२०८३ जेष्ठ ४ सोमबार
२०८३ जेष्ठ ४ सोमबार

काठमाण्डौँ, ११ माघ ।

राष्ट्रियसभामा आगामी फागुन २० गतेदेखि रिक्त हुने १८ पदका लागि आइतबार मतदान जारी छ। सोही मतदान आइतबार बिहान ९ बजेदेखि शुरू भएको हो । मतदानका लागि सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।

मतदान आइतबार दिउँसो ३ बजेसम्म हुने भएको हो। कुल १८ पदमध्ये कोशी प्रदेशमा खस आर्यतर्फको एउटा पदमा निर्विरोध भएको र बाँकी १७ पदका लागि आइतबार निर्वाचन हुन लागेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताउनुभयो । कोशी प्रदेशका खस आर्यतर्फका उम्मेदवार नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित हुनुभएको छ । बाँकी १७ पदको मतदानका लागि सातै प्रदेशका मतदानस्थल तथा मतदान केन्द्र निर्धारण गरिएको हो ।

कोशी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर विराटनगर मोरङ, मधेश प्रदेशको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र जनकपुर उपमहानगरपालिका–४ धनुषा, बागमती प्रदेशको भुटनदेवी माध्यमिक विद्यालय हेटौँडा उपमहानगरपालिका–४ मकवानपुरमा मतदान केन्द्र निर्धारण गरिएको हो ।

त्यसैगरी, गण्डकी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर पोखरा कास्की, लुम्बिनी प्रदेशको कर्मचारी मिलन केन्द्र घोराही दाङ, कर्णाली प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर वीरेन्द्रनगर सुर्खेत र सुदूरपश्चिम प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर धनगढी कैलालीमा मतदान हुने तय भएको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेशसभा सदस्य, नगरप्रमुख-उपप्रमुख-गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष मतदाता रहने व्यवस्था रहेको आयोगले जनाएको छ ।

पोखरा, ११ माघ ।

छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा न्यू डायमण्ड स्पोट्र्स क्लबले सहज जित दर्ता गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको पहिलो खेलमा महिलातर्फ न्यू डायमण्डले विभागीय टोली सशस्त्र प्रहरी बल ९एपीएफ० माथि ३–० को सोझो सेटको जित दर्ता गरेको हो ।

न्यू डायमण्डले पहिलो सेट २५–१७, दोस्रो सेट २५–२१ र तेस्रो सेट २५–२३ ले आफ्नो पक्षमा पा¥यो । खेलको प्लेयर अफ द म्याच न्यू डायमण्डकी सुमित्रा रेग्मी घोषित भइन् । न्यू डायमण्डको यो लगातार दोस्रो जित हो । यसअघि भएको पहिलो खेलमा न्यू डायमण्डले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको थियो । एपीएफले भने पहिलो हार बेहोरेको छ । यसअघि एपीएफले थाइल्याण्ड क्विन्सलाई पाँचौं सेटमा पराजित गरेको थियो ।

अब आजको दोस्रो खेलमा महिलातर्फ नेपाल पुलिस क्लब र थाइल्याण्ड क्विन्सबिच हुनेछ । त्यसपछि पुरुषतर्फका खेल हुनेछन् । पुरुषतर्फको पहिलो खेलमा एपीएफ र पर्वत भलिबल संघ भिड्नेछन् । दोस्रो खेलमा पुलिस र आर्मी खेल्ने तालिका छ ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १७ गतेसम्म चल्ने च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी छन् । सिंगल राउण्ड रोविनको आधारमा भएको प्रतियोगितामा शीर्ष दुईमा रहने टोली उपाधिका लागि भिड्ने छन् ।

– अर्जुन थापा

पोखरा १५ द्वारा आयोजित चौथो वडा स्तरीय खेलकुद महोत्सव सम्पन्न भएको छ। 

वडा कार्यालयले आयोजना गरेको पाँच दिने बृहत् खेलकुद महोत्सवमा दर्जनौं खेलका विजेताहरूलाई पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जु देवी गुरुङ, महानगरका प्रशासकीय अधिकृत, मोतीराम अर्याल, वन विज्ञान क्याम्पसका प्रमुख नारायण प्रसाद शर्मा, सशस्त्र प्रहरी तालिम केन्द्रका प्रहरी प्रमुख उद्धव पौडेल, वडा अध्यक्ष तोरण बानियाँ, महोत्सव संयोजक आशिष भण्डारी, वडा सदस्यहरू बलराम पौडेल, मन्दिरा परियार र सेतीमाया गुरुङलगायतले पुरस्कार, ट्रफी, शिल्ड, प्रमाणपत्र प्रदान गरे ।

पुरुष फुटबलतर्फ सानीमजुवा युवा क्लब विजयी हुँदा महिला भलिबलतर्फ जन जागृति आमा समूह च्याम्पियन बनेको छ ।  बन विज्ञान क्याम्पसको खेल मैदानमा वडावासीको उत्साहजनक सहभागिताका बिच भएको फाइनल खेलमा सानिमजुवा र दिव्यज्योती युवा क्लब बिच रोचक प्रतिस्पर्धा भएको थियो। निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुट आउट बाट गरिएको थियो। पेनाल्टीमा सानिमजुवा ३-२ ले विजयी बन्यो। भने, महिला भलिबलमा जन जागृति आमा समूहले एकता आमा समूहलाई पराजित गर्‍यो। 

समापन कार्यक्रममा १७ खेल विधाका विजेता, उपविजेता, तेस्रो तथा वेस्ट प्लेयरहरूलाई नगद पुरस्कारसहित, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।


 
कार्यक्रमकी प्रमुख अतिथि उपमेयर मञ्जु देवी गुरुङले वडा नं १५ ले खेलकुदलाई  विशेष प्राथमिकतामा राखेको बताइन्। उनले खेलकुदको माध्यमबाट समाजमा भएको विकृति विसङ्गतिलाई हटाउनुपर्छ र यहाँ भएका विभिन्न संघ संस्थासँग हातेमालो गरी खेलको माध्यमबाट समृद्धिको बाटोतर्फ लाग्नुपर्छ भनेर वडाले विगतका वर्षहरूबाट खेलकुद महोत्सवलाई निरन्तरता दिएको बताइन्। खेल महोत्सवमा महिला दिदी बहिनीहरुको उल्लेख्य सहभागिता रहेको भन्दै हिजोका दिनमा घरायसी काम काजमा  सीमित रहने र चुल्हो चौकोसमा रमाउने महिला आज यसरी खेलकुदमा रमाइरहनु अत्यन्त सकारात्मक रहेको बताउँदै वडा नं १५ ले वडावासीको क्षमता विकास गर्दै सामाजिक रूपान्तरण गर्ने जस्तो अत्यन्त सम्मानजनक काम गरेकोमा आफू र महानगरको तर्फबाट धन्यवाद व्यक्त गरिन्। 

वन विज्ञान क्याम्पस प्रमुख नारायण प्रसाद शर्माले खेलकुद कार्यक्रमले शरीरलाई बलियो मात्र बनाउने नभई मनलाई दरिलो बनाउनुका साथै साथी समूह र समुदाय बिचमा बन्धुत्वको भावनाको विकास गराएको प्रतिक्रिया दिए। उनले पोखरा महानगर भित्र वडा नं १५ सामुदायिक कार्यमा उत्कृष्ट वडा रहेको भन्दै वन विज्ञान अध्यन संस्थान यहाँका विद्यार्थी भाइ बैनीको शैक्षिक कार्यकमका लागि सहकार्य गर्न तयार रहेको पनि बताए। 

यस्तै, वडा अध्यक्ष तोरण बानियाँले खेलकुदप्रति वडावासी नागरिकले देखाएको उत्साह, माया र सहयोगले नै चौथो संस्करण पनि सफलतापूर्वक सम्पन्न गर्न सफल भएको बताए। उनले खेलकुदको माध्यमबाट नागरिकको सर्वाङ्गीण  विकास गर्न र खेलकुदलाई मनोरञ्जन र  प्रतिस्पर्धा मात्र नभई शारीरिक मानसिक र स्वास्थ्य सुधार सँगसँगै समाजलाई रूपान्तरण गर्न सकिने भन्दै यस्ता खेल कार्यक्रम निरन्तर चलिरहनुपर्ने धारणा व्यक्त गरे। बानियाँले स्थानीय खेलकुद परम्परालाई जीवित राख्नु पर्ने र खेलकुदका माध्यमबाट पर्यटन प्रवर्द्धन, स्थानीय स्तरमा उत्पादन भएका वस्तुलाई व्यवस्थित र प्रोत्साहित गर्दै आर्थिक गतिविधिको सृजना गरी राष्ट्रिय गौरवको अनुभूति गराउने अपेक्षा लिएको बताए।  

महोत्सव संयोजक तथा वडा सदस्य आशिष भण्डारीले खेलकुद महोत्सवले खेलकुद मात्र नभई वडाको सामाजिक एकता, सहकार्य र आपसी भाइचारा प्रगाढ बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याएको बताउनुका साथै आगामी दिनहरूमा पनि वडावासीहरूको यस्तै सक्रिय सहभागिता र साथको अपेक्षा लिएको बताए। 

खेल महोत्सवको पाँचै दिन हरियो खर्क अस्पताल (आइएनएफ) ले स्वास्थ्य शिविर संचालन गरी निशुल्क सुगर परीक्षण र प्रेसर चेकजाँचको व्यवस्था मिलाइएको थियो । 

