२०८३ जेष्ठ ४ सोमबार
२०८३ जेष्ठ ४ सोमबार

पोखरा, २३  माघ ।

पोखरा महानगरपालिका वडा नं २७ रिठेपानी स्थित राईजिङ्ग स्टार युथ क्लबको भण्डारी टोल स्थित भलिवल कोर्टमा सुरु भएको नवौं राईजिङ्ग स्टार खुल्ला वडास्तरीय भलिवल प्रतियोगिताको आयोजक टिम फाइनलमा प्रवेश गरेको छ । यससँगै शनिवारको सेमीफाइनल खेल बागलुङ्गको ढोरपाटन समूह र पर्वत मोदीको बाजुङ्ग समूह मध्येको विजेतासँग आयोजक बी समूहले फाइनल खेल खेल्ने तय भएको छ ।

शुक्रवार विभिन्न आठ खेलहरु सम्पन्न भएका प्रतियोगिता संयोजक ईश्वर खत्रीले जानकारी दिए । क्लवका अध्यक्ष तिलबहादुर गुरुङ अनिलको अध्यक्षतामा भएको कार्यक्रम पूर्व अध्यक्ष विष्णुप्रसाद गुरुङले सञ्चालन गरेका थिए ।

शनिवारका फाइनल खेल सकिए लगत्तै क्लबका आजीवन संरक्षक पोखरा महानगरापालिका वडा नम्वर २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले समापन तथा पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

१५ टिमको सहभागिता रहेको प्रतियोगिताको बिजयी समूहले एक लाख ११ हजार एक सय ११, उप विजेता समूहले ५५ हजार पाँच सय ५५ र तृतीय हुने दुई समूहलाई १०÷१० हजार प्रदान गरिने छ भने अन्य उत्कृष्ट खेलाडीलाई विधा अनुसारको पुरस्कार प्रदान गरिने वताइएको छ ।

 

पोखरा, २३ माघ ।  
 
बुद्धटोल युवा क्लबले राष्ट्रिय फुटसल खेलाडी सुबेत लामालाई सम्मान गरेको छ । पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा आज (शुक्रबार) लामालाई सम्मान अर्पण गरेको हो ।
राष्ट्रका लागि फुटसलमार्फत योगदान दिएको भन्दै सम्मान गरिएको क्लबका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए ।
उनका अनुसार राष्ट्रिय फुटसल खेलाडी लामा बिटी कपमा ठमेल एफसीबाट खेल्दैछन् ।

‘राष्ट्रिय स्तरका खेलाडी विरेन स्मृति बिटी कपमा खेल्न आउन् भन्ने नै हाम्रो पनि उद्देश्य हो, क्लबका अध्यक्ष गुरुङले भने, ‘यसले हाम्रो प्रतियोगिताको गरिमा पनि बढाएको छ ।’

शुक्रबार पहिलो चरणका ८ खेल

आज (शुक्रबार) भएको पहिलो खेलमा मार्सल ह्वाइटले बेलिज् एफसीलाई २–० गोल अन्तरले पराजित गर्याे । ह्वाइटको जीतमा नवीन पुन मगर र आकाश पुर्जामगरले समान १/१ गोल गरे । यस्तै दोस्रो खेलमा ठमेल एफसीले गलेश्वर एफसीलाई ५–० को फराकिलो गोल अन्तरले पराजित गरेको क्लबका सचिव रेशम सापकोटाले जानकारी दिए ।
सापकोटाका अनुसार ठमेलको जीतमा मनिष मगर, कुन्सान श्रेष्ठ, मिग्मार तामाङ, श्री माम्बा र विकेश शामहीले समान १/१ गोलको योगदान दिए । यसैगरी तेस्रो खेलमा गोल्डेन नाइटको अनुपस्थितीमा वाकओभरमार्फत नवश्री विजयी बन्यो ।
चौथों खेलमा बाँनिया ब्रदर्शले युनाइटेड ब्लुलाई ३–० गोल अन्तरले पराजित गर्याे । बाँनिया ब्रदर्शको जीतमा सुशान्त थापा, बादल रानाभाट र अनुप बञ्जराले समान १/१ गोल गरे ।
पाँचौ खेलमा डेभिजफल्स क्लबले रेवल्स एफसीलाई ४–० को फराकिलो गोल अन्तरले हरायो । डेभिजफल्सको जीतमा रविन्द्र केसीले २ गोलको योगदान दिए भने, संगम गुरुङ र सञ्जु मगरले समान १/१ गोल गरे । छैटौं खेलमा माइलस्टोन स्कुकरमाथी एनए एफसीले १–० को गोलन्तरले सँघर्षपूर्ण जीत निकाल्यो । एनएको जीतमा सन्तोष चौधरीले निर्णायक गोल गरे ।
यस्तै सातौ खेलमा लेकसाइड एफसीलाई दिप युनाइटेडले २–० गोल अन्तरले पराजित गर्याे । दिपको जीतमा लोकेन छन्त्याल र शोभित भण्डारीले समान १/१ गोल गरे । यसैगरी अन्तिम खेलमा कस्केरीको अनुपस्थितीमा वाकओभरमार्फत एट टु नाइन एफसी विजयी बन्दै दोस्रो चरणमा प्रवेश गर्याे ।
शनिबार पनि पहिलो चरणकै बाँकी खेल सञ्चालन हुने क्लबका निवर्तमान अध्यक्ष असिम थापाले जानकारी दिए । उनले प्रतियोगिताको विजेतालाई २ लाख २ सय २२ रुपैयाँ र उपविजेतालाई १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गर्ने बताए ।
प्रतियोगितामा विधागतर्फ सर्वोकृष्ट खेलाडीलाई स्पोर्टस् साइकल प्रदान गरिनेछ । यस्तै उत्कृष्ट गोलरक्षक, डिफेण्डर र मिडफिल्डर र सर्वाधिक गोलकर्ताले जनही नगद ८/८ हजार पुरस्कार प्राप्त गर्नेछन् ।
यस्तै प्रतियोगितामा अनुशासित टिमलाई १० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

