका छन् ।

यसैको विरोधमा शुक्रबार देशभरका निजी तथा आवसीय विद्यालयका वसहरु कालो झण्डा र कालो व्यानर सहित सडकमा गुडाएर शान्तिपूर्ण विरोध गरेका छन् । कास्कीमा पनि निजी तथा आवासीय विद्यालयले संघीय शिक्षा ऐनको विरोधमा शान्तिपूर्ण विरोध स्वरुप विद्यालयका वसहरुलाई सडकमा गुडाएर प्रदर्शन गरेका छन् ।

संघीय शिक्षा ऐनमा निजी विद्यालय वन्द गर्ने गरी ल्याउन लागिएको नितिका विरुद्धमा शुक्रबार विद्यालयका वस सडकमा गुडाएर शान्तिपूर्ण विरोध गरेको एन प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारी जानकारी दिए । कास्कीका रहेका निजी तथा आवसीय विद्यालयका वसहरुका पोखराका विभिन्न ठाउँमा परिक्रममा गरि विरोध प्रदर्शन गरेका थिए ।

 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।