२०८३ जेष्ठ ४ सोमबार
२०८३ जेष्ठ ४ सोमबार

काठमाडौं, २० माघ ।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण बनाउन एकीकृत सुरक्षा योजना २०८२ अनुरूप बुधबारदेखि नेपाली सेनाकाे संयोजनमा चारवटै सुरक्षा निकाय परिचालित हुँदैछन्। निर्वाचनको समयमा शान्ति सुरक्षालाई सुदृढ तुल्याउन सरकार यसअघि नै प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको हाे ।

निर्वाचन आउन एक महिना बाँकी रहँदा सुरक्षा प्रबन्धलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउने योजनाअनुरूप आगामी फागुन २१ गते हुने निर्वाचनलाई मध्यनजर गरी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभाग एकीकृतरूमपा परिचालित हुन लागेका हुन्।

एकीकृत सुरक्षा योजनाबमोजिम निर्वाचन प्रयोजनका लागि भर्ना गरिएका ‘निर्वाचन प्रहरी’ पनि निर्वाचन सुरक्षामा खटिइनेछन्। नेपाल प्रहरी र निर्वाचन प्रहरीले मतदानस्थलको भित्री घेराको सुरक्षा गर्नेछन्। दोस्रो तहको सुरक्षा घेराको जिम्मेवारी सशस्त्र प्रहरी बलले लिनेछ। सो बलले नेपाली सेना र नेपाल प्रहरीसँग समन्वय गर्नेछ।

नेपाली सेनाले भने सुरक्षा घेराको बाहिरी तहमा रही सुरक्षाको महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्ने छ। निर्वाचन प्रयोजनका लागि नेपाली सेना १६५ वटै निर्वाचन क्षेत्रमा बुधबारदेखि परिचालित हुने सेनाले जनाएको छ। सेनाले निर्वाचनका लागि ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ। सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले निर्वाचनका सन्दर्भमा एकीकृत सुरक्षा योजना २०८२ अनुमोदन भई राष्ट्रपतिबाट स्वीकृत भइसकेकाले सोहीअनुसार फौज परिचालन हुने जानकारी दिए।

निर्वाचन आयोगले यही माघ ४ गतेदेखि निर्वाचन आचारसंहिता लागू गरेको छ। यसपटकका निर्वाचनका लागि ९२ लाख ४० हजार १३१ महिला, ९६ लाख ६३ हजार ३५८ पुरुष र २०० अन्य गरी कूल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता कायम रहेका छन्।

निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको छ। त्यस्तै नेपाल प्रहरीका तर्फबाट निर्वाचनमा ७७ हजार जनशक्ति परिचालित हुनेछन्। एक लाख ३३ हजार ‘निर्वाचन प्रहरी’ भर्ना गरिएको छ। निर्वाचन क्षेत्रलाई अतिसंवेदनशील, संवेदनशील र सामान्यरूपमा वर्गीकरण गरी सोही अनुसार सुरक्षा प्रबन्ध मिलाइएको छ। दुई हजार आठ सय ४५ वटा मतदानस्थललाई सामान्य, चार हजार ४४२ मतदानस्थललाई संवेदशील र तीन हजार ६८० वटा मतदानस्थललाई अति संवेदनशील मतदानस्थलका रूपमा हेरिएको छ। निर्वाचनमा सशस्त्र प्रहरीतर्फ ३४ हजार ५७६ जना र १५ हजार ११० ‘निर्वाचन प्रहरी’ गरी कूल ४९ हजार ६८६ जना परिचालित हुन्छन्।

आसन्न निर्वाचनमा तीन हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

पोखरा, २० माघ ।

नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले स्थापना गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सामाजिक अभियान्ता सरिता गुरुङले आर्थिक सहयोग गरेकी छन् । सामाजिक क्षेत्रमा सक्रिय गुरुङले कोषमा नगद १५ हजार रुपैयाँ सहयोग गरेकी हुन् ।पोखरामा मंगलबार एक कार्यक्रमका बीच अभियान्ता गुरुङले नेपाल फोटो पत्रकार संघ, कास्कीका अध्यक्ष राम गुरुङलाई उक्त रकम हस्तान्तरण गरिन् ।