पोखरा, २३ माघ ।

प्रतिभा सुपर लिग क्रिकेटमा सेमीफाइनल समीकरण पूरा भएको छ । लिगको अन्तिम खेलमा शुक्रबार गुरुकुल विद्या सदनलाई पराजित गर्दै मदरल्याण्ड सेमीफाइनलमा प्रवेश गरेसँगै प्रतिभा सुपर लिग क्रिकेटको सेमीफाइनल समीकरण पूरा भएको हो । यसअघि आयोजक प्रतिभा माविसँगै छोरेपाटन मावि र बाल मन्दिर मावि प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरिसकेका छन् ।

प्रतियोगिताको सेमीफाइनल खेलहरु शनिबार हुनेछन् । सेमीफाइनलको पहिलो खेलमा मदरल्याण्डबिरुद्द छोरेपाटन मावि तथा दोस्रो खेलमा बाल मन्दिर माविबिरुद्द आयोजक प्रतिभा मावि प्रतिष्पर्धामा उत्रिनेछन् ।

प्रतियोगिता अन्तर्गत शुक्रबार भएको खेलमा मदरल्याण्ड सेकेण्डरीले गुरुकुल विद्या सदनलाई ६४ रनको फराकिलो अन्तरले पराजित गर्दै सेमीफाइनल यात्रा सुनिश्चित गर्यो । टस जितेर गुरुकुलले फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको मदरल्याण्डले १९.५ ओभरमा सबै विकेट गुमाएर १२१ रनको योगफल तयार गर्यो । मदरल्याण्डका लागि शुभम गिरीले ४४ बलमा ३७ रन, अनुराग भण्डारीले १६ बलमा २६ रन र भुवनबहादुर भण्डारीले १४ बलमा १४ रनको योगदान दिए ।

मदरल्याण्डलाई विशाल लक्ष्य बनाउनबाट रोक्ने क्रममा गुरुकुलका सुदीप सुनारले ४ ओभरमा २ मेडन फाल्दै ३ रन खर्चेर ३ विकेट तथा एलन भट्टले ४ ओभरमा १ मेडन फाल्दै ३६ रन खर्चेर ३ विकेट र युवराज घर्ती मगरले २.५ ओभरमा १४ खर्चेर २ विकेट लिए ।

१२२ रनको चुनौतिपूर्ण लक्ष्य पछ्याउँदै जवाफी व्याटिङमा उत्रिएको गुरुकुलले ११.१ ओभरमा सबै विकेट गुमाएर ५७ रनमा सिमित भयो । गुरुकुलका लागि विवेक बानियाले २० बलमा २८ रन र देवेन्द्र खड्काले ८ बलमा ६ रन बनाउनुबाहेक अन्यको व्याट चलेन । गुरुकुललाई सस्तैमा समेट्न मदरल्याण्डका विलोभ मल्लले ४ ओभरमा केवल १० रन खर्चेर ६ विकेट तथा गौरव, सद्रिस र रमेशले थप १÷१ विकेट लिए ।

