
पोखरा, ०४ माघ ।
२०८२ माघ १ गतेदेखि प्रदर्शनमा आएको नेपाली सिनेमा ‘भाइरल गोर्खे’ को टिमले पोखरामा दर्शकसँग प्रत्यक्ष भेटघाट गरेको छ । पोखराको मिडटाउन सिनेमाजमा आइतबार आयोजित हल भिजिट तथा साक्षात्कार कार्यक्रममा चलचित्रका प्रमुख कलाकार सौगात मल्ल र सृष्टी श्रेष्ठ सहभागी भएका हुन् ।
कार्यक्रममा उपस्थित दर्शकले सिनेमाप्रति दिएको प्रतिक्रिया अत्यन्तै प्रशंसालायक देखियो । साक्षात्कारका क्रममा अधिकांश दर्शकले सिनेमाको कथावस्तु मन परेको प्रतिक्रिया दिएका थिए। समय सान्दर्भिक विषयवस्तु, पारिवारिक कथा र सामाजिक सन्देशले आफूहरूलाई छोएको दर्शकको भनाइ थियो। हल भिजिटपछि कलाकारहरूसँग फोटो खिच्दै प्रतिक्रिया दिँदा दर्शकहरू उत्साहित र खुशी देखिन्थे।
यसै अवसरमा चलचित्र पत्रकार संघ नेपाल, कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अभिनेता सौगात मल्लले ‘भाइरल गोर्खे’ बाट राम्रो प्रतिक्रिया पाइरहेको बताए । “अहिले भाइरलको जमाना छ, विशेषगरी टिकटकमार्फत। यही समसामयिक विषयलाई आधार बनाएर यो सिनेमा निर्माण गरिएको हो,” उनले भने। सौगातले सिनेमाको छायांकन लमजुङ जिल्लाको भुजुङ गाउँमा गरिएको जानकारी दिँदै गोरखा क्षेत्रका विभिन्न सुन्दर भूगोललाई पनि सिनेमामा समेटिएको बताए। ग्रामीण परिवेश र आधुनिक प्रवृत्तिको संयोजनले दर्शकलाई फरक अनुभूति दिएको उनको विश्वास छ ।
अभिनेत्री सृष्टी श्रेष्ठ पनि ‘भाइरल गोर्खे’ बाट सन्तुष्ट देखिइन्। सिनेमामा आफ्नो अभिनयलाई दर्शकले रुचाएको प्रतिक्रिया पाउँदा खुशी लागेको बताउँदै उनले कथावस्तु समय सान्दर्भिक भएकाले हलमा दर्शकको आकर्षण क्रमशः अझै बढ्दै जाने विश्वास व्यक्त गरिन्। “कथा राम्रो लागेकै कारण म यो सिनेमामा अनुबन्धित भएकी हुँ,” उनले भनिन्। पोखराबाट आफू निकै आशावादी भएर फर्किएको उनको भनाइ थियो। निगम श्रेष्ठको कथा तथा निर्देशनमा बनेको ‘भाइरल गोर्खे’ मा सौगात मल्ल, सृष्टी श्रेष्ठ, रिसी धमला, बुद्धी तामाङ, लक्ष्मी गिरीलगायत कलाकारहरूको अभिनय रहेको छ ।
समय सान्दर्भिक विषयवस्तु र सामाजिक सन्देश बोकेको यो सिनेमा दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको निर्माण टिमको दाबी छ । चलचित्र पत्रकार संघ नेपाल, कास्कीका अध्यक्ष सन्तोष बस्यालको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा कास्की चलचित्र पत्रकारहरूको बाक्लो उपस्थिति रहेको थियो।
विपन्न बस्तीका बालबालिकालाई जीवनपयोगी शिक्षा
पोखरा, ०४ माघ ।
पोखरा उद्योग वाणिज्य संघअन्तर्गत रहेको सामाजिक विकास केन्द्रले बाल क्लब पदाधिकारी लक्षित दुईदिने जीवनोपयोगी शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बालबालिकाहरूलाई जीवनोपयोगी सीप,नेतृत्व विकास,आत्मविश्वास अभिवृद्धि तथा सामाजिक उत्तरदायित्वसम्बन्धी विषयमा प्रशिक्षण प्रदान गरिएको थियो ।
