
पोखरा, १२ फागुन ।
यहि फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदमा कास्की क्षेत्र नं। २ का नेकपा ९एमाले०का उम्मेदवार रश्मि आचार्यले पोखराको व्यवस्थित विकासको टड्कारो आवश्यकता देखिएको बताएका छन् । देशकै ठूलो महानगरमा व्यवस्थित विकासका लागि केही नयाँ नीतिगत व्यवस्थासँगै स्थानीय तहसँगको सहकार्यमा भएको विकासलाई पनि थप व्यवस्थित गराउनुपर्नेमा उनको जोड छ । पोखराको विकासमा देखिएका नीतिगत र कानुनी अल्झनले व्यवस्थित विकासमा कठिनाइ देखिएको भन्दै उम्मेदवार आचार्यले यसको समाधानमा लाग्ने उल्लेख गरे ।
शिक्षा, स्वास्थ, रोजगारी, संरचनाका सौन्र्दयीकरण सहित युवा पुस्ता केन्द्रित महत्वपूर्ण विषयका काम नीतिगत कानुनी व्यवस्थापनमा भएका त्रुटिका कारण असरल्ल परेका छन् । सो विषय आफ्नो महत्वपूर्ण प्राथमिक एजेन्डा भएको उनको भनाई छ । नजिकिदै गएको निर्वाचनका सन्दर्भमा पोखरा महानगरपालिका वडा नं। ७ का मतदाता भेट्घाटमा उम्मेदवार आचार्यले सो कुरा बताएका हुन् ।
सबैको साथले यहाँको पर्यटन विकासका लागि आफुले ‘लिङ्क पोखरा, मार्क पोखरा र ट्विट पोखरा’ को अवधारणा अघि सारेको उल्लेख गरे । पोखरामा भएका संरचना र क्षेत्रलाई भौगोलिक र सांकृतिक पाटोबाट एक आपसमा जोड्ने काम ‘लिङ्क पोखरा’ ग्रामीण इलाकामा नयाँ गन्तव्य निर्माण र विकासका लागि ‘मार्क पोखरा’ र पोखराको राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा प्रचार गर्न ‘ट्विट पोखरा’ फलदायी हुने आचार्यको ठम्याई छ ।
यससँगै उम्मेदवार आचार्यले मुख्य सहरी क्षेत्रको जनसंख्या व्यवस्थापनलाई केन्द्रबिन्दुमा राखेको बताए । जनघनत्व बढी भएको मुख्य शहरी क्षेत्रमा बसोबास गर्ने जनसंख्याको जीवनस्तर सुधारसहित शहरी क्षेत्रको थप सशक्तिकरण हुने अभियान संचालन गर्न सके व्यवस्थित पोखरा विकासको योजना साकार हुने आचार्यको दाबी छ । पोखराको पर्यटनमा यसको सौन्दर्यीकरण सहित थप व्यवस्थित विकास गर्न सकेमा पोखरामा धेरै भन्दा धेरै पर्यटक भित्र्याउन, पर्यटकको बसाई अवधि लम्याउन उल्लेखनीय भूमिका खेल्न सकिने उनको तर्क छ ।
पोखरा, १२ फागुन ।
इन्टरनेट तथा टिभीसेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेसन प्रालिले फेवा डुंगा व्यवसायी संगठन र वडा प्रहरी कार्यालय बैदामलाई लाइफ ज्याकेट प्रदान गरेको छ ।
संस्थाले सामाजिक उत्तरदायित्व वहन गर्दै दुई संस्थालाई गरी २ सय वटा लाइफ ज्याकेट वितरण गरेको हो । मंगलबार पोखराको पर्यटकीय केन्द्र फेवाताल किनार बाराहीघाटमा आयोजित कार्यक्रममा ज्याकेट प्रदान गरिएको हो ।
भायानेटका वित्त प्रमुख अरुण कार्कीले फेवा डुंगा व्यवसायी संगठनका कार्यवाहाक अध्यक्ष रुद्र भुजेल र वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरीक्षक शिशीर भट्टराईलाई ज्याकेट हस्तान्तरण गरेका हुन् ।
संस्थाले फेवा डुंगा व्यवसायी संगठनलाई १ सय ८५ र वडा प्रहरी कार्यालय बैदामलाई १५ वटा लाइफ ज्याकेट दिएको हो । कार्यक्रममा भायानेटका वित्त प्रमुख अरुण कार्कीले फेवातालमा डुंगा सयर गर्ने यात्रुको जीवन रक्षाको लागि लाइफ ज्याकेट प्रदान गरिएको बताए ।