सहयोग हस्तान्तरण पछि अभियान्ता गुरुङले समाजका हरेक गतिविधिलाई तस्बिरको माध्यमबाट जनमानसमा पु¥याउने फोटो पत्रकारहरूको वृत्तिविकासका लागि सानो भए पनि सहयोग गर्न पाउँदा खुसी लागेको बताइन् । उनले भनिन्, ‘जोखिम मोलेर कार्यक्षेत्रमा खटिने फोटो पत्रकारहरूका लागि स्थापित यो कोषले भोलिका दिनमा अप्ठ्यारो पर्दा सारथि बन्ने विश्वास लिएकी छु ।’ कास्कीको अन्नपूर्ण गाउँपालिका ३ पाउदुरकी गुरुङ रोजगारीको सिलसिलामा अहिले अमेरिका बस्छिन् ।

सहयोग ग्रहण पछिएपिजेए कास्की अध्यक्ष राम गुरुङले अभियान्ता गुरुङलाई धन्यवाद ज्ञापन गरे । उनले विभिन्न दाताहरूबाट प्राप्त सहयोगले अक्षयकोषको लक्ष्य पूरा गर्न मद्दत पुग्ने बताउँदै कोषको रकम फोटो पत्रकारहरुको वृत्तिविकासमा खर्च गरिने जानकारी दिए । कोषमा विभिन्न क्षेत्रका समाजसेवी, बुद्धिजीवी र संघसंस्थाहरूबाट सहयोग जुट्ने क्रम जारी छ । यस कोषमा यसभन्दा अघि सल्लाहकार रमेश पौडेलले ५ हजार, अध्यक्ष राम गुरुङले १० हजार, सदस्य सञ्जय शाक्यले १० हजार रुपैयाँ सहयोग गरिसकेका छन् ।

यसैबिच, अभियान्ता गुरुङले सोही कार्यक्रममा सहारा क्लब पोखरालाई पनि १० हजार रुपैयाँ सहयोग गरेकी छिन् । क्लबले सञ्चालन गर्ने आहारारा पोखरा गोल्डकपको २५ वर्ष अर्थात रजत वर्षलाई विशेष बनाउनका लागि उक्त सहयोग गरेकी हुन् ।

उक्त रकम अभियान्ता गुरुङले सहारा क्लबका अध्यक्ष केशवबहादुर थापालाई हस्तान्तरण गरेकी हुन् ।

पोखरा, २० माघ ।

प्रतिनिधि सभाको निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की क्षेत्र नम्बर १ का उम्मेदवार गनेस पौडेलले स्थानिय नागरिकसँग प्रत्यक्ष भेटघाट तथा सुझाव संकलन अभियानलाई मंगलबार पनि निरन्तरता दिएका छन्। “स्थानियसँग संवाद यात्रा” अन्तर्गत मंगलबार पोखरा महानगरपालिका भित्र विभिन्न टोल–बस्तीमा कार्यक्रम सम्पन्न भएको छ भने बुधबार रुपा गाउँपालिकाका विभिन्न स्थानमा भेटघाट कार्यक्रम तय गरिएको छ।