प्रशिक्षणमा बालमनोविद तथा शिक्षक प्रेमनारायण पोखरेल‘पानी पोखरेल’ले सहजीकरण गरेका थिए । किडासाको सहयोगमा माघ २ र ४ गतेसम्म सञ्चालन गरिएको उक्त कार्यक्रममा पोखरा नगर क्षेत्रभित्रका ९ ठाउँमा रहेका अव्यवस्थित बस्तीका ७६ जना बालबालिकाहरुको सहभागिता रहेको थियो ।
पोखरा उद्योग वाणिज्य संघअन्तर्गतको सामाजिक विकास केन्द्रले पोखरा १ बगरमा रहेको शान्ति टोल,पोखरा ९ मा रहेको कृष्ण टोल,१५ मा रहेको अमिनतारा टोल, पोखरा १६ मा रहेका गायक टोल र गोस्ते टोल,पोखरा १७ को पुलचोक टोल,पोखरा १८ को भकुण्डे टोल,पोखरा २५ को मसिना बगर टोल र पोखरा २८ को पट्नेरीमा सामुदायिक सवलीकरण परियोजना संचालन गरिरहेको छ । यो कार्यक्रमअन्तर्गत विद्यालय शिक्षा, अतिरिक्त कक्षा, अनौपचारिक शिक्षा तथा अभिभावकको सशक्तिकरण कार्यक्रमसमेत सामेल गरिएको परियोजनाकी सुपरभाइजर अञ्जना पौडेलले जानकारी दिइन् ।
सामाजिक विकास केन्द्रले कार्यक्रम संचालन भएको क्षेत्रमा बाल क्लब गठन गरेको छ भने क्लबलाई विभिन्न रचनात्मक कार्यक्रममा समावेश गर्दै आइरहेको छ । सो अभिमुखीकरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले बालबालिकाहरुलाई सानैदेखि असल अभ्यास गराउँदै सही बाटोमा लगाउनुपर्ने र त्यसको सुरुवात घरबाटै हुनुपर्नेमा जोड दिए । सहरी क्षेत्रमा रहेका अव्यवस्थित बस्तीमा रहेका बालबालिकाको सर्वाङ्गिण विकासका लागि राज्य र पालिकाले विशेष भूमिका खेल्नुपर्ने उनको धारणा थियो ।
सामाजिक विकास केन्द्रका संयोजक राजेन्द्रकुमार लालचनको संयोजकत्वमा सम्पन्न सो कार्यक्रममा किडासाका परियोजना अधिकृत रमेश बास्तोला, वित्त तथा प्रशासन संयोजक सरिता ताम्राकारसहितको उपस्थिति रहेको परियोजना सुपरभाइजर अञ्जना पौडेलले जानकारी दिइन् ।
·११० गोल्ड, ११० सिल्भर मेडलका लागि ३०० विद्यार्थी प्रतिस्पर्धामा
पोखरा, ०४ माघ ।
पोखराको नदीपुरस्थित पोखरा कलेज अफ म्यानेजमेन्टमा आइतबारदेखि पिसिएम स्पोट्र्स मिट–२०२६ सुरु भएको छ । कलेजका निर्देशकद्वय प्राञ्जल कायस्थ र समीर शर्माले एक समारोहका बिच संयुक्त रुपमा प्रतियोगिताको उद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा कलेजका प्राचार्य लिना नेगी, वि.सी.एस. आइटी संयोजक हरि बराल, पिसिएम प्रशासक सुशान पौडेल लगायतको उपस्थित रहेको थियो । उद्घाटन समारोहमा बि.बि.ए.सातौं सेमेष्टरका छात्राहरुले स्वागत नृत्य प्रस्तुत गरे ।
सप्ताहव्यापी खेलकुद कार्यक्रममा बास्केटबल, फुटसल, भलिबल, टेबल टेनिस, ब्याडमिन्टन, चेस, रसाकसी, ई–गेम्स तथा अन्य रमाइला खेलहरू हुने छन् । प्रतियोगितामा बि.बि.ए, बि.बि.ए. फाइनान्स र बि.एस.सी.आइटीका ३०० विद्यार्थीहरूले १ सय १० गोल्ड तथा १सय १० सिल्भर मेडलका लागि प्रतिस्पर्धा गर्नेछन् ।
उपाधि जित्ने टिमले च्याम्पियन्स ट्रफी प्राप्त गर्ने बि.बि.ए. कार्यक्रम संयोजक सरोज कुँवरले जानकारी दिनुभयो । विद्यार्थीहरुको स्वास्थ्य, भाइचारा तथा उनीहरुमा अन्तरनिहित प्रतिभा प्रस्फुटनका लागि पनि कलेजले हरेक वर्ष सप्ताहव्यापी खेलकुद महोत्सव आयोजना गर्दै आएको उहाँको भनाई छ ।
