
पोखरा, साउन २८ गते।
कांग्रेस सांसद सीता मिजारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई तत्काल काठमाडौं अड्डासार गर्न सरकारको ध्यानाकर्षण गराएकी छिन्। प्रतिनिधिसभाको विशेष समयमा सांसद मिजारले लामिछानेलाई भैरहवा कारागारमा प्रदान गरिएको सेवा,सुविधाका सम्बन्धमा थुप्रै प्रश्न उठेको तथा भावना र आँसुको व्यापार भइरहेको भन्दै तत्काल अड्डासार गर्न माग गरेकी हुन्।
जिल्ला अदालत रुपन्देहीले १६ जेठमा कारागार स्थानान्तरणका लागि अनुमति दिए पनि गृहमन्त्री रमेश लेखकको दबाबमा कारागार विभागले अड्डासार गर्न मानेको छैन। कांग्रेस सांसद मिजारले भने लामिछानेको नाममा आँसु र भावनाको व्यवहार भएको भन्दै तत्कालै अड्डासार गर्न माग गरेकी हुन्
पोखरा, साउन २८ गते ।
पोखरा महानगरपालिका वडा नम्बर १३ का युवाहरूद्वारा आयोजित भलिबल प्रतियोगिताबाट बचत रकम ३ विद्यालयलाई सहयोग गरिएको छ ।
वडा नम्बर १३ का युवाहरूको समन्वयमा गत चैतमा सम्पन्न प्रथम अमलाचौर चापडाँडा भेन्ट्रान्स भलिबल प्रतियोगिताबाट बचेको रकम स्वास्थ्य र शिक्षामा लगानी गर्ने निर्णयबोजिम वडा नम्बर १३ का विद्यालयहरूलाई हस्तान्तरण गरिएको कार्यक्रम संयोजक देवेन्द्र परियारले जानकारी दिए । उनका अनुसार आर्वाविजय मावि, ढाँडबेँसीलाई १५ हजार, अमरज्योति आवि, अमलाचौरलाई २२ हजार ५०० र सिमला आवि, आर्वालाई १० हजार रुपियाँ सहयोग गरिएको थियो ।
सङ्कलन भएको जम्मा रकम २ लाख ७७ हजार ५९१ रुपियाँमध्ये खर्च कटाएर बचत रहेको ६१ हजार ३३६ रुपियाँबाट उक्त सहयोग गरिएको आर्थिक संयोजक रामप्रसाद बरालले जानकारी दिए ।
बुधवार ३ ओटै विद्यालयमा आयोजित कार्यक्रममा खेल संयोजक अमृत परियार, श्री अधिकारी, आर्थिक संयोजक रामप्रसाद बराल, लक्ष्मणप्रसाद बराल, उपसंयोजक सुरज अधिकारी, शम्भु सिग्देललगायतको सहभागिता रहेको थियो ।
पोखरा ।
सामाजिक कथावस्तुमा आधारित भारतीय फिल्म ‘मिलियन भ्युज’ को टिमले विहीबार पोखरामा पत्रकारहरूसँग भेटघाट गरेको छ। सेप्टेम्बर १२, २०२५ मा नेपालमा रिलिज हुन लागेको यो सिनेमा नेपालका सबै हलमा एकसाथ प्रदर्शन हुने बताइएको छ।
पोखराको पत्रकार भेटमा श्रीकृष्ण हलका सञ्चालक तथा वितरक केदार पराजुली मिलियन भ्यूज सामाजिक कथावस्तुमा आधारित फिल्म भएको उल्लेख गरे । कथा प्रभावकारी भएकाले नेपालका दर्शकलाई मन पर्ने विश्वास उनको छ । भारत पुगेर आफुले उक्त सिनेमा हेरेको र कथावस्तु राम्रो लागेर नै नैपालमा रिलिजको तयारी गरिएको जानकारी उनले गराए ।
फिल्मका विश्वव्यापी वितरक विकास कुमार सिंह राजपूतले सिनेमा साइकोलोजिकल थ्रिलर भएको उल्लेख गरे । ब्ल्याक वेबको भयावह गहिराइमा आधारित भारतीय थ्रिलर ‘मिलियन भ्युज’ ले २५ वर्षीया दृढ इच्छाशक्ति र आत्मसम्मान बोकेकी युवतीको जीवन–मरणको संघर्षलाई पर्दामा उतारेको भनाई उनको छ ।