निर्धारित कार्यतालिका अनुसार मंगलबार बिहान वडा नम्बर १४ को विजय बस्तीमा स्थानियसँग संवाद गरिएको छ । त्यसपछि वडा नम्बर २८ अन्तर्गत माझठाना, सौर्य, रैकर, स्याङखुदी र खरानेफाँट क्षेत्रमा दिउँसोदेखि साँझसम्म संवाद यात्रा तथा छलफल कार्यक्रम सञ्चालन गरिएको कास्की क्षेत्र नम्बर १ का चुनावी कमाण्डर श्रीकृष्ण न्यौपानेले जानकारी दिए । संवादका क्रममा स्थानियले राजनीतिक अस्थिरताले आजित बनेको गुनासो गरे । उनीहरुले नयाँ दल पुराना जस्तो नहुने प्रतिवद्धता जनाए मत जाहेर गर्ने विश्वास दिलाएको रास्वपा कास्की १ का क्षेत्रिय संयोजक श्रवण जम्मरकट्टेलले बताए ।

रास्वपा कास्की क्षेत्र नम्बर १ का उम्मेदवार गनेस पौडेलले जनतासँगको प्रत्यक्ष संवादले आफुलाई थप उर्जा थपेको बताए । उनले स्थानिय मुद्दालाई मिहिन ढंगले केलाएर केन्द्रमा नीति निर्माणमा समेट्ने, योजना निर्माण, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे।

रास्वपाको क्षेत्रीय समिति अनुसार बुधबार रुपा गाउँपालिकामा संवाद यात्रा सञ्चालन हुनेछ। बिहान ८ बजे खोलाको छेउ, १० बजे तालबेसी, दिउँसो १२ बजे काउरे, २ बजे हंसपुर र साँझ ४ बजे हाँस पोखरी क्षेत्रमा स्थानियसँग भेटघाट तथा सुझाव संकलन कार्यक्रम तय गरिएको छ।

पोखरा, २० माघ ।

पोखरा महानगरपालिका वडा नं १७ दोविल्लाका वासिन्दाकाले सेती र फुस्रेखोलाको कटान नियन्त्रण गर्न उम्मेदवारसंग प्रतिवद्धता मागेका छन् । बर्षेनी कटान भईरहदा यस क्षेत्रको वस्तीनै जोखिममा परेको भन्दै उनीहरुले समस्याको दिर्घकालीन समाधान हुनु पर्नेमा जोड दिएका हुन ।

चुनावीअभियानका क्रममा उक्त क्षेत्रमा पुगेका नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्यका उमेदवार रश्मी आचार्यसंग उनीहरुले समस्याको समाधान हुने प्रतिवद्धता खोजेका हुन । सेतीनदी र फुस्रेखोलाको निरन्तर कटानका कारण वस्ती उच्च जोखिममा परेको भन्दै उनीहरुले चुनावी प्रतिवद्धतामै वस्ती संरक्षणलाई प्राथमिकतामा राख्न माग रहेको स्थानीय वासिन्दा भगवती पौडेलले बताईन ।

उनका अनुसार पोखरा १७ र १५ को विचभागमा रहेको सेतीनदी र २१ को सिमानमा रहेको फुस्रेखोलाको संगम स्थाल दोविल्ला वस्तीमा हरेक बर्ष मनसुनका वेला कटान तीब्र हुँदै गएको छ । निरन्तरको बर्षाका कारण वस्तीमात्र होईन, मुख्य सडकसमेत खस्ने अवस्थामा आएको बताउँदै उनले भनिन ‘याे केहीबर्षअघि खोला छेउमापर्खाल निर्माणको काम शुरु गरिए पनि हालसम्म सम्पन्न हुन सकेको छैन ।’

अर्का स्थानीय गौतम गिरीले उक्त क्षेत्रमा४४ घर परिवार वसोवास गर्दै आएका छन् । कटानको जोखिम बढ्दै गएपछि केही परिवार विस्थापित हुन वाध्य भएको बताउँदै वस्ती संरक्षणका लागि नदी र खोला किनारामा तटबन्ध, पर्खाल निर्माण र जोखिम न्यूनीकरणका अन्य उपाय तत्काल लागू गर्नुपर्नेमा ध्यानाकर्षण गराए ।