पोखरा, ०४ माघ ।
मिस तामाङ पोखराको उपाधी बिरौटाकी सुप्रिया गोले तामाङले जितेकी छिन् । शनिबार पोखरा इभेन्ट सेन्टरमा भएको प्रतिस्पर्धामा अन्य ७ जना प्रतियोगीलाई पछि पार्दै उनले मिस कन्फिडेन्ट सबटाइटल सहित मिस तामाङ पोखराको ताज पहिरिएकी हुन् । प्रमुख निर्णायक नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले तामाङ समुदाय संस्कार संस्कृति सम्बन्धि सोधेको प्रश्नमा अन्य उत्कृष्ट ५ प्रतिस्पर्धीभन्दा सर्वोत्कृष्ट उत्तरका साथ बाजी मारेकी हुन् ।
बैदाम तामाङ सेवा समाजको आयोजनामा भएको दशौं संस्करणको मिस तामाङ पोखरामा मिस व्युटी विथ परपोज सहित फस्र्ट रनरअप सोममाया तामाङ बनिन् । सोनी तामाङले मिस बेस्ट वक सहित सेकेण्ड रनरअप हुदा कविना घिसिङ तामाङ मिस पंक्चुवल सहित भ्युवर्स च्वाइस टाइटल जितिन् । माया लामाले मिस कल्चरसंगै पपुलर अवार्ड हात पारिन् । यसैगरि खुसी तामाङले मिस ट्यालेण्ट, रोज लामा मिस फोटोजेनिक, सलिना तामाङले मिस बेस्ट स्माइल बनिन् ।
प्रतियोगिताको विजेताले ताज, ट्रफी, प्रमाणपत्र सहित रु १ लाख नगद तथा आकर्षक गिफ्ट ह्याम्परहरु प्राप्त गरेकीछिन् । फस्ट रनरअपले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ५० हजार रुपैयाँ प्राप्त गरिन् । त्यस्तै सेकेण्ड रनरअपले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ३० हजार रुपैयाँ हात पारिन् । भ्युवर्स च्वाइस र मिस पपुलरका विजेताले नगद २० हजार पुरस्कार प्राप्त गरिन् ।
विजेता तथा उपविजेताहरुलाइ बिशेष अतिथी नेपाल तामाङ घेदुङ्गका केन्द्रिय उपाध्यक्ष दीपक वाइवा तामाङ, बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङ,लभ मिस तामाङ पोखरा २०२४ का विजेता एवम कार्यक्रम संयोजक रोशिला ब्लोन तामाङ, नेपाल चलचित्र विकास वोर्डका अध्यक्ष दिनेश डिसी, पुर्व मिस तामाङ नेपाल रिया लामा, नेपाल तामाङ घेदुङ गण्डकी प्रदेशका उपाध्यक्ष शिवु ब्लोन, मिस तामाङ पोखरा २०२५ का विजेता शिशा लामा, गण्डकी प्रदेशका प्रेस रजिष्टार विमला भण्डारी लगायतले पुरस्कार वितरण गरेका थिए ।
सबटाइटल विजेताहरुलाई नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष भक्त तामाङ, नेपाल तामाङ घेदुङ पोखरा महानगरका अध्यक्ष अन्जना तामाङ, कोरियोग्राफर जिता तामाङ, अफिसियल फोटोग्राफर गणेश तामाङ, कलाकार फुलकुमार बोम्जन, राम लामा लगायतले पुरस्कार वितरण गरेका थिए ।
यस अघि कार्यक्रमको उदघाटन गर्दै उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले यस्ता प्रतियोगिताले सौन्दर्य मात्र होइन, पहिचान, आत्मविश्वास र संस्कृतिको संरक्षणलाई अघि बढाउने कुरामा जोड दिए । मिस तामाङ पोखरा जस्ता कार्यक्रमले तामाङ समुदायका युवतीलाई नेतृत्व, चेतना र सकारात्मक सोचका साथ अघि बढ्न प्रेरणा दिने विश्वास लिएको उनले बताए ।