‘मिलियन भ्युज’ मा युवतीको आत्मसम्मानको विषयलाई प्रभावकारी रुपमा उठाइएको छ । ९० मिनेटभित्र १० लाख भ्युज हासिल गर्न वा आफ्नी साथीको ज्यान गुमाउनुपर्ने कठोर अल्टिमेटमको विषयलाई आत्मसम्मान जोगाउने संकल्पसँग सिनेमामा जोडिएको उनले जानकारी गराए ।
ब्ल्याक वेब र डिजिटल अपराधको पृष्ठभूमिमा बनेको थ्रिलर सिनेमाले मानव सहनशीलताको सीमा, व्यक्तिगत सम्मानको मूल्य र अनलाइन संसारमा लुकेको अँध्यारो सत्यलाई उजागर गर्ने उनले उल्लेख गरे ।
वितरक विकास कुमार सिंहका अनुसार करिब १२ करोड रुपैयाँको लागतमा निर्माण भएको यस फिल्मलाई नेपालमा सयभन्दा बढी हलमा रिलिज गर्ने तयारी छ । काठमाडौंमा विशेष शोको योजना पनि गरिएको छ । फिल्म सेन्सर प्रक्रियामा रहेको र नेपालमा मल्टिप्लेक्स तथा सिंगल थिएटर दुवैमा प्रदर्शन हुने उनले जानकारी दिए।
नालापानीका निर्देशक रिनेश अधिकारीले फिल्मको कथावस्तु नेपाल र भारत दुवैको सामाजिक पृष्ठभूमिसँग मेल खाने बताए ।
थ्रिएटर कलाकार सिद्धी जेसवालको मुख्य भूमिका रहेको ‘मिलियन भ्युज’ आउटपुट मिडियाको ब्यानरमा निर्माण भएको हो । लेखक, निर्देशक तथा निर्माता अंशुल सिन्हा हुन्। सिनेमाटोग्राफर कृष्णा गोली, कला निर्देशक नानी, मेकअपमा लीला, पोशाक डिजाइनमा एमडी रहमान, पोस्टर डिजाइनमा कुनाल र सेट तथा प्रोप डिजाइनमा एमडी तौसीफ छन्।
फिल्म केवल थ्रिलर मात्र नभई डिजिटल संस्कृतिमा फैलिँदो मानव शोषण, नैतिक पतन र व्यक्तिगत सम्मानको मूल्यबारे गहिरो प्रश्न उठाउने सामाजिक टिप्पणीका रूपमा प्रस्तुत भएको दाबी गरिएको छ ।
पोखरा, २८ श्रावण ।
पोखरा महानगरपालिका र युङजिन विश्वविद्यालय गणतन्त्र कोरिया बिच प्राविधिक शिक्षाको अध्ययनका लागि छात्रवृत्ति आदानप्रदान सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । पारस्परिक लाभ, समानता, पारदर्शिता र साझा विकासको सिद्धान्तमा आधारित समझदारीमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र युङजिन विश्वविद्यालयको तर्फबाट प्रोफेसर चोइ जेइयोङले हस्ताक्षर गर्नुभएको छ ।
समझदारी अनुसार शैक्षिक विकासका सन्दर्भमा पोखरा महानगरपालिका क्षेत्रको अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्दै प्राज्ञिक, सांस्कृतिक र प्राविधिक सहयोगमार्फत दुई देशबिच अन्तर्राष्ट्रिय सम्बन्ध र पारस्परिक विकासमा जोड दिइनेछ । शिक्षा, पर्यटन र प्रविधिको क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोगलाई समर्थन गर्न मानव संसाधन तथा सूचना आदानप्रदान, महानगरपालिका र युङजिन बिच अनुकूल शैक्षिक कार्यक्रमहरू, भ्रमण र भर्चुअल शिक्षामा साझेदारी गरिनेछ । सहरी विकास, पर्यटन र दिगो अभ्यास लगायत पारस्परिक हितका क्षेत्रमा संयुक्त अनुसन्धान र नवप्रवर्तन परियोजनाहरूमा सहकार्य गरिनेछ ।
