२०८३ जेष्ठ ४ सोमबार
२०८३ जेष्ठ ४ सोमबार

पोखरा, ०४ माघ ।

नेकपा एमालेले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारकाे टुंगो लगाएकाे छ । फागुन २१ गते हुने निर्वाचनका लागि गण्डकी प्रदेशका सबै निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको हाे ।

शनिबार बसेको पार्टीको सचिवालय बैठकले गण्डकीका ११ वटै जिल्लाका १८ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारहरू छनोट गरेको हो । गण्डकी प्रदेशमा एमालेले पुराना स्थापित नेतादेखि नयाँ अनुहारसम्मलाई चुनावी मैदानमा उतारेको छ । जसअनुसार लमजुङबाट उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ र पर्वतबाट पदम गिरीले पुनः उम्मेदवारी दिने भएका छन् ।

कास्कीका तीनवटा क्षेत्रमा बैनबहादुर क्षेत्री, कृष्ण थापा र दामोदर बैरागीलाई उम्मेदवार बनाइएको छ । यस्तै, गोरखा क्षेत्र नम्बर २ मा एमालेले मिलन गुरुङ (चक्रे मिलन) लाई टिकट दिएको छ भने गोरखा १ मा आर.सी. लामिछाने उम्मेदवार बनेका छन् ।

तनहुँमा भगवती न्यौपाने र केदार सिग्देलले टिकट पाउँदा स्याङ्जामा मीनप्रसाद गुरुङ र खिमबहादुर थापा चुनावी मैदानमा होमिने भएका छन् । खिमबहादुर कालीगण्डकी गाउँपालिकाका वहालवाला अध्यक्ष हुन् ।

हिमाली जिल्ला मुस्ताङबाट इन्द्रधारा विष्ट र मनाङबाट पोल्देन सोताङ गुरुङले टिकट पाएका छन् ।

बागलुङमा हीरा केसी र मञ्जु शर्मा चालिसेलाई उम्मेदवार बनाइएको छ ।

गण्डकी प्रदेशका उम्मेदवारहरूको पूर्ण सूची:

कास्की: १) बैनबहादुर क्षेत्री, २) कृष्ण थापा, ३) दामोदर बैरागी

गोरखा: १) आर.सी. लामिछाने, २) मिलन गुरुङ

लमजुङ: १) पृथ्वीसुब्बा गुरुङ

तनहुँ: १) भगवती न्यौपाने, २) केदार सिग्देल स्याङ्जा: १) मीनप्रसाद गुरुङ, २) खिमबहादुर थापा

नवलपुर: १) भागीरथ सापकोटा, २) तिलबहादुर महत क्षेत्री

पर्वत: १) पदम गिरी

म्याग्दी: १) हरिकृष्ण श्रेष्ठ

बागलुङ: १) हिरा केसी, २) मञ्जु शर्मा चालिसे

मुस्ताङ: १) इन्द्रधारा विष्ट

मनाङ: १) पोल्देन सोताङ गुरुङ

सचिवालय बैठकले गण्डकीसँगै देशभरका अधिकांश क्षेत्रमा उम्मेदवार तय गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई झापा–५ बाट उम्मेदवार बनाउने निर्णय भएको छ भने पार्टीले ओलीलाई नै भावी प्रधानमन्त्रीको रूपमा अघि सार्ने संकल्प समेत गरेको छ । उपमहासचिव लेखराज भट्टका अनुसार केही थोरै क्षेत्रमा उम्मेदवारको नाम बाँकी रहेकाले त्यसमा अध्यक्ष ओलीले थप छलफल गरी अन्तिम रूप दिनेछन् ।

निर्वाचन आयोगको कार्यतालिका अनुसार माघ ६ गते देशभरका निर्वाचन क्षेत्रमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ ।

पोखरा, ०४ माघ ।

साविकको नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र अन्य वामपन्थी घटकहरू मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले कास्कीका ३ क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ । क्षेत्र नम्बर १ मा राजकाजी गुरुङ करण, क्षेत्र नम्बर २ मा किरण थापा ‘आमोद’ र क्षेत्र नम्बर ३ मा प्रेम पौडेल नेकपाको उम्मेदवार हुने भएका छन् ।

माओवादी ‘जनयुद्ध’ देखि नै कास्कीमा संगठन विस्तारको नेतृत्व गरेका करण २०६४ सालको संविधानसभा निर्वाचनमा कास्की क्षेत्र नम्बर २ बाट निर्वाचित भएर संसदीय राजनीतिको अनुभव सँगालिसकेका व्यक्ति हुन्।

