२०८३ जेष्ठ ३ आईतवार
२०८३ जेष्ठ ३ आईतवार

पोखरा, २९ चैत्र ।

गण्डकी स्पोर्टस् क्लबको आयोजनामा सम्पन्न पहिलो संस्करणको ३५ प्लस भेट्रान्स सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि न्यूरोड एफसीले जितेको छ । पोखरा महानगरपालिका ५ मालेपाटनस्थित खेलमैदानमा आज ९आइतबार० भएको फाइनल खेलमा एनके एफसीमाथी १–० गोल अन्तरले सँघर्षपूर्ण जीत निकाल्दै न्यूरोड एफसीले उपाधि जितेको हो ।

न्यूरोडलाई उपाधि दिलाउन विनोद कुँवरले निर्णायक गोल गरे । उनै कुँवर म्यान अफ द म्याच बने । प्रतियोगिताको उपाधिसँगै न्यूरोड क्लबले नगद रु ६० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो ।

यस्तै उपविजेता बनेको एनकेलाई नगद रु ३५ हजार शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको खेल संयोजक रेमोस गुरुङले जानकारी दिए । उनका अनुसार सो प्रतियोगिताबाट न्यूरोड एफसीका नरेश केसी सर्वोत्कृष्ट खेलाडीका रुपमा नगद रु ३ हजारसहित पुरस्कृत भए ।

उत्कृष्ट डिफेण्डरका रुपमा एनकेका कन्यासुब्बा गुरुङ, उत्कृष्ट मिडफिल्डरका रुपमा सोही टिमकै राजकुमार घिसिङ, उत्कृष्ट गोलरक्षकका रुपमा न्यूरोडका विशाल नेपाली, सर्वाधिक गोलकर्ताका रुपमा सोही टिमकै विनोद कुँवर जनही २ हजार ५ सय रुपैयाँसहित पुरस्कृत भए ।

यसैगरी उत्कृष्ट प्रशिक्षकका रुपमा न्यूरोडका शम्भु थापा नगद रु २ हजारसहित पुरस्कृत हुँदा अनुशासित टिमका रुपमा पोखरा लायन्स घोषित भयो ।

मैत्रीपूर्ण खेलमा स्ववियु पिएन क्याम्पस विजयी

प्रतियोगिताको फाइनल अघि आमन्त्रित महिला मैत्रीपूर्ण खेलमा सम्पदा अंकित स्पोर्टस्लाई ४–० गोल अन्तरले हराउँदै स्वतन्त्र विद्यार्थी युनियन पृथ्वीनारायण क्याम्पस विजयी बन्यो ।

महिलाहरुलाई पनि फुटबलमा आकर्षण बढाउन सकिने लक्ष्यसहित आमन्त्रित मैत्रीपूर्ण फुटबल खेल सञ्चालन गरिएको कार्यक्रम संयोजक दीपक मुल्मीले जानकारी दिए । उनका अनुसार दुवै टिमलाई मायाको चिनोसहित नगद रु ५र५ हजार प्रदान गरिएको उनले बताए ।

प्रतियोगिताको विजेता तथा उपविजेता टोलीलाई समापन समारोहका प्रमुख अतिथि पोखरा महानगरपालिका ५ का वडाध्यक्ष विष्णु बराल, क्लबका अध्यक्ष, पुरस्कारदाता, क्लबका सल्लाहकार लगायतले पुरस्कार वितरण गरेका थिए ।

सोहीबीच ५७ वर्षको उमेरसम्म पनि सक्रियताका साथ फुटबल खेल्दै क्लबलाई योगदान पुर्याएको भन्दै पोखरा ५ का कृष्ण कोइरालालाई दोसल्ला तथा सम्मान पत्र अर्पण गरिएको संयोजक मुल्मीले बताए । उनका अनुसार गत २६ गतेदेखि सञ्चालनमा रहेको प्रतियोगितामा कुल १६ टिमको सहभागिता रहेको थियो ।

पोखरा, २९ चैत ।

सांस्कृतिक झाँकी र बाजागाजासहित २१ औं संस्करणको फेवा नव बर्ष महोत्सव २०८३ आइतबारबाट पोखरामा सुरु भएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले स्थानीय अम्बोटमा आयोजित समारोहमा महोत्सवको उद्घाटन गरिन् ।