खेलमा मदरल्याण्डका ६ विकेटधारी विलोभ मल्ल प्लेयर अफ द म्याच घोषित भए ।

त्यस्तै, शुक्रबार भएको अर्को खेलमा टप्स माविले कुमुदिनी होम्स माविलाई ४ विकेटले पराजित गर्दै सान्त्वना जित हात पार्यो । सेमीफाइनल पुग्ने बाटो बन्द भएर सान्त्वना जितका लागि मात्र भएको प्रतिष्पर्धामा कुमुदिनी होम्सले टस जितेर पहिले व्याटिङ गर्दै १९.५ ओभरमा सबै विकेट गुमाएर १२५ रनको योगफल तयार गर्यो । चुनौतिपूर्ण रन बनाउने क्रममा कुमुदिनीका मोहम्मद अलीले ४३ बलमा ३७ रन, लोचन राजवंशीले २० बलमा २० रन र लकी गुप्ताले १० बलमा ११ रनको योगदान दिए । कुमुदिनीलाई दवाबमा राख्न टप्सका जेसिस शाहले ३.५ ओभरमा २१ रन खर्चेर ४ विकेट, अनुज शर्माले ४ ओभरमा १४ रन खर्चेर ३ विकेट र सौरभ तिमिल्सिनाले ४ ओभरमा १३ रन खर्चेर २ विकेट लिए ।

१२६ रनको चुनौतिपूर्ण लक्ष्य पछ्याएर जवाफी व्याटिङमा उत्रिएको टप्स माविले १७.१ ओभरमै ६ विकेट गुमाएर लक्ष्य भेट्टायो । लक्ष्य भेट्टाउने क्रममा टप्सका संयोग तिवारीले १९ बलमा २० रन, अनुज शर्माले ९ बलमै १३ रन र सौरभ तिमिल्सिनाले २३ बलमा १४ रनको योगदान दिए । टप्सको व्याटिङ अर्डर ध्वस्त बनाउने क्रममा कुमुदिनीका लकी गुप्ताले ४ ओभरमा २२ रन खर्चेर २ विकेट, विद्वान देवकोटाले ४ ओभरमा २५ खर्चेर २ विकेट नै लिए ।

सो खेलमा टप्सका अनुज शर्मा प्लेयर अफ द म्याच घोषित भए ।

प्रतियोगिताको फाइनल खेल आईतबार हुनेछ ।

पोखरा, २३ माघ ।

नेपाली काँग्रेस कास्की क्षेत्र नं. ३ ले विभिन्न ठाउँमा सम्पर्क कार्यालय स्थापना सँगै घरदैलो र भेटघाट कार्यक्रमलाई तीव्र पारेको छ । यसैबिच शुक्रवार कास्की क्षेत्र नं. ३ को पोखरा महानगर पालिका वडा नं. २५ हेमजाको मिलन चोक र सुइखेतमा चुनाव प्रचार प्रसारका लागि सम्पर्क कार्यालय स्थापना गरिएको छ । सम्पर्क कार्यालयको क्षेत्र नं. ३ कास्कीका प्रतिनिधि सभा सदस्य उम्मेदवार मनोज गुरुङ र समानुपातिक उम्मेदवार आई बहादुर गुरुङले संयुक्त रूपमा गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य उम्मेदवार मनोज गुरुङले यस क्षेत्रको बृहत्तर विकास र जनताका आवाजलाई संसदमा लैजान रुख चिन्हमा मतदान गर्न आग्रह गरे। ‘काँग्रेस अब अलमलिने बेला छैन, हिजो गरेका काम र अब गर्ने कामका बारेमा जनतामाझ जानुपर्दछ’ उनले भने, ‘हरेक सुख दुःखमा काँग्रेस सँगै छ भन्ने आभास जनतालाई दिनुपर्ने छ।’

उनले हेमजाको विकास निर्माणमा बजेट ल्याउनका लागि आफूले पनि पहल गरेको जानकारी दिँदै अबका दिनमा पनि यहाँको आवश्यकता अनुसारको विकास निर्माणमा आफूले पहलकदमी चाल्ने विश्वास दिलाए ।

समानुपातिक उम्मेदवार आई बहादुर गुरुङले पार्टी बदलिएसँगै देश बदल्ने अठोट लिएर काँग्रेस आएको बताउँदै अबको परिवर्तनका लागि रुख चिन्हमा मतदान गर्न आग्रह गरे । ‘विगतका कमीकमजोरी समीक्षा गर्दै पार्टीसँगै देश बदल्ने जोसका साथ नेपाली काँग्रेस निर्वाचनमा होमिएको छ’ उनले भने, ‘काँग्रेसले लिएको लक्ष्य प्राप्ति र सुशासन कायम गर्न नेपाली काँग्रेसको रुख चिन्हमा मतदान गर्नुहोस् ।’