कार्यक्रममा नेपाल तामाङ घेदुङ्गका केन्द्रिय उपाध्यक्ष दीपक वाइवा तामाङ, नेपाल चलचित्र विकास वोर्डका अध्यक्ष दिनेश डिसी, गण्डकी प्रदेशका प्रेस रजिष्टार विमला भण्डारी, कलाकार बुद्धी तामाङ, कार्यक्रमका संयोजकमा पुर्व मिस तामाङ पोखरा रोशिला ब्लोन तामाङ, सह संयोजक शिशा लामा तामाङ, राम लामा, जिता लामा, सन्चारकर्मी सन्जय मल्ल लगायतले बोलेका थिए । कार्यक्रमको निर्णायकरुमा नेपाल चलचित्र विकास वोर्डका अध्यक्ष दिनेश डिसी, पुर्व मिस तामाङ नेपाल रिया लामा, गण्डकी प्रदेशका प्रेस रजिष्टार विमला भण्डारी, कलाकार बुद्धी तामाङ रहेका थिए । गायक फुलकुमार बोम्जन , विवेक दोङ, सन्तोष बस्याललगायतले प्रस्तुती राखेका थिए । कार्यक्रम बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङको अध्यक्षतामा भएको थियो ।
पोखरा, ०४ माघ।
पोखराका पत्रकार धन बस्नेत र सागरराज तिमिल्सिनालाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । नेपाल पत्रकार महासंघ कास्कीले प्रदान गर्ने उक्त पुरस्कार २०८१ बाट बस्नेत र २०८२ बाट तिमिल्सिना सम्मानीत हुन लागेका हुन् ।
नारायण कार्की संयोजक रहेको प्रतिक्षा छनोट समितिले छनोट गरेको नाम महासंघ कास्कीको आइतबार बसेको कार्यसमिति बैठकले अनुमोदन गरेको हो । समितिका सदस्यमा राजेन्द्र अधिकारी, मोतिसागर अधिकारी, माधवप्रसाद बराल र भूपाल गुरुङ थिए । टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कारको राशी नगद २५ हजार १११ रहेको छ ।
सम्मानीत हुन लागेका बस्नेत खेलाडीन्यूज डटकम र टक्सार म्यागाजिनमा आवद्ध छन् । २०६० सालमा नेपाल समाचारपत्रबाट पत्रकारिता सुरु गरेका उनले नागरिक दैनिकमा काम गरेको अनुभव छ । बस्नेतले यसअघि सहारा खेलकुद पुरस्कार २०६४ र जिल्ला खेलकुद विकास समिति, कास्कीले प्रदान गर्ने उत्कृष्ट खेल पत्रकार पुरस्कार प्राप्त गरिसकेका छन् ।
अर्का सम्मानीत पत्रकार तिमिल्सिना एपिवान टिभी र क्लिक गण्डकीमा आवद्ध छन् । २०५९ सालदेखि समाधान राष्ट्रिय दैनिकबाट पत्रकारिता सुरु गरेका तिमिल्सिनाले पोखरा एफएम, रेडियो तरङ्ग, उज्यालो रेडियो नेटवर्क, विग एफएम, एभिन्यूज, सेतोपाटी, गनथन डटकममा काम गरिसकेका छन् ।
तिमिल्सिनाले यसअघि सहारा पत्रकारिता पुरस्कार, जिल्ला खेलकुद विकास समिति, कास्कीले प्रदान गर्ने खेलकुद अवार्ड र रेवान पोखराले प्रदान गर्ने पर्यटन पत्रकारिता पुरस्कार प्राप्त गरिसकेका छन् ।
पोखरा, ०४ माघ।
दिनेश राउतको निर्देशनमा तयार भएको नेपाली सिनेमा ‘कुमारी’ को प्रचार–प्रसारका क्रममा पोखरामा आयोजित भव्य कन्सर्ट उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ । पोखराको इभेण्ट म्यानेजमेन्ट कम्पनी प्रचारले व्यवस्थापन गरेको उक्त कन्सर्टमा कलाकार, संगीत र दर्शकबीचको ऊर्जाशील सहभागिताले कार्यक्रमलाई विशेष बनायो।