यसअघि लेकसाइड स्थित खहरेबाट सुरु भएको विभिन्न जातजातिको झाँकी र पंचै बाजा सहितको लामो र्याली अम्बोट पुगेको थियो । सहिदचोक र खहरे विचको सडकमा तीन दिन सम्म चल्ने महोत्सव आगामी बैशाख १ गते राति सकिने छ ।

महोत्सव उद्घाटनका अवसरमा सातै प्रदेशका सांस्कृतिक नाचहरु प्रस्तुत गरिएको थियो । तरेली सांस्कृतिक परिवारले स्वागत नृत्य प्रस्तुत गरेको थियो । महोत्सवमा साँझ सांस्कृति प्रस्तुती र पंचैबाजाको रमाइलो रहने छ । पप कन्सर्टका कार्यक्रम पनि समेटिने छन् । सोमबार भने खहरेबाट दुलही लिन अम्बोट पुग्ने गरी पंचैबाजाको रमाइलो प्रतियोगिता राखिएको छ ।

यसमा १५ पंचैबाजा समूहले भाग लिएको महोत्सव आयोजक होटल संघ पोखरा नेपालका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले जानकारी दिए । लेकसाइडका सेन्टर प्वाइन्ट, गौरीघाट र अम्बोटका हरेक चौतारामा सांस्कृतिक कार्यक्रम र पंचै बाजा प्रतियोगिताका क्रममा खहरेमा रत्यौलीको कार्यक्रम पनि समावेश हुने उनले जानकारी दिए । पर्यटक दौड प्रतियोगिता पनि महोत्सवमा समावेश हुने छ ।

महोत्सवको उद्घाटन गर्दै प्रजिअ शर्माले फेवा महोत्सव निरन्तर र स्थायी रुपमा संचालन हुँदै आउनु नै यसको सफलता भएको बताइन् । पोखरा ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय हिसावले महोत्वपूर्ण शहर रहेको भन्दै उनले पर्यटनको राजधानीको उपमा समेत पाउनु पोखराका लागि सकारात्मक पक्ष भएको भनाई राखिन् । महोत्सवमा प्रस्तुत कलात्मक झाँकी र प्रस्तुतीले जनताविचको एकता झल्किएको उनले सुनाइन् । पोखरालाई सुरक्षित र सुन्दर सहरको रुपमा निरन्तर अगाडि बढाउनुपर्नेमा उनको जोड थियो ।

होटल संघ नेपालका वरिष्ठ उपाध्यक्ष प्रवीण बहादुर पाण्डेले पोखराले आन्तरिक र क्षेत्रीय पर्यटन प्रवद्र्धनमा बढी जोड दिन सुझाव राखे । पोखराका लागि आन्तरिक पर्यटक तथा भारतीय र चिनिया पर्यटकले ठूलो योगदान दिन सक्ने उनले बताए । कार्यक्रमको संचालन संघकी सचिव पार्वता पाण्डेले गरेकी थिइन् ।

पर्यटन, संस्कृति र खानालाई जोड दिएर सडकमा नै भएको महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था रहेको छ । महोत्सवका अवसरमा संघ अन्तर्गतका सदस्य होटलले आफ्नो प्रकाशित दररेटमा २५ प्रतिशतसम्म छुट प्रदान गर्ने घोषणा गरिसकेका छन् । इ–सेवाबाट होटल बुक गर्दा १० प्रतिशत सम्म क्यासब्याक हुने अफर पनि इ–सेवाले अगाडि सारेको छ ।

फेवा महोत्सवको मुख्य प्रायोजकमा गोर्खा ब्रुअरी प्रालि, सहप्रायोजकमा म्याक्स टाइगर र एक्ट्रिम इनर्जी ड्रिंक तथा प्रायोजकहरुमा अन्नपूर्ण केवलकार लि, इ–सेवा, युनाइटेड वाइनरी प्रालि रहेका छन् । इन्योरेन्स पार्टनरमा सलिको इन्स्योरेन्स रहेको छ । महोत्सवका प्रबद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय, पोखरा महानगरपालिका र उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश रहेका छन् ।

पोखरा, २९ चैत ।

उत्साह र विश्वासको नवीन अभियान भन्ने मूल सन्देश सहित नेपाली काँग्रेसले देशव्यापी गर्न लागेको जरा अभियान कास्कीमा आइतबारदेखि प्रारम्भ गरिएको छ । नेपाली काँग्रेस कास्कीले केन्द्रीय प्रतिनिधिहरुको उपस्थितिमा बैठक गरी आवश्यक तयारी सहित अभियान प्रारम्भ गरिएको नेपाली काँग्रेस कास्कीका सहसचिव एवं प्रवत्ता नवीन सिग्देलले जानकारी दिनुभयो ।