निर्वाचन परिचाल समितिका संयोजक तथा नेपाली काँग्रेस कास्कीका उपसभापति युवराज कुँवरले नयाँ सोच नयाँ चिन्तनका साथ काँग्रेस अगाडि बढेको बताउँदै देश बदल्ने जिम्मा पनि काँग्रेसले नै लिने बताए ।

नेपाली काँग्रेसका नेता महासमिति सदस्य रामचन्द्र त्रिपाठीले परिवर्तनलाई आत्मासाथ गर्ने पार्टी काँग्रेस भएको बताए । दलित परिचालन समितिका संयोजक मन बहादुर विकले सबैले तन मनका साथ रुख चिन्हमा मतदान गर्न सबैलाई आग्रह गर्नुपर्ने बताए ।

निर्वाचन परिचालन समितिका सहसंयोजक खिमलाल बास्तोलाका अनुसार आन्तरिक घरदैलो र चुनाव प्रचार प्रसार सँगै सम्पर्क कार्यालय स्थापना गर्ने कामलाई तीव्रता दिएको बताए । नेपाली काँग्रेस पोखरा–२५ हेमजा वडा समितिका सभापति मधुसूदन त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सहसचिव सन्तमान श्रेष्ठले गरेका थिए ।

 

पोखरा, २२ माघ ।

सहारा क्लब पोखराले हरेक वर्ष आयोजना गर्ने आहारारा गोल्ड कपको २५ औं अर्थात रजत वर्षको अवसरमा फोटो प्रदर्शन हुने भएको छ । नेपाल फोटो पत्रकार संघ (एनपिजेए), कास्कीको आयोजना र सहारा क्लब पोखराको सहयोगमा शुक्रबार ‘फोटोमा फुटबल, फ्रेममा इतिहास’ फोटो प्रदर्शनी हुने भएको हो ।

पोखरा महेन्द्रपुलस्थित फल्चामा हुने प्रदर्शनीमा प्रतियोगिताका दौरान खिचिएका अविस्मरणीय क्षणहरू समेटिएको फोटो प्रदर्शन गरिने एनपिजेए कास्की अध्यक्ष राम गुरुङले जानकारी दिए ।

प्रदर्शनीमार्फत प्रतियोगगिताको २५ वर्षे इतिहास, संघर्ष, उत्साह र गौरवलाई तस्बिरमार्फत जनसमक्ष प्रस्तुत गरिने अध्यक्ष गुरुङले बताए । प्रदर्शनीमा मैदानभित्रका गोल, जित–हारका क्षण, खेलाडीको संघर्ष, समर्थकको भावना तथा मैदान बाहिरको जीवन्त फुटबल संस्कृतिलाई तस्बिरमार्फत प्रस्तुत गरिने उनले बताए । प्रदर्शनीमा ५० भन्दा बढि फोटो राखिनेछ ।

प्रदर्शनीले नयाँ पुस्तालाई नेपाली फुटबलको इतिहाससँग जोड्नुका साथै पोखरालाई खेलकुद पर्यटनको केन्द्रका रूपमा प्रवद्र्धन गर्न समेत योगदान पु¥याउने अपेक्षा सहारा क्बल पोखराका अध्यक्ष केशवबहादुर थापाले बताए । रजत जयन्तीमा उत्साह थप्नका लागि फोटो प्रदर्शनीमा सहयोग गरिएको उनले सुनाए ।

पोखरा, २२ माघ ।

पुन समाज नेपालले आगामि फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सघाउने भएको छ । बिहिबार पोखरामा पुन समाज नेपाल केन्द्रीय समिति पोखरा र रास्वपा कास्की निर्वाचन क्षेत्र नम्बर २ बिच समझदारी भएको हो।

आगामि फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदश्य निर्वाचनमा पुन समाज नेपालले नेपाल भरि रहेका पुन समुदायलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई समर्थन र एकबद्धता हुन आग्रह समेत गरेको छ । कार्यक्रममा समाजका वरिष्ठ उपाध्यक्ष पुर्ण बहादुर गर्बुजा पुन,महसचिव चन्द्र प्रकाश पाईजा पुन र रास्वपा कास्की क्षेत्र नम्बर २ का उमेदवार उत्तम पौडेल बिच समझदारी पत्र आदान प्रदान गरिएको थियोे ।