कार्यक्रममा भायानेटका पोखरा शाखा प्रमुख दिपेश सिग्देलले सामाजिक उत्तरदायित्व अन्तर्गत फेवा डुंगा व्यवसायीलाई सहयोग गरेको बताउँदै आगामी दिनमा पनि अन्य सामाजिक संघ संस्थालाई पनि सहयोग गरिने बताए ।
फेवा डुंगा व्यवसायी संगठनका सचिव शिवरुद्र जिसीले फेवातालमा करिब ८ सय डुंगा सञ्चालनमा रहेको र डुंगामा यात्रा गर्दा लाइफ ज्याकेट अनिवार्य गरिएको बताए । भायानेटले उपलब्ध गराएको लाइफ ज्याकेटलाई सदुपयोग गरिने बताए । कार्यक्रममा उपस्थिति अतिथि लगायतलाई भायानेटको लाइफ ज्याकेट लगाएर फेवातालमा डुंगा सयर गराउँदै बाराही मन्दिर परिक्रमा गराइएको थियो ।
पोखरा, १२ फागुन ।
आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि तनहुँ क्षेत्र नं. १ का उम्मेदवार विद्यानाथ ढकालले चुनावी मैदानमा जनताको अथाह माया र विश्वास प्राप्त भइरहेको बताएका छन् । नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट ‘तारा’ चिन्ह लिएर चुनावी प्रतिस्पर्धामा उत्रिएका ढकालले घरदैलो र चुनावी अभियानका क्रममा देखिएको जनलहरले आफूलाई उत्साहित तुल्याएको बताए ।
चुनावी अभियानका क्रममा आँबुखैरेनीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ढकालले भने, ‘जनताले हामीलाई निकै माया र साथ दिनुभएको छ । त्यो माया र साथ मतमा बदलिनेछ र हामी विजयी बन्नेछौं ।’
तनहुँमा तारा चिन्हप्रति जनताको आशा र भरोसा दिनप्रतिदिन बढिरहेको उनले बताए । भ्रष्टाचार विरुद्ध र सुशासनको पक्षमा निरन्तर आवाज उठाएका कारण मतदाताहरू आफूप्रति बढी आशावादी रहेको उनको भनाइ छ ।
आफू यहीँको स्थानीय बासिन्दा भएकाले जनताको सुखदुःखमा सधैँ साथमा रहने उनले प्रतिबद्धता जनाएका छन् । ‘जनताले आफ्नो भावना बुझ्ने र सुखदुःखमा साथ दिने प्रतिनिधिलाई संसदमा पठाउन चाहन्छन्,’ ढकाल भन्छन्, ‘तनहुँका मतदाताले त्यो भरोसाको पात्र विद्या ढकाल नै हो भन्ने मान्यता स्थापित गरिसक्नुभएको छ ।’ तनहुँ क्षेत्र नं. १ मा चुनावी सरगर्मी बढिरहँदा ढकालको सक्रियता पनि बढिरहेको छ ।
पोखरा, १२ फागुन ।
आगामी प्रतिनिधि सभा निर्वाचनको सरगर्मी बढेसँगै तनहुँ क्षेत्र नम्बर १ मा चुनावी गतिविधिले तीव्रता पाएको छ । यसै क्रममा नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट ‘चारा’ चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका उम्मेदवार विद्या ढकालले आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो र मतदाता भेटघाटलाई तीव्र बनाएका छन् ।
मंगलबार ढकालले बन्दिपुर गाउँपालिकाका विभिन्न वडाहरूमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरेका छन् । उम्मेदवार ढकालले बन्दिपुर गाउँपालिका वडा नं. ५ र ६ का विभिन्न स्थानहरूमा पुगी मत मागे । उनले बन्दिपुरका बस्तीहरूमा पुगेर स्थानीयका समस्या सुन्नुका साथै आफ्नो योजना सुनाएका थिए । भेटघाटका क्रममा स्थानीय मतदाताहरूबाट उत्साहजनक साथ प्राप्त भएको ढकालले बताए ।