कन्सर्टका क्रममा सिनेमाका मुख्य कलाकार अभिषेक खड्का र आकृति राजभण्डारी ले पोखरेली दर्शकसँग प्रत्यक्ष संवाद गर्दै चलचित्र निर्माणका अनुभव, पात्रको यात्रा र ‘कुमारी’ले बोकेको भावनात्मक सन्देशबारे खुलेर चर्चा गरे । पछिल्लो समय टिकटकमा भाइरल बनेको कुमारीको गीत “डोको बुन्ने” मा झुम्दै उनीहरुले दर्शकसँग साक्षत्कार गरेका हुन् । कलाकारसँग प्रत्यक्ष भेटघाट र संवादको अवसर पाउँदा दर्शकहरू उत्साहित देखिन्थे।
कार्यक्रमलाई थप उचाइमा पु¥याउँदै केयर लिम्बू एण्ड द लुंगा ब्याण्डले दिएको सशक्त प्रस्तुतीले पोखराका दर्शकहरूलाई झूमायो। लाइभ संगीत, नृत्य र दर्शकको सहभागिताले कन्सर्टलाई स्मरणीय बनाएको थियो। कुमारी मार्फत डेभ्यु गरेका अभिषेक खड्काले पोखरेली दर्शकको माया र उत्साहप्रति आभार व्यक्त गर्दै भने, “पोखरामा दर्शकको यस्तो ऊर्जा पाउँदा निकै खुशी लाग्यो। ‘कुमारी’ हाम्रो लागि केवल सिनेमा होइन, भावनाको कथा हो। यहाँबाट पाएको समर्थनले हामीलाई अझ आत्मविश्वासी बनाएको छ।”
आफु पनि जेनजी उमेर समूहको भन्दै जेनजी पुस्ताबाट कुमारीलाई सहयोग मिल्ने विश्वास उनको छ । त्यसैगरी नायिका आकृति राजभण्डारीले पनि दर्शकसँगको आत्मीयताले आफूलाई भावुक बनाएको बताइन्। “पोखरेली दर्शकको प्रतिक्रिया असाध्यै सकारात्मक छ। ‘कुमारी’ले उठाएका विषय दर्शकले आत्मसात् गर्नुहुनेछ”, उनले भनिन् ।
चलचित्रका निर्देशक दिनेश राउतले पोखरामा देखिएको उत्साहले ‘कुमारी’ प्रति दर्शकको अपेक्षा प्रस्ट भएको बताए । “पोखराको यो माहोलले ‘कुमारी’ सही दिशामा अघि बढिरहेको संकेत गरेको छ। दर्शकको साथ र विश्वास नै हाम्रो सबैभन्दा ठूलो शक्ति हो,” उनले भने ।
आगामी माघ २३ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको ‘कुमारी’ प्रति पोखरेली दर्शकको उत्साहले चलचित्रको सफलताको संकेत दिएको छ । निर्माण टिमले नेपाली सिनेमालाई साथ दिन सबै दर्शकलाई नजिकैको हलमा पुगेर ‘कुमारी’ हेर्न आग्रह गरेको छ । नेपाली समाजका संवेदनशील पक्षलाई कलात्मक ढंगले प्रस्तुत गर्ने प्रयास गरिएको ‘कुमारी’ ले प्रदर्शनसँगै दर्शकको मन जित्ने अपेक्षा गरिएको छ।
पोखरा, ०४ माघ ।
अडिटर एशोसिएसन नेपाल ९अडान० कास्कीको आयोजनामा माघ २ तीनदिने निरन्तर व्यावसायिक शिक्षा ९सीपीई० तालिम आज भव्य रूपमा सम्पन्न भएको छ। तालिम समापन कार्यक्रम अडान कास्कीका अध्यक्ष गुणानिधि पाण्डेको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा अडिटर एशोसिएसन नेपाल ९अडान० का केन्द्रीय अध्यक्ष बद्रीप्रसाद भट्टराई प्रमुख अतिथिका रूपमा उपस्थित रहनु भएको थियो।
कार्यक्रममा केन्द्रीय वरिष्ठ उपाध्यक्ष डा। डोलप्रसाद दाहाल, केन्द्रीय उपाध्यक्ष चन्द्रबहादुर सुवेदी, उपमहासचिव शिवराज बराल र हेमराज पौडेल, सचिव लिला भट्टराई, केन्द्रीय सदस्यहरू पदमबन्धु पोखरेल, रुद्रनाथ पौडेल, भोला शर्मा तथा अडान गण्डकी प्रदेशका अध्यक्ष ज्ञानबहादुर कार्की विशेष अतिथिका रूपमा उपस्थित रहनु भएको थियो।