भूमिगत जनयुद्ध कालमा जनमुक्ति सेनाको कमाण्डरसमेत भएका किरण थापा आमोद विद्यार्थी राजनीतिबाट उदाएका हुन् । डा. बाबुराम भट्टराईसँगै नयाँ शक्ति पार्टी र पछि जनता समाजवादी पार्टी (जसपा) मा रहेर केन्द्रीय भूमिका निर्वाह गरेका थापाको मातृ पार्टीमा (हालको एकीकृत नेकपामा) पुनरागमन भएको हाे ।

साविकको एकीकृत समाजवादीका नेता प्रेम पौडेल व्यवसायी समेत हुन् । पुराना कम्युनिस्ट नेता पौडेलको पुर्ख्यौली घर कास्कीको सल्यान हो । उनको बसाइ र व्यवसाय पोखराको जिरोकिलोमिटरमा छ ।

काठमाण्डौँ, ०४ माघ ।

नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल रुपन्देही २ बाटै उम्मेदवार बन्ने भएका छन् । शनिबारको सचिवालय बैठकले पौडेललाई पाल्पा २ को टिकट दिएको थियो ।

तर चर्को विरोध भएपछि पार्टीको निर्णय सच्चिएको छ । पार्टीले बिष्णुप्रसाद पौडेललाई रुपन्देही २ कै उम्मेदवार बनाएको छ ।

बिष्णु पौडेल रुपन्देही २ बाट चुनाव लड्न निश्चित भएपछि रुपन्देहीका पाँचै क्षेत्रका उम्मेदवार निश्चित भएको छ । रुपन्देही १ दधिराम न्यौपाने, रुपन्देही २ विष्णुप्रसाद पाडैल, रुपन्देही ३ बाट बासुदेव घिमिरे, रुपन्देही ४ बाट सुनिता थथेर र रुपन्देही ५ बाट खिमलाल भट्टराई उम्मेदवार टुंगिएको हो ।

पाल्पा २ बाट गत चुनावमा ठाकुर गैरेले जितेका थिए ।

काठमाण्डौँ, ०४ माघ ।

धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले पदबाट राजीनामा दिएका छन् । साम्पाङले आइतबारको कार्यपालिका बैठकमा उपप्रमुख अइन्द्रबिक्रम बेघालाई राजीनामा बुझाएका हुन् ।

उनी श्रम संस्कृति पार्टीका अध्यक्ष हुन् । उनले सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका थिए ।

आइतबार नै पालिकाको बैठकमा धरान–१७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराईले पनि राजीनामा दिएका छन् । उनलाई नेकपाले सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको उम्मेदवार बनाएको छ ।

काठमाण्डौँ, ०४ माघ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले मेयर पदबाट राजीनामा दिएका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उम्मेदवार बन्न लागेका मेयर शाहले आज पदबाट राजिनामा दिएका हुन् ।

उनले आज दिउँसो उपमेयर सुनिता डंगोल समक्ष राजिनामा दिएको जनाएको छ । रास्वपाका बरिष्ठ नेता रहेका बालेनलाई रास्वपाले भावी प्रधानमन्त्रीको रुपमा अगाडि सारेको छ ।

काठमाण्डौँ, ०४ माघ ।

फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको समय सार्ने तयारी गरिएको छ । दलहरूले समेत आग्रह गरेपछि निर्वाचन आयोग पनि समय पछि सार्नका लागि सकारात्मक देखिएको स्रोत बताउँछ ।

निर्वाचन आयोग स्रोतका अनुसार नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका दलले मनोनयन दर्ताको समय सार्न माग गरेका छन् । दलहरूले माघ १५ देखि मसान्तसम्म समय सार्न आग्रह गरेको बताइएको छ ।

तर अहिलेसम्म आयोगले भने मिति सार्ने निर्णय गरिसकेको छैन । भने आयोगले दलहरूबाट आग्रह आएपछि यस विषयमा आन्तरिक छलफल गरिरहेको छ ।

निर्वाचन कार्यतालिका स्थगन गर्न माग गर्दै आयोगमा कांग्रेस देउवा समूहको निवेदन : नेपाली कांग्रेस देउवा समूहले माघ ६ गते प्रतिनिधि सभा निर्वाचनको प्रत्येक्षतर्फको मनोनयन मिति स्थगन गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएको छ।