मतदाताहरूसँगको छलफल र अन्तरक्रियामा ढकालले नीतिगत सुधार र स्थानीय विकासलाई जोड दिएका छन् । अलपत्र अवस्थामा रहेको ‘घुमाउने पुल’ निर्माणलाई तदारुकताका साथ अगाडि बढाउने जनाएका छन् । प्राविधिक शिक्षाको विस्तार र स्थानीयस्तरमै रोजगारीका अवसरहरू सिर्जना गर्ने उनको प्रतिबद्धता छ । बन्दिपुरको पर्यटनलाई व्यावसायिक बनाउँदै स्थानीयको आर्थिक अवस्था सुधार्ने उनको योजना छ ।
देशको समग्र विकासका लागि संसदमा प्रभावकारी नीतिगत हस्तक्षेप गर्ने पनि उनले बताएका छन् । दिनभर बन्दिपुर क्षेत्रमा व्यस्त रहेका ढकालले जनताको आधारभूत आवश्यकता पूरा गर्न आफूले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे । ‘हामी कुरा होइन, काममा विश्वास गर्छौं,’ उनले भने, ‘यसपटक तनहुँ–१ का जनताले परिवर्तन खोजेका छन् र त्यसको संवाहक चारा चिन्ह हुनेछ ।’
पोखरा, १२ फागुन ।
नेपाल पत्रकार महासंघ कास्कीले आयोजना गरेको तिन दिने साइबर सुरक्षा सम्बन्धी तालिम सम्पन्न भएको छ । प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशको सहयोग तथा क्यान महासंघ कस्कीको प्राविधिक सहयोगमा फागुन १० गते देखि सुरु भएको उक्त तालिम सम्पन्न भएको हो ।
तालिमको समापन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष निर्मला शर्माले पत्रकारहरुलाई लक्षित गरि डिजिटल युगमा साइबर जन्य अपराधका घटना चुनौतीको रुपमा रहेको बताउनु भयो । उहाँले पत्रकार स्वयम् साइबर जन्य अपराधबाट बच्न र आम नागरिकलाई समेत सचेत गराउन तालिमले प्रभावकारी भूमिका खेल्ने बताउनुभयो ।
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल तालिमले पत्रकार स्वयम्लाई डिजिटल प्रविधि मार्फत हुने ठगी र सुरक्षा चुनौतीबाट बच्न टेवा पुग्ने बताउनुभयो । सहभागीको तर्फबाट अनुभव सुनाउदै पत्रकार घनश्याम पाण्डे र रोशनी गुरुङले तालिमले साइबर सुरक्षा अपनाउनका लागि तालिम प्रभावकारी भएको बताउनुभयो । आगामी दिनमा प्रयोगात्मक तबरले तालिम सञ्चालन गर्न उहाँहरुले सुझाव समेत दिनु भयो ।
साइबर सुरक्षा सम्बन्धी सहजिकरण गर्दै साइबर सुरक्षा विज्ञ प्रमोद न्याछ्योंले विभिन्न साइबरजन्य हमलाका उदाहरण दिदै इन्टरनेमका माध्यमबाट हुने ह्याकिङ, डाटा चोरी, भाइरस आक्रमण, अनाधिकृत पहँुच जस्ता जोखिमबाट बच्ने प्रक्रिया र उपायबारे जानकारी दिनुभयो ।
तिन दिनसम्म सञ्चालन भएको तालिमको सहजिकरण गण्डकी कलेज अफ इन्जिनियरिङ एण्ड साइन्सका उप प्राध्यापक ई.सन्तोष पन्थ, बैकिंङ सम्बन्धी डिजिटल सुरक्षाका बारेमा नबिल बैंक गण्डकी प्रदेश प्रमुख हरि ढकाल, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव निरिक्षक शीवा थापाले सहजिकरण गर्नु भएको थियो ।
तालिममा विभिन्न सञ्चारमाध्यममा आवद्घ ७५ जना पत्रकार एवं सञ्चारकर्मीको सहभागिता रहेको छ ।
नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष माधवप्रसाद बरालको अध्यक्षतामा सम्पन्न भएको तालिमको सञ्चालन सहसचिब मधु अधिकारीले गर्नुभएको थियो ।