वडा अध्यक्ष तोरण बानियाँको अध्यक्षतामा भएको समापन कार्यक्रममा महोत्सव संयोजक आशिष भण्डारीले कार्यक्रमको सञ्चालन गरेका थिए । कार्यक्रममा पूर्व जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी लगायत वडा नं १५ का कर्मचारीहरूको उपस्थिति रहेको थियो। 

पोखरा, ०९ माघ ।

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले खेलकुदले राष्ट्रको गौरव, शान, मान, पहिचान स्थापित गरेको बताउनुभएको छ ।

टाइगर ग्रुप अफ पोखराको आयोजनामा आजदेखि सुरु एनसेल छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको शुभारम्भ गर्दै उहाँले खेल क्षेत्रको विकास राष्ट्र विकासको महत्वपूर्ण आधार रहेको उल्लेख गर्नुभयो ।

‘खेलको विकासबाट राष्ट्रको सर्वाङ्गीणको ढोका खोल्न सकिन्छ । नेपाल खेलकुदको माध्यमबाट समेत चिनिँदै आएको छ । सशक्त र पूर्वाधार सम्पन्न मुलुकहरुलाई खेलकै माध्यमबाट पराजित गर्न सकेका छौँ ।’ उहाँले भन्नुभयो – ‘आजको परिप्रेक्ष्यमा खेल शारीरिक तथा मानसिक स्वास्थ्यको आधार मात्र नभएर कुटनीति, अर्थतन्त्र एवं सहकार्य र एकताको स्तम्भसमेत हुन पुगेको छ ।’

खेल क्षेत्रमा लगानी वृद्धि गर्ने, खेलाडीहरूको आत्मस्वाभिमान, प्रोत्साहन, पुरस्कारका साथै वृत्तिविकासमा थप योगदान गर्ने, राज्यको भूमिकालाई थप प्रभावकारी र जिम्मेवार बनाउन सरकार प्रयत्नशील रहेको उहाँको भनाई छ ।  

सानो स्थान, थोरै बजेट, सबै नेपालीको पहुँच, धेरैलाई मनपर्ने र मुलुकको भौगोलिक अवस्थाका कारण पनि भलिबल राष्ट्रिय खेल बन्न पुगेको बताउनुहुँदै उहाँले सीमित पूर्वाधार र सुविधाका बाबजुद अन्तर्राष्ट्रिय स्तरमा नेपाली महिला भलिबल टोलीले प्राप्त गरेको नतिजा प्रशंसनीय रहेको बताउनुभयो । उहाँले भन्नुभयो – ‘एशियन सेन्ट्रल जोन भलिबलको उपाधि लगातार जितेर नेपाली महिला भलिबल खेलाडीले नेपालको नाम चम्काएको म स्मरण गर्न चाहन्छु ।’

भलिबलको भौतिक संरचना तथा पूर्वाधार कमजोर भएपनि यस्ता प्रतियोगिताका कारण खेलाडीहरुलाई फाइदा पुर्‍याएको उहाँको भनाई छ । जिल्ला तथा केन्द्रीय स्तरका प्रतियोगिताले खेलाडीलाई खेल कौशल प्रदर्शन तथा आर्थिक उपार्जनमा योगदान भएको भट्टले बताउनुभयो ।

टाइगर ग्रुप अफ पोखराले विगत ६ वर्षदेखि भव्य र व्यवस्थित ढंगले अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता सञ्चालन गरी भलिबल खेलमार्फत् पोखरा र गण्डकी प्रदेश मात्र नभई नेपाललाई नै चिनाउन महत्वपूर्ण भूमिका खेलेकोमा धन्यवाद पनि व्यक्त गर्नुभयो ।

 
 

पोखरा, ०९ माघ ।

एनसेल छैटौं टाइगर कप भलिबल प्रतियोगिताको उद्घाटन कार्यक्रम बिहिबार एक भब्य समारोहका बीच सम्पन्न भएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा सुरू भएको उक्त प्रतियोगिताको एक भब्य कार्यक्रमका बीच गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले गरेका हुन् ।

कार्यक्रममा आफ्ना भनाई राख्दै प्रदेश प्रमुख भट्टले खेलकुद स्वास्थका लागि मात्रै नभई राष्ट्रको अर्थतन्त्र माथी उठाउने महत्वपूर्ण माध्यम रहेको बताए । उनले खेल क्षेत्रमा लगानीका लागि सरकार प्रयत्नशिल रहेको जनाउँदै सरकारले भलिबल खेललाई राष्ट्रिय खेलको मान्यता दिएको उल्लेख गर्दै भने–“नेपाल जस्तो भौगोलिक र सानो ठाउँमा समेत भलिबल खेल खेल्न सकिने भएको र सबैको पहुँचमा रहेको कारणले पनि भलिबल खेलको लोकप्रियता बढेको छ ।”