शनिबार बसेको केन्द्रीय कार्यसमितिको निर्णय बमोजिम शुक्रबार निर्वाचन आयोगले गरेको निर्णयविरुद्ध आज सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेलगत्तै निर्वाचन कार्यक्रम स्थगनको माग गर्दै निवेदन दर्ता गराएको हो।

पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल, पूर्वमहान्यायधिवक्ता खम्बाबहादुर खाती र अधिवक्ता केशवराज जोशीले निर्वाचन आयोग पुगेर निर्वाचन कार्यक्रम स्थगनको निवेदन दर्ता गराएका हुन्।

रिट निवेदनमा देउवा समूहले सर्वोच्चमा दायर गरेको रिट निवेदनको अन्तिम किनारा नलागेसम्म निर्वाचनमा सम्पूर्ण कार्यक्रम स्थगन गर्न माग गरेको छ। निवेदनका साथ सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनका साथै माघ ६ गतेका लागि पेशी तोकिएको तारेख पर्चाको प्रतिलिपीसमेत पेश गरिएको छ।

पोखरा, ०४ माघ

पोखरामा जारी कास्की जिल्ला क्लबस्तरीय क्रिकेट प्रतियोगितामा कास्की क्रिकेट क्लबले लेखनाथ युथ क्रिकेट क्लबलाई २७३ रनले हराएको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको तेस्रो खेलमा कास्कीले लेखनाथ माथि सानदार जित हासिल गरेको हो । कास्कीको जितमा सोहिल कुँवर र विश्वास पराजुली नायक बने ।

३५० रनको विशाल विजयी लक्ष्य पाएको लेखनाथलाई २७.४ ओभरमा अलआउट गर्दै कास्कीले आफ्नो विजयी सुरुवात गरेको हो । लेखनाथले ७६ रन मात्रै जोड्न सफल रह्यो । लेखनाथका लागि प्रताप थापाले १७, देवनारायण यादवले १० तथा साहिल जैसवालले ९ रन बनाए ।

कास्कीका लागि विश्वास पराजुलीले सर्वाधिक ५ विकेट लिए । उनले ८ ओभरमा १ मेडनसहित १६ रन खर्चेर ५ विकेट लिएका हुन् । यस्तै रोहित चन्द र अर्जुन कुमालले १÷१ विकेट लिए । त्यसअघि पोखरा क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको कास्कीले ५० ओभरमा ८ विकेट गुमाउँदै ३४९ रन बनायो ।

कास्कीका लागि सोहिल कुँवरले शतकीय पारी खेले । उनले ९५ बलमा ११० रन बनाए । सहबुद्धिन अन्सारीले अर्धशतकीय पारी खेले । उनले ३१ बलमा ५० रन बनाए भने रोहित चन्दले पनि अर्धशतक पुरा गरे । उनले २८ बलमा ५० रन बनाए ।

लेखनाथका लागि सुवाष बास्तोलाले १० ओभरमा ७५ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । कृपेश पौडेलले २ तथा सज्जन क्षेत्रीले १ विकेट लिए । खेलको प्लेयर अफ दी म्याच कास्कीका सोहिल कुँवर घोषित भए ।
जिल्ला स्तरीय प्रतियोगिताबाट विजेता क्लबले प्रदेशस्तरीय एक दिवसीय प्रतियोगितामा कास्की जिल्लाको प्रतिनिधित्व गर्नेछ । जारी प्रतियोगिता प्रधानमन्त्री राष्ट्रिय पुरुष एक दिवसीय प्रतियोगिताको जिल्ला छनोट समेत रहेको छ ।

 

काठमाण्डौँ, ०४ माघ ।

खोला किनारामा थप २० मिटरको मापदण्ड लागू गर्ने फैसला सर्वोच्च अदालतले उल्टाएको छ। न्यायाधीशहरू सुनिलकुमार पोखरेल, बालकृष्ण ढकाल र नृपध्वज निरौलाको पूर्ण इजलासले आइतबार उक्त फैसला उल्टाएको हो।

यसअघि २०८० पुस ३ को फैसला कानुन र न्यायको रोहमा नमिलेको भन्दै उक्त फैसला उल्टाएको सर्वोच्चको आदेशमा उल्लेख छ।