स्थानीय तह, प्रदेश तथा संघीय सरकारको ध्यानाकर्षण गराउँदै दोविल्लावासीले दीर्घकालीन समाधान नभए सिंङ्गो वस्ती नै विस्थापित हुने खतरा रहेको छ भने पोखरा १७ र २१ जेड्ने दोविल्ला स्थित फुस्रेखोला माथिको पक्किपुल समेत जोखिममा परेकोमा चिन्ता व्यक्त गरेकाथिए ।

स्थानीयको भेलामा उम्मेवादर आचार्यले नदी र खोलाको कटानको कारण उच्च जोखिममा रहेको दोविल्ला क्षेत्रको संरक्षणका साथै आवश्यक पूर्वाधार निर्माणमा आफु प्रतिवद्ध भएर लाग्ने विश्वास व्यक्त गरे । जनभावनाको उच्चकदर गर्दै विकास निर्माणमा जुट्ने विश्वास व्यक्तगर्दै उनले पार्टीको प्रतिवद्धता प्रकाशनका लागि सुझाव संकलन गर्न टोलटोलका मदाता समक्ष पुगेको बताए ।

विभिन्न दलका उम्मेदवारसंग पनि स्थानीयको कटान नियन्त्तणको प्रयासका लागि अग्रसरता लिन आग्रहगर्दै आएको स्थानीय नवयुवा राजु गिरीले जानकारी दिए । उनले भने ‘फुस्रेखोलाको संगमस्थलका रुपमा रहेको दोविल्ला क्षेत्रको दुवै नदीको कटानको कारण सो क्षेत्रमा सहारा क्वलद्धारा सञ्चालित सहारा एकेडेमिलगायतका विभिन्न संघसंस्था सहित ठूलो बस्ति उच्च जोखिममा परेको छ ।’

एजेन्सी, २० माघ  । 

दक्षिण–पश्चिमी प्रान्त बलुचिस्तानमा पाकिस्तानी सुरक्षा बलले समन्वयात्मक आतंककारी हमलाहरूलाई विफल पार्ने क्रममा ४० घण्टाको अन्तरालमा १ सय ४५ आतंककारीसहित १ सय ९३ जनाकाे मृत्यु भएकाे छ।

मुख्यमन्त्री सर्फराज बुग्टीले १ सय ४५ आतंककारी, १७ सुरक्षाकर्मी र प्रहरी ३१ जना सर्वसाधारणको मृत्यु भएको बलुचिस्तानका मुख्यमन्त्री सर्फराज बुग्टीले जानकारी गराउनुभएकाे हाे । क्वेटामा आयोजित पत्रकार सम्मेलनमा बाेल्दै उहाँले प्रान्तका विभिन्न स्थानमा भएका प्रतिआतंकवाद अभियान र लडाकुहरूको आक्रमणका क्रममा उनीहरुको मृत्यु भएको बताउनुभयो ।

मुख्यमन्त्री बुग्टीले प्रतिवन्धित बलुचिस्तान लिबरेसन आर्मीले गत शनिबार प्रान्तभरि धेरै आक्रमणहरू गरेको र त्यसको जवाफमा सुरक्षा बलले तत्काल र निर्णायक कारबाही गरेको जानकारी गराउनुभएकाे छ । उहाँले यसलाई पाकिस्तानको आतंकवाद विरुद्धको जारी युद्धमा यति छोटो अवधिमा रेकर्ड गरिएको लडाकुहरूको सबै भन्दा ठूलो हताहती संख्या भएको बताउनुभयो ।

यसैबीच, रक्षा मन्त्री ख्वाजा आसिफले आक्रमणपछि बलुचिस्तानभरि शान्ति बहाल भएको र सुरक्षा बलहरूले बाँकी रहेका खतराहरूलाई हटाउन खोजतलास अभियान सञ्चालन गरिरहेको बताउनुभएको छ ।

काठमाण्डौँ, २० माघ ।

सरकारले ‘सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१’ फिर्ता लिने निर्णय गरेको छ।

