२०८३ जेष्ठ ४ सोमबार
२०८३ जेष्ठ ४ सोमबार

पोखरा, ०३ माघ ।

मुस्कान थापाको दोहोरो शतकीय प्रदर्शनीमा क्लब स्तरीय एक दिवसीय क्रिकेट प्रतियोगितामा पोखराले उत्कृष्ट सुरुवात गरेको छ । प्रधानमन्त्री कप जिल्ला छनोटको रुपमा समेत रहेको प्रतियोगितामा मुस्कानले २२९ रन बनाए । यस्तै गण्डकीकै सुवासले उत्कृष्ट बलिङ गर्दै एकै खेलमा ७ विकेट लिएपछि पोखराले अत्यन्तै ठूलो योगफलमा जित हासिल गरेको हो ।

कास्की जिल्ला क्रिकेट संघको आयोजनामा पोखरामा जारी प्रतियोगिताको दोस्रो दिन पोखरा क्रिकेट क्लबले गण्डकी क्रिकेट क्लबलाई २३४ रनले हराएको हो । ३०९ रनको विजयी लक्ष्य पाएको गण्डकी क्रिकेट क्लबलाई २१।४ ओभरमा ७५ रनमा अलआउट गर्दै उत्कृष्ट जित हासिल गरेको हो ।

गण्डकीका ओपनर दिक्सन अर्याल २ रनमा आउट भए । सुरज अधिकारी २३ रनमा आउट भए । उनले ३८ बलमा ३ चौका प्रहार गरे । सम्राट अधिकारी १, विवेश अधिकारी ४, सौरभ सुवेदी २१, अभिषेक विक २ र श्रीराम प्रजापति १० रनमा आउट भए । यस्तै हिमाल आचार्य, सुवास गिरि र सौरभ पौडेल शुन्यमै आउट भए ।

पोखराका लागि सुवाष भण्डारीले ९।४ ओभरमा १ मेडनसहित ३३ रन खर्चेर सर्वाधिक ७ विकेट लिए । प्रज्वल पौडेल, देव शाह र सुर्जन गुरुङले १÷१ विकेट लिए । त्यसअघि पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस हारेर व्याटिङ थालेको पोखराले ३३।५ ओभरमा अल आउट हुँदै ३०८ रन जोड्यो । मुस्कान थापाले दोहोरो शतक पुरा गरे । उनले १२४ बलको सामना गर्दै २४ चौका र १४ छक्का प्रहार गर्दै सर्वाधिक २२९ रन बनाए ।

ओपनर अर्जुन बुढाथोकीले २३ रन बनाए । उनले २९ बलमा १ चौका र १ छक्का प्रहार गरे । अतिफ मिया र देव शाह शुन्यमा आउट भए । इशान श्रेष्ठ र सुप्रल श्रेष्ठले ३÷३ रन जोडे भने मौसम भट्टराइ ४, प्रज्वल पौडेल १ रनमा आउट भए । सुवाष भण्डारी १३ र सुर्जन गुरुङ शुन्यमा आउट भए । गण्डकीका लागि अनिश पोखरेलले ७ ओभरमा ६१ रन खर्चेर ४ विकेट लिए । सम्राट अधिकारी र दिक्सन अर्यालले २÷१ तथा श्रीराम प्रजापति र सुभम गिरिले १÷१ विकेट लिए ।

माघ २ देखी सुरु प्रतियोगिता पोखरा र लेखनाथमा हुनेछ । प्रतियोगितामा कुल १० क्लबको सहभागिता रहेको छ । प्रतियोगिताको समूह ‘ए’ मा राइजिङ क्रिकेट क्लब, अमरज्योति क्रिकेट क्लब, सांग्रिला क्रिकेट क्लब, लेकसाइड क्रिकेट क्लब र एभरेष्ट क्रिकेट क्लब रहेका छन् ।

यस्तै समूह ‘बि’मा पोखरा क्रिकेट क्लब, कास्की क्रिकेट क्लब, माछापुच्छे्र क्रिकेट क्लब, लेखनाथ क्रिकेट क्लब र गण्डकी क्रिकेट क्लब रहेका छन् । आजबाट सुरु हुने प्रतियोगिता १६ गतेसम्म सञ्चालन हुनेछ ।