नगर प्रमुख आचार्यले दुई पक्षीय समझदारीले पोखराबाट वैदेशिक अध्ययनका लागि कोरिया जाने विद्यार्थीहरूलाई उनीहरूको अध्ययन, सामाजिक सुरक्षा र न्यूनतम रोजगारीमा विश्वविद्यालयले आवश्यक सहजीकरण गर्ने विश्वास व्यक्त गर्नुभयो । प्राविधिक शिक्षाको सन्दर्भमा विश्वविद्यालयसँगको समझदारीले विद्यार्थीहरूको अन्तर्राष्ट्रिय छात्रवृत्तिमा पहुँच स्थापित गर्ने भएकाले यसका लागि पोखरा महानगरपालिकाले आवश्यक सहजीकरण गर्ने उहाँले बताउनुभयो । उच्चशिक्षा अध्ययनका लागि जान चाहने विद्यार्थी तथा अध्ययताहरुलाई समेत यसले महत्त्वपूर्ण सहयोग पुग्ने उहाँले बताउनुभयो ।
पोखरा महानगरपालिकासँगको सहकार्यमा आफूहरू यहाँको शैक्षिक विकासका लागि हातेमालो गर्न तत्पर रहेको विश्वविद्यालयका प्रोफेसर चोइ जेइयोङले बताउनुभयो । विशेष गरी प्राविधिक शिक्षा, मानव संसाधन र पारस्परिक लाभका विषयहरूमा पोखरा महानगरसँग आफूहरू नजिकबाट काम गर्न चाहिरहेको उहाँले बताउनुभयो ।
यसअघि पनि कोरियन सरकार र एजेन्सीजहरुको सहयोगमा पोखरामा थुप्रै परियोजनाहरू सञ्चालनमा रहेका छन् ।
पोखरा । पोखराको लेकसिटी कलेज एण्ड रिसर्च सेण्टरले आफ्ना विद्यार्थीहरुका लागि नयाँ कार्यक्रम पढ्दै कमाउदैँ परियोजना शुरु गरेको छ । परियोजना अन्तर्गत कलेजका विद्यार्थीहरुले पोखराका विभिन्न संघसंस्था र समुदायमा पुगेर व्यवहारिक ज्ञान र सीप सिक्ने छन् । उनीहरुलाई लेकसिटी कलेजले पारिश्रमिक उपलब्ध गराउने छ । विद्यार्थीहरुले पोखराका विभिन्न संघसंस्था र समुदायमा पुगेर अध्ययन र अनुसन्धान गर्नेछन् ।
मंगलबार कलेज परिसरमा आयोजित कार्यक्रममा परियोजनामा सहभागी विद्यार्थीहरुलाई नियुक्तीपत्र प्रदान गरिएको छ । परियोजनामा लेकसिटी कलेजका ६ जना विद्यार्थीहरु नियुक्त भएका छन् । स्नातक तहको विएएसडब्लु र विविएस तर्फका विद्यार्थीहरु पौसली गुरुङ, अनिशा सुनार, सम्झना भट्टराई, सुलभ पुन, प्रशंसा कायश्थ र श्रीजा श्रेष्ठ नियुक्त भएका छन् । उनीहरु मंगलबारदेखि नै पोखरा कार्यक्षेत्रमा खटिएका हुन् ।
कलेज संचालक समिति अध्यक्ष प्रा। डा। विश्वकल्याण पराजुलीले विद्यार्थीले सैद्धान्तिक ज्ञान मात्र होइन व्यवहारिक ज्ञान र सीप पनि सिक्नुपर्छ भन्ने अवधारणा अनुसार नयाँ कार्यक्रम शुरु गरेको जानकारी दिएका छन् । ‘विद्यार्थीलाई सैद्धान्तिक कुरा कसरी व्यवहारमा उर्ताने भन्नका लागि कार्यक्षेत्रमै पठाएर काम गर्ने तरिकाहरु सिकाउनका लागि हामीले यो परियोजना शुरु गरेको हौं’, अध्यक्ष प्रा। डा। पराजुली भन्छन् । नयाँ परियोजना विद्यार्थीहरुका लागि ज्ञान र सीप सिक्ने प्लेटफर्म बन्ने उनको विश्वास छ ।