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा नेपालले उत्कृष्टता हासिल गर्न सफल भएको जनाउँदै खेलाडीहरुलाई आर्थिक उर्पाजनमा समेत् भलिबल खेल महत्वपूर्ण रहेको उनको भनाई थियो ।

सोही कार्यक्रममा आफ्ना भनाई राख्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले पोखरा जस्तो पर्यटकिय शहरमा आएर भलिबल खेलको उद्घाटनमा उपस्थित हुन पाउँदा आफूलाई निकै गौरव र खुसीको महशुस भएको उल्लेख गरे । उनले नेपाली यूवाहरुले मुलुकको परिवर्तनका लागि खेलेको भूमिका प्रति खुसी व्यक्त गर्दै नेपाल र नेपालीहरु संस्कृती र प्रकृतीको मात्रै धनी नभई मनको पनि उत्तिकै धनी भएको जनाए ।

यसै गरी नेपाल भलिबल संघका महासचिब रोशन श्रेष्ठले टाइगर ग्रुपले आयोजना गरेको प्रतियोगिताले नेपाली भलिबल खेलको विकासमा महत्वपूर्ण योगदान पुर्याएको बताए । नेपालको राष्ट्रिय खेल भलिबल विकासका लागि आफ्नै कभर्डहल निर्माण गर्नका साथै सातै प्रदेशमा प्रदेशस्तरीय खेल मैदान निर्माणका लागि संघले पहल गरिरहेको उनको भनाई थियो ।

टाइगर ग्रुपका अध्यक्ष नारायण प्रसाद शर्माको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा अध्यक्ष शर्माले मुलुकको विषम परिस्थितीमा समेत आफूहरुले यो प्रतियोगितालाई निरन्तरता दिंदै भलिबल खेलमार्फत पोखरालाई विश्व सामु चिनाउन पहल गरेको बताए । उनले भने–“छैटौं संस्करणमा आइपुग्दा टाइगर कप ब्राण्ड बनेको छ । यो ब्राण्डको रुपमा स्थापित गर्न भूमिका खेल्ने सबैमा म संस्थाको तर्फबाट आभार व्यक्त गर्दछु ।”

प्रतियोगिताको पहिलो दिनको पुरुषतर्फको खेलमा विभागिय टोली एपिएफ क्लब र नेपाल आर्मीले आफ्नो बिजयी सुरूआत गरेका छन् । उद्घाटन खेलमा घरेलु टोली गण्डकी प्रदेश भलिबल संघ एपिएफ क्लबसँग ३–१ को सेटमा पराजित भएको छ । पहिलो सेट २५–२३ ले जितेको एपिएफले दोस्रो सेट २७–२५ ले गुमाउन पुग्यो । तर तेस्रो सेटमा गण्डकी खेलमा फर्किदै २५–१९ ले आफ्नो पक्षमा पार्न सफल भयो । तर चौथो सेटमा एपिएफ २५–१९ ले आफ्नो पक्षमा पार्दै खेल जिल्न सफल भयो । सो खेलमा एपिएफका उपेन्द्र परियार प्लेयर अफ दि म्याच बने ।

यस्तै पुरुषतर्फनै भएको अर्को एक खेलमा विभागिय टोली नेपाल आर्मी क्लबले विजयी सुरूआत गरेको छ । आर्मीले पाहुना टोली मालदिभ्स भलिबल क्लबलाई २५–१५, २५–२२ र २५–१० ले जित्न सफल भयो । खेलमा आर्मीका सुनिल बोहोरा प्लेयर अफ दि म्याच बने । उनले केल्मीको टिशर्ट प्राप्त गरे ।

त्यस्तै गरी महिलातर्फ भएको खेलमा टिपटप न्यू डायमण्ड यूथ स्पोर्ट्स क्लबले जित हात पारेको छ । न्यू डायमण्डले पहिलो सेट २५–१३, दोस्रो सेट २५–१६ र तेस्रो सेट २५–०८ ले सहज जित हात पार्न सफल भएको छ । खेलमा उत्कृष्ट प्रदर्शन गरेकी न्यू डायमण्डकी सालिना बुढा मगर ‘प्लेयर अफ द म्याच’ घोषित भइन् ।

टाइगर ग्रुपद्वारा तीन जना सम्मानित
एनसेल छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रण क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिता २०८२ को उद्घाटन समारोहमा भलिबल खेलको विकासमा महत्वपूर्ण योगदान पु¥याउने तीन जनालाई टाइगर ग्रुप अफ पोखरा, नेपालले सम्मान गरेको छ ।