पोखरा, ०३ माघ ।

पोखरा महोत्सवबाट २५ सय मा मुक्तिनाथको यात्रा गराउने भएको छ । यात्रुहरुलाई निशुल्क खाना र खाजाको समेत ब्यवस्था मिलाइने छ । पोखराको अमरसिंह चौरमा जारी १४ औं पोखरा महोत्सव स्थलबाट पोखरादेखि जोमसोम मुक्तिनाथ यात्रामा विशेष छुट सहित मात्र २५ सयमा पोखरा मुक्तिनाथ, मुक्तिनाथ पोखरा यातायात ब्यवस्था मिलाईने भएको हो ।

अन्य समयमा एकतफी यात्राको भाडादर १८ सय रहेको पोखरा मुक्तिनाथ यात्रा पोखरा महोत्सव आयोजकले पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी संगको समन्वयमा पोखरा मुक्तिनाथ दुईतर्फी यात्राको ब्यवस्था २५ सयमा उपलब्ध गराएको पोखरा महोत्सवका अतिरक्ति क्रियाकलाप संयोजक गणेश खड्काले जानकारी दिए । १६ सिट क्षमता भएको ईभी हाइसमा आरामदायी यात्राको उक्त सेवा प्राप्त गर्नका लागि पोखरा महोत्सवको सचिवालयमा नाम टिपाउनु पर्नेछ ।

उक्त बस पोखराबाट बिहान ४ बजे पोखराबाट छुट्नेछभने साँझ ८ बजे पोखरा आइपुग्नेछ । यात्रुहरुलाई एक छाक शाकाहारी खाना र खाजाको ब्यवस्था महोत्सव आयोजक युनाईटेड क्लबले मिलाएको संयोजक खड्काले बताए । खड्काका अनुसार यात्रुहरु एक स्थानबाट दुई भन्दा बढी यात्रुहरु भएमा घर घरबाट पिकअप र ड्रपको ब्यवस्था गरिएको छ ।

महोत्सवको पाँचौ दिन सम्म आइपुग्दा महोत्सवमा दर्शकको उल्लेख्य उपस्थिती रहेको छ । दर्शकको उपस्थिती संगै महोत्सवमा राखिएका स्टलहरुको समेत कारोबार वढेको महोत्स्वका अर्थ तथा स्टल ब्यवस्थापन संयोजक जयराम आचार्यले जानकारी दिए ।

महोत्सवको पाँचौ दिन चर्चित लोकदोहोरी गायक प्रकाश सपुतको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिए । सपुत संगै शनिवार जीवन दाहाल, चोलेन्द्र पौडेल, तुलसा क्षेत्री, टेक क्षेत्री इन्द्रा गुरुङ, निश्चल थापा मगर, बिनिता क्षेत्री लगायतले प्रस्तुती राखेका थिएभने साँझको लाइभ कन्सर्टमा सुरताल ब्याण्ड र अनुप्रस्थाको प्रस्तुतीमा युवाहरुले भरपुर मनोरन्जन लिए ।

महोत्सवको छैठौं दिन लोक दोहोरी तर्फ समीक्षा अधिकारी, राजन कार्की, चोलेन्द्र पौडेल, माया गुरुङ, शिव शर्मा, कमला गैह्रे, अनिल चापागाईं लगायतको प्रस्तुती रहने छभने साँझको लाइभ कन्सर्टमा दुर्गेश थापाको प्रस्तुती रहने महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।

पोखरा, ०३ माघ ।

पोखरामा भएको मनोहर कप तेस्रो क्लब स्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि आयोजक टोलीले जितेको छ । मनोहर क्लबको आयोजनामा पोखरा–१४ मनकामना टोलको खेल मैदानमा शनिबार भएको फाइनल खेलमा पोखरा युनाइटेडलाई ३–० को सोझो सेटमा पराजित गर्दै आयोजक टोलीले उपाधि रक्षा गरेको हो ।