“पुन समाजजस्तो संगठित र सचेत समुदायले रास्वपालाई सघाउने निर्णय गर्नु परिवर्तनप्रति जनताको भरोसाको प्रमाण हो,” उम्मेदवार पौडेलले भने, “यो समर्थनले कास्की–२ मा स्वच्छ राजनीति र जवाफदेही नेतृत्व स्थापना गर्ने हाम्रो अभियानलाई थप ऊर्जा दिएको छ ।”

उनले समुदाय, समाज र नागरिकसँग हातेमालो गर्दै जनताका समस्या संसदमा उठाउने र समाधानतर्फ पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै, पौडेलले सबै समुदायको विश्वास जित्दै साझा विकास र सुशासनका लागि अघि बढ्ने प्रतिवद्धता दोहो¥याए । यसै बिच उम्मेदवार पौडेलले निरन्तर कास्की क्षेत्र नम्बर २ का जनता सगँ छलफल,अन्तरक्रिया र सुझाव संकलन गरिरहेका छन् ।

 

 

 

पोखरा, २२ माघ ।

प्रेस चौतारी नेपाल कास्की शाखाले संगठनको २८ औं स्थापना दिवसको अवसरमा दुई जना पत्रकारलाई सम्मान र पुरस्कार अर्पण गरेको छ । बिहीबार आयोजित समारोहमा विष्णुप्रसाद सापकोटालाई यस वर्षको प्रेस चौतारी पत्रकारिता सम्मान र रामजीप्रसाद लम्साललाई प्रेस चौतारी पत्रकारिता पुरस्कार प्रदान गरियो । कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सचिव खगराज अधिकारीले सम्मान–पत्र र दोसल्लासहित दुवैलाई सम्मान गरे । लम्साललाई सम्मान–पत्रसहित २२ हजार २ सय २२ रुपैयाँ प्रदान गरियो ।

सम्मानपछि बोल्दै सापकोटाले संगठनले दुई दशक लामो आफ्नो त्रियाशीलतालाई स्मरण गरेकोमा खुसी व्यक्त गरे । उनले सम्मानले संगठनप्रतिको दायित्व बढेको महसुस भएको बताए । पुरस्कृत पत्रकार लम्सालले अनेक ठक्कर–हण्डरबीच निरन्तर गरिरहेको कर्मको मूल्यांकन भएको बताए । विगतको पुरस्कार, पुस्तक विमोचन र हाल प्राप्त पुरस्कार एमाले नेता अधिकारीकै हातबाट प्राप्त गर्ने संयोग मिलेको उनले सुनाए ।

एमाले सचिव अधिकारीले देशको रक्षाका लागि पत्रकारको आवाज र कलम खुम्चिन नहुने बताए । सरकारले सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक फिर्ता लिने निर्णय गरेकोमा उनले असन्तुष्टि जनाए । सम्पूर्ण जनता र राजनीतिक दल एकताबद्ध भएर देशको विकासमा अघि बढ्न आवश्यक रहेको उनको भनाइ थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष माधवप्रसाद बराल, प्रेस सेन्टर कास्की अध्यक्ष दीननाथ बरालले बोलेका थिए ।

चौतारीले सम्मानित र पुरस्कृत व्यक्तित्व छनोट गर्न पूर्वपुरस्कृत एवं अग्रज पत्रकार श्यामनाथ कुँवरको संयोजकत्वमा प्रतिभा छनोट समिति गठन गरेको थियो । त्यसमा पूर्वपुरस्कृत पत्रकार खेम सारु र दीपेन्द्र श्रेष्ठ सदस्य, संगठनका अध्यक्ष मोतिसागर अधिकारी र सचिव अनुप पौडेल पदेन सदस्य थिए ।

हालको पोखरा महानगरपालिका–३३ भरतपोखरी, डाँडा गाउँका लम्साल २७ वर्षदेखि पत्रकारितामा क्रियाशील छन् । उनले २०५५ साल पुसमा तालनगरी साप्ताहिकबाट पत्रकारिता थालेका थिए । उनीसँग हिमचुली एफएम, पोखरा एफएम, रेडियो बाराही, जनता टेलिभिजनमा काम गरेको अनुभव छ । उनी हाल पोखरा एक्सप्रेस डटकममार्फत पत्रकारितामा सक्रिय छन् । वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका लम्साल रसियान भाषा, उद्घोषण, भाषण कला र नेतृत्व विकाससम्बन्धी प्रशिक्षक हुन् । उनलाई नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले २०७९ सालमा उत्कृष्ट युवा वर्ष पत्रकार सम्मान प्रदान गरेको थियो ।