फैसलामा भनिएको छ – ‘यस अदालतको संयुक्त इजलासबाट मिति २०८०।०९।०३ मा भएको फैसलामा उल्लिखित ‘बागमती नदी र यसका सहायक नदीका हकमा मिति २०६५/०८/०१ मा मन्त्रिपरिषदद्वारा निर्धारित मापदण्ड बाहेक दायाँ-बायाँ अर्को थप २० मिटर छाडेर मात्र नक्सा पास अनुमति दिने, कुनै नदी खोलाको हकमा सीमा नतोकिएको भएमा किनाराबाट दायाँ-बायाँ न्यूनतम २० मिटर सीमा निर्धारण गर्ने, थप गरिएको दूरीमा कुनै संरचना नबनिसकेको अवस्थामा उक्त दूरीभित्र पर्ने जग्गालाई निर्माण निषेधित क्षेत्र घोषणा गरी निर्माणको अनुमति प्रदान नगर्ने र उल्लिखित थप २० मिटर भित्रको जग्गामा कानुनबमोजिम नक्सा पास गरी पहिले नै भवन आदि संरचना निर्माण गरिएको अवस्थामा नदी किनारा क्षेत्रमा स्थायी संरचनाहरू निर्माण गर्न र नदी तथा खोलाहरूको सहज प्रवाहको लागि आवश्यक पर्ने जग्गा कानुनबमोजिम क्षतिपूर्ति प्रदान गरी प्राप्त गर्ने भन्ने हदसम्मको उक्त फैसला कानुन र न्यायको रोहमा मिलेको नदेखिँदा सो हदसम्म संयुक्त इजलासको मिति २०८०।०९।०३ को फैसला केही उल्टी हुने ठहर्छ ’ ।

सर्वोच्च अदालतले खोला किनारामा थप २० मिटर खाली ठाउँ छाड्ने गरी फैसला सुनाएकोमा फैसला कार्यान्वयन गर्न नसकिने भन्दै सरकारका तर्फबाट तत्कालीन कानुन सचिव फडिन्द्र गौतमले फैसला पुनरावलोकनको निवेदन दिएका थिए।

पोखरा, ०४ माघ ।

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको सहकार्य र सहजिकरण र पोखरा महानगरपालिका व्यवसाय प्रवद्घन केन्द्रको आयोजनामा दश कार्य दिने उद्यमशिलता विकास प्रशिक्षक प्रशिक्षण तालिम आइतबारदेखि व्यवसाय प्रवद्घन केन्द्र, पोखराको सभाहलमा सुरु भएको छ ।

पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाको अध्यक्षता, पोखरा महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मुक्तिराम अर्यालको प्रमुख आतित्यथा र गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेन्द्रबाबु तिवारीको बिषेश आतित्यथामा सञ्चालित उक्त तालिममा उद्धघाटन सत्रको सञ्चालन व्यवसाय प्रवद्घन केन्द्रमा प्रमुख नवराज अधिकारीले गर्नुभएको थियो । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका निर्देशक लक्ष्मण तिमिल्सिना, प्रशिक्षण तथा अनुसन्धान अधिकृत ई। मनोज पौडेल प्रशिक्षकको रुपमा रहनुभएको सो तालिममा १८ जना विभिन्न क्षेत्रका प्रशिक्षार्थीहरुको सहभागी रहेको छ ।

प्रतिष्ठानका निर्देशक लक्ष्मण तिमिल्सिनाले उद्यमशिलता विकास प्रशिक्षक प्रशिक्षण तालिमले प्रशिक्षार्थीहरुको क्षमता विकास गर्नुका साथै सफल उद्यमी बन्न सहजिकरणको सिप प्रदान गर्ने कुरामा जोड दिदै प्रतिष्ठानले प्राप्त गरेको कार्यबिधि भित्र रहेर तालिम सञ्चालन हुने जानकारी गराउदै सम्पूर्ण अतिथी र प्रशिक्षार्थीहरुलाई स्वागत गर्नुभएको थियो । त्यसै गरि प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेन्द्रबाबु तिवारीले स्थानीय तहको आयोजना र न्एत्ब् सहजिकरणमा त्इत् तालिम पहिलो पटक सञ्चालन भएको र यो सहजिकरणले सघीयता सवलिकरणमा महत्वपुर्ण भुमिका निर्वाह गरेको बताउदै त्इत् तालिममा छनोट हुनुभएकोमा बदाई समेत दिनुभयो ।