आयोजक टोलीले पहिलो सेट २५–१६, दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–१५ ले आफ्नो पक्षमा पा¥यो । उपाधिसँगै आयोजक टोलीले एक लाख ७५ हजार ५५५ रुपैयाँ प्राप्त ग¥यो । उपविजेता बनेको पोखरा युनाइटेडले एक लाख एक हजार १११ रुपैयाँमा चित्त बुझायो ।

सेमिफाइनलसम्म पुगेका नवज्योति युवा क्लब र पकुवा भलिबल क्लबले जनही २० हजार पाए । प्रतियोगितामा सञ्जुविक्रम शाह सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले ८ हजार र ट्रफी हात पारे । सन्दीप सुनार स्पाइकर, दीपक थापा डिफेन्डर, अजय सुनार ब्लकर, सञ्जोक परियार सर्भर, लप्सन सुनार उदीयमान र सुमन राना प्रशिक्षक विधागततर्फ उत्कृष्ट बने । उनीहरुले जनही ५ हजार पाए । प्रतियोगितामा १४ टोलीले सहभागिता जनाएका थिए ।

पोखरा, ०३ माघ ।

१९ औं राष्ट्रिय विद्यार्थी गुणीय चक्र सम्मेलन सम्पन्न भएको छ । पोखराको सेन्ट मेरिजमा पुष ३० देखि माघ २ गते सम्म आयोजित विद्यार्थी गुणीय चक्र सम्मेलनको समापन गर्दै पोखरा महानगरका मेयर धनराज आचार्यले क्वेष्ट नेपालले विद्यार्थीको गुणस्तर सुधारका लागि विद्यार्थीहरुलाई अलराउण्डर बनाएर सञ्चालन गरिने विद्यार्थी गुणीय चक्र कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्ने र उक्त कार्यक्रम महानगरका विद्यालयहरुमा लागू गर्न आफू तत्पर रहेको बताए ।

शिक्षा क्षेत्रमा सरकारको कतिपय कुराहरु नमिल्ने, पाठ्यक्रम बनाउने सन्दर्भमा होस् वा शिक्षकहरु समेत पुस्तक बिना कक्षाकोठामा नजाने कुराहरुलाई एक्स्ट्रा करिकुलमको माध्यामबाट विद्यार्थीलाई कसरी सक्षम बनाउन सकिन्छ भन्ने सन्दर्भमा क्वेष्ट नेपालले विद्यार्थी गुणीय चक्र कार्यक्रमबाट उल्लेख्नीय काम गरेको उनको भनाइ रहेको थियो ।

कार्यक्रममा विभिन्न विद्याका पुरस्कार वितरण गरिएको थियो । जस अन्तर्गत क्वेष्ट नेपालका प्रमुख संरक्षक प्रोफेसर दिनेश प्रसाद चापागाईकी कान्छी छोरी मनशा शर्माको सम्झनामा स्थापित मनशा स्मृति सर्व गुणीय व्यक्तित्व पुरस्कारबाट गृष्मा भट्ट ब्राइट फ्युचर सेकेन्डरी स्कूल काठमाडौं, खुशी भट्टराई कुडोस विद्यालय सदन मोरङ, प्रमेस मण्डल झापा मोडल इ। स्कुल, दमक, सम्यक पोखरेल, काठमाण्डू युनिभर्सिटी हाइस्कुल चौकोट र सारा काफ्ले बेबिलोन नेश्नल स्कुल काठमाण्डौं सम्मानित भए । यो उक्त पुरस्कारको नवौं शृङ्खला हो ।

यसै वर्ष स्थापना गरिएको दिनेश चापागाईं अन्तराष्ट्रिय गुणस्तर पुरस्कारबाट भारतका डा। विनिता कामरन पुरस्कृत भइन् । उक्त पुरस्कारकोलागि नेपालबाट ३ जना, बेलायतबाट १ जना र पाकिस्तानबाट १ जना गरी ५ सदस्यीय निर्णायक मण्डल बनेको थियो । साथै यसै वर्ष शुरु भएको एसक्युसी क्वालिटी हब अवार्डको लागि देशभरका २६ हबमध्ये एफिनिटी हब, झापा हब र श्रीनगर हब छनौट भएका छन् ।