कास्कीमा केन्द्रीय प्रतिनिधिका रुपमा पार्टीका केन्द्रीय सदस्य रेशम बाँनिया र महासमिति सदस्य विष्णु पौडेल आउनुभएको छ । अभियान कास्कीका ७२ इकाइसम्म पुग्ने छ । अभियानका क्रममा पार्टीको त्रियाशील सदस्यता अद्यावधिक सँगै वितरण, जनसम्पर्क र जेन्जी युवाहरुसँगको संवाद अघि बढाइने छ । पार्टी सदृढिकरणका लागि अभियान महत्वपूर्ण हुने प्रवत्ता नवीन सिग्देलको भनाइ छ ।

अभियान शुभारम्भ गर्दै पार्टीका केन्द्रीय सदस्य एवं केन्द्रीय प्रतिनिधि रेशम बहादुर बाँनियाले अभियानसँगै पार्टीले नयाँ गति लिने र महाधिवेशनको वातावरण निर्माण हुने उल्लेख गर्नुभयो । नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालको अध्यक्षतामा बसेको बैठकमा केन्द्रीय प्रतिनिधि महासमिति सदस्य विष्णु पौडेलले अभियानको सान्र्दभिकता बारे बोल्नुभएको थियो ।

 

पोखरा, २९ चैत्त ।

पोखरा १९ घार्मीमा रहेको भुमे मैदान बहुउद्देश्यीय सामुदायिक समुहले बिभिन्न व्यक्ति र विद्यार्थीलाई सम्मान गरेको छ। समुहको सम्पन्न सातौं साधारण सभाको अवसरमा पत्रकारिता मार्फत घार्मीको सामाजिक, शैक्षिक, धार्मिक र पर्यटन विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै पत्रकार शिशिर पौडेललाई सम्मान गरेको हो।

समुहले हरेक वर्ष एकजनालाई प्रदान गरिने विशेष सम्मान यस वर्ष पोखरामा रहेर दुई दशक देखि पत्रकारितामा क्रियाशील पौडेललाई विशेष सामाजिक सम्मान प्रदान गरेको सचिव रामप्रसाद पौडेलले जानकारी दिए।समुहले अघिल्लो वर्ष सो सम्मान सफाई अभियन्ता मानध्वज गुरुङलाई प्रदान गरेको थियो ।

त्यस्तै समुहको स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेका संस्थापक अध्यक्ष पोषराज पौडेल, निवर्तमान अध्यक्ष रामचन्द्र पौडेल,त्यस क्षेत्रको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्याएका समुहका उपाध्यक्ष डिल्लीराम पौडेल र माध्यमिक शिक्षा परीक्षा २०८१ मा उत्तिर्ण सदस्यका छोरा छोरी सनम पौडेल, प्रमिशा पौडेल, श्रेया पौडेल, आदर्श पौडेल, संघर्ष पौडेल र त्रिशांक पौडेललाई सम्मान गरिएको थियो।कार्यक्रममा समुहमा आवद्ध भई बिभिन्न संघ संस्थामा पदीय जिम्मेवारी सम्हालेका सदस्यलाई पनि सम्मान गरिएको छ ।

उनीहरुलाई पोखरा १९ का वडा सदस्य कल्पना सुनार,समुहका अध्यक्ष बैकुण्ठ पौडेलले सम्मान गरे । कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा सदस्य सुनारले समुहले छोटो समयमै सामाजिक रुपान्तरणका क्षेत्रमा उल्लेखनीय कार्य गरेको स्मरण गर्दै, सामाजिक एकताले मात्रै समाज विकासको बाटोमा अघि बढ्न सक्ने बताईन्। अध्यक्ष पौडेलले समुहले गरेका विभिन्न संस्थागत गतिविधिहरुको जानकारी गराउँदै , संस्थागत विकासमा समुदायका हरेक नागरिक बिच एक्यवद्धता, सक्रियता र समान भुमिका आवश्यक रहनेमा जोड दिए ।

कार्यक्रममा समूहका संस्थापक अध्यक्ष पोषराज पौडेल , निवर्तमान अध्यक्ष रामचन्द्र पौडेल, सम्मानित पत्रकार शिशिर पौडेल, