२०८३ जेष्ठ ३ आईतवार
२०८३ जेष्ठ ३ आईतवार

पोखरा, ०४ वैशाख ।

पाँचौँ मनुश्री–भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता शनिबारदेखि पोखरामा सुरु हुने भएको छ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी आयोजक कास्की जिल्ला टेनिस संघले पत्रकार सम्मेलनमार्फत दिएको हो ।

प्रतियोगितामा यू–८, यू–९, यू–१०, यू–१२, यू–१४, यू–१६ र यू–१८ उमेर समूहका ब्वाइज तथा गर्ल्सतर्फ सिंगल्स र डबल्स गरी कुल १६ इभेन्टमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता संयोजक लोकबहादुर गुरुङका अनुसार प्रतियोगितामा कास्कीका १५ जना खेलाडी सहित करिब ९० खेलाडीको सहभागिता रहनेछ । प्रतियोगिताको तयारी पुरा भएसँगै स्थानिय खेलाडीहरुले यो प्रतियोगितालाई अवसरको रुपमा लिएको बताउँदै यहाँबाट उत्पादित खेलाडीहरुको उत्साहजनक सहभागिता रहेको उनले जनाए ।

प्रतियोगिता सम्पन्न गर्न करिब ३ लाख रुपैयाँ खर्च लाग्ने संघका कोषाध्यक्ष विष्णुबहादुर थापाले जानकारी दिए । उनका अनुसार पोखरामा खेल पर्यटन प्रवर्द्धनका लागि पनि प्रतियोगिता महत्वपूर्ण हुनेछ । विजेता खेलाडीहरुलाई मेडल, प्रमाणपत्र तथा गिफ्ट ह्याम्पर प्रदान गरिनेछ । साथै, प्रतियोगिताले खेलाडीहरुको जुनियर वरियतामा सुधार ल्याउन समेत सहयोग पुग्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताको मुख्य प्रायोजन कुमार मोहनबहादुर शाहीले गरेका छन् । उनले आफ्ना नाति–नातिनीको नाममा यस प्रतियोगितालाई विगत पाँच वर्ष देखि प्रायोजन गर्दै आएका संघका सचिव भिष्मराज पौडेलले जानकारी दिए ।

प्रतियोगितामा पोखरासहित काठमाडौं, चितवन र बुटवलका खेलाडीहरुको सहभागिता रहने संघका कार्यवाहक अध्यक्ष नविन चालिसेले बताए । यस प्रतियोगिताले नयाँ तथा प्रतिभाशाली खेलाडीहरुको प्रतिभा प्रस्फुटनमा महत्वपूर्ण योगदान पुर्‍याउने उनको भनाई थियो ।

पोखरा, ०४ वैशाख ।

पोखरा ८ सिमलचौर स्थित जनप्रिय माध्यमिक विद्यालयमा गठन भएको विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको पदस्थापना भएको छ । विद्यालयको चौतर्फी हित गर्न गठित समितिका सदस्यलाई पदस्थापना गरिएको विद्यालयका प्रअ देवीप्रसाद वस्ताकोटीले जानकारी दिए । निवर्तमान बनेका अध्यक्ष परशुराम बरालले नवनिर्वाचित अध्यक्ष ईश्वरप्रसाद सुवेदीलाई पदस्थापना गराउँदै माइनुट समेत हस्तान्तरण गरेका थिए ।

व्यवस्थापन समितिमा सरस्वती शाही पोख्रेल, टंकप्रसाद सुवेदी र देवीप्रसाद त्रिपाठी, शुष्मा खनाल सिग्देल र वसन्तप्रसाद सिग्देल रहेका छन् । विद्यालयको सभाहलमा भएको कार्यक्रममा नवनिर्वाचित शिक्षक अभिभावक संघको अध्यक्ष केदार धमला तथा संघका सदस्यहरु कवितादेवी ढकाल रेग्मी, रिङ्कु जैसवाल, माया पाण्डे, पानमाया परियार, अनु सिंह, सुशिला श्रेष्ठ र सपना पराजुलीलाई पदस्थापन गरिएको विद्यालयका सहायक प्रअ ऋषिराम अधिकारीले जानकारी दिए ।

पदस्थापना समारोहमा पोखरा महानगर वडा नं ८ का वडाध्यक्ष रुद्रनाथ बरालले विद्यालयको प्रगति र उन्नतीको लागि निरन्तर सहयोग गर्न वडा तयार रहेको बताउँदै विद्यालयलाई करोडौं रुपैयाँ आवश्यक परे लगानी गर्न तयार रहेको बताए । शिक्षा नियमावली २०७४ को विभिन्न नियम तथा विनियम अनुरुप विद्यार्थीको हितमा विद्यालयले गर्नु पर्ने शैक्षिक गतिविधि अन्तर्गत विद्यालयलाई नमुना बनाउन विद्यालयका प्रअ देवीप्रसाद बस्ताकोटी आफू विद्यालय व्यवस्थापन समिति तथा संघको सदस्य सचिव भएको नाताले सवै कसरत गर्ने उल्लेख गरेका थिए ।