त्यसैगरी राष्ट्रिय विद्यार्थी गुणीय चक्र विद्यालय पुरस्कारबाट बेथेल इङ्ग्लिस स्कुल पाल्पा, पाल्पा परागाउँ स्कुल पाल्पा, पिनाकल ज्ञान मन्दिर स्कुल मोरङ पुरस्कृत भए । साथै सम्मेलनमा सहकार्यात्मक कला तथा कोलाज प्रतियोगितामा राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदन बारा र अर्किड स्कूल भरतपुरले प्रथम स्थान हासिल गरेभने आरम्भ एकेडेमी नवलपुर र जेसीस इन्टरनेशनल बोर्डिङ स्कूल काठमाडौंले दोश्रो र लिटिल स्टेप एकेडेमी नवलपुर र शान्ति नमुना माध्यामिक विद्यालय रुपन्देहीले तेस्रो स्थान हासिल गरे ।

सहकार्यात्मक विद्यार्थी गुणीय चक्र ट्रेजर हन्टतर्फ सम्यक गुरुङ, अकुल अधिकारी, आर्या महतो र सियासी सारुको समुह प्रथम, इदुशी राजउपाध्याय, श्वेच्छा आचार्य, आयुष चौधरी र नारायण वलीको समुह दोस्रो र हिमाल भट्टराई, अदिती बजगाई, प्रियंका राजवंशी र युनिका सोतीको समुहले तेस्रो स्थान हासिल गरे ।

पुरस्कार वितरण समारोहमा क्वेष्ट नेपालका अध्यक्ष नारद कुमार रिजाल, क्वेष्ट नेपालका प्रमुख संरक्षक प्रोफेसर दिनेश चपागाईं, आयोजक विद्यालयकी प्रिन्सिपल सिस्टर जेसी, क्वेस्ट नेपालका संस्थापक सल्लाहकार फादर लरेन्स मनियार लगायतले पुरस्कार प्रदान गरेका थिए ।

कार्यक्रममा सहभागी विद्यालयहरू, सहयोगी संस्था, स्वयंसेवक र आयोजक टोलीलाई प्रशंसापत्र र स्मृति चिह्न प्रदान गरिएको थियो भने समारोहमा क्वेस्ट नेपालका मुख्य सल्लाहकार सुनयनी गुरुङ, एसक्यूसी थिङ्क ट्याङ्क निराजन अधिकारी र सुवर्ण राज केसी, महासचिव राम बाबु अधिकारी, उपाध्यक्ष मोहन कुमार कार्की, सचिव रबि श्रेष्ठ, कोषाध्यक्ष जमुना महर्जन लगायत पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सेन्ट जेभियर्स जावलाखेल, ग्यालेक्सी, विजयपुर स्कूल, एलआरआई, एपेक्स स्कूल, सैनिक आवासीय महाविद्यालय, स्मल हेभन स्कूललगायत विभिन्न विद्यालयका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

अर्को २७औँ अन्तर्राष्ट्रिय तथा २०औँ राष्ट्रिय सम्मेलन सन् २०२७ मा सेन्ट जेभियर्स जावलाखेल, ललितपुरमा आयोजना हुने भएको छ । समापन समारोहमा आगामी वर्षको सम्मेलनको लागि झण्डा हस्तान्तरण कार्यक्रममा उक्त विद्यालयका प्रिन्सिपल फादर बोनिफेस टिग्गा, सहायक प्रिन्सिपल रमेश महर्जन र गोदावरी हब संयोजक कुन्दन रिजाललाई झण्डा हस्तान्तरण गरिएको थियो ।

सेन्ट मेरिजका विद्यार्थी द्वय आश्र्या गुरुङ र साराह गुरुङले सञ्चालन गरेको कार्यक्रममा एसएमएसका विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति दिएका थिए ।

काठमाडाैं, ०२ माघ । 

अन्तरिम सरकारले तोकिएको मितिमै प्रतिनिधि सभा सदस्य निर्वाचन हुने दावी गरेकाे छ । सिंहदरबारमा शुक्रबार बसेकाे मन्त्रीपरिषदकाे बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले यस्तो दावी गर्नुभएको हो ।

उहाँले आगामी फागुन २१ गते निर्वाचनको मिति तोकिसकिएकाले मिति तलमाथि नहुने बताउनुभयो । सरकार निर्वाचन गराउन गम्भीताका साथ लागेको बताउनुभएकाे छ।

उहाँले भन्नुभयो,-‘फागुन २१ मा निर्वाचनको मिति तोकिएको छ । त्यो भन्दा यताउति हुँदैन । बाँकी निर्वाचन गराउने दायित्व सरकार र सरोकारवाला निकायको सबै हो । निर्वाचन आयोगको निर्णय हामी पर्खिनेछौं।’ मन्त्री खरेलले निर्वाचन गराउने दायित्व सरकारको मात्रै नभइ सबै सरोकारवाला निकायको भएको बताउनुभयो ।

काठमाडाैं, ०२ माघ ।

निर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शुक्रबार साँझ कांग्रेसको दुवै पक्षबाट पेश भएका विवरण अध्ययन गरी विशेष महाधिवेशनले निर्वाचित गरेको कार्यसमिति नै आधिकारिक भएकाे बताउनुभएकाे हाे। साेही विवरण आयोगमा अद्यावधिक गर्ने निर्णय गरेको समेत उहाँले बताउनुभयाे । आयोगका तीन पदाधिकारीमध्ये दुई जनाले पक्षमा र एक जनाले विपक्षमा राय दिँदा बहुमतका आधारमा निर्णय गरिएको हो। प्रमुख निर्वाचन आयुक्त भण्डारी र निर्वाचन आयुक्त जानकी तुलाधरले दिने पक्षमा निर्णय दिएका थिए । अर्का आयुक्त सगुन शमशेर राणा विपक्षमा निर्णय दिने पक्षमा रहनुभएकाे जनायएकाे छ ।

आयोग सम्बद्ध उच्च स्रोतले सभापति थापा नेतृत्वको कार्यसमितिलाई नै आधिकारिकता दिने निर्णय गरेको पुष्टि गरेको हो।आयोगको निर्णयविरूद्ध शेरबहादुर देउवा पक्षका कांग्रेस नेता तथा कार्यकर्ताले कान्तिपथ सडकमा नाराबाजी गरिरहेका छन्। ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। अहिले पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, मीनेन्द्र रिजाल, प्रकाशशरण महत र एनपी साउद लगायतका कांग्रेस नेताहरू आयोग बाहिर कान्तिपथमै प्रदर्शन गरिरहेका थिए ।

सभापति थापा लगायत नवनिर्वाचित कार्यसमितिले आफ्नो आधिकारिकता दावी गर्दै बिहीबार दिउँसो निर्वाचन आयोगमा विवरण अद्यावधिक गर्न माग गरेको थियो। यसका लागि थापाले आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई तथ्य, प्रमाण र कागजातहरू बुझाउनुभएकाे थियाे। त्यस्तै, कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का लगायतका नेता पनि सभापति शेरबहादुर देउवा नेतृत्वको कांग्रेस नै ुआधिकारिकु भएको जिकिर गर्दै शुक्रबार बिहान आयोगमा पुग्नुभएकाे थियाे। खड्काले पार्टीका निर्णयहरूसहित विभिन्न प्रतिवेदन र दस्तावेज आयोगमा बुझाउनुभएकाे हाे ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि कांग्रेसभित्र नीति र नेतृत्व परिवर्तको मुद्दा चुलिएको थियो। त्यसै क्रममा विशेष महाधिवेशन गर्ने कि चुनाव अगाडि नियमित महाधिवेशन गर्ने भन्ने विवाद शुरू भएकाे हाे। त्यहि विवादबीच ५४ प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर बुझाएका थिए। पार्टी विधान अनुसार करिब ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरी माग गरेका थिए । ३ महिनाभित्र विशेष महाधिवेशन डाक्नुपर्ने व्यवस्था विधानमा रहेकाे छ।