सापकोटा हालको मादी गाउँपालिका–४, तारकाङ (साविकको थुमाको डाँडा गाविस–७) का स्थायी बासिन्दा हुन् । २०५८ सालमा पत्रकारिता क्षेत्रमा प्रवेश गरेका उनी हाल आदर्श समाज राष्ट्रिय दैनिकमा आबद्ध छन् । मुख्यतः सञ्चारमाध्यमको व्यवस्थापकीय पाटोमा उनी सक्रिय छन् । उनी प्रेस चौतारी नेपाल कास्कीका पूर्वकोषाध्यक्ष (२०६५ देखि २०६७ सम्म) हुन् । सापकोटा २०७२ सालमा आदर्श समाज दैनिकका उत्कृष्ट कर्मचारी घोषित भएका थिए । उनलाई चलचित्र पत्रकार संघ नेपाल कास्कीले २०८० मा सम्मान गरेको थियो ।

प्रेस चौतारी कास्कीले यसअघि राजु भण्डारी, सावित्री खनाल, हुम गुरूङ, मीना गुरूङ र गणेशमान गुरूङलाई संस्थागत योगदानको कदर गर्दै सम्मान गरिसकेको छ । प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट संस्थापक अध्यक्ष पुण्य पौडेल, माधव शर्मा, रुद्रबहादुर थापा, नवराज सुवेदी, हरि बास्तोला, बद्रीबिनोद प्रतीक, खेम सारु, दुर्गा भण्डारी, निमदत्त सुवेदी, श्रीराम सिग्देल, शान्ति गुरुङ, रामकृष्ण ज्ञवाली, श्यामनाथ कुँवर, दीपेन्द्र श्रेष्ठ, केशव पाठक, सुष्मा पौडेल, माधव बराल र इन्द्रप्रसाद पौडेल पुरस्कृत भइसकेका छन् ।

पोखरा, २२ माघ ।

प्रतिनिधि सभा निर्वाचनको मिति एक महिना बाँकी रहँदा कास्कीमा चुनावी सरगर्मी बढेको छ । चुनाव लक्षित ठूला पार्टीका उम्मेदवार घरदैलो र सम्पर्क कार्यालय स्थापना गर्न व्यस्त देखिन्छन् ।

यसै सिलसिलामा नेपाली काँग्रेस कास्की निर्वाचन क्षेत्र नं २ का चुनाव प्रचारप्रसार कार्यालय खोल्ने क्रम तीव्र बनेको छ । कास्की निर्वाचन क्षेत्र नं २ अन्तरगत आज (बिहीबार) पोखरा–९ नयाँबजारमा नेपाली काँग्रेस कास्कीको चुनाव प्रचारप्रसार सम्पर्क कार्यालय स्थापना गरिएको छ ।

उक्त सम्पर्क कार्यालयको आज नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा र नेपाली काँग्रेसका तर्फबाट कास्की निर्वाचन क्षेत्र नं २ का उम्मेदवार माधवप्रसाद बास्तोला (मधु) ले सयुक्त रुपमा उद्घाटन गरेका हुन् । कास्की निर्वाचन क्षेत्र नं २ अन्तरगत नेपाली काँग्रेसले यस अघि वडा नं ८, वडा नं ४ र वडा नं २१ मा सम्पर्क कार्यालय स्थापना गरिसकेको छ ।

सम्पर्क कार्यालयको उद्घाटन गर्दै नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले नेपाली काँग्रेस देशकै अभिभावक पार्टी भएकाले देश भित्रका हरेक समस्यालाई मर्यादित रुपमा समाधान गर्ने बताए ।

सभापति शर्माले काँग्रेस कमजोर हुँदा देश कमजोर हुने भएकाले काँग्रेसलाई बलियो बनाउने दायित्व सबै नेपालीको भएको बताउँदै प्रजातन्त्रमा विश्वास राख्ने पार्टी नेपाली काँग्रेसमा लागेर देशको सेव ा गर्न सबै नेपालीलाई आग्रह गरे ।

नोपली काँग्रेसले युवालाई अगाडि सार्ने नीति अनुसार पार्टी सभापति युवा नेता गगन थापालाइ बनायौ, भावि प्रधानमन्त्री पनि उहाँलाई नै बनाउने योजनाकासाथ नेपाली काँग्रेस अगाडि वढेको भनाइ उनको थियो । नेपाली काँग्रेस अब सुधारिएको छ, पार्टीको नेतृत्व पनि युवाको काँधमा गएकाले युवा मतदाताले पनि एक पटक काँग्रेसलाई विश्वास गर्न आवश्यक छ उनले भने ।