उद्धघाटन सत्रका बोल्नुहुदै प्रमुख अतिथी मुक्तिराम अर्यालले प्रतिष्ठानसंगको सहकार्यमा यो तालिम सञ्चालन गर्न पाउँदा गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान स्थानीय तहको क्षमता विकास लागि संगै रहेको महसुस भएको र यो तालिमले स्थानीय स्थरमा उद्यमशिलता विकास गर्न जोतिको रुपमा काम गर्नुका साथै स्थानीय उत्पादनलाई प्रोत्साहन दिनेमा दुईमत नरहेको बताउनुभयो । पोखरा महानगर भित्र रहेका कर्मचारीहरु र सरोकारवाला पक्षलाई क्षमता र सिप विकास सम्बन्धी तालिमहरु आवश्यक रहेको र त्यस्ता तालिमहरु प्रतिष्ठानबाट प्रदान हुने आशा समेत रहेको जानकारी गराउनुभयो । पोखरामै उद्यमशिलता विकास प्रशिक्षक प्रशिक्षण तालिम ९त्इत्० प्राप्त गर्न पाउँदा खुशी लागेको र यो तालिमले ज्ञानसंगै उद्यमशिलतासंग सम्बन्धित सिप विकास गर्ने अपेक्षा रहेको तालिममा सहभागी प्रशिक्षार्थी मौसम तिमिल्सिनाले बताउनुभयो । स्थानीयस्तरको आर्थिक विकासमा योग्दान दिदै स्थानीयस्तरमै उद्यमशिल प्रशिक्षक उत्पादन गर्नु यो तालिमको मुख्य उदेश्य रहेको बताउदै उद्घाटन सत्रको समापन कार्यक्रमका अध्यक्ष पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले गर्नुभएको थियो ।

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान, गण्डकी प्रदेश सरकारको तालिम र अनुसन्धान प्रदायक एक स्वायत्त संस्था रहेको र यसले सेवाकालिन, सेवा प्रवेश र गण्डकी प्रदेश भित्र रहेका कर्मचारी र जनप्रतिनिधिहरुको क्षमता विकास सम्बन्धी तालिमहरु सञ्चालन गर्दै आएको र प्रदेश र स्थानीय तहको साझेदारीमा बिभिन्न तालिम र अनुसन्धानका कार्यहरु सञ्चालन भईरहेको प्रतिष्ठानका प्रशिक्षण तथा अनुसन्धान अधिकृत ई। मनोज पौडेलले बताउनुभयो ।

पोखरा, ०४ माघ ।

पोखराको अमरसिंह खेल मैदानमा जारी पोखरा महोत्सवमा दर्शकका लागि विभिन्न अफर रहेको छ । महोत्सवमा आउने दर्शकहरुका लागि मुख्य प्रायोजक र प्रायोजकहरु संगै महोत्सव आयोजक युनाईटेड क्लबले मुक्तिनाथ दर्शनका लागि २५ सय रुपैयामा दुई तर्फी यात्राको अफर ल्याएको छ ।

महोत्सवको मुख्य प्रायोजकको रुपमा रहेको बेटर होम एपलायन्सको स्टलबाट एक हजारको सामान खरिद गर्दा पाउने कुपनको माध्यामबाट तीनजना भाग्यशाली उपभोक्तालाई बेटरले विभिन्न उत्कृष्ट पुरस्कार प्रदान गर्ने भएको छ । जस अन्तर्गत बेटरले भाग्यशाली उपभोक्तालाई प्रथम पुरस्कारको रुपमा एक टनको बेटर एसी, दोश्रो भाग्यशाली उपभोक्तालाई १५ लिटरको भिक्ट्री वाटर डिस्पेन्सर, मोनाको गिजर, तेस्रो भाग्यशाली उपभोक्तालाई बेटर ब्रेथ ९० ग्लासहुड चिम्नी, चौथौ भाग्यशाली उपभोक्तलाई रेडियान्स भ्याकुम क्लिनर र कन्सोलेशन प्राइजमा एमिनेट एयर फायर प्राप्त गर्ने महोत्सवका प्रायोजक उपसमिति संयोजक सूर्यबहादुर बानियाँले जानकारी दिए ।

