पोखरा, ०६ फागुन ।
नेकपा (एमाले) ले नेसनल भोलेन्टियर्स फोर्स गण्डकी प्रदेश र कास्की जिल्लाको युनिफाइड कमाण्ड घोषणा गरेको छ । फोर्सको प्रदेश इञ्चार्जमा सुशिल बस्नेत र फोर्सको प्रदेश प्रमुख कमान्डरमा पानबहादुर जिसी छन् । प्रदेशको सह कमाण्डरमा गोविन्द भुषाल, नवीनकुमार श्रेष्ठ रहेका छन् । फोर्सको हेडक्वाटर कमाण्डरमा देवान गुरुङ, विकास पहारी, चीनबहादुर पुन र मञ्जु जिसी रहेको प्रदेश इञ्चार्ज बस्नेतले जानकारी दिए ।
त्यस्तै फोर्स कास्कीको इञ्चार्जमा नमराज केसी र फोर्सको युनिफाइड कमाण्डरमा सूर्य लामा र सहकमाण्डरमा बज्रराज अधिकारी (सुरज), राजु गिरी, उमेश बिसंखे रहेका छन् । कमाण्डरमा विश्वास गुरुङ, कृष्ण हमाल, अभिषेक गुरुङ, दिपक मल्ल, गणेश विक, रवी गुरुङ, खेम गुरुङ, प्रकाश बराल, सिद्धान्त गुरुङ लगायत रहेका छन् ।
फोर्सको कमाण्ड घोषणा कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका छन् । नवप्रवेशीलाई एमालेका केन्द्रीय सचिव खगराज अधिकारीले पार्टीमा औपचारिक रुपमा स्वागत गरे । उनले एमालेको सहायक संगठनको रुपमा रहेको फोर्स विशेष खालको संगठन भएको बताए । यो संगठन सामान्य खालको संगठन नभएको उल्लेख गर्दै उनले यो संगठनले देश र जनताको रक्षा गर्ने जिम्मेवारी लिएको जनाए ।
फोर्सका केन्द्रीय कमाण्ड प्रमुख पुष्पराज श्रेष्ठले निर्वाचनको १० हजार ९ सय ६७ मतदान केन्द्रमा २ लाख २२ हजार युवा परिचालन गर्ने बताए । कार्यक्रममा एमालेका केन्द्रीय सदस्य राजीव पहारी, गण्डकी प्रदेश कमिटीका सचिव धनञ्जय दवाडी, कास्कीका कार्यवहाक अध्यक्ष भेषराज बराल, फोर्सका केन्द्रीय सहकमाण्डर विनिता काफ्ले, अर्जुन पौडेल, सुशिल बस्नेत लगायतले बोलेका थिए ।
पोखरा, ०६ फागुन ।
भरतपोखरी विकास मञ्च, पोखरा ३३ ले आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा कास्की क्षेत्र नम्बर २ बाट दलगत तथा स्वतन्त्र रूपमा उम्मेद्वारी दिएका उम्मेद्वारहरूसँगको साक्षात्कार कार्यक्रम सम्पन्न गरेको छ ।
बुधवार पोखरा-३३, भरतपोखरी, भगवती चौतारास्थित अन्नपूर्ण स्वास्थ्य चौकीको चौरमा भएको ‘जनतासँग उम्मेद्वार -उम्मेद्वारसँग जनता’ विषयक साक्षात्कार कार्यक्रममा कास्की क्षेत्र नम्बर २ बाट उम्मेद्वारी दिएका उम्मेद्वारहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको मञ्चका अध्यक्ष डिल्लीराम बरालले जानकारी दिए ।
‘मातृभूमिप्रतिको उच्च सम्मान, समृद्धिको सङ्कल्पका लागि असल नेतृत्व छनोटमा साझा अभियान’ भन्ने मूल मन्त्रसहित आयोजना गरिएको उक्त साक्षात्कार कार्यक्रममा क्षेत्र नम्बर २ का उम्मेद्वारहरूले स्थानीय जनतासामु आफ्ना उम्मेदवारीको औचित्य, प्रतिबद्धता, एजेन्डा र घोषणात्रसमेत प्रस्तुत गरेका थिए । प्रत्येक उम्मेद्वारहरूलाई आफ्नो प्रस्तुतिका लागि १० मिनेटको समय उपलब्ध गराइएको र उपस्थित मतदाताहरूले आफ्ना राय, सल्लाह, सुझाव, माग एवम् जिज्ञासाहरू राखेपछि उम्मेद्वारहरूले जनताले सोधेका प्रश्नको जबाफ दिएको विकास मञ्चका महासचिव गणेशप्रसाद ढकालले जानकारी दिए।
कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका हेमबहादुर थापा पराजुली (किरण), प्रगतिशील लोकतान्त्रिक पार्टीका दीपक भण्डारी, उज्यालो नेपाल पार्टीका उम्मेद्वार कुशल गुरुङ, नेपाल जनमुक्ति पार्टीका उम्मेद्वार ख्यामबहादुर गुरुङ, स्वतन्त्र उम्मेदवार बिष्णु प्रसाद तिवारीलगायतका उम्मेद्वाहरू सहभागी भइ आ-आफ्ना घोषणा पत्र प्रस्तुत गरेको विकास मञ्चका अध्यक्ष बरालले जानकारी दिए । उक्त कार्यक्रममा आमा समूह, टोल विकास संस्था, समाजसेवी, बुद्धिजीवी, नवपुस्ताका युवा, युवा क्लब, राजनीतिक दल, सामाजिक अभियन्ता, पत्रकार तथा शैक्षिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
एजेन्सी, ०६ फागुन ।
अमेरिकी सेनाले पूर्वी प्रशान्त र क्यारिबियन क्षेत्रमा तीन वटा जहाजमाथि आक्रमण गर्दा ११ जनाको मृत्यु भएको छ । अमेरिकी दक्षिणी कमाण्डले पूर्वी प्रशान्त क्षेत्रको पहिलो जहाजमा चार जना, दोस्रो जहाजमा चार जना र क्यारिबियन क्षेत्रको तेस्रो जहाजमा तीन जनाको मृत्यु भएको जनाएको हो ।
गुप्तचर निकायले ती जहाजहरू लागूऔषध तस्करीका लागि परिचित मार्गहरूबाट गइरहेको र तस्करी कार्यमा संलग्न रहेको पुष्टि गरेको कमाण्डले दावी गरेको छ। यस आक्रमणमा अमेरिकी सेनालाई कुनै क्षति नभएको बताइएको छ । यद्यपि अमेरिकी प्रशासनले ती डुङ्गाहरू, कार्गो वा मारिएका व्यक्तिहरूका बारेमा आफ्ना आरोपहरू पुष्टि गर्ने कुनै प्रमाण भने उपलब्ध गराएको छैन ।
गत सेप्टेम्बरको शुरुदेखि अमेरिकी सेनाले क्यारिबियन र पूर्वी प्रशान्त क्षेत्रमा लागूऔषध तस्करीमा संलग्न रहेको आरोप लगाइएका डुङ्गाहरूमाथि करिब ४० पटक आक्रमण गरिसकेको छ । जसमा १ सय ३० भन्दा बढी मानिसको ज्यान गएको छ । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई पक्राउ गरिएको जनवरी ३ को सैन्य कारबाहीपछि पेन्टागनले जनवरीको अन्त्यदेखि जहाजहरूमाथि पुनः आक्रमण शुरु गरेको हो ।
पोखरा, ०६ फागुन ।
पोखरामा जारी २५औं आहा रारा गोल्डकपमा सहारा क्लव फाइनलमा पुगेको छ । पोखरा रंगशालामा आज भएको खेलमा मनाङ मर्स्याङदी क्लबलाई सडनडेथमा पराजित गर्दै सहारा फाइनलमा प्रवेश गरेको हो । सहाराले मनाङलाई ७–६ ले हराउँदै फाइनलको यात्रा तय गरेको हो ।

खेलको निर्धारित ९० मिनेटमा दुवै टीम गोलरहित बराबरीमा रोकिएपछि ३० मिनेट थपिएको थियो । थपिएको समयमा पनि गोल हुन नसकेपछि खेल खेल टाइब्रेकरमा धकेलिएको थियो ।
टाइ ब्रेकरमा पनि दुवै टीम बराबरीमै रोकिएपछि खेल सडन डेथमा गएको थियो । प्रतियोगिताको दोस्रो सेमीफाइनल खेलमा भोलि उज्वेकिस्तानको आभा फुटबल क्लब र जावलाखेल युथ क्लबबीच हुनेछ ।