पदस्थापन कार्यक्रममा प्रअ वस्ताकोटीले कास्कीको मात्र नभई राष्ट्रलाई योगदान दिन सक्ने शैक्षिक एवं योग्य जनशक्ति उत्पादन गर्न विद्यालयले रचनात्मक शैक्षिक कार्यक्रम ल्याउन विव्यासले पूर्ण सहयोग गर्नेमा आफू विश्वस्त भएको बताए । विद्यालयका सहायक प्रअ ऋषिराम अधिकारीले सञ्चालन गरेको पदस्थापन कार्यक्रममा प्रतिवद्धता जनाउँदै नवर्निवाचित अध्यक्ष ईश्वर प्रसाद सुवेदीले विद्यालयलाई पूर्ण सहयोग रहने धारणा राखेका थिए । पदस्थापन कार्यक्रममा नवनिर्वाचित अध्यक्ष केदार धमलाले विद्यालय सधै पहिलो भन्ने मान्यता ग्रहण गर्न शिक्षक तथा कर्मचारीलाई अनुरोध गरेका थिए । शैक्षिक सत्र सुरुवातमा पुस्तक वितरण, भर्नां प्रक्रिया तथा अभिभावकको चाहनालाई ध्यान दिदै सरल र सहज ढंगको वातावरण सिर्जना गर्न धमलाले अनुरोध गरेका थिए ।

शिक्षक अभिभावक संघको पहिलो बैठक समेत बसेको छ । संघका अध्यक्ष केदार धमलाको अध्यक्षतामा बसेको बैठक सदस्य सचिव प्रअ देवीप्रसाद बस्ताकोटीले सञ्चालन गरेका थिए । वैठकमा विषयगत सुधार गर्ने, महानगरको निर्देशन अनुरुप कक्षा सुचारु गर्ने, शिक्षक तथा कर्मचारीबाट हुने लापर्वाहीलाई न्यूनीकरण गर्ने, अभिभावकको उपस्थिति तथा हेरचाहलाई कडाइ गर्ने, वडा नं ८ मा रहेका राम आधारभूत, जनप्रिय मावि र जनप्रिय क्याम्पसलाई एक आपसमा समन्वय गरेर शैक्षिक क्षेत्रमा नमुना वडा स्थापित गर्ने अभियानलाई अगाडि बढाउने निर्णय भएको शिक्षक अभिभावक संघका अध्यक्ष धमलाले जानकारी दिए ।

पोखरा, ०४ वैशाख ।

१० औं संस्करणको पोखरा स्पोर्टस अवार्डको टाईटल स्पोन्सर हिमश्री फुड्स प्रालिको रारा तयारी चाउचाले गर्ने भएको छ । आगामी वैशाख १८ गते पोखराको इभेन्ट सेन्टरमा आयोजना हुने १० औं पोखरा स्पोर्टस अवार्डको टाइटल स्पोन्सरका लागि हिमश्री फुड्स प्रालि र अवार्ड सञ्चालक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी बिच बिहीबार सम्झौता भएको छ ।

पोखरा स्पोर्टस अवार्डको तर्फबाट आयोजक नेपाल खेलकुद पत्रकार मञ्चका महासचिव परशुराम शर्मा र हिमश्री फुड्सका महाप्रवन्धक शिव गिरी बिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । हिमश्री फुड्सको तर्फबाट प्रवन्ध निर्देशक प्रकाश केसी र १० औं पोखरा स्पोर्टस अवार्डका संयोजक तथा नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष एमबी आस्था मगरको रोहबरमा उक्त सम्झौता सम्पन्न भएको हो ।

सो अवसरमा वोल्दै हिमश्री फुड्स प्रालिका प्रवन्ध निर्देशक प्रकाश केसीले विगतका संस्करणहरुमा समेत सहभागीता जनाउदै आएको हिमश्री फुड्सको उत्पादन रारा तयारी चाउचाउले १० औं संस्करणमा टाइटल स्पोन्सरमा रहेर सहकार्य गर्न पाउदा खुसी लागेको बताए । खेलकुद क्षेत्रमा लामो समयदेखि साथ र सहयोग गर्दै आइरहदा पोखरा स्पोर्टस अवार्ड विशुद्ध खेलाडीहरुमा समर्पित हुने भएकाले उक्त कार्यमा सहभागी हुनु आफैमा गर्वको कुरा रहेको केसीको भनाइ रहेको थियो ।

पोखरा स्पोर्टस अवार्डका संयोजक तथा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था मगरले हिमश्री फुड्स प्रालिले विगतका संस्करणहरुमा समेत साथ र सहयोग गर्दै आइरहदा १० औं संस्करणमा टाइटल स्पोन्सर गरी थप हौसला प्रदान गरेकोमा हिमश्री फुड्का निर्देशक प्रकाश केसी प्रति आभार प्रकट गरे । हिमश्री फुड्स द्धारा उत्पादित दक्षिण एशियामै नुडल्समा पहिलो रारा तयारी चाउचाउ नेपालमै निकै लोकप्रिय इन्स्टयान्ट नुडल्स मध्येको एक हो । अहिले रारा तयारी चाउचाउ संगै रारा हट एण्ड स्पाइसी चाउचाउ समेत उत्पादन गर्दै आइरहेको छ । हिमश्री फुड्सले स्थानीय स्वादलाई ध्यानमा राखेर खाद्य उत्पादन गर्दै आइरहेको हिमश्री फुड्स प्रालिका महा प्रवन्धक शिव गिरीले बताए ।

विभिन्न आठ विधामा अवार्ड प्रदान गरिदै छ । जसमा लाइफटाईम एचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलाडी पुरुष, वर्ष उत्कृष्ट महिला, वर्ष उदियमान खेलाडी, वर्ष उत्कृष्ट खेल संघ संस्था, पिपुल्स च्वाइस अवार्ड र वर्ष उत्कृष्ट खेल पत्रकार रहेका छन । पोखरा स्पोर्टस अवार्डमा पिपुुल्स च्वाइस अवार्डका लागि गुरुङ गहना घर प्रालिले स्कुटर प्रायोजन गरेको छ ।

अवार्डका लागि गण्डकी प्रदेश सरकार,प्रदेश खेलकुद परिषद् गण्डकी, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद काठमाण्डौ, केल्मी नेपाल, नेपाल खेलकुद पत्रकार मञ्च काठमाण्डौ, होटल क्राउन प्लाजा काठमाण्डौ, जिल्ला खेलकुद बिकास समिति कास्की, बुल्स मेन क्लबका संस्थापक इश्वर गुरुङ (हङकङ), रुपा गाउँपालिका, मादी गाउँपालिका, अन्नपूर्ण गाउँपालिका र माछापुच्छ«े गाउँपालिकाको विशेष सहयोग रहेको छ । त्यसैगरी सेगीहरुमा तमु धिँ युके, मञ्चका पूर्व अध्यक्ष प्रेम नारायण न्यौपाने, जापानबाट युवराज गुरुङ, निशान रानामगर, रमेश कुमार गुरुङ, पूर्व राष्ट्रिय खेलाडी बसन्त गौचन, किरण थापा अष्टे«ेलिया र राइनो हस्पिटालिटी एण्ड होटल म्यानेजमेन्ट प्रालि (राइनो क्याफे एण्ड शवार्मा स्टेशन) रहेका छन । अन्य सहयोगी संघ संस्थाको सहयोग आउने क्रम जारी रहेको छ ।

काठमाडौं ।

यौनिक अल्पसंख्यक समूदाय (तेस्रोलिंगी)का केही व्यक्तिहरुले प्रधानमन्त्री बालेन्द्र शाहको पुरानो र्यापमाथि आपत्ति जनाउँदै प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएका छन् ।उक्त र्यापमा प्रयोग गरिएका शब्दहरु महिलाविरोधि तथा यौनिक अल्पसंख्यक समूदायमाथि घृणा फैलाउने खालका भएको आरोप लगाइएको छ ।

यौनिक अल्पसंख्यक समूदायका वन राई (बाबु दुमी), विवेक मगर, मनिन्द्र सिंह दनुवार र रोजी पुनले आज उजुरी दिएका हुन् । उजुरी लिएर ब्यूरोले यसलाई प्रक्रियामा लैजाने मौखिक आश्वासन दिएको छ । उजुरी दर्ता हुन भने बाँकी छ ।१२ वर्षअघि युट्यूवमा अपलोड भएको बालेन र लिटल ग्रिजलको र्‍याप ब्याटलमाथि उनीहरुले आपत्ति जनाएका हुन् । यो भिडिओमा थुप्रै अश्लिल, स्त्रीद्वैषी र तेस्रोलिंगी समुदायलाई अपमानित गर्ने शब्दहरु छन् । हालै प्रधानमन्त्री बालेनलाई सामाजिक सञ्जालबाट अश्लिल गालीगलौज गरेको आरोपमा एकजना पक्राउ पर्दा यो र्याप ब्याटल चर्चामा आएको थियो ।

सङ्स नेपाल युट्यूव च्यानलबाट अपलोड भएको भिडिओलाई अहिलेसम्म एक करोड ५० लाखभन्दा बढी भ्यूज प्राप्त भएको छ । यो र्याप ब्याटलमा दिवंगत र्‍यापर यमबुद्ध पनि देखिएका छन् ।साइबर ब्यूरोमा दिइएको उजुरीमा र्याप ब्याटलमा प्रयोग भएका हिँजडा, छक्का जस्ता शब्दहरुले यौनिक अल्पसंख्यक समूदायको मानमर्दन भएको गुनासो गरिएको छ ।

यो भिडिओबाट भएको कमाई यस समुदायको सकारात्मक सन्देश सम्प्रेषण हुने काममा खर्च गर्न माग गरिएको छ । भिडिओ हटाउन र सार्वजनिकरुपमा माफी मागेर उचित क्षतिपूर्ति दिलाई भराउन पनि माग गरिएको छ ।

अर्थ मन्त्रालयले अन्तर–सरकारी वित्त परिषद् र विषयगत समितिको बैठकमार्फत संघ, प्रदेश र स्थानीय तहबीच वित्तीय समन्वयलाई थप प्रभावकारी र अनुशासित बनाउने गरी १६ बुँदे निर्णय गरेको छ । यी निर्णयले सङ्घीयताको मर्मअनुसार नागरिकले प्रत्यक्ष अनुभूति गर्ने सुशासन, वित्तीय पारदर्शिता र राजस्व चुहावट नियन्त्रणलाई प्राथमिकता दिएका छन् ।

अर्थ मन्त्रालयका प्रवक्ता टंक प्रसाद पाण्डेयका अनुसार बैठकले वित्तीय हस्तान्तरण, राजस्व व्यवस्थापन, बजेट कार्यान्वयन र कानुनी सुधारका क्षेत्रमा स्पष्ट नीतिगत निर्देशन दिएको छ ।