काठमाडौं, १२ फागुन ।
सरकारले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले फागुन २०, २१ र २२ गतेसम्म देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो। निर्वाचनको दिनलाई व्यवस्थित, शान्तिपूर्ण र व्यापक सहभागितामूलक बनाउनका लागि यस्तो निर्णय गरिएको सरकारका प्रवक्ताले जानकारी दिएका छन्।
निर्वाचन आयोगको तयारी, सुरक्षा निकायको परिचालन, मतपेटिका ढुवानी तथा मतदाताको सहज सहभागितालाई ध्यानमा राख्दै तीन दिन बिदा दिने निर्णय गरिएको जनाइएको छ।
फागुन २१ गते देशभर एकै चरणमा प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदैछ। निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउन सरकारले आवश्यक सुरक्षा प्रबन्ध मिलाउने जनाएको छ।
काठमाडौं, १२ फागुन ।
सरकारले जेन–जी परिषद गठन गर्ने निर्णय गरेको छ । मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले जेन–जी परिषद् गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका छन् ।
बैठकले प्रतिनिधिसभा निर्वाचनका लागि चीन सरकारबाट प्राप्त हुने प्रस्ताविक चार मिलियन अमेरिकी डलर बराबरको नगद अनुदान सहायता स्वीकार गर्ने निर्णय समेत गरेको उनले बताए ।
त्यस्तै बैठकले चालू आर्थिक वर्षको विनियोजित बजेट तथा कार्यक्रममा उल्लेख भए बमोजिम बुढीगण्डकी जलाशय युक्त जलविद्युत आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत गर्ने निर्णय गरेको छ ।
यसका साथै बैठकले काठमाडौं जिल्ला अदालतका जिल्ला न्यायाधीश डा।दिवाकर भट्टलाई काठमाडौं जिल्ला अदालतको कामसमेत हेर्ने गरी उपभोक्ता अदालत काठमाडौंको अध्यक्ष तोक्ने निर्णय गरेको प्रवक्ता अर्यालले बताए ।
मन्त्रिपरिषद्ले बिमा ऐन २०७९ को दफा १४० बमोजिमको कसुर सम्बन्धी मुद्दाको कारबाही र किनारा गर्न जिल्ला अदालतलाई तोक्ने र विक्रम संवत् २०८३ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म एक वर्ष भरी दिइने सार्वजनिक बिदा निर्धारण गर्ने निर्णय समेत गरेको छ ।
काठमाण्डौँ, १२ फागुन ।
नेपाली राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड साबित्रा भण्डारी ९साम्बा० ले आफ्नो उपचारका लागि आवश्यक रकम जुटिसकेको भन्दै थप सहयोग नगर्न आग्रह गरेकी छन्।
सोमबार उपचारका लागि सहयोग अपिल गरेकी साम्बाले २४ घण्टाभित्रै नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी र विदेशी प्लेटफर्ममा ४५ लाख रुपैयाँ ९५२ हजार न्युजिल्यान्ड डलर० संकलन भएको जानकारी दिएकी हुन्।
पोखरा, १० फागुन ।
कास्की क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बिना गुरुङले आफू सधैं न्याय र समानताको पक्षमा उभिँदै आएको अब पनि हरअन्यायको विरुद्ध लड्ने बताएकी छन् । कास्की क्षेत्र नम्बर ३ का मतादातहरुसँग भेट्दै गुरुङले आफूले उद्यमसँगै समाजसेवामा नै अहिलेसम्मको जीवन लगाएको भन्दै सेवाकै भावनालाई नीति निर्माणमा लगाउन रास्वपाबाट राजनीतिमा होमिएको बताएकी हुन् ।