पोखरा, ०४ फागुन ।
मनाङ मस्र्याङदी क्लब पोखरामा जारी राष्ट्रिय तथा अन्तराष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
पोखरा रङ्गशालामा सोमबार भएको क्वाटरफाइनलको तेस्रो खेलमा पाहुना टोली भारत सिक्मिमको थण्डरबोल्ड नर्थ युनाइटेडमाथि १–० को कठिन जित निकाल्दै मनाङले अन्तिम चारमा स्थान बनाउन सफल भयो ।
खेलको ९० मिनेटको निर्धारित समयमा दुवै टोलीबाट गोल हुन सकेन । त्यसपछि ३० मिनेट समय थप गरिएको थियो । थप गरिएको समयको पहिलो हाफको इन्जुरी समयमा मनाङका आशिष श्रेष्ठले निर्णायक गोल गरे । कर्नरबाट आएको बललाई श्रेष्ठले हेड गर्दै बललाई जाली चुमाए ।
खेलमा दुवै टोलीले गोलका केही सुन्दर मौका खेर हालेका थिए । खेलमा निर्णायक गोल गरेका मनाङका श्रेष्ठ ‘म्यान अफ दी म्याच’ घोषित भए । उनले रु १० हजार पुरस्कार प्राप्त गरे ।
पाहुना टोली थण्डरबोल्डका प्रशिक्षक आशिष क्षेत्रीले मनाङजस्तो राम्रो टिमसँग आफ्ना खेलाडीले राम्रो खेल प्रस्तुत गरेको बताए । प्रतियोगिताको अन्तिम क्वाटरफाइनल मङ्गलबार प्लानिङ ब्वाइज युनाइेट र उज्वेकिस्तानको आभा फुटबल क्लबका बीचमा खेल हुनेछ ।
यही फागुन ९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको च्याम्पियन टोलीले १४ लाख एक हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउँदा उपविजेता टोलीले रु सात लाख एक हजारसहित ट्रफी पुरस्कार पाउने आयोजक सहाराले जनाएको छ ।
यसैगरी सर्वोत्कृष्ट खेलाडीले स्कुटर प्राप्त गर्ने अन्य पाँच विधामा उत्कृष्ट हुनेले जनही २५ हजार र ट्रफी पुरस्कार पाउनेछन् ।
पोखरा, ०४ फागुन ।
प्रतिनिधि सभा सदस्य कास्की क्षेत्र नं. २ का उमेदवार रश्मि आचार्य ले नेपालको शिक्षा प्रणालीप्रति गम्भीर चिन्ता व्यक्त गर्दै वर्तमान शिक्षा सर्टिफिकेट थुपार्ने माध्यममा सीमित भएको बताएका छन्।
उनले अबको शिक्षा दराजको फाइलमा होइन, मानिसको हातको सीपमा देखिनुपर्नेमा जोड दिँदै व्यावहारिक र प्राविधिक शिक्षाले मात्र व्यक्तिको जीवनस्तर सुधार गर्न सक्ने बताए ।
शिक्षा सीपमूलक भए मात्र व्यक्तिको उन्नति सम्भव हुने र त्यसकै आधारमा देशको समृद्धि हासिल गर्न सकिने उनको भनाइ छ।
सामाजिक संजालजस्तै करबारे पनि जानकारी राख्नुस् ः प्रमुख कर अधिकृत ढुंगाना
पोखरा, ०४ फागुन ।
‘हामीलाई टिकटक र फेसबुक चलाउन कसैले सिकाएको हैन । मार्क जुकरवर्ग आएर फेसबुक यसरी चलाउने हो भन्या पनि हैन होला । त्यो चलाउन जान्ने तर आफूलाई चाहिने करको दाखिला गर्ने कुरा चाहिँ नजान्ने,भर्न जानेको छैन । बिल काट्न आउँदैन भन्न मिल्छ र रु’
आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिवप्रसाद ढुंगानाले सोमबार पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको मूल्य अभिवृद्धि कर ९भ्याट० र करबारे आयोजना गरेको तालिम कार्यक्रममा प्रश्न तेस्र्याए । पोखरा उद्योग वाणिज्य संघ तथा कार्यक्रममा अध्यक्ष गोकर्ण कार्की मुस्कुराए, तालिममा सहभागीहरु मुखामुख गरे ।
प्रमुख कर अधिकृत त्यत्तिमै रोकिएनन् । उनले व्याख्यासहित भने,‘नेपालको कर प्रणाली भनेको स्वघोषणा गर्नेखालको हो । हाम्रो कर प्रशासनका ८० प्रतिशत काम अनलाइनबाटै हुन्छ । तपाईं कार्यालय आउनै पर्दैन । हाम्रो वेवसाइटमा जानुभयो भने त्यहाँ सधैँ सोधिने प्रश्नहरुका उत्तर छन् । अलिकति अध्ययन गर्नासाथ आफूले तिर्नुपर्ने राजश्व आफै भर्न सकिन्छ । भ्याट चाहिँ यहाँहरुले तिर्ने हैन । उपभोक्ताले तिरेको रकम राज्यलाई बुझाउने हो । त्यो पनि एक महिनासम्म तपाईंले बिना ब्याज चलाउन पाउनुहुन्छ ।’
प्रमुख कर अधिकृत ढुंगानाले दण्ड र जरिवानाबाट बच्नका निम्ति आफै जागरुक बन्नुपर्नेमा पनि जोड दिए । पोखरा उद्योग वाणिज्य संघले जर्मन सहयोग संस्था जीआइजेडको दीगो विकासका लागि राजश्व सुधार परियोजना ९आरएसआरएसडी० को सहयोगमा भ्याट र करसम्बन्धी तालिम संचालन गर्दै आइरहेको छ । यो कार्यक्रमअन्तर्गत विभिन्न क्षेत्रका उद्योगी÷व्यवसायीलाई तालिम प्रदान गरिने संघका अध्यक्ष गोकर्ण कार्कीले जानकारी दिए । हालसम्म ४ वटा तालिम प्रदान गरिएको र सोमबार एवं फ्लोरिङ तथा फर्निसिङ व्यवसायी संघ कास्कीसँगको समन्वयमा आयोजना २ दिने तालिम आयोजना गरिएको अध्यक्ष कार्कीको भनाइ छ ।
सो कार्यक्रममा बोल्दै संघका अध्यक्ष गोकर्ण कार्कीले कर तिर्नु व्यवसायीको धर्म हो भन्नेमा संघ प्रष्ट रहेको र प्रणाली चाहिँ अझै सरल हुनुपर्ने धारणा सुनाए ।
पोखरा उद्योग वाणिज्य संघकी महासचिव शोभा गौतमको संचालन रहेको कार्यक्रममा बोल्दै फ्लोरिङ तथा फर्निसिङ व्यवसायी संघ कास्कीका अध्यक्ष थानेश्वर तिवारीले कर प्रणालीबारे जानकारी प्राप्त हुँदा व्यवसाय गर्न सहजता प्राप्त हुने आशा राखे । सहभागीहरुलाई सिए विवेक श्रेष्ठले कर र भ्याटबारे सहजीकरण गरेका थिए ।
पोखरा, ०४ फागुन ।
फेयर ट्रेड कर्पाेरेसनले पोखरामा पाइलट ब्रान्डको पेनको आउटलेट संचालनमा ल्याएको छ। पोखरा महानगरपालिका वडा नम्बर ३, नदीपुरस्थित कोट्रयार्ड भवनमा (मीनमार्ट रहेको भवन) आउटलेट संचालनमा ल्याएको हो ।
शनिबार आयोजित एक समारोहमा उक्त शोरूमको कम्पनीका तर्फबाट जापानी नागरिक मसो नाका र टामायुकी कावानाले संयुक्त उद्घाटन गरे । सो अवसरमा हाँस्य कलाकार सन्दीप क्षेत्रीको पनि उपस्थिति थियो।
कम्पनीले ४२ वर्ष पहिलेदेखि नेपालमा पाइलट पेनको बिक्री वितरण गर्दै आएको छ।
कम्पनी निर्देशक मीन अग्रवाल आफूकहाँ १० देखि एक लाख रूपैयाँसम्मका मूल्य बराबरका पेन रहेको बताउँछिन्। उनका अनुसार पाइलट ब्रान्डका बल पेन, जेल पेन र फाउन्टेन पेन, हाइलाइटर, मार्कर, पेन्सिल, इरेजरसहित लेखेर मेट्ने पेनहरू पनि उपलब्ध छन् । प्रोडक्टमा १० प्रतिशत डिस्काउन्ट र विद्यार्थीहरूका लागि एक वर्षसम्म ५ प्रतिशत विशेष छुट दिइने व्यवस्था गरिएको छ।