मुख्य बुँदाहरु ;

१. सङ्घीयताको मर्मअनुसार तीनै तहका सरकारले सेवा प्रवाह र सुशासनमा केन्द्रित रहने गरी अन्तर–सरकारी वित्त परिषद्को ११औँ बैठकका निर्णयहरूको तत्काल कार्यान्वयन गर्ने ।

२. अन्तर–सरकारी वित्तीय व्यवस्थापन ऐन २०७४ लगायत वित्तीय सङ्घीयतासम्बन्धी कानुन संशोधन र ‘बजेट अनुशासन सम्बन्धी कानुन’ को मस्यौदा तयार पार्ने प्रक्रिया अर्थ मन्त्रालयले तीव्र गतिमा अघि बढाउने ।
३. वित्तीय हस्तान्तरण प्रणालीमा सुधार गर्दै सङ्घीय बजेट वृद्धिको अनुपातमा वित्तीय समानीकरण अनुदान बढाउने र सशर्त अनुदानलाई क्रमशः घटाउने नीति लिने ।

४. राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसअनुसार विद्युत्, पर्वतारोहण, वन र खानी रोयल्टीमा स्थानीय तहको हिस्सा वृद्धि गर्न नयाँ सूत्र तत्काल कार्यान्वयनमा ल्याउने ।

५. राजस्व चुहावट नियन्त्रणका लागि तीनै तहबीच कडा समन्वय गर्ने । प्रत्येक तहले चालु आर्थिक वर्षभित्रै ‘राजस्व सङ्कलन तथा चुहावट नियन्त्रण सुधार कार्ययोजना’ तयार गरी कार्यान्वयन गर्ने ।

६. दोहोरोपना र साना टुक्रे योजनामा बजेट छरिने प्रवृत्तिको अन्त्य गर्न विकास आयोजनाको न्यूनतम थ्रेसहोल्ड निर्धारण गरी बजेट विनियोजन गर्ने । तीनै तहले ‘आयोजना बैंक’ को अवधारणा अनिवार्य कार्यान्वयन गर्ने र राष्ट्रिय योजना आयोगले तिनको एकीकरण गर्ने ।

७. एक स्थानीय तहमा उत्पादित वस्तु अर्को स्थानीय तह हुँदै ढुवानी गर्दा कुनै पनि प्रकारको कर, दस्तुर वा शुल्क नलगाउने । यसविपरीत शुल्क लगाइरहेका स्थानीय तहलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत तत्काल हटाउन निर्देशन दिने ।

८. चालु खर्चको आर्थिक दायित्व घटाउन तीनै तहले मितव्ययिता नीति कडाइका साथ पालना गर्ने । सङ्गठन संरचना, पुनर्संरचना र कर्मचारी दरबन्दीको पुनरावलोकन गरी प्रशासनिक दक्षता अभिवृद्धि गर्ने ।

९. प्रदेश र स्थानीय तहका स्थायी कर्मचारीको अवकाशपछिको भुक्तानी व्यवस्थापन गर्न ‘योगदानमा आधारित उपदान कोष’ मिति २०८३ साउन १ गतेदेखि अनिवार्य कार्यान्वयन गर्ने । बाँकी प्रदेश र स्थानीय तहलाई सम्बन्धित मन्त्रालयबाट परिपत्र जारी गर्ने ।

१०. बजेट ‘अवण्डा’ मा राख्ने प्रवृत्ति अन्त्य गर्न पुराना रुग्ण आयोजना खारेज वा फरफारक गर्ने । बजेट तर्जुमा गर्दा कार्यक्रम तथा आयोजनालाई क्रियाकलापगत रूपमा बाँडफाँट गर्ने ।

११. आर्थिक कारोबारमा पारदर्शिता कायम गर्न SuTRA, LMBIS र PLMBIS लाई एकीकृत गरी ‘रियल टाइम एकीकृत वित्तीय सूचना प्रणाली’ कार्यान्वयन गर्ने । राष्ट्रिय योजना आयोगले एकीकृत वित्तीय हस्तान्तरण सूचना प्रणाली विकास गर्ने ।

१२. तीनै तहले बेरुजु न्यूनीकरणमा जोड दिई वर्गीकृत विवरण तयार पार्ने र समयबद्ध कार्ययोजनासहित फछ्यौटलाई तीव्रता दिने ।

१३. कानुन तर्जुमा गर्दा संविधानको धारा २३२ (२) बमोजिम राष्ट्रिय नीति अनुरूप समन्वय गर्ने । संविधानको अनुसूची ५ मा रहेको सङ्घको एकल अधिकारसँग बाझिने कानुनका सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत आवश्यक कारबाही गर्ने ।

१४. पर्यटन प्रवद्र्धन र अन्तर–प्रादेशिक सहकार्यका लागि छिमेकी मुलुकका पर्यटक सवारीलाई भन्सार बिन्दुमा अस्थायी पैठारी शुल्क तिरेपछि प्रदेशबाट थप कर नलिई नेपालभर निर्वाध आवागमनको व्यवस्था मिलाउने ।

१५. प्रदेश तथा स्थानीय तहको बजेट कार्यान्वयन र सरकारी भौतिक संरचना निर्माणलाई तीव्रता दिन जग्गा प्राप्ति प्रक्रियाका कानुनी जटिलता र ढिलासुस्ती सम्बोधन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई अनुरोध गर्ने ।