कार्यक्रममा बोल्दै अडान कास्कीका अध्यक्ष गुणानिधि पाण्डेले लेखापरीक्षण क्षेत्रको गुणस्तर अभिवृद्धिका लागि सीपीई तालिम अनिवार्य र अपरिहार्य रहेको बताउनु भयो। प्रमुख अतिथि तथा अन्य अतिथिहरूले लेखा क्षेत्रमा भइरहेको परिवर्तन, दक्ष जनशक्ति विकास र व्यावसायिक आचरणमा सीपीई तालिमको भूमिकाबारे धारणा व्यक्त गर्नुभएको थियो।
केन्द्रीय उपाध्यक्ष चन्द्रबहादुर सुवेदीले लेखापरीक्षणमा प्रयोगमा आएका नयाँ प्रविधि, आर्थिक ऐनले गरेका नवीन व्यवस्था तथा अन्तर्राष्ट्रिय अभ्यासमा आएका नयाँ प्रविधिबारे जानकारी गराउनु तालिमको मुख्य उद्देश्य रहेको स्पष्ट पार्नुभयो। तालिममा सि।ए रोशन सापकोटा, आर।ए पदमबन्दु पोख्रेल, सि।ए बिवेक श्रेष्ठले र केन्द्रीय वरिष्ठ उपाध्यक्ष डा। डोलप्रसाद दाहालले प्रशिक्षकको रूपमा प्रशिक्षण दिनु भएको थियो।
अडान कास्कीका सचिव कृष्णप्रसाद ढुंगानाले कास्की जिल्लालाई आर्थिक रूपमा सबल बनाउँदै अडिटरहरूबीच एकता सुदृढ गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार अग्रजहरूको सल्लाह, सहभागिता र सहयोगका कारण कार्यक्रम सफल भएको हो। तालिममा करिब १५० जनाको सहभागिता रहेको थियो।
सोही अवसरमा नवनिर्वाचित पदाधिकारीहरूलाई अडान गण्डकी प्रदेशद्वारा सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान तथा शुभकामना व्यक्त गरिएको थियो।कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति आयोजकले धन्यवाद व्यक्त गरेको छ।
पोखरा, ०३ माघ ।
पोखरा महानगरपालिका–२९ भण्डारढिकस्थित लेखनाथ रंगशालामा हुने २६ औं संस्करणको आदर्श कप हुने भएको छ । आदर्श युवा क्लबको आयोजना यहि माघ ९ देखि १६ गतेसम्म २६ औं संस्करणको आदर्श कप हुन लागेको शनिवार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो । प्रतियोगितामा दुई विभागीय क्लबसहित ८ टिमको सहभागिता हुने भएको छ। प्रतियोगिताको तयारी अन्तिम चरणको पुगेको क्लबका अध्यक्ष पदम गुरुङ बताए ।
‘२१ औं संस्करणसम्म जिल्लास्तरीय हुँदै राष्ट्रिय प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्दै अहिले हामी अहिले २६औं संस्करणमा आइपुगेका छौं, अध्यक्ष गुरुङले भने,‘कोभिड लगायत विविध कारणले केही वर्ष प्रतियोगिता हुन नपाएपनि हामीले पुनः प्रतियोगितालाई निरन्तरता दिँदै अहिले माघ ९ देखि १६ गतेसम्म प्रतियोगिता सञ्चालन गर्दै छौं ।’
अध्यक्ष गुरुङका प्रतियोगितामा नेपाल प्रहरी गण्डकी, सशस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनी मुख्यालय, आदर्श युवा क्लब, कास्की ११, गन्नी एफसी पर्वत, एन्फा तनहुँ, होराईजन क्लब वालिङ स्याङ्जा, म्याग्दी खेलकुद विकास समितिको सहभागिता रहनेछ ।
प्रतियोगिताको विजेताले ४ लाख ९९ हजार ९ सय ९९ र उपविजेताले ३लाख ३३ हजार ३ सय ३३ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै प्रत्येक खेलको म्यान आफ दि म्याच घोषित खेलाडीले नगद ५ हजारसहित ट्रफी प्राप्त गर्नेछन् ।