सम्मानित हुनेमा पूर्व भलिबल खेलाडी तथा कास्की जिल्ला भलिबलका पूर्व सदस्य राजकुमार अधिकारी, प्रशिक्षक कुमार राई र राष्ट्रिय खेलाडी हिमाल सुनारी मगर रहेका छन् ।

सम्मानित राजकुमार अधिकारीले पोखरामा २०५८ सालमा पहिलो पटक राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना गर्न संयोजकको भूमिका निर्वाह गर्दै भलिबल खेलको विकासमा उल्लेखनीय योगदान दिएका थिए । त्यस्तै, महिला भलिबल खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान पु¥याउँदै आएका न्यू डायमण्ड यूथ स्पोट्र्स क्लबका प्रशिक्षक कुमार राईलाई पनि सम्मान गरिएको हो ।

यसैगरी, एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड २०८१ अन्तर्गत ‘पिपुल्स च्वाइस अवार्ड’ विजेता तथा गण्डकी प्रदेश टिमका खेलाडी हिमाल सुनारी मगरलाई पनि उक्त अवसरमा सम्मान प्रदान गरिएको थियो ।

सम्मानित हुनेहरुलाई कार्यक्रमका प्रमुख अतिथी एवं प्रदेश प्रमुख भट्ट, संस्थाका अध्यक्ष नारायण प्रसाद शर्मा, प्रतियोगिताका संयोजक राजकुमार गुरूङलगायतले दोसल्ला र प्रशंसापत्रले सम्मान गरेका थिए ।

शनिबार (भोली) हुदैछन चार खेल


एनसेल छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रण क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिता २०८२’को दोस्रो दिन शनिबार महिलातर्फ २ र पुरुषतर्फ दुई गरी चार खेलहुने आयोजक टाइगर ग्रुपका सचिब डिबी नेपालीले जानकारी दिएका छन् । महिलातर्फ विभागिय टोली नेपाल पुलिसले अर्को विभागिय टोली नेपाल आर्मीको सामना गर्ने छ भने दोस्रो खेलमा एपिएफ क्लबले पाहुना टोली थाइल्याण्ड क्विन्सको भेट हुनेछ ।

त्यस्तै पुरुषतर्फ गण्डकी प्रदेश भलिबल संघले पाहुना टोली मालदिभ्स भलिबल क्लब संगा र दोस्रो खेल विभागिय टोली नेपाल पुलिस क्लब र पर्वत जिल्ला भलिबसंघका बीच हुनेछ ।

नेपाल भलिबल संघको स्वीकृतिमा सुरू भएको प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ ५ गरी कुल ११ टिम सहभागी छन् । छैटौं संस्करणमा विदेशी टिमको सहभागिता मुख्य आकर्षणका रूपमा रहेको छ ।

महिलातर्फ थाइल्याण्ड क्विन्स,थाइल्याण्ड तथा पुरुषतर्फ माल्दिभ्सको टिमले प्रतिस्पर्धामा छन् । नेपाली क्लबतर्फ महिला समूहमा नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र टिप–टप न्यू डायमण्ड युथ स्पोट्र्स क्लब सहभागी छन् । पुरुषतर्फ गण्डकी प्रदेश भलिबल संघ, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र पर्वत जिल्ला भलिबल संघ रहेका छन् ।

प्रतियोगिताका महिला तथा पुरुष दुवै समूहका विजेताले समान पुरस्कार प्राप्त गर्नेछन् । प्रथम हुने टोलीले नगद रु ६ लाख ६६ हजार ६६६, दोस्रोले रु ३ लाख ६६ हजार ६६६ र तेस्रो हुने टोलीले रु २ लाख ६ हजार ६६६ रुपैयाँका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र हात पार्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई रु २६ हजार ६६६ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । विधागत उत्कृष्ट खेलाडीहरूलाई नगद रु ११ हजार ६६६ सहित उपहारको व्यवस्था गरिएको छ ।

 

पोखरा, ०९ माघ ।

प्रधानमन्त्री कप (पिएम कप) कास्की जिल्ला क्लब स्तरीय एक दिवसीय क्रिकेट प्रतियोगितामा सांग्रिला क्रिकेट क्लबले लगातार दोस्रो जित निकालेको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको शुक्रबार भएको खेलमा सांग्रिलाले लेकसाइड क्रिकेट क्लबलाई १३४ रनले हराउँदै दोस्रो जित निकालेको हो ।

लेकसाइडले बलिङतर्फ उत्कृष्ट प्रदर्शनी गरेपनि ब्याटिङमा भने निकै कम्जोर देखियो । १८७ रनको विजयी लक्ष्य पाएपनि लेकसाइड १७ ओभरमा ५२ रनमै अलआउट हुन पुग्यो । लेकसाडका केशव सुनार र सुमित रौनियार बाहेक अन्य ब्याटरले खासै अंक जोड्न सकेनन् । केशवले १० र सुमितले ६ रन जोडे । सांग्रिलाको लागि भुवन रेग्मीले ५ विकेट लिए । उनले ७ ओभरमा २ मेडन राख्दै २८ रन खर्चे । सञ्जय नेपालले २ तथा जिवन कोइरालाले १ विकेट लिए ।