१६. आन्तरिक राजस्व अभिवृद्धिका लागि वनजन्य तथा नदीजन्य स्रोतको दिगो उपयोगमा देखिएका कानुनी, नीतिगत र प्रक्रियागत अड्चन हटाउन प्रधानमन्त्री कार्यालय, सङ्घीय मामिला मन्त्रालय र वन मन्त्रालयलाई अनुरोध गर्ने । यी निर्णयले सङ्घीय शासन प्रणालीमा वित्तीय अनुशासन, पारदर्शिता र तीन तहबीचको समन्वयलाई मजबुत बनाउने अपेक्षा गरिएको छ ।

अर्थ मन्त्रालयले यी निर्णयको तत्काल कार्यान्वयन सुनिश्चित गर्न सम्बन्धित मन्त्रालय तथा निकायलाई निर्देशन दिइसकेको छ ।

काठमाडौं ।
लेबनानमा शुक्रबार बिहानबाट १० दिने युद्धविराम लागू भएको छ । योसँगै इजरायली सेना र लडाकू समूह हेजबुल्लाह बीचको लडाइँ रोकिएको छ । जसले अमेरिका र इरान बीचको शान्ति वार्ताको प्रमुख अवरोध पनि हटेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन् ।युद्धविराम लागू हुनुभन्दा केही घण्टा अघिसम्म पनि इजरायल र हिजबुल्लाहबीच आक्रमण जारी थियो ।

अमेरिकी विदेश मन्त्रालयले बिहीबार एक ज्ञापनपत्रमा युद्धविरामको रूपरेखा प्रस्तुत गर्दै भनेको छ कि इजरायलले “आत्मरक्षामा सबै आवश्यक उपायहरू लिने” आफ्नो अधिकार कायम राख्नेछ, तर जमिन, वायु वा समुद्रबाट लेबनानी लक्ष्यहरू विरुद्ध “आक्रामक कारबाही” गर्ने छैन ।

ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरूसँग इरानसँग अर्को प्रत्यक्ष वार्ता यसै सप्ताहन्तमा हुन सक्ने बताएका छन् ।

लेबनानी अधिकारीहरूका अनुसार हालको लडाइँमा लेबनानमा २१०० भन्दा बढी मानिस मारिएका छन् र दस लाखभन्दा बढी विस्थापित भएका छन्। इजरायली अधिकारीका अनुसार दुई नागरिकसहित कम्तीमा १३ इजरायली सैनिक पनि मारिएका छन् ।

कन्चनपुर।

कञ्चनपुरको बेलडाँडी गाउँपालिकाकी उपाध्यक्ष शान्ति नाथलाई प्रहरीले हत्या आरोपमा पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी हेमबहादुर शाहीका अनुसार नाथलाई बिहीबार महेन्द्रनगरबाट पक्राउ गरिएको हो ।
ज्यानसम्बन्धी मुद्दामा उहाँलाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा राखिएको छ । मुद्दा इलाका प्रहरी कार्यालय बेल्डाँडीबाट दर्ता भएको हो’, शाहीले भने ।

गत वर्ष वैशाख ९ गते कञ्चनपुरको बेलौरी नगरपालिका(१०, शिवनगरस्थित घटियाघाट रोड नजिकै मोटरसाइकलसहित जलेको अवस्थामा हरिकिसन रानाको शव भेटिएको थियो । उक्त घटना सडक छेउमै भएकाले दुर्घटना वा हत्या भन्ने विषयमा प्रहरीले सुरूदेखि नै अनुसन्धान गरिरहेको थियो ।

मृतक हरिकिसनकी पत्ती फिरियादेवीले उपाध्यक्ष नाथविरुद्ध योजनाबद्ध रूपमा धम्की दिएको, आर्थिक लेनदेनका लागि दबाब सिर्जना गरेको तथा ज्यान मार्ने षड्यन्त्र गरेको आरोप लगाउँदै किटानी जाहेरी दिएकी थिइन् ।

कृषि अनुदान दिलाउने बहानामा मृतकसँग ठूलो रकम असुल्ने प्रयास गरिएको र रकम नदिएपछि पटक(पटक ज्यान मार्ने धम्की दिइएको फिरियाको जाहेरीमा उल्लेख छ । सोही जाहेरीका आधारमा पक्राउ उपाध्यक्षलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

यसैबीच, नेपाल राना थारु समाजका केन्द्रीय अध्यक्ष कमल रानाको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र बुझाउँदै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेको छ।

उता, प्रहरी नियन्त्रणमा रहेकी उपाध्यक्ष शान्ति नाथको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगरमा भर्ना गरिएको छ।

पोखरा, २९ चैत्त ।

पोखरामा आइतबार सम्पन्न चौथो यू–२० राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपमा गण्डकीकी अनुष्का अधिकारी र बागमतीका अभिनाश सुनार सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।

ट्रयाकतर्फ गण्डकीकी अनुष्काले २ स्वर्ण, १ रजत र १ कांस्य पदक जित्दै सर्वाधिक पदक हात पारिन् । पुरुषतर्फ अभिनाशले हाईजम्पमा नयाँ कीर्तिमान कायम गर्दै सर्वोत्कृष्ट खेलाडीको उपाधि जिते । दुवैले जनही नगद रु ५–५ हजार पुरस्कार प्राप्त गरे ।