यस्तै प्रतियोगिताको विधागतर्फ उच्च गोलकर्ता, उत्कृष्ट प्लेमेकर, उत्कृष्ट डिफेन्स,गोलरक्षक र कोचले जनही १५÷१५ हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिता सम्पन्न करिव ६१ लाख खर्च हुने अनुमान रहेको आयोजकले जनाएको छ । प्रतियोगिताको क्वाटरफाइनल र सेमिफाइनलका लागि १ सय रुपैयाँ र फाइनल खेलका लागि २ सय रुपैयाँ प्रवेश शुल्क तोकिएको छ ।
प्रतियोगिताको मुख्य प्रायोजकमा फस्ट च्याईस फुड्स लिमिटेड शुद्धोधन–४ रुपन्देही रहेको छ ।
काठमाडौं, ०३ माघ ।
नेपाली कांग्रेसको गगन थापाको सभापतित्वमा बसेको केन्द्रीय समिति बैठकले ६ वट निर्णय गरेको छ।
शनिबार सभापति थापाको सभापतित्वमा बसेको बैठकका ६ निर्णय गरेको हो। बैठकले निर्वाचन आयोगको पछिल्लो निर्णयलाई स्वागत गर्दै पार्टी एकता, आगामी निर्वाचन र पूर्वसभापति शेरबहादुर देउवाको भूमिकालगायत विषयमा निर्णय गरेको छ।
प्रवक्ता देवराज चालिसेका अनुसार बैठकले निर्वाचन आयोगको निर्णयलाई कसैको हारजित नभई विधि र लोकतन्त्रको विजयको रूपमा व्याख्या गरेको छ।
बैठकले देउवाले लामो समयदेखि पार्टी नेतृत्वमा रहेर पुर्याएको योगदानप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा अभिभावकीय भूमिका प्राप्त हुने विश्वाससमेत व्यक्त गरेको चालिसेले बताए।
कांग्रेसले अब उप्रान्त कुनै पनि अप्राकृतिक गठबन्धन वा सत्ताकेन्द्रित सम्झौता नगर्ने प्रतिबद्धता दोहोर्याएको छ। बैठकले मूल्य र मान्यतामा अडिग रहँदै संविधानको रक्षा र नवयुवाको आकांक्षालाई सम्बोधन गर्ने निर्णय गरेको छ।
बैठकले फागुन २१ गते हुने निर्वाचनमा नवीन ऊर्जा र पूर्ण एकताका साथ सहभागी हुन सबै तहका समिति र भ्रातृ संस्थाहरूलाई आह्वान गरेको छ। यसलाई ‘रूपान्तरण, एकता र विजयको नयाँ अध्याय’ भन्दै विभिन्न कारणले पार्टीबाट निष्क्रिय रहेका वा पार्टी छाडेका सबैलाई पुनः जोडिन आग्रह गरिएको छ।
आयोगले शुक्रबार दोस्रो विशेष महाधिवेशनका निर्णयलाई वैधानिकता दिएपछि बसेको यो बैठकले परिवर्तनमा साथ दिने सबैप्रति आभार व्यक्त गरेको प्रवक्ता चालिसेले जानकारी दिए ।
यस्ताछन् नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको २०८२ माघ ३ गते नयाँ बानेश्वरमा बसेको बैठकले गरेका निर्णयहरू
१. निर्वाचन आयोगले नेपाली काग्रेसको दोश्रो विशेष महाधिवेशनका निर्णयहरूलाई संविधान, कानून र पार्टी विधानअनुसार मान्यता दिई अद्यावधिक गरिसकेको छ। यो कसैको जित-हार होइन, यो विधान र लोकतन्त्रको विजय हो। यस ऐतिहासिक परिवर्तनमा साथ दिने हरेक सदस्य, शुभेच्छुक र सहयोगीप्रति हृदयदेखि केन्द्रिय समितिको यो वैठक हार्दिक आभार व्यक्त गर्दछ।
२. यो समय एकता, सद्भाव र सहकार्यको समय हो। देश-विदेशमा रहेका सवै कांग्रेसजन, सवै तहका समितिहरू र सबै भातृ तथा सूभेच्छुक सस्थाका साथिहरूलाई नवीन ऊर्जा, अटुट विश्वास र पूर्ण एकताका साथ फागुन २१ को निर्वाचनमा शसक्त रूपमा सहभागि हुन हार्दिक आह्वान गरिन्छ।