भाग्यशाली उपभोक्ताको घोषणा महोत्सवको अन्तिम दिन गोला प्रथाद्धारा महोत्सवको स्टेजबाट घोषणा गरि पुरस्कृत गरिने छ । महोत्सवको अवधिभर मुक्तिनाथ दर्शनका लागि पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी संगको सहकार्यमा २५ सय रुपैयामा दुई तर्फी यात्राको ब्यवस्था मिलाइएको छ । महोत्सवको सचिवालयमा नाम टिपाएका दर्शकलाई दैनिक इभी मार्फत पोखरा मुक्तिनाथ र मुक्तिनाथ पोखरा दुईतफी यात्रा २५ सय रुपैयामा यात्रा गराउनुका साथै निशुल्क शाकाहारी खाना र खाजाको ब्यवस्था गरिएको महोत्सवका अतिरिक्त ब्यवस्थापन उपसमिति संयोजक गणेश खड्काले जानकारी दिए ।

महोत्सवको प्रायोजक बन्दीपुर केबलकार एण्ड टुरिजम प्रा.लि.ले पोखरा महोत्सवमा प्रत्येक दिन ५ जना भाग्यशालीलाई केबलकारको फ्रि टिकट प्रदान गरिरहेको छभने महोत्सवको प्रायोजक भिजन लिंक एजुकेशन कन्सल्टेन्सी प्रा.लि.ले महोत्सवमा राखिएको स्टलबाट भर्ना भएका विद्यार्थीहरुलाई भाषा कक्षामा ५० प्रतिशत छुट र गिफ्ट ह्याम्पर संगै गोलाप्रथाको माध्यमबाट दैनिक एकजनालाई निशुल्क भाषा कक्षाको अवसर प्रदान गरिरहेको छ ।

ग्रुमिङ पार्टनरमा रहेको बबि ब्यूटी सलुन एण्ड ट्रेनिङ सेन्टरले महोत्सव अवधिभर महोत्सवको टिकट लिएर ब्यूटिसियन कोर्स तथा सर्भिस लिन आउने विद्यार्थी तथा ग्राहकहरुलाई ३० प्रतिशत छुट र फुड पार्टनरमा रहेको पोखरा सेकुवा घरले महोत्सवको टिकटको अर्धकट्टी साथमा लिएर गएमा पोखरा सेकुवा घरको फुड आइटममा १० प्रतिशत छुट पाउनेछन ।

महोत्सवमा कान्तिपुर डेण्टल हस्पिटलले दैनिक निःशुल्क दातको स्क्रीनिङ गरिरहेको छ । महोत्सवमा आयोजना हुने टिकटक प्रतियोगितामा लाइकको आधारले प्रथम हुनेलाई आशिष इन्स्टीच्युट प्रालिको तर्फबाट नगद २५ हजार रुपैया पुरस्कार प्राप्त गर्नेछन । महोत्सवको टिकट अनलाईन बाट रेभल एप मार्फत समेत बुकिङ गर्न सक्ने प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । त्यसैगरी महोत्सवको एप पार्टनर वीपोखराको एप महोत्सव अवधिर ३० हजार डाउनलोडर पुगे ३० हजार मध्येबाट एकजनालाई आइफोन सेभेन्टिन प्रो प्रदान गरिने छ ।

महोत्सवमा आइतबारदेखि छेलो प्रतियोगिता शुरु भएको छभने गण्डकी प्रज्ञा प्रतिष्ठानको प्रायोजनामा विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता समेत आइतबार देखिनै शुरु भएको छ । आइतबार विद्यालय स्तरीय लोकनृत्य प्रतियोगितामा पोखरा स्पाइरल, सिद्ध मावि र ज्ञानगंगा स्कुलले आफ्नो प्रस्तुती राखेभने सोमबार सेन्ट मेरिज, अन्जुली बोर्डिङ स्कुल र विभूती शिक्षा सदनको प्रस्तुती रहने प्रतियोगिता संयोजक विष्णु कुमार गुरुङले जानकारी दिए ।

महोत्सवको छैठौ दिन समीक्षा अधिकारीको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिए । अधिकारी संगै लोकदोहोरी कलाकारहरु राजन कार्की, चोलेन्द्र पौडेल, माया गुरुङ, शिव शर्मा, कमला गैह्रे, अनिल चापागाईं लगायतको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिए । साँझको लाइभ कन्सर्टमा दुर्गेश थापाको प्रस्तुतीमा युवाहरु झुमे । महोत्सवको सातौं दिन सोमबार लोकदोहोरी तर्फ अर्जुन सापकोटा, चोलेन्द्र पौडेल, रामजी पौडेल, सरीता सारु मगर, केशव घिमिरे, रमा राना, आयुष परियार, मिलन दुलाल लगायतको प्रस्तुती रहने छभने सांझको लाइभ कन्सर्टमा लेकाली ब्याण्डको प्रस्तुती रहने महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।