त्यसैगरी सोही कार्यक्रममा कलेजका क्याम्पस प्रमूख नारायण कुमार श्रेष्ठले विद्यार्थीहरुलाई उत्प्रेरित गर्ने दृष्टिकोणले पढ्दै कमाउँदै परियोजना शुरु गरिएको बताए । क्याम्पस प्रमूख श्रेष्ठका अनुसार आगामी दिनमा यो परियोजनालाई कलेजले निरन्तरता दिने छ ।
विद्यार्थीहरुलाई कलेज भोलेन्टर पदमा नियुक्त गरिएको हो । उनीहरु कलेजका दुतका रुपमा लेकसिटीका नियमित कार्यहरुमा समेत सहभागी हुनेछन् । कलेजमा अध्ययन अनुसन्धानमा समेत उनीहरुले सहयोग गर्ने सहायक क्याम्पस प्रमूख शोभाकान्त सिग्देलले बताएका छन् ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लेकसिटी कलेज २०६४ मा स्थापना भएको हो । हाल कलेजमा तीन सय ५० विद्यार्थी अध्ययनरत छन् । कलेजले शैक्षिक गतिविधिका अलावा अध्ययनरत विद्यार्थीलाई सहभागी गराएर विभिन्न कार्यक्रम वार्षिक रुपमा गर्दै आइरहेको जनाएको छ । रक्तदान, वृक्षरोपण, शैक्षिक भ्रमण तथा अवलोकन जस्ता कार्यक्रमलाई निरन्तरता दिएको बताइएको छ ।
लेकसिटीस्थित सामाजिक विज्ञान केन्द्रले विभिन्न विषयमा मौलिक प्रस्तुतिका रुपमा हरेक महिना कचहरी कार्यक्रम गर्दै आएको छ । कलेजले स्नातक तहमा व्यवस्थापन तर्फ बीबीएस र मानविकी तर्फ पत्रकारिता तथा आमसञ्चार, समाजशास्त्र, अंग्रेजी साहित्य र बिएएसडब्लु ९समाजिक कार्य० विषयमा पठनपाठन गर्दै आएको छ ।
पोखरा, २७ साउन ।
कञ्चन पत्रकारिता पुरस्कार २०८२ बाट कास्कीका फोटो पत्रकार राम गुरुङ र गोरखाका पत्रकार कैलाशबाबु श्रेष्ठ (सुशिल) सम्मानित भएका छन् ।
पोखराका व्यवसायी बिमलमान गुभाजू तथा उनको परिवारद्धारा आमा स्व.नेत्रकुमारी गुभाजू तथा बाबा स्व.वेदमान गुभाजूको स्मृतिमा स्थापना गरिएको उक्त पुरस्कार नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीले मंगलबार पत्रकार गुरुङ र श्रेष्ठलाई प्रदान गरेको हो । पुरस्कृत पत्रकारहरुलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, पुरस्कार दाता बिमलमान गुभाजु र उनको परिवार, फोनिज गण्डकी अध्यक्ष खिमा कुमारी गुरुङ लगायतले दोसल्ला, सम्मान पत्र र नगद २५ हजार रुपैयाँसहित सम्मान गरेका हुन् ।
फोनिज स्थापना दिवसका अवसरमा पत्रकारितामा क्रियाशील रहेर काम गरिरहेका २ जनालाई हरेक यो पुरस्कार प्रदान गर्दै आइरहेको छ । सोही अनुसार २६ औं स्थापना दिवसका अवसरमा यो वर्ष पोखराका फोटोपत्रकार गुरुङ र गोरखाका पत्रकार श्रेष्ठ सम्मानित भएका हुन् ।
कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख आचार्यले २६ वर्ष अगाडि स्थापना भएको संस्थाले आदिवासी जनजाति पत्रकारहरुलाई उत्प्रेरणा प्रदान गर्ने काम गरिरहेका बताए । फोनिजमा आवद्ध पत्रकारहरुले पत्रकारिता क्षेत्रको विकास गर्दै आदिवासी जनजाति समुदायका लागि सकारात्मक परिवर्तनको सन्देश दिने सामाचार सामाग्री तयार गर्नुपर्ने उनको सुझाव थियो ।
प्रमुख आचार्यले पुरस्कृत पत्रकारहरुलाई बधाई दिदै पुरस्कार प्राप्त गर्नु कुनै एकदिनको कर्मको फल नभएको बताए । निरन्तरको मेहनतले मात्र पुरस्कार र सम्मान प्राप्त गर्न सकिने उनको भनाई थियो । ‘पुरस्कार प्राप्त गर्नु चुनौती हो, फोनिजले यसलाई निरन्तरता प्रदान गरेको छ र पुरस्कृत व्यक्तिलाई प्रोत्साहन हो,’ उनले भने, ‘यस्ता पुरस्कारले पत्रकारिता क्षेत्रमा निरन्तरता दिन अझै हौसला मिल्छ ।’
सम्मानित पत्रकार श्रेष्ठले कार्यक्रममा आफ्नो भनाई व्यक्त गर्दै पहिले र अहिलेको पत्रकारिता पेसामा धेरै परिर्वतन आइसकेको बताए । आफूहरुको पुरानो अनुभव हालका नयाँ पुस्तालाई कथा जस्तो लाग्न सक्ने समेत उनको भनाई छ । अर्का सम्मानित फोटो पत्रकार गुरुङले पुरस्कारले पत्रकारिता क्षेत्रमा निरन्तर लाग्न प्रोत्साहन मिलेको बताए ।
गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार बिमला भण्डारीले पत्रकारिता क्षेत्रमा रहेर पत्रकारले निष्पक्ष ढंगले पारदर्शितापूर्ण काम गर्नुपर्ने बताइन् । प्रेस रजिष्ट्रार कार्यालयले संविधानको मर्म अनुसार केन्द्रमा गए मात्रै हुने काम गण्डकी प्रदेशबाटै हुने गरेर अगाडि बढिरहेको उनले जानकारी दिएकी छिन् । पत्रकारिता क्षेत्रको सृवृद्धिका लागि गण्डकी प्रदेशमा प्रेस रजिष्ट्रार कार्यालयको स्थापना भएको भण्डारीको भनाई थियो । फोनिजभित्रको एकताबाट सबैले सिक्नुपर्ने भण्डारीले बताइन् । ‘विभिन्न आस्था र विचार भएपछि फोनिजभित्र प्रवेश गरेपछि एकरुप देख्छु,’ उनले भनीन्, ‘यसबाट गैर फेनिजकर्मीले समेत सिक्नुपर्छ ।’ प्रेस रजिष्टार कार्यालय फोनिज गण्डकी प्रदेशसंग मिलेर पत्रकारिता क्षेत्रमा काम गर्न तयार रहेको उनले बताएकी छिन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, पोखरा महानगरपालिका वडा नम्बर २५ का अध्यक्ष तथा पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिमिल्सिना, नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेश परिषदका उपाध्यक्ष खीम छन्त्याल आदिवासी जनजातिको मुद्दा उठानमा फोनिजमा आवद्ध पत्रकारहरुले ख्याल राख्नुपर्ने बताएका थिए ।
कार्यक्रममा पुरस्कारदाता बिमलमान गुभाजू र प्रेस रजिष्ट्रार बिमला भण्डारीलाई समेत दोसल्लाले सम्मान गरिएको थियो ।
फोनिज गण्डकीका इन्चार्ज तथा छनौट समितिका सदस्य रुद्र श्रीष मगरले पुरस्कृत व्यक्तित्वको परिचय दिएको कार्यक्रम फोनिज गण्डकी प्रदेशका अध्यक्ष खीमा गुरुङको अध्यक्षतामा भएको थियो । कार्यक्रममा फोनिज गण्डकीका उपाध्यक्ष धनबहादुर गुरुङ (सुमन) ले स्वागत मन्तव्य र सञ्चालन फोनिज गण्डकीका महासचिव सुरज थापा मगरले गरेका थिए ।
२०७७ सालबाट स्थापित कञ्चन पत्रकारिता पुरस्कारबाट योभन्दा अगाडि रुद्र हितान मगर, राजेशचन्द्र राजभण्डारी, शान्ति गुरुङ, केबी रानामगर, उदयबहादुर अमात्य, आश गुरुङ, हुमबहादुर गुरुङ, सुन्दरकुमार थकाली, दीपेन्द्र श्रेष्ठ र कमला राना सम्मानित भइसकेका छन् ।
फोनिज स्थापना दिवसका अवसरमा फोनिज गण्डकी र फोनिज कास्कीले ३ दिवसीय कार्यक्रम गरी भव्यताका साथ मनाएको छ । यस अन्तर्गत साउन २५ गते मिडियामा आदिवासी जनजाति समावेशिताको सवाल विषयक फोनिज संवाद, २६ गते पत्रकार महिला, पुरुष र भेट्रान्स फुटसलसँगै रस्साकस्सी प्रतियोगिता आयोजना गरिएको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई रिहा गर्न रूपन्देही जिल्ला अदालतले अस्वीकार गरेको छ।
न्यायाधीश नारायण सापकोटाको इजलासले लामिछानेको मागबमोजिम नहुने आदेश गरेको हो।
लामिछानेले बुटवलको सुप्रिम सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दाको बिगो दाबीबाट छुटकारा दिलाई थुनामुक्त गर्न मागसहित निवेदन दिएका थिए। उक्त निवेदनमाथिको बहसपछि यस्तो आदेश आएको हो।
रुपन्देही जिल्ला अदालतमा न्यायाधीश सापकोटाको इजलासमा सोमबार भएको सुनुवाइका क्रममा लामिछानेका कानुन व्यवसायीले उनलाई थुनामुक्त गर्न माग गरेका थिए।
लामिछानेले सहकारीको रकम हिनामिना गरेको भनेको बिगो दाबी बराबरको बैंक ग्यारेन्टी बुझाइसकेकाले यो मुद्दाबाट छुटकारा दिलाई थुनामुक्त गर्न माग गरेका थिए।
उनले अदालतमा २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक ग्यारेन्टी निवेदनसँगै बुझाएका थिए। लामिछानेले आफ्नो भागको बिगो बराबरको रकम दाखिला गरिसकेकाले रिहा गर्न माग गर्दै जिल्ला अदालत रूपन्देहीमा गत साउन १९ गते निवेदन दिएका थिए।
पोखरा विश्वविद्यालयमा स्नातक तहमा मेकानिकल इञ्जिनियरिङ विषयको पढाइ यसै वर्षदेखि शुरु हुने भएको छ । विश्वविद्यालयले पाठ्यक्रम तयार गरी पहिलोपटक भर्ना खुलाएको विश्वविद्यालयका विज्ञान तथा प्रविधि सङ्कायका डिन सह–प्राध्यापक बुद्धिराज जोशीले जानकारी दिनुुभयो ।
विश्वविद्यालयले समयानुकूल नवीन प्रविधियुक्त विषयको पठनपाठन गराउने लक्ष्य अनुसार मेकानिकल इञ्जिनियरिङको पठनपाठन शुरु गर्न लागेको उहाँको भनाइ छ । विद्यार्थीलाई स्वदेशमै गुणस्तरीय मेकानिकल इञ्जिनियरिङ शिक्षाको सुविधा उपलब्ध गराउने उद्देश्य रहेको भर्ना समितिका संयोजक सुरेश बरालले जानकारी दिनुुभयो ।