बागलुङ बसपार्क, मिरुवा, भैरभ टोललगायतका क्षेत्रमा आइतबार घरदैलो गरेकी बिनालाई मतादाताले अन्यायका विरुद्ध लड्न आग्रह गर्दै शुभकामना दिएका थिए । घरदैलोका क्रममा मतदाताले पुराना नेताहरुमा इमान्दारिता र देशप्रतिको विश्वास कम भएकाले न्याय, समानता र अधिकारको पक्षमा लड्न आग्रह गरे ।
त्यही क्रममा महिला सशक्तिकरण, बालबालिकाको भविष्य र ज्येष्ठ नागरिकको सम्मानपूर्ण जीवनयापनमा आफूले हरदम सेवा गरिरहेको बताउँदै अब पनि सामाजिक न्याय, सुशासन र समृद्धिकै पक्षमा काम गर्ने उनले बताइन् ।
‘म समाजसेवामा रमाइरहेकी थिएँ, राजनीतिमा फगत एक सांसद पदका लागि म उम्मेदवार बनेको होइन, सार्वजनिक सेवा, विकास र सुशासनका पक्षमा इमान्दारितापूर्वक काम गर्ने हुटहुटी हो,’ बिनाले भनिन्, ‘म सधैं अन्यायको विपक्षमा हुन्छु, सामाजिक न्यायका निम्ति लड्छु, सहकारी पीडितसँगै उभिन्छु । म पीडितहरुको आवाज बन्छु भनेर मैदानमा उत्रिएकी हुँ ।’
सहकारीको समस्यालाई सधैं राजनीतिकरण गर्ने, पीडितलाई रकम फिर्ता गराउनेतिरभन्दा सधैं बल्झाइरहने काममात्र भएको बताउँदै बिनाले अब यो समस्या दीर्घकालीन रुपमै हल हुनुपर्ने भनाइ राखिन् । मीठा भाषण र चिल्ला आश्वासनभन्दा आफूले परिणाम दिने गरी लगनशिलता र मिहिनेतले व्यवसायमा सफल भएको र विभिन्न संस्थाको नेतृत्व गर्दै यहाँसम्म आइपुगेको उनले बताइन् ।
‘अहिले धेरैतिरबाट सहकारीको रकम हिनामिना भएको छ । सहकारी पीडितमाथि राजनीतिमात्र गर्ने तर पैसा फिर्ता नगराउने काम हुँदै आएको छ । अब यो बन्द हुनुपर्छ । सहकारी पीडितकै पक्षबाट म पनि लड्ने छु, यो सधैंभरि पीडितलाई झन् पीडा दिने गरी गिजोलिनु हुँदैन,’ बिनाले भनिन्, ‘म आफैं पनि सहकारी अभियानकर्ता हुँ, सहकारीको नेतृत्व नै गरेर बचतकर्ताको मन जितेकी पात्र हुँ । सहकारी समस्या कहाँनेर हो मैले नजिकबाट छामेकी छु ।’
सहकारीको समस्यालाई समाधान गर्नेतिर भन्दा अहिले पनि विभिन्न दलहरुले पीडितलाई झनै पीडित गराउने गरी प्रयोग गर्ने, राजनीतिक प्रतिशोधपूर्ण ब्यवहार गरेर आफूलाई चर्चामा ल्याउन खोज्ने प्रवृति हाबी भइरहेको उनको भनाइ थियो । ‘सहकारीका समस्या र यसबाट पीडितले भोगेका दुख र पीडालाई मैले नजिकबाट महसुस गरेकी छु । यो समस्यालाई अहिलेसम्म कसले गिजोलिरहेको छ र कसले सहकारी अभियानलाई कमजोर बनाएको हो भन्ने पनि मैले बुझेकै छु,’ बिनाले भनिन्, ‘अब सधैंका लागि सहकारी समस्या समाधान गर्न पनि म सांसद भएर हरदम पहल गर्नेछु, पीडितकै सारथी बन्ने छु ।’
उनले आफ्नो बाचापत्रमै सहकारीको समस्या समाधान गर्न लागि पर्ने एजेण्डा बनाएको बताइन् । भूकम्पका बेला होस् या कोभिडका बेला हरबखत नागरिककै सेवामा लागि परेको स्मरण गर्दै बिनाले एक जना व्यक्तिको सहयोगले समाज रुपान्तरण गर्न नसक्ने भएकाले नै राजनीतिमा होमिएको बताइन् ।