पोखरा, ०२ माघ ।

आज २७ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस विभिन्न कार्यक्रम गरी पोखरामा पनि मनाइएको छ । भूकम्पसम्बन्धी विविध सचेतनामूलक कार्यक्रम गरेर दिवस मनाइएको हो ।

पोखरामा भुकम्पीय जोखिम न्यूनिकरणसम्बन्धी नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले कृत्रिम घटना अभ्यास समेत गरेका छन् । भुकम्पको समयमा अपनाउनुपर्ने साबधानीदेखि भुकम्प पछिको उद्दार र भुकम्पपछि हुन सक्ने सम्भावित दुर्घटना न्युनिकरणबारे कृत्रिम अभ्यास गरिएको थियो । जसमा नेपाली सेनाका १५ , नेपाल प्रहरीका १५ र सशस्त्र प्रहरीका १५ गरी ४५ जना सुरक्षाकर्मीहरु सहभागी थिए । अभ्यासमा भुकम्पपछि मानविय साथै भौतिक क्षतिको न्यूनिकरण र उद्धार कसरी गर्ने भन्ने विषयमा डेमो प्रस्तुत गरिएको थियो ।

जिल्ला विपद् व्यवस्थापन समिति कास्कीको आयोजना, सशस्त्र प्रहरी बल नेपाल नं २४ गण हेक्‍वा कालिका कास्कीको प्राविधिक संयोजन तथा सञ्चालनमा भएको सो कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायहरुको संयुक्त समन्वय एवम् पोखरा महानगरपालिकाको समन्वय रहेको थियो ।

सो अवसरमा कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, कास्कीका गणपति शसस्त्र प्रहरी उपरिक्षक सुर्य प्रसाद तिमिल्सीना, जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेल, जिल्ला विपद् व्यवस्थापनमा संलग्न निकाय तथा स्थानिय समुदायको उपस्थिति रहेको थियो ।

यस वर्ष ‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने मूल नाराका साथ दिवस मनाइएको हो ।

पोखरा, ०२ माघ ।

कास्कीमा आगामी प्रतिनिधिसभाको निर्वाचनका लागि आह्वान भएको निर्वाचन प्रहरीको भर्ना म्याद दुई दिन थप गरिएको छ । गएको पुस २४ गते निर्वाचन प्रहरी भर्नाको सूचना प्रकाशन भई २५ गतेदेखि माघ १ गतेसम्म आवेदन दिने समय थियो । तर अपेक्षितभन्दा कम आवेदन परेपछि म्याद २ दिन थपेर माघ ३ गते शनिबारसम्म लम्ब्याइएको हो ।

कास्कीमा २ हजार ३ सय ३ जना निर्वाचन प्रहरी भर्ना गरिँदै छ । यसअघि निर्वाचनको सुरक्षामा सघाउन भर्ना गरिने सुरक्षाकर्मीलाई म्यादी प्रहरी भन्ने गरिएकोमा यसपालि निर्वाचन प्रहरी नाम दिइएको छ ।

यसैबीच कास्कीमा बिहीबार दिउँसोसम्म निर्वाचन प्रहरीका लागि नेपाल प्रहरीतर्फ १ हजार ६ सय २ जनाले आवेदन गरेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । 

निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी एकीकृत (नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाल) कार्यविधि २०८२ बमोजिम माग देशैभर निर्वाचन प्रहरी भर्ना चलिरहेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र सशस्त्र प्रहरी बलको कालिका गणबाट फारम वितरण भइरहेको र फारम वितरण हुने स्थानमै बुझाउन मिल्ने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले बताए ।

१८ वर्ष पूरा भई ५४ वर्ष ननाघेकाका नेपाली नागरिकले यसमा आवेदन दिन मिल्छ । निर्वाचन प्रहरी हुन साधारण लेखपढ गर्न जान्ने, नैतिक पतन देखिने कुनै फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, भर्ना हुने समयमा कुनै राजनीतिक दलको सदस्य नभएको, शारीरिक तथा मानसिक रूपमा स्वस्थ्य रहेको, आतङ्ककारी तथा विध्वंसात्मक संगठनको सदस्य नरहेको, शारीरिक र मानसिक रुपले स्वस्थ व्यक्ति हुनपर्छ ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालबाट सेवा निवृत्त पूर्वसुरक्षाकर्मी वा पूर्ववन रक्षकलाई प्राथमिकता दिइनेछ । अघिल्ला प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका निर्वाचनमा म्यादी प्रहरीका रूपमा भर्ना भई सन्तोषजनक काम गरेका व्यक्ति तथा विदेशी मित्रराष्ट्रका सुरक्षा निकायमा काम गरी सेवा निवृत्त भएका नेपाली नागरिकलाई पनि प्राथमिकतामा राखिएको छ ।