समग्र टिमतर्फ गण्डकी प्रदेश १० स्वर्ण, ५ रजत र ४ कांस्य पदकसहित च्याम्पियन बन्यो । बागमती प्रदेश ६ स्वर्ण, ६ रजत र १ कांस्य पदकका साथ दोस्रो तथा सुदूरपश्चिम प्रदेश ४ स्वर्ण, ५ रजत र २ कांस्य पदकसहित तेस्रो स्थानमा रहेको प्रतियोगिताका संयोजक गजबहादुर गुरुङले उक्त जानकारी दिएका हुन् ।

लङ जम्प पुरुषतर्फ सुदूरपश्चिमका विक्रम नाथले ६.५२ मिटर जम्प गर्दै स्वर्ण जिते । कोशीका आदित्य विश्वकर्मा ६.३९ मिटरका साथ रजत तथा बागमतीका विशाल गुरुङ ६.२२ मिटर जम्प गर्दै कांश्य पदक जिते ।

महिला लङ जम्पमा बागमतीकी अनिशा थारुले ५.०७ मिटर जम्प गर्दै स्वर्ण जितिन् । लुम्बिनीकी गरिमा चौधरी ४.६४ मिटरका साथ रजत र गण्डकीकी आकृति चौधरी ४.४२ मिटरका साथ कांश्य पदक जितिन् ।

यू–२० राष्ट्रि एथलेटिक्समा पहिलो पटक समावेश ४×४०० मिटर मिक्स्ड रिलेमा बागमती प्रदेशले स्वर्ण पदक जित्यो । तिलक मगर, हस्त सुनार, अनिशा थारु र भगवती खड्काको टोलीले ३ मिनेट ५१. ०६ सेकेन्डमा दूरी पूरा ग¥यो । सुदूरपश्चिमले ३ मिनेट ५५.४३ सेकेन्डका साथ रजत तथा गण्डकीले ४.०१ दशमलव ५० सेकेन्डमा कांश्य पदक हासिल ग¥यो ।

३००० मिटर महिलातर्फ दौडमा सुदूरपश्चिमकी देवकी धामीले ११ मिनेट १८.५१ सेकेन्डमा स्वर्ण जितिन । कोशीकी मन्दिरा महतरा ११ मिनेट ५२.५० सेकेन्डका साथ रजत र कर्णालीकी अन्तिमा बुढा ११ मिनेट ५३.७९ सेकेन्डमा दौड पुरा गरी कांश्य पदक जितेकी छन् ।

३००० मिटर पुरुषतर्फ गण्डकीका बादल कार्कीले ९ मिनेट ०३.८४ सेकेन्डमा दौड पुरा गर्दै स्वर्ण जिते । कर्णालीका युवराज बुढा ९ मिनेट ०४.३१ सेकेन्डका साथ रजत र रमेश बुढा ९ मिनेट ०५.७६ सेकेन्डमा दौड पुरा गरी कांश्य पदक जिते ।

८०० मिटर पुरुषतर्फ बागमतीका हस्त सुनारले २ मिनेट २० सेकेन्डमा दौड पुरा गरी स्वर्ण जिते । लुम्बिनीका अनुप थारु २ मिनेट ०४.२६ सेकेन्डका साथ रजत र गण्डकीका सुजन नेपाली २ मिनेट ०५.६७ सेकेन्डका साथ कांश्य पदक जिते ।

महिला ८०० मिटर दौडमा गण्डकीकी नारायणी भण्डारी २ मिनेट ३१.८९ सेकेन्डमा पहिलो हुँदै स्वर्ण पदक जितिन् । बागमतीकी भगवती खड्का २ मिनेट ३२.१९ सेकेन्डका साथ रजत तथा सुदूरपश्चिमकी सङ्गीता बिक २ मिनेट ३४.९२ सेकेन्डमा कांश्य पदक जितिन् ।

२०० मिटर पुरुषतर्फ गण्डकीका सुदीप भण्डारीले २२.०९ सेकेन्डमा दौड पुरा गरी स्वर्ण पदक जिते । कोशीका शुभम दर्जी २२.७३ सेकेन्डका साथ रजत र लुम्बिनीका भगवानदास लोहार २३.१० सेकेन्डमा दौड पुरा गर्दै काश्य पदक जिते ।

महिला २०० मिटर दौडमा गण्डकीकी अनुष्का अधिकारी २७.१४ सेकेन्डमा पहिलो हुँदै स्वर्ण पदक आफ्नो नाममा लेखाइन् । लुम्बिनीकी गरिमा चौधरी २७.८२ सेकेन्डमा रजत पदक हात पार्दा लुम्बिनीकै आरुषी भट्टराई २८.२५ सेकेन्डमा तेस्रो हुदै काश्य पदकमा चित्त बुझाइन् ।

यसैबीच, प्रतियोगिता अन्तर्गत आइतबारबाट पोखरामा दोस्रो संस्करणको पोखरा एथलेटिक्स मिट सुरु भएको छ । यू–२० प्रतियोगितामा सातै प्रदेशका १५४ खेलाडीले २४ इभेन्टमा सहभागिता जनाएका थिए भने पोखरा एथलेटिक्स मिटतर्फ ३० इभेन्टमा ३२२ खेलाडी सहभागी भएको संयोजक सिद्धान्त अधिकारीले जानकारी दिएका छन् । प्रतियोगिता सोमबार सम्पन्न हुनेछ ।