त्यसअघि पोखरा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सांग्रिला २८.१ ओभरमा १८६ रनमा अलआउट हुन पुग्यो । सांग्रिलाको लागि सिब्रिन श्रेष्ठले ७६ रनको योगदान दिए । राजु खनालले २३ र कुशल नेपालले ३१ रन जोडे ।

लेकसाइडका लागि चन्दन राउतले उत्कृष्ट प्रर्दशनी गर्दै सर्वाधिक ७ विकेट लिए । उनले १० ओभरमा २ मेडन राख्दै मात्र ६६ रन खर्चिए । सन्देश शाहीले २ तथा विकास पाठकले १ विकेट लिए ।

सांग्रिलाका सिब्रिन श्रेष्ठ प्लेयर अफ दी म्याच घोषित भए । लेकसाइडको यो दोस्रो हार हो । यस अघि लेकसाइड अरण्यज्योति क्रिकेट क्लबसंग १६ रनको हार व्यहोरेको थियो । सांग्रिलाले यस अघि एभरेष्ट क्रिकेट क्लबलाई ३२६ रनको फराकिलो जित हासिल गरेको थियो । यो संगै सांग्रिलाको स्पष्ट ४ अंक रहेको छ भने लेकसाइड अंकविहिन बनेको छ ।

पोखरा, ०९ माघ । 
 
गण्डकी प्रदेशकै जेठो संस्कृत माध्यमिक विद्यालय, पोखराको १२५ औं अभिभावक दिवस, पुरस्कार वितरण तथा सम्मान समारोह एक कार्यक्रमका बीच आज सम्पन्न भएको छ । समारेहको पोखरा महानगरपालिका शैक्षिक प्रशासन महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले उद्घाटन गर्नुुभएको हो ।
 
कार्यक्रममा महाशाखा प्रमुख आचार्यले गण्डकी प्रदेशको ऐतिहासिक यस विद्यालयले पछिल्ला वर्षमा शैक्षिक गुणस्तरीयता बढाउँदै गएको भन्दै यसलाई महत्वपूर्ण शैक्षिक गन्तव्यका रुपमा स्थापित गर्नुपर्नेमा जोड दिनुुभयो । विद्यालयका तर्फबाट महाशाखाबाट निरन्तर सहयोग भैरहेको बताउँदै उहाँले आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिइने बताउनुभयो ।
 
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुुप्रसाद अधिकारीले विद्यालयको भौतिक विकाससँगै शैक्षिक गुणस्तरीयताका लागि निरन्तर प्रयास गरिएको बताउनुुभयो । विद्यालयले कक्षा ११ र १२ का कक्षा पनि सञ्चालन गरिरहेको बताउँदै उहाँले यसको दीगो सञ्चालनका लागि दरबन्दीको व्यवस्थापन जरुरी रहेको धारणा राख्नुुभयो । विद्यालयमा आँफू नेतृत्वमा आएपछि भौतिक एवम् शैक्षिक गुणस्तरीयता अभिबृद्धिमा महत्वपूर्ण उपलब्धि हासिल भएको उहाँले बताउनुुभयो ।
 
आँफू नेतृत्वमा आउँदा विद्यालयको अक्षयकोष सात लाख ७८ हजार रुपैयाँ रहेकोमा उक्त कोषलाई बढाएर ६७ लाख रुपैयाँ पुु¥याइएको बताउनुुभयो । १२५ औं अभिभावक दिवसका अवसरमा आज मात्रै उक्त कोषमा थप डेढ लाख रुपैयाँ रकम थप भएको छ । विद्यालयका प्रधानाध्यापक श्रीकृष्ण सिग्देलले हाल २२२ जना विद्यार्थी अध्ययरत विद्यालयमा ६५ जना विद्यार्थीले आवशीय रुपमा अध्ययन गरिहेको जानकारी गराउनुुभयो । 
 
शैक्षिक गुणस्तरीयतालाई प्राथमिकतामा राखी विद्यालय निरन्तर कृयाशिल रहेको उहाँको भनाइ छ । कार्यक्रमका अवसरमा राष्ट्रिय समाचार समिति(रासस) का गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेल, पूर्व प्रधानाध्यापक अक्षयकोगादाता दामोदर बास्तोला र पूर्व कार्यालय सहयोगी सूर्यबहादुर घर्तीलाई सम्मान गरिएको थियो । उहाँहरूलाई दोसल्ला र सम्मानपत्र सहित पोखरा महानगरपालिका शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्य, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद अधिकारीले संयुक्त रुपमा सम्मान गर्नुुभएको हो ।
 