‘सञ्जीवनी दिदीबहिनी केन्द्रमार्फत महिला शसक्तिकरण र न्यायको पक्षमा उभिएँ । कोपिला नेपालमार्फत बालबालिकाको जीवन यापनसँग जोडिएँ, तमुधिँ नेपालमार्फत संस्कृति संरक्षणमा खटिएँ । लायन्स क्लबमार्फत सामाजिक सेवामै थिएँ,’ बिनाले भनिन्, ‘अब पनि म अरु कसैसँग लड्न सांसद हुने होइन, अन्यायकै विरुद्ध लड्ने हो, कुशासनकै विरुद्ध बोल्ने हो, न्यायकै निम्ति ऊर्जा अर्पण गर्ने हो । नीतिगत तहबाटै समाज रुपान्तरण गर्ने हो ।’
पोखरा, १० फागुन ।
कास्की क्षेत्र नम्बर २ मा उज्यालो नेपाल पार्टीका उम्मेदवार कुशल गुरुङले घरदैलोमा पुगेर मतदाता भेट्दै आफ्ना एजेण्डा राखिरहेका छन् । पोखरा–९ बसपार्कमा सम्पर्क कार्यालय खोलेर घरदैलो गरिरहेका गुरुङले आफू हल्ला र भीडमा होइन, एजेण्डा र परिणाम खोज्न लाग्ने बताउँदै मतादातालाई प्रतिवद्धता पत्र दिइरहेका छन् भने मतदाताले उनलाई हौसला दिइरहेका छन् ।
गुरुङले आइतबार पोखरा–१६ मा घरदैलो गरेका छन् भने शनिबार वडा नम्बर १५ मा घरघरमै पुगेर मतादातालाई भेटेका हुन् । सरकारको नीति निर्माणमा सघाइरहेका जलवायु परिवर्तन तथा नवीकरणीय ऊर्जा विज्ञ गुरुङले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई आत्मसात गर्दै आफैं नीति बनाउने ठाउँमा पुग्न उम्मेदवारी दिएको बताएका छन् ।
जेनजी आन्दोलन कुनै पार्टीनिकटको नभइ देशमा रुपान्तरण र सुशासन चाहने नवयुवाको नेतृत्वमा भएको उल्लेख गरेका छन् । घरदैलोको क्रममा भेटिएका सुन्दर गुरुङले यसपटक मतादाताले हल्ला र भीडमा होइन, क्षमता र एजेण्डा हेरेर मत हाल्ने बताए ।
अहिले सामाजिक सञ्जाल र देशका विभिन्न ठाउँमा भीड जम्मा गरेर म्याराथन दौड गर्न खोजे पनि अन्तिममा सचेत मतादाताले योग्य र क्षमतावान पात्र हेर्ने भन्दै हौसला बढाए ।
‘मतादाता धेरै सचेत भइसके, केबल हल्ला र भीडमा मात्र विश्वास गर्दैनन् । यदी कसैले त्यो भन्छ भने जनताप्रतिको अविश्वास हो । मतादातले योग्य पात्र हेर्छन्, नियत र एजेण्डा हेर्छन्,’ उनले भने, ‘ढुक्क हुन्स्, तपाईँ मतादाताको रोजाइमा पर्नुहुन्छ ।’
घरदैलोमा भेटिएकी माया अधिकारीले पनि यो ठाउँको मुद्धालाई बोक्न सक्ने, नीतिगत तहबाट हेर्नसक्ने दृष्टिकोण भएको उम्मेदवारलाई भोट दिने बताउँदै गुरुङलाई ढुक्क हुन आग्रह गरिन् । ‘कुलमानले लोडसेडिङ हटाएर उज्यालो नेपाल बनाएकै हो । अब उज्यालो पार्टीमार्फत तपाईंले पनि देशमा योगदान दिनु,’ उनले धाप मारिन् ।
कास्की क्षेत्र नम्बर २ का मतादाताले आफूलाई हौसला दिइरहेको र परिवर्तनको आशा जगाएको बताए । ‘पोखराजस्तो सहरलाई कसरी व्यवस्थित बनाउने, यहाँका जलवायु परिवर्तनका असर कम गर्नेदेखि कसरी उत्पादन बढाउनेसम्म, पर्यटन र ऊर्जामार्फत गर्न सकिने विकासलाई प्रतिवद्धतापत्रमा हेरेर मत दिने विश्वास जगाएका छन्,’ उनले भने, ‘मतादाता कुनै दलको बहकाउमा होइन, आफ्नै विवेक प्रयोग गरेर हाल्छन् भन्ने बुझाएका छन् ।’
बेलायतको एडिनबर्ग विश्वविद्यालय–व्यवस्थापन विद्यालयको १०० वर्षको इतिहासको उत्कृष्ट १०० भूतपूर्व विद्यार्थी परेका कुशलले नेपाल फर्किएर जलवायु परिवर्तन र ऊर्जाका क्षेत्रमा सरकारसँग मिलेर काम गरिरहेका थिए । जेनजी आन्दोलनपछि कुलमान घिसिङको नेतृत्वमा राजनीतिमा होमिँदै कास्की–२ मा उम्मेदवारी दिएका छन् ।