मन्त्रिपरिषद् बैठकले उक्त विधेयक फिर्ता लिने प्रस्तावलाई औपचारिक स्वीकृति दिएको हो।

सरकारका प्रवक्ता एव‌ गृहमन्त्री ओमप्रकाश अर्यालले बैठकका निर्णयबारे जानकारी दिँदै उक्त विधेयकलाई थप परिमार्जन र आवश्यक गृहकार्यका लागि फिर्ता लिने निर्णय भएको बताए।

यसैगरी, बैठकले सिंहदरबार परिसरको गुरुयोजना संशोधन गर्ने निर्णय समेत गरेको छ।

जापान, १९ माघ ।

राष्ट्रपति रामचन्द्र पौडेलले उत्पादन, जलविद्युत, पर्यटन, सेवा, सूचना प्रविधि, खानी र कृषिजस्ता नेपालको प्राथमिकताका क्षेत्रहरूमा लगानी गर्न धेरै भन्दा धेरै जापानी लगानीकर्ताहरूलाई आग्रह गर्नुभएको छ ।

नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वार्षिकोत्सव मनाउन आज यहाँ आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले सो आग्रह गर्नुभएको हो । राष्ट्रपति पौडेलले राजनीतिक मुद्दाहरूलाई निष्कर्षमा पु¥याएपश्चात्, नेपालको प्राथमिकता अब नेपाली जनताको द्रुत सामाजिक–आर्थिक विकास, प्रगति र समृद्धि हासिल गर्नुमा केन्द्रित रहेको छ भन्नुभयो ।

“नेपाल सरकारले व्यापार सहज बनाउन, विदेशी लगानी आकर्षित गर्न र नवप्रवर्तनलाई प्रवद्र्धन गर्न व्यापक कानुनी, प्रक्रियागत र संस्थागत सुधारहरू गरिसकेको छ, हामी उत्पादन, जलविद्युत, पर्यटन, सेवा, सूचना प्रविधि, खानी र कृषिजस्ता नेपालको प्राथमिकताका क्षेत्रहरूमा लगानी गर्न धेरै भन्दा धेरै जापानी लगानीकर्ताहरूलाई आमन्त्रण गर्न चाहन्छौं”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

उहाँले आजको यो कार्यक्रमले हाम्रो सम्बन्धलाई नयाँस्तरमा पु¥याउन र आगामी वर्षहरूमा गहिरो र फलदायी द्विपक्षीय सहकार्यको लागि मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।

हाम्रो द्विपक्षीय सम्बन्धले राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्र मात्रै होइन जनता–जनताबीचको सम्पर्कलाई समेत समेटेको र यो क्रम विभिन्न समयमा हुने उच्चस्तरीय भ्रमणहरूको आदानप्रदान एवम् बढ्दो सहयोगमार्फत् थप सुदृढ हुँदै गएको उहाँको भनाई थियो ।

“नेपाल र जापानबीच विशेष गरी भगवान बुद्धको शिक्षामा आधारित संस्कृति, धर्म, मूल्यमान्यता र जीवनपद्धतिमा समानता छ, बुद्धको जन्मस्थल लुम्बिनीले नेपाल र जापानका जनताबीचको सम्बन्धलाई सुमधुर बनाउन बलियो पुलको काम गर्दछ, विश्व शान्तिको मुहानको रूपमा लुम्बिनीको विकासमा जापानको निरन्तर सहयोगप्रति हामी आभारी छौं”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