नेपाली काँग्रेस कास्की निर्वाचन क्षेत्र नं २ का तर्फबाट उम्मेदवार माधवप्रसाद बाँस्तोलाले नेपाली काँग्रेसले देशलाई कमजोर हुनबाट बचाउने भएकै कारण काँग्रेसलाई विश्वास गर्न आम मतदातासँग आग्रह गरे । युवालाई स्वदेशमा नै अवसरहरु सृजनागरी विदेशमा दिने सुविधा यही दिन सकिने भनाइ उनको छ ।

प्राकृतिक सम्पदाले भरिपूर्ण देश नेपालमा पर्यटन, कृषि तथा जलविद्युतको क्षेत्रमा छिट्टै फड्को मार्न सकिने भनाइ उनको छ । नेपालमा शिक्षा, स्वास्थ्य, उद्यमशीलता, पर्यटन, ऊर्जा, कृषि पूर्वाधारहरुलाई विकास गर्न जरुरी रहेको भनाइ उनको थियो । उउक्त कार्यक्रमको अध्यक्षता नेपाली काँग्रेस पोखरा महानगर वडा नं ९ का सभापति शिवराज बाँस्तोलाले गरेका थिए ।

सो अवसरमा काँग्रेस नेता मुना बास्तोला, सूर्यभक्त सिग्देल, महेश सिग्देल लगायतले आफ्नो भनाइ राखेका थिए । त्यसैगरी उम्मेदवार वास्तोलाले आजै पोखरा–९ को नयाँबजार, शान्तिवन र पोखरा–३३ को भरतपोखरीमा मतदातासँग सुझाव संकलन गर्दै मत माग्नुभएको थियो ।

पोखरा, २२ माघ ।

पोखरा–२७, तालचोकस्थित डायमण्ड सेकेन्डरी स्कूलमा “Read Today, Lead Tomorrow” भन्ने मूल नारासहित पठन महोत्सव २०८२ बाट सुरु हुने तीन दिने शैक्षिक, साहित्यिक तथा सांस्कृतिक कार्यक्रम विहीबारदेखि सुरु भएको छ। तीन दिनसम्म सञ्चालन हुने यस कार्यक्रममा पठन महोत्सव, डायमण्ड मेला (Food, Education & Fun) तथा ३८औँ वार्षिक उत्सव समेटिएको छ। विद्यार्थीमा रहेको अन्तरनिहीत क्षमता उजागर गर्ने उद्देश्यले विद्यालयले कार्यक्रम आयोजना गरेको हो।

पहिलो दिन पठन महोत्सव २०८२ औपचारिक उद्घाटन समारोहसहित सुरु गरिएको थियो, जहाँ राष्ट्रगान, विद्यालय प्रार्थना, ध्यान, १० मिनेटको सामूहिक “Read Aloud Session” आयोजना गरिएको थियो।

पहिलो दिनको प्रमुख आकर्षणका रूपमा प्रख्यात साहित्यकार डा. नवराज लम्सालको Book Talk Show तथा Panel Discussion सम्पन्न भयो भने शिव त्रिपाठीद्वारा कविता वाचन कार्यक्रमको विशेष आकर्षण बनेको थियो। यसै दिन कक्षा स्तरअनुसार पुस्तक समीक्षा, कविता वाचन, परियोजना प्रस्तुति, समाचार वाचन, भाषा खेल, समूह वाचन तथा अभिभावक अनुभव आदान–प्रदान जस्ता गतिविधिहरू विद्यालयका विभिन्न स्थानहरूमा Parallel Session मार्फत सञ्चालन गरिएका थिए।

विद्यालयका प्राचार्य यमबहादुर रोक्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुप्रसिद्ध आख्यानकार कपिलदेव लामिछाने, समालोचक तथा साहित्यिक स्रष्टा कृष्णशरण उपाध्याय, समकालीन छन्द कवि शिव त्रिपाठीलगायत वक्ताहरूले सिकाइको कुनै सीमा नहुने बताउँदै विद्यार्थीहरूका लागि वैज्ञानिक कार्यप्रणाली र बालमैत्री वातावरणमा ध्यान दिनुपर्ने सुझाव व्यक्त गरेका थिए ।

नर्सरीदेखि कक्षा ३ सम्मका विद्यार्थीहरूका लागि छुट्टै कार्यक्रम र कक्षा ४ देखि कक्षा १२ सम्मका विद्यार्थीहरूका लागि अर्को कार्यक्रम सञ्चालन गरिएको थियो । विशेष गरी विद्यार्थीहरूमा पढाइप्रति सकारात्मक वातावरण सृजना गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विद्यालयका निर्देशक माधवशरण उपाध्यायले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम सञ्चालन शिक्षक प्रदीप पोखरेल, कविता गुरुङ र हरियामा गुरुङले गरेका थिए ।