आउँदा दिनमा जलविद्युत्, ऊर्जा, औद्योगिक क्षेत्रलगायतमा मेकानिकल इञ्जिनियरको मागलाई सम्बोधन गर्न सहयोग पुग्ने उहाँले बताउनुभयो । पाठ्यक्रमले आधुनिक प्रविधियुक्त अटोमेसन र रोबोटिक्स, इण्डस्ट्री ४.० र मेसिन लर्निङजस्ता क्षेत्रहरुलाई पनि समेटेको उपप्राध्यापक ऋषभ खनालले बताउनुभयो । विश्वविद्यालयले अनलाइन आवेदन माग गरिसकेको छ ।
पोखरा साउन २२ गते बिहीबार
पोखरा महानगरपालिका वडा नं १५ द्वारा आयोजित आर्थिक वर्ष २०८१/२०८२ को सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ।
स्थानीय सरकार र नागरिकहरूका बिचमा दोहोरो संवाद स्थापित गर्दै विकास प्रक्रियामा नागरिकहरूको रचनात्मक प्रतिनिधित्व सहित जबाफदेहिता तथा पारदर्शिता प्रवर्द्धन गर्ने उद्देश्य अनुरूप सार्वजनिक सुनुवाइ कार्यक्रम बिहीबार सम्पन्न गरिएको हो ।
सार्वजनिक सुनुवाइमा स्थानीय बासिन्दा, नागरिक समाजका प्रतिनिधिहरू, राजनीतिक दल, शिक्षक तथा वडामा रहेका विभिन्न संस्थाहरू गरी करिब ४५० जनाको सहभागिता रहेको थियो ।

सहभागीहरूले दैनिक सेवा प्रवाह, विकास निर्माण, साङ्गठनिक सुशासन, पारदर्शिता तथा जबाफदेहिता, ढल, नाला तथा पानीको निकास, सार्वजनिक सम्पत्तिको संरक्षण तथा सदुपयोग, नागरिकको स्वास्थ्य, सुरक्षा र शिक्षा लगायत समुन्नत वडा निर्माणका आधारहरूका विषयमा खुलेरै गुनासा तथा सुझावहरू राखेका थिए।
प्रमुख अतिथिका रूपमा केही क्षण आएका पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको दक्षिणतर्फबाट सिद्ध मावि, बनक्याम्पस, हरियोखर्कहुँदै लेकसाइड जोड्ने ६२ करोड लागतको फास्ट ट्र्याक खुल्न लागेको जानकारी दिए । यो फास्ट ट्र्याकको निर्माणले यस क्षेत्रमा सवारी आवागमन सहज हुनुका साथै पर्यटकीय गतिविधिमा सहयोग पुग्ने विश्वास लिए। “बाटो चाक्लो बनाउँदा तत्कालका लागि केही मापदण्ड छोड्नुपर्ने भएपनि नाति पुस्तालाई ठुलो अवसरका रूपमा रहने भएकाले कसैले पनि सानो मन नगर्नुहोला” मेयर आचार्यले भने।

आर्थिक वर्षको लागि विनियोजित बजेट, योजना तथा कार्यक्रमहरूको प्राथमिकता, भावी कार्ययोजना र खर्चको विवरण प्रस्तुत गर्दै वडा अध्यक्ष बानियाँले गुनासा र जिज्ञासाको जवाफ दिए। बानियाँले वडाको बृहत्तर विकासका लागि सबै नागरिकलाई समेटेर उनीहरूको सल्लाह र सुझाव अनुरूप अगाडि बढ्ने प्रतिबद्धता जनाउँदै आवश्यकता र औचित्यका आधारमा प्राथमिकता हेरेर एकपछि अर्को गर्दै विकासलाई अगाडि बढाउने बताए। पोखरा १५ लाई महानगरकै ३३ वटा वडा मध्ये उत्कृष्ट वडा बनाउन सबै वडावासीको साथ र सहयोग रहने उनले विश्वास लिए।
वाराही सञ्चार प्रा।लिले सहजीकरण गरेको सार्वजनिक सुनुवाइमा सेवाग्राहीहरूका प्रश्नका जवाफ अध्यक्ष बानियाँसहित वडा सदस्यहरू र सचिव युवराज पौडेलले दिएका थिए।