निर्वाचन प्रहरीमा दरखास्त दिन शुल्क लाग्दैन । उत्तीर्ण भएका निर्वाचन प्रहरीलाई माघ १५ देखि २४ गतेसम्म तालिम तथा प्रशिक्षण दिइनेछ । माघ ३ गतेसम्म आवदेन दिनेहरुको सम्पर्क मिति माघ ४ गते तोकिनेछ । निर्वाचन प्रहरीको नियुक्ति पाएको मितिले ४० दिन वा सरकारले तोकेबमोजिम काम गर्नुपर्ने छ । निर्वाचन प्रहरीले प्रहरी जवानको सुरु तलब स्केलसरह प्रतिदिन आठ सय ६९ रुपैयाँ ४० पैसाका दरले ४० दिनसम्मका लागि ३४ हजार ७ सय ७६ पाउनेछन् ।

उनीहरुलाई सम्बन्धित जिल्लाको नेपाल प्रहरीले पाए सरहको दररेट अनुसार ४० दिनको लागि खाद्यान्न बापतको रकम र निर्वाचनको क्रममो ठाउँमा आउने र जाने तयारीस्वरुप आठ सय ४६ रुपैयाँ र तीन सयको दरले चार दिनका लागि एकमुष्ट एक हजार दुई सय खाजा खर्च दिइनेछ ।

पोखरा, ०२ माघ ।

तामाङ समुदायको भाषा, संस्कृति र पहिचान प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजना हुन लागेको मिस तामाङ पोखरा–२०२६ को सम्पूर्ण तयारी पूरा भएको छ । बैदाम तामाङ सेवा समाजको आयोजनामा सम्पन्न हुन लागेको प्रतियोगिताको ग्राण्ड फिनाले माघ ३ गते शनिबार पोखरा इभेन्ट सेन्टर, बुलौदी लेकसाइडमा आयोजना हुँदैछ। प्रतियोगितामा ८ जना युवती सहभागी छन्, जसले सौन्दर्यसँगै क्षमता, आत्मविश्वास, संस्कृति र नेतृत्व प्रस्तुत गर्नेछन् ।

व्यवसाय व्यवस्थापन अध्ययनरत सोममाया मोक्तान तामाङ उद्यमशीलता र महिला आत्मनिर्भरतामा केन्द्रित सोच बोकेकी छिन्। सलिना स्याङ्तान तामाङ कला र चित्रकलामार्फत तामाङ संस्कृतिको प्रवद्र्धन गर्न चाहन्छिन्। गीत–संगीतप्रेमी सुप्रिया गोले तामाङ मौलिक तामाङ गीतलाई नयाँ पुस्तासम्म पु¥याउने लक्ष्यमा छन्। सबैभन्दा कम उमेरकी प्रतियोगी खुसी मोक्तान तामाङ लोकनृत्यप्रति समर्पित रहँदै सांस्कृतिक प्रशिक्षक बन्ने सपना देख्छिन् ।

त्यसैगरी, गायनमा रुचि राख्ने माया दुम्जन तामाङ, तामाङ सेलो नृत्यमा दक्ष सोनी पाख्रिन तामाङ, मेकअप आर्टमा रुचि राख्ने कविना घिसिङ तामाङ तथा सेल्फ ब्राइडल मेकअपमार्फत आत्मविश्वासको सन्देश दिन चाहने रोज स्याङ्देन लामा प्रतियोगितामा सहभागी छन्।