उहाँले विकास सहायता, व्यापार, लगानी, पर्यटन र अन्य विभिन्न क्षेत्रमा जापान नेपालको एक प्रमुख साझेदार रहिआएको बताउनुभयो । यस वर्षको अन्त्यसम्ममा नेपाल अति कम विकसित देशको तहबाट स्तरोन्नति हुने तथा २०३० सम्ममा मध्यम आय भएको देश बन्नु अर्को महत्वपूर्ण उपलब्धी हुने प्रसङ्ग उहाँले उल्लेख गर्नुभयो । “त्यसैले, हामी राष्ट्रिय प्राथमिकताका क्षेत्रहरूमा थप विदेशी लगानी आकर्षित गर्ने, नेपालको व्यापार बढाउने, अन्तर–आवद्धता विविधीकरण गर्ने, पर्यटन प्रवद्र्धन गर्ने र उच्चस्तरीय प्रविधि प्राप्त गर्ने कुरामा ध्यान केन्द्रित गरिरहेका छौं”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

नेपाल जापानीहरूको मनपर्ने पर्यटकीय गन्तव्य रहेकोमा उहाँले प्रसन्नता व्यक्त गर्नुभयो । “साहसिक पर्यटन, समृद्ध प्राकृतिक तथा सांस्कृतिक विविधताबाट मोहित भएर धेरै जापानीले हाम्रो देशको भ्रमण गरिरहेका छन्, नेपाल दुई देशबीच पर्यटन क्षेत्रको सहयोग विस्तार गर्न चाहन्छ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

जापान नेपाली युवा र विद्यार्थीहरूको रोजाइँमा परेको र यहाँका नेपाली नागरिकको सुरक्षा सुनिश्चितता गरेकोमा जापानप्रति उहाँले आभार व्यक्त गर्नुभयो ।

“हाम्रा दुई मुलुकले सौहार्दपूर्ण मित्रताको धेरै लामो इतिहास आत्मसात गरेका छौं, सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखिनै नेपाल र जापानबीच पारस्परिक सम्मान, विश्वास, समझदारी र सहयोगमा आधारित सुमधुर तथा मैत्रीपूर्ण सम्बन्ध रहिआएको छ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

सो अवसरमा जापानका परराष्ट्र राज्यमन्त्री होरी इवाओले यसप्रकारको भ्रमणले दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउँनुभयो ।

काठमाडौं, १९माघ ।

निर्वाचन आयोगले समानुपातिकतर्फको बन्दसूचीबाट ७६ जना उम्मेदवारको नाम हटाएको छ । उम्मेदवारविरुद्ध परेका उजुरी, योग्यता नपुगेको अवस्था र राजनीतिक दलबाट प्राप्त विवरणका आधारमा नाम हटाइएको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका २१ जनासहित विभिन्न कारणले ७६ उम्मेदवारको नाम बन्दसूचीबाट हटाइएको हो । हटाइएकामध्ये प्रदेशसभा बन्दसूचीमा नाम कायम भएका २५ जना छन् भने आयोगको जरिवाना भुक्तान नगरेका १० जनाको नाम पनि हटाइएको छ ।

यस्तै, २५ वर्ष उमेर नपुगेका ४, मतदाता नामावलीमा समावेश नभएका १, मतदाता नामावली पिछडिएको क्षेत्रमा नरहेका २, महिलाको कोटामा पुरुष उम्मेदवार पेश गरिएको १, राजनीतिक दलको अनुरोधमा हटाइएका १० तथा अन्य कारणबाट २ जनाको नाम सूचीबाट हटाइएको प्रवक्ता भट्टराईले जानकारी दिए ।

यससम्बन्धी विस्तृत विवरण निर्वाचन आयोगको आधिकारिक वेबसाइटमा सार्वजनिक गरिएको पनि आयोगले जनाएको छ ।