पत्रकारिताको माध्यमबाट संस्कार सहितको शिक्षा, समाज, संस्कृति र जनसरोकारका विभिन्न विषयहरूमा निर्भीक र निष्पक्ष रुपमा कलम चलाउँदै चेतनशील समाज निर्माणमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै पौडललाई सम्मान गरिएको हो । विद्यालयमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै पूर्व प्रधानाध्यापक अक्षयकोषदाता दामोदर बास्तोला र पूर्व कार्यालय सहयोगी घर्तीलाई सम्मान गरिएको थियो । त्यस्तै विद्यालयका पूर्व संस्थापक अध्यक्ष स्व.भोलानाथ पराजुलीलाई मरणोपरान्त सम्मान गरिएको थियो । विद्यालयका माध्यमिक तहका शिक्षकहद्व कलादेवी बराल र रामु पौडेल एवम् आधारभुत तहका शिक्षकहरू लक्ष्मी देवकोटा, इन्द्रमाया बास्तोला र सरला थापालाई उक्त अवसरमा सम्मान गरिएको थियो ।
 
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुुप्रसाद अधिकारीको सभापतित्व एवम् सहायक प्रधानाध्यापक कलादेवी बरालले सञ्चालन गर्नुुभएको कार्यक्रममा स्वागत माध्यमिक तहका इन्चार्ज श्रीकान्त सापकोटाले गर्नुुभएको थियो । कार्यक्रममा पोखरा महानगरपालिका वडा नं १ का कार्यबाहक अध्यक्ष जुमकाजी गुरुङ, सम्मानित व्यक्तित्वहरू पूर्व प्रधानाध्यापक बास्तोला, रासस गण्डकी प्रदेश प्रमुख पौडेल, विद्यार्थीद्वय सुमित सिग्देल र जीवनाथ शर्मा लगायतले बोल्नुुभएको थियो । 
 
कार्यक्रमका अवसरमा विभिन्न छात्रबृत्तिसँगै उत्कृष्ट विद्यार्थीहरूलाई विभिन्न पुरस्कारबाट पुरस्कृत गरिएको थियो भने विद्यार्थीहरूतर्फबाट विभिन्न सांस्कृतिक प्रस्तुति देखाइएको थियो ।

पोखरा, ०९ माघ ।

पोखरा महानगर वडा नं १५ को आयोजनामा जारी वृहत खेलकुद महोत्सवमा शुक्रबार विद्यालय स्तरीय छात्रछात्रा दौड सम्पन्न भएका छन । जसअन्तर्गत छात्रा तर्फको दौडको उपाधि सेन्ट फ्रान्सिका बिजय बिकले हात पारेका छन । निर्धारित दुरी पाँच कि.मि. ८ मिनेट ४० सेकेण्ड २४ मिलिसेकेण्डमा पार गर्दै बिकले दौडको उपाधि जितेका हुन ।

दौडमा सेन्ट फ्रान्सिसकै राज परियारले निर्धारित दुरी ८ मिनेट ५४ सेकेण्ड ५४ मिलिसेकेण्डमा पार गर्दै दोस्रो भए । त्यसैगरी केल्स एकेडेमीका आनन्द कुँवरले निर्धारित दुरी ८ मिनेट ५५ सेकेण्ड १७ मिलिसेकेण्डमा पार गर्दै तृतीय स्थान पक्का गरे । दौडमा रेम्बो एकेडेमीका रोनाल थापाले शान्तवना स्थान हाँसिल गरे ।

महिला तर्फको पाँच किमि दौडको उपाधि सेन्ट मेरिजकी समृद्धि मार्सलले जितिन । मार्सलले निर्धारित दुरी ११ मिनेट ११ सेकेण्ड ९३ मिलिसेकेण्डमा पार गर्दै उपाधिको रक्षा गरिन । दौडमा निर्धारित दुरी १२ मिनेट १७ सेकेण्ड ३७ मिलिसेकेण्डमा पार गर्दै सेन्ट मेरिजकै प्राप्ति श्रेष्ठले दोश्रो स्थान हाँसिल गरिन । त्यस्तै थ्री एन्जलकी छात्रा ओमेगा शाहीले निर्धारित दुरी १२ मिनेट २४ सेकेण्ड ९९ मिलिसेकेण्डमा पार गर्दै दौडमा तेस्रो स्थान सुरक्षित गरिनभने सेन्ट मेरिजकी दीब्याले शान्तवना स्थान हाँसिल गरिन ।