काठमाडौंको न्यूरोड र कमलादीमा शाखा संचालित रहेकोमा छिट्टै विराटनगरमा समेत सञ्चालन गर्ने तयारी रहेको उनले जानकारी दिइन्। यसका डिलर भने धेरैवटा छन्।
पाइलट पेनलाई अरू पेनको तुलनामा उत्कृष्ट मानिन्छ।
पोखरा, ०४ फागुन।
पोखरास्थित कास्की जिल्ला अदालतले रवि लामिछाने विरुद्ध दायर संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नलिने आदेश दिएको छ। महान्यायाधिवक्ताको कार्यालयले उक्त मुद्दा फिर्ता लिने निर्णय गरेपछि जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा निवेदन दिएको थियो।
तर जिल्ला न्यायाधीश नितिश राईको इजलासले सर्वोच्च अदालतमा सो निर्णयविरुद्ध रिट परेकाले तत्काल मुद्दा फिर्ता नहुने आदेश गरेको हो। सर्वोच्च अदालतबाट हुने आदेश प्राप्त भएपछि मात्र थप निर्णय हुने अदालतले जनाएको छ। यसअघि रूपन्देही जिल्ला अदालतले पनि यस्तै निर्णय गरिसकेको छ।
महान्यायाधिवक्ता सविता भण्डारीले पुस ३० गते संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने निर्णय गरेकी थिइन्। सो निर्णयविरुद्ध युवराज पौडेल ९सफल० ले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।
चितवन, ०४ फागुन।
चितवन भरतपुर महानगरकी निवर्तमान प्रमुख रेनु दाहाल को पक्षमा चितवन क्षेत्र नं. ३ मा जनसमर्थन बढ्दै गएको देखिएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनेकी दाहाल सोमबार भरतपुर–१६ मा घरदैलो अभियानमा सहभागी हुँदा स्थानीयवासीको उल्लेख्य उपस्थितिसहित स्वागत पाएकी हुन्।
दुई कार्यकालसम्म भरतपुर महानगरपालिकाको नेतृत्व सम्हालेकी दाहालले संघीय राजनीतिमा प्रवेश गर्ने उद्देश्यसहित उम्मेदवारी दिएको बताएकी छन्। जेनजी आन्दोलनका कारण निर्वाचनको मिति अगाडि सारिँदा दोस्रो कार्यकाल पूरा हुन करिब १५ महिना बाँकी रहँदै उनले प्रमुख पदबाट राजीनामा दिएकी थिइन्। “निर्वाचन समयअगावै घोषणा भएपछि राजीनामा दिनुपर्ने अवस्था सिर्जना भयो,” दाहालले भनिन्।
घरदैलो अभियानका क्रममा मतदाताबाट सकारात्मक प्रतिक्रिया पाएको उल्लेख गर्दै उनले महानगर प्रमुखका रूपमा कार्यरत रहँदा सबैलाई समान व्यवहार गर्दै विकास निर्माणका काम अघि बढाएको दाबी गरिन्। “कसले के भन्यो भन्नेभन्दा पनि कहाँ कति काम गर्नुपर्छ भन्ने कुरामा केन्द्रित रहेँ,” उनले भनिन्, “विकासका काममा कहिल्यै पक्षपात गरिनँ।”
उनले स्थानीय तहमा हासिल अनुभवलाई संघीय संसद्मा नीति निर्माण तहमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्। चितवनको समग्र विकासका लागि अझ प्रभावकारी भूमिका निर्वाह गर्ने अवसर दिन मतदातासँग आग्रहसमेत गरिन्।