पोखरा, २९ चैत्त ।

जेनजी आन्दोलको क्रममा क्षतीग्रस्त भएको वडा प्रहरी कार्यालय वगरको पुननिर्माण गरिएको छ । भाद्र २३ र २४ गते भएको जेनजी समूहको आन्दोलनको क्रममा वडा प्रहरी कार्यालय वगरमा आक्रमण हुदा कार्यालयमा रहेका भौतिक संरचना तथा कार्यालय भवन र व्यक्तिगत सामाग्रीहरु आगजानी भइ क्षतीग्रस्त भएपछि यसको पुननिर्माण गर्ने जिम्मा सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरले लिएको थियो ।

सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरका पूर्व अध्यक्ष तथा सल्लाहकार पुरुषोत्तम श्रेष्ठको संयोजकत्वमा केन्द्रका पदाधिकारी, सदस्य तथा सल्लाहकारहरु सदस्य रहने गरि भवन पुननिर्माण समिति गठन गरिएको थियो ।

पुननिर्माण समिति स्थानिय निकाय, संघ संस्था, व्यवसायी, आम समूह, युवा क्लब तथा समुदायिक प्रतिष्ठित व्यक्तित्वहरुबाट प्राप्त नगद ४ लाख १० हजार ४ सय ३० र ३५ लाख ८९ हजार ८ सय ५० रुपैया बरावरको जिन्सी सामाग्री गरी ४० लाख २ सय ८० रुपैया बरावरको कार्यालय भवन, व्यारेक भवन, मेशको पुननिर्माण गरिएको हो ।

पुननिर्माण गरिएका सम्पूर्ण संरचना आइतबार एक कार्यक्रमका बीच गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक दिपेन्द्र जिसीको रोहवरमा पुननिर्माण समितिका संयोजक पुरुषोत्तम श्रेष्ठ र सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरका अध्यक्ष रामप्रसाद अधिकारीले वडा प्रहरी कार्यालय वगरका प्रमुख प्रहरी निरीक्षक रामप्रसाद सापकोटालाई हस्तान्तरण गरेका थिए ।

वडा प्रहरी कार्यालय वगर परिषरमा पुरुषोत्तम श्रेष्ठकै संयोकत्वमा बनेका अधिकांश संरचना जेनजी आन्दोलनका क्रममा पूर्ण रुपमा क्षती भएपछि उनै श्रेष्ठले सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरको सहयोगमा पुननिर्माण गर्ने जिम्मा लिएसँगै यो अभियानले सार्थकता पाएको थियो ।

‘जव हेर्दा हेर्दै वडा प्रहरी कार्यालय वगरमा भएका भौतिक संरचनासँगै यहाँका सम्पूण सामाग्री आगो लागेर खरानी भयो त्यति खेर यहाँका प्रहरी साथीहरु हामी माझ आएर आँखाबाट आसुका साथ पिडा सुनाउनुभयो हामी भाव विह्ल भयौ’ त्यो दिन सम्झदै श्रेष्ठले भने, ‘स्थानीयकै सहयोगमा वनेको भवन सगै सम्पूर्ण सामग्री नष्ट भएपछि प्रहरीलाई मनवोल बढाउँदै सम्पूर्ण निर्माण काम हामी गर्छौ भनेर अठोट गरौ यहाँहरुकै सहयोगले यो काम सम्पन्न भएको छ ।’ उनले यो अभियानमा सहयोग गर्ने सम्पूर्ण प्रति आभार प्रकट गरे ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक दिपेन्द्र जिसीले भवन निर्माणमा जोडिएका सम्पूणलाई हृदय देखि नै आभार प्रकट गरे । ‘त्यो वेलाको पिडा यति दर्दनाहक थियो कि सम्झदै मन झसं· हुन्छ’ उनले भने, ‘प्रहरीका समस्यालाई तत्काल वुझेर सामुदायिक सेवा केन्द्र वगरले गरेको यो पहलकदमी सधै स्मरण रहने छ ।’ यहाँहरुको सक्रिय सहभागिताले नै वडा प्रहरी कार्यलय वगर क्षेत्र भित्र जनसंख्या बढेपनि अपराधका घटनमा क्रममा कमि भएको उनको भनाई थियो । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरिक्षक तथा सूचना अधिकारी तुल बहादुर कार्कीले वगरको सामुदायिक सेवा केन्द्रका हरेक गतिविधि उत्कृष्ट रहेको बताए ।

पोखरा महानगर पालिका वडा नं. २ का वडा अध्यक्ष दिवसमान प्रधाना·ले सार्वजनिक सम्पत्तीमा भएको आगजानी जो जसले गरे पनि गलत हुने बताउँदै प्रहरीका हरेक गतिविधिमा महानगरको पूर्ण रुपमा साथ रहने उल्लेख गरे । सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष भीम पराजुलीले वगर सामुदायिकले उदाहरणीय काम गरेको बताए । कार्यक्रममा सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरका कोषाध्यक्ष कमल प्रसाद बास्तोलाले पुननिर्माणको आम्दानी र खर्चको वारेमा जानकारी गराएका थिए । उक्त अवसरमा सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरले प्रकाशन गरेको भित्ते पात्रोको विमोचन समेत गरिएको थियो ।