कार्यक्रम संयोजक अनुराधा शर्माले पढाइ महोत्सवका बारेमा जानकारी गराएको उक्त कार्यक्रममा व्यवस्थापक हरिप्रसाद लामिछाने र शैक्षिक प्रमुख इञ्जिनियर सञ्जीव थापालगायत वक्ताहरूले डायमण्डले शैक्षिक क्षेत्रमा पुर्‍याएको योगदानबारे चर्चा गरेका थिए ।

कार्यक्रमको दोस्रो दिन Food, Education & Fun लाई एकै ठाउँमा समेटिएको डायमण्ड मेला २०८२ आयोजना गरिनेछ, जसमा ब्यान्ड प्रस्तुति, शैक्षिक स्टल, विद्यार्थीहरूको सिर्जनात्मक सामग्री र ठूलो मेला मुख्य आकर्षण रहनेछन्। त्यस्तै तेस्रो दिन ३८औँ वार्षिक उत्सव अन्तर्गत विद्यार्थीहरूको सांस्कृतिक कार्यक्रम, नाटक, नृत्य, गायन तथा विशेष प्रस्तुति आयोजना गरिनेछ। विद्यालय प्रशासनका अनुसार विद्यार्थीलाई कक्षाकोठामा मात्र सीमित नराखी उनीहरूमा रहेको आत्मविश्वास, सिर्जनशीलता र नेतृत्व क्षमता विकास गर्न यस्ता कार्यक्रम आवश्यक छन्।

पोखरा, २२ माघ ।

नमस्ते ब्याण्डले ३७ औं वार्षिक उत्सव र नेपाल जापान मैत्री सम्बन्ध ७० वर्षको उपलक्ष्यमा १९ औं महाशिवरात्री विश्वसंगीत महोत्सव आयोजना गर्ने भएको छ ।

विगत ३६ वर्षदेखि नेपालमा मात्र नभएर विश्वमा नै एक अमिट छाप राख्न सफल भएको नमस्ते ब्याण्डले फागुन १ गते काठमाडौँमा, फागुन ३ गते आईतबार लेकसाईड पोखरामा र मार्च महिनामा जापानको टोकियोमा महाशिवरात्रीको छेको पारी सांगीतिक कार्यक्रम आयोजना गर्न लागेको संयोजक एवम् नमस्ते ब्याण्डका भोकलिस्ट ईश्वर गुरुङले जानकारी दिएका छन ।

नमस्ते ब्याण्डले महाशिवरात्री पर्वको अवसरमा आयोजना गर्ने विश्व संगीत महोत्सवको यो १९ औं संस्करण हो । फागुन ३ गते साँझ ६ बजेदेखि पोखराको लेकसाईडमा आतिसबाजी, शिवधुनी सहित नमस्ते ब्याण्डसँगै राजु लामा एण्ड मंगोलिएन हर्ट, राजेश पायल राई, दिप श्रेष्ठ लगायतको प्रस्तुति रहने उनले जानकारी गराए । नेपाल सहित अन्तराष्ट्रिय कलाकारको प्रस्तुतीले दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछ बताइएको छ ।

महाशिवरात्रीको अवसरमा ब्याण्डले निरन्तर कार्यक्रम विश्वसंगीत महोत्सव गर्दै आएको छ । नेपाल तथा जापानका विभिन्न ठाउँमा हुने सांगितिक महोत्सवमा दशर्कको व्यापक सहभागीता रहने अपेक्षा गुरुङको छ । ५० को दशकमा पोखराका पप ब्याण्डको सक्रियता र चर्चाका कारण नेपाली सांगीतिक क्षेत्रमा महत्वपूर्ण उपस्थिति रहेको स्मरण गर्दै पुनः पोखराको सांगीतिक क्षेत्र पुरानै अवस्थामा फर्कन सक्ने आशा थपिएको उनले बताए ।

महोत्सव अवलोकनका लागि एक सय र दुई सयको टिकट राखिएको छ । महोत्सवले पोखराको सांस्कृतिक उचाईलाई थप मजबुत बनाउने आशा गरिएको छ । पोखराको नै ब्याण्ड भएकाले उक्त महोत्सवलाई सफल पार्न पोखरेलीको साथ रहनेमा आयोजक आशावादी देखिन्छ ।

चलचित्र पत्रकार संघ नेपाल कास्कीका अध्यक्ष सन्तोष बस्यालको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सञ्चालन चलचित्र पत्रकार संघ नेपाल कास्कीका सचिव सुरेश सुनारले गरेका थिए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।