एजेन्सी,१९माघ । 

रुसले पूर्वी युक्रेनमा गरेको ड्रोन आक्रमणमा परी १५ जना मजदुरको ज्यान गएको छ।

युक्रेनको सबै भन्दा ठूलो निजी ऊर्जा कम्पनी डीटीईके र आपतकालीन सेवाले आइतबार ड्निप्रोपेट्रोभ्स्क क्षेत्रमा काम सकेर फर्किएका मजदुर चढेको बसलाई लक्षित गरी आक्रमणमा भएको जनाएका हुन् । सोही आक्रमणमा अन्य ७ जना घाइते भएका छन्। शुरुमा मृतकको सङ्ख्यामा केही अन्योल देखिए पनि सरकारी निकायले १५ जनाकै मृत्यु भएको पुष्टि गरेको छ। आइतबारै भएका अन्य फरक(फरक आक्रमणमा थप दुई जनाको पनि मृत्यु भएको हो । दर्जनौँ मानिस घाइते भएका छन्।

अस्पताल र सर्वसाधारण निशानामा रुसी फौजले झापोरिझियास्थित एक प्रसूति अस्पताललाई समेत निशाना बनाएको छ। प्रसूति अस्पताल नम्बर ३ मा भएको उक्त ड्रोन हमलामा ६ जना घाइते भएका छन्। घाइते हुनेमा बच्चा जन्माइरहेका दुई सुत्केरी महिला समेत छन्। सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरूमा अस्पतालका झ्यालका सिसा फुटेका, कोठाहरूमा भग्नावशेष थुप्रिएको र अग्नीनियन्त्रकहरूले बिरामीलाई उद्धार गरिरहेको दृश्य देखिन्छ।

पोखरा, १९ माघ ।

पोखरामा जारी दक्षिण एशियाली खेलकुद महासंघ (साफ) यु–१९ महिला च्याम्पियनसिप अन्तरगत आज भएको खेलमा भुटान नेपालसङ २-१ ले पराजित भएको छ । पोखरा रङ्गशालास्थित फुटबल मैदानमा भएको खेलमा नेपालले भुटानलाई २-१ ले पराजित गरेको हो ।

नेपालको जितमा सृजना बडुवाल र प्रजिता राईले एक- एक गोल गरे । खेलको ३६औं मिनेटमा सृजना बडुवालले  पहिलो गोल गर्दै अग्रता दिलाइन । त्यस्तै खेलको ६९औं मिनेटमा  प्रजिता राईले गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन ।

खेलको ८७औं मिनेटमा भुटानको तर्फबाट सोनम चोडेले गोल गर्दै २-१ ले अग्रता घटाइन । भने खेल अवधिभर निकै दवाबमा राखेको नेपालले धेरै अवसरहरु गुमाएको थियो ।

च्याम्पियनसिपमा नेपालले आफ्नो पहिलो खेलमा भारतसङ १ गोलअन्तरले पराजित भएको थियो ।

यसअघि आजै भएको पहिलो खेलमा भातर बङ्गलादेश सङ २ गोलअन्तरले पराजित भएको थियो । भने  च्याम्पियनसिपमा बङ्गलादेशले अपराजित यात्रा कायम गरेको छ । २ खेल खेलेको बङ्गलादेशले यसअघि भएको खेलमा भुटानलाई १२ गोल अन्तरले फराकिलो जित निकालेको थियो ।

सिंगल राउन्डरोविनका आधारमा हुने च्याम्पियनसिपमा शीर्ष दुईमा रहने टोलीले फाइनलमा खेल्नेछन् । माघ २४ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपाल, इण्डिया, बंगलादेश र भुटानको सहभागिता रहेको छ ।

प्रतियोगितालाई दर्शकहरुको सहजताका लागि सामान्य प्यारापिटतर्फ रु दुई सय र भिआइपीतर्फ रु पाँच सयको टिकटको व्यवस्था गरिएको एन्फाले जनाएको छ ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) को समन्वय तथा अखिल नेपाल फुटबल महासंघ (एन्फा) को आयोजनामा च्याम्पियनसिप पहिलाे पटक माघ १७ गतेदेखि पाेखरामा सुरु भएकाे प्रतियोगिता सम्पन्न गर्न करिव रु दुई करोड ४५ लाख १५ हजार २९० खर्च लाग्ने बताइएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।