कार्यक्रममा भवन पुननिर्माणमा सहयोग गर्ने वडा प्रहरी कार्यालय वगरका प्रहरी नायव निरीक्षक यान बहादुर कुँवर, प्रहरी वरिष्ठ हवल्दार लक्ष्मी खत्री, प्रहरी वरिष्ठ हवल्दार तुलसीराम तिमिल्सीना, ट्राफिक प्रहरी हवल्दार वुद्धि लामिछाने, प्रहरी सहायक हवल्दार भोला नाथा पौडेल, प्रहरी सहायक हवल्दार विनोद बहादुर केसी र एसीजोमालाई सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरले सम्मान गरेका थियो ।

त्यस्तै पुननिर्माणमा अहोरात्र खटिएका पुननिर्माण समितिका संयोजक पुरुषोत्तम श्रेष्ठ, सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरका अध्यक्ष रामप्रसाद अधिकारी, सचिव कृष्ण बहादुर तामा·, कोषाध्यक्ष कमल प्रसाद बास्तोला सदस्य चित्रबहादुर थापा, प्रहरी हवल्दार गौतम कुमार हायु र परमेश्वरको मण्डली विश्व सूसमाचार समाजलाई वडा प्रहरी कार्यलय वगरले प्रशंशा पत्र प्रदान गरेको थियो ।

सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरका अध्यक्ष रामप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा वडा प्रहरी कार्यलय वगरका प्रमुख प्रहरी निरीक्षक रामप्रसाद सापकोटा, सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरकी संस्थापक अध्यक्ष सिता गुरुङ, सचिव कृष्ण बहादुर तामा·, त्रिशक्ति सेवा समाजका अध्यक्ष प्रविन सुवेदी, ढिकुरपोखरी समाजकी अध्यक्ष लक्ष्मी अधिकारीले बोलेका थिए ।

पोखरा, २९ चैत।

राष्ट्रिय हेमजा आलु महोत्सवको तेस्रो दिन आइतबारसम्मका रु.५० लाख बढीको कारोवार भएको छ । महोत्सव मध्येतिर आउदाँ त्यहाँ दर्शक सहभागिता पनि बढ्दै गएको छ।शनिबार र आइतबार सार्वजनिक विदा परेको र मौसमले समेत साथ दिदाँ महोत्सवमा जनसहभागिता बढेको हो। दर्शक सहभागिता बढेसँगै त्यहाँ आलु लगायत अन्य उपभोग्य बस्तु किनबेच हुने क्रम पनि बढ्दै गएको छ ।

त्यहाँ आलुको परिकारको एउटा स्टल, ३० वटा कृषि स्टल तथा अन्य सय बढी व्यापारीक स्टल छन् ।प्रतिकेजी रु.३५ मा आलुको कारोवार भएको छ। आइतबारसम्म रु. ८ लाख बढीको आलु बिक्री भएको आलु तथा कृषि उपज व्यवस्थापन उपसमिति संयोजक अर्जुन कार्कीले बताए ।उनले हालसम्म सबैभन्दा बढी ६० केजी र कम्तीमा १ केजीसम्म ग्राहकले आलु खरिद गरी लगेको पनि सुनाए।

सामान्यतथा २० देखि ३० केजी किन्नेसम्म ग्राहक धेरै छन् ।कास्कीका छिमेकी पालिका लगायत पर्वत, बाग्लुङ, तनहुँ, स्याङजाबाट समेत आलु खरिदका लागि मानिसहरु आउने गरेको उनको भनाई छ। हेमजाको आलु मिठो छ, चाँडो पनि पाक्छ, बजारियाँको तुलनामा स्वास्थ्यकर पनि भएकाले आफूहरु आलु खरिदकै लागि आएको आइतबार दिउँसो महोत्सव स्थलमा भेटिएकी तनहुँ भिमादकी सुनिता श्रेष्ठले बताइन्।

महोत्सवमा आइतबार कलाकारहरु बद्री पंगेनी, ममता तामाङ, शान्ता वर्देवा, रोशन विसी, नेत्र खड्का, परशुराम अधिकारी, मुना अर्याल, आयुषा खत्री, झलकमान् सारङगी पाठशाला लगायतले प्रस्तुति राखे।त्यस्तै सोमबार एन्जिला रेग्मी, रामजी पौडेल, सरस्वती लामिछाने, कमला गैह्रे, किसन नेपाली, भूमिका पंगेनी, राजेन्द्र गुन्दु्रके, मनोज गोर्खाली लगायतका प्रस्तुति रहने उल्लेख छ ।त्यस्तै पप कन्सर्टतर्फ देउराली, लेकाली लगायतका व्याण्डका प्रस्तुतिहरु रहनेछन्।महोत्सवमा आइतबारबाट रत्यौली गीत प्रतियोगिता पनि सुरु भएको छ।

महोत्सव अन्तर्गत त्यहाँ आलु तथा तरकारीको प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका लागि माटो, वोट विरुवा, परीक्षण तथा रोगको निधान, कृषक र कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम भइरहेका छन्। त्यस्तै कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारका दैनिक प्रस्तुति लगायत विभिन्न कृषि उपज विउ विजन तथा कृषि यन्त्रको प्रदर्शनी लगायतका गतिविधि पनि संचालित छन्।

आइतबारसम्ममा २५ हजार बढी दर्शकले महोत्सव अवलोकन गरेको आयोजक विष्णुपादुका क्लवका अध्यक्ष वसन्तकुमार श्रेष्ठ जानकारी पनि दिए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।