महोत्सवको अन्तिम दिन शनिवार महानगर स्तरिय साइकल दौड, ह्वीलचियर दौड, ह्वीलचियर बास्केटवल प्रतियोगिता, आमा समुह तथा टोल बिकास संस्था स्तरिय महिला भलिवलको फाइनल खेल र पुरुष तर्फ टोल बिकास संस्था तथा क्लब बीचको फाइनल फुटवल प्रतियोगिता संगै समापन समारोह हुने महोत्सव आयोजक पोखरा महानगरपालिका वडा नं १५ का वडा अध्यक्ष तोरण बहादुर बानियाँले जानकारी दिए ।

पोखरा, ०९ माघ ।

पोखराको अमरसिंंह खेल मैदानमा जारी १४ औं संस्करणको पोखरा महोत्सव ११ दिनमा जारी रहेको छ । महोत्सवको समापन दिन नजिकिदै गर्दा झनै भब्य बन्दै गइरहेको छ । महोत्सवमा दर्शकहरुको सहभागीता उल्लेख्य रुपमा बढेको छ । महोत्सवमा दिन प्रतिदिन दर्शकको सहभागीता संगै महोत्सव स्थलमा राखिएको स्टलको कारोबार समेत बढिरहेको महोत्सव सचिवलाय संयोजक शान्त बहादुर थापाले जानकारी दिए । महोत्सव समापन नजिकिदै गर्दा दैनिक हजारौं दर्शकहरुले महोत्सवको प्रत्यक्ष अवलोकन गरेको थापाले बताए ।

महोत्सव सफल हुनुमा विषम परिस्थितीमा समेत प्रायोजक र दर्शकहरुको साथ नै भएको महोत्सवका प्रायोजक ब्यवस्थापक संयोजक सूर्य बहादुर बानियाँले बताए । जेन्जी आन्दोलन पछि ब्यवशायनै धराप परिरहेको अवस्थामा पनि व्यवशायी घरानाहरुले क्लवको सामाजिक उद्देश्य प्रति प्रेरित भइ १४ संस्करणको पोखरा महोत्सवमा प्रायोजन गरेकै कारण महोत्सव सफलता तर्फ उन्मुख रहेको बानियाँको भनाइ रहेको थियो । पोखरा महोत्सव भुकम्प, कोराना, आर्थिक मन्दी जस्ता विशम परिस्थितीमा समेत सञ्चालन भई आइरहदा १४ औं संस्करणको मुखमा जेन्जी आन्दोलनको प्रभाव झेल्नुपरेको उनको भनाइ थियो ।

महोत्सव समापन तर्फ अगाडी वढ्दै गर्दा महोत्सवमा आकर्षक कलाकारहको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिएका छन । शुक्रबार मात्रै महोत्सवमा लोकदोहोरी कलाकार सम्झना लामिछाने र नविना सिलवाल खुईलीको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिए । त्यसैगरी साँझको लाइभ कन्सर्टमा सविन राई एण्ड द फेरोहको प्रस्तुतीमा युवाहरु झुमेको महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।

त्यसैगरी महोत्सवमा शनिवार प्रकाश दुतराज र साँझको लाईभ कन्सर्टमा भी टेनको प्रस्तुती रहने समेत प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । महोत्सवमा विभिन्न प्रायोजकहरुको स्टलमा विशेष छुट सहित भाग्यशाली कुपनबाट समापनमा विशेष उपहार योजना सञ्चालन भइरहेको छभने महोत्सव स्थलबाट २५ सयमा खाना र खाजा सहितको पोखरा मुक्तिनाथ मुक्तिनाथ पोखरा यात्राको ब्यवस्था आयोजकले मिलाएको छ ।

काठमाण्डौँ, ०९ माघ ।
 
गोरखा आज मिति २०८२/१०/९ डा. बाबुराम भट्टराईले गर्य आफ्नो प्रतिनिधि सभा सदस्यको उम्मेदवारी फिर्ता गरेका छन्। 
 
डा. बाबुराम भट्टराईले गोरखा २ बाट उम्मेदवार फिर्ता लिँदै नेपाली कमयुनिस्ट पार्टी (नेकपा) बाट  सोही क्षेत्र बाट उम्मेदवार दिएका लेखनाथ न्यौपानेलाई सघाउने  भएपछि उम्मेदवारी फिर्ता लिनु भएकाे छ । लेखनाथ न्याैपाने सदनमा जानुपर्छ भनेर डाक्टर भट्टराइले आफ्नी  मनाेनय फिर्ता लिनु भएकाे हाे ।
 
प्रखरवक्ता न्याैपाने उच्च नैतिक धरालत भएका नेताको  रूपमा गाेरखामा परिचित छन् । न्याैपानेले प्रतिनिधिसभाकाे टिकट पाएसँगै पालुङटार नगरपालिका, गाेरखा नगरपालिका, सिरानचाेक गाउँपालिका, अजिरकाेट गाउँपालिका र बारपाकसुलिकाेट गाउँपालिका भित्रका मतदाताहरू खुशी भएका छन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।