३. विभिन्न कारणले पार्टीवाट निष्कृय रहनु भएका, विभिन्न कारणले पार्टी छाड्नु भएका सवै साथिहरूलाई पार्टीमा पुन : जोडिन यो वैठक हार्दिकतापूर्वक आह्वान गर्दछ।
४. यतिवेला हामी निवर्तमान सभापति शेरबहादुर देउवा लगायतका नेताहरूले नेपाली काग्रेसको नेतृत्वमा रहि लामो समयदेखि पुर्याउनु भएको योगदानको उच्च कदर गर्दै हार्दिक धन्यवाद प्रकट गर्दछ। यो वैठक श्रद्देय नेताको अभिभावकीय भूमिका प्राप्त हुने विश्वास राख्दछ।
५. नेपाली कांग्रेस आम नेपाली नागरिकप्रति आफ्नो अटल प्रतिबद्धता पून दोहर्याउन चाहन्छ, अब कुनै अप्राकृतिक गठबन्धन वा सत्ताकेन्द्रित सम्झौता हुनेछैन। हामी सदैव मूल्य र सिद्धान्तमा अडिग रहने छौ। संविधानको रक्षा गर्दै समृद्ध नेपालको नेतृत्व गर्ने छौ। नवयुवाको आकांक्षा र जनताको अपेक्षालाई साकार पार्ने छौं।
६. यो नयाँ अध्याय हो- रुपान्तरणको, एकताको, विजयको। सवैमा अनुरोध छ, समुन्नत नेपाल निर्माणको महाअभियानमा जोडिनुहोस्। थप स्नेह, विश्वास र साथ दिन सवैमा अनुरोध छ।
काठमाडौं, ०३ माघ ।
आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जाने पुरुष नेपाली क्रिकेट टोलीको बिदाई गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिवार विशेष कार्यक्रम गरी आईसीसी टी–२० विश्वकप खेल्ने टोलीलाई बिदाई गरेको हो ।
आगामी फेब्रुअरी–मार्चमा श्रीलंका र भारतमा हुने विश्वकपमा सहभागी हुनु अघि टोलीले अभ्यास खेल खेल्नेछ । सोही क्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले राष्ट्रिय टोलीमा भएको एकरुपता र एकताले नेपाललाई अर्को खुसी दिलाउने कुरामा विश्वस्त रहेको बताएका छन् ।
उनले भने, ‘एकदम शान्त भएर खेल खेल्नु होला, सबैले आफ्नो खेल र प्रदर्शनमा ध्यान दिनुु होला, कहिले काही सानो सानो कुराले हामी पछाडी पर्ने गरेका छौ । तपाईहरुमा भएको एकरुपता र एकताले नेपाललाई अर्को खुसी दिलाउने छ भन्ने कुरामा म विश्वस्त छु ।’
यस्तै, क्यानका सचिव पारस खड्काले पनि विश्व क्रिकेटले खेल हेर्ने भएको हुदाँ खेलाडीको हरेक पक्षले धेरै मान्यता राख्ने भन्दै राम्रो प्रदर्शन गर्नको लागि शुभकामना दिएका छन् ।
उनले भने, ‘पुरुष नेपाली क्रिकेट टोलीको परिणाम सबैभन्दा बढि आकर्षित हुने गरेको छ र त्यो परिणामले नै धेरै कुराहरु निर्धारित गर्ने हुने हुनाले अहिले खेलाडीहरुमाथि जति जिम्मेवारी छ त्यो एउटा खेलाडीको मात्र नभएर विश्व क्रिकेटले नै तपाईहरुलाई हेर्ने हो । खेलमा तपाईहरुको हरेक पक्षले धेरै मान्यता राख्ने छ । खेलको लागि सबैलाई शुभकामना दिन चहान्छु किनभने खेल त्यति सजिलो छैन् ।’
साथै, राष्ट्रिय टोलीका कप्टान रोहित पौडेलले खेलको लागि एकदमै उत्साहित रहेको भन्दै आफ्नो क्षमता अनुसार राम्रो खेल्ने बताए । टोली भोलि भारत प्रस्थान गर्दैछन् ।