आयोजकका अनुसार प्रतियोगीहरूलाई बोल्ने कला, महिला सशक्तीकरण, तामाङ भाषा, संस्कार तथा संस्कृति, साइबर सुरक्षा, महिला अधिकार, सेल्फ डिफेन्स, स्टेज प्रस्तुति र कोरियोग्राफीलगायत विषयमा विभिन्न क्षेत्रका विज्ञ तथा ख्यातिप्राप्त व्यक्तित्वहरूबाट तालिम प्रदान गरिसकिएको छ।

कार्यक्रम संयोजक रोशिला ब्लोन तामाङले प्रतियोगितामार्फत युवतीहरूको आत्मविश्वास र नेतृत्व क्षमता विकास भएको बताउँदै ग्राण्ड फिनालेका लागि सबै तयारी अन्तिम चरणमा पुगेको जानकारी दिइन्। समाजका अध्यक्ष ज्याक तामाङले मिस तामाङ पोखरा प्रतियोगिता सौन्दर्य प्रतियोगिताभन्दा फरक, पहिचान र सशक्तीकरणको अभियान भएको उल्लेख गर्दै सफल आयोजनाका लागि सबै पक्ष तयार रहेको बताए।

ग्राण्ड फिनाले कार्यक्रममा कलाकारहरू बुद्धी तामाङ, दिनेश डिसी, फुलकुमार बोम्जन, विवेक दोङ र सन्तोष बस्याललगायतको विशेष प्रस्तुति रहनेछ । कार्यक्रम नेपाल सरकारका निवर्तमान ऊर्जा मन्त्री तथा ‘उज्यालो नायक’ कुलमान घिसिङको प्रमुख आतिथ्यतामा सम्पन्न हुनेछ।

प्रतियोगिताको विजेताले ताज, ट्रफी, प्रमाणपत्रसहित नगद १ लाख रुपैयाँ प्राप्त गर्नेछिन् भने फस्ट रनरअप, सेकेन्ड रनरअप तथा भ्युअर्स च्वाइसतर्फ पनि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

पोखरा, ०२ माघ ।

आउदो फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्की क्षेत्र नम्बर ३ मा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आज शुक्रबार पोखराको मालेपाटन स्थित प्रदेश कृषि मन्त्रालयको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । मुख्य निर्वाचन अधिकृत हेमलाल बेलबासेले कार्यालय स्थापना गरिएको जानकारी दिए । उनले निर्वाचनलाई स्वतन्त्र र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन राज्यका संयन्त्र लागिपरेको बताउदै निर्वाचनमा राजनीतिक दलहरूको उत्सव समेत भएको बताए।

कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचनका लागि सम्पूर्ण सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिइन । उनले नेपाली सेना परिचालन गर्ने गरि रणनीति बनाइएको बताउदै कास्कीमा करिव २ हजारको हाराहारीमा सुरक्षा निकाय खटाइने जानकारी दिइन ।

कास्कीमा १५३ मतदानस्थल र ३६३ वटा मतदान केन्द्र रहेको निर्वाचन कार्यालय गण्डकी प्रदेश पोखराका निर्वाचन अधिकारी नारायण ढकालले बताए । उनका अनुसार जिल्लामा ३ लाख मतदाता रहेका छन् ।

आज नै जिल्लाका ३ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरि निर्वाचन अधिकारी खटाइएको छ । कास्की क्षेत्र न १ मा सीता रेग्मी र क्षेत्र न २ मा निर्मला कुमारी खडकालाइ निर्वाचन अधिकारीको रुपमा खटाइएको छ ।

कास्की क्षेत्र नं १ को निर्वाचन अधिकृतको कार्यालय पशुपन्छी अनुसन्धान तथा तालिम केन्द्र रामघाट, क्षेत्र नं २ को निर्वाचन अधिकृतको कार्यालय सङ्घीय जलस्रोत तथा सिँचाइ व्यवस्थापन कार्यालय, ड्यामसाइट र क्षेत्र नं ३ को निर्वाचन अधिकृतको कार्यालय मालेपाटनस्थित प्रदेश कृषि मन्त्रालयको भवनमा स्थापना गरिएको छ । कास्कीमा तीन लाख ११ हजार सात सय ५६ मतदाता सङ्ख्या रहेको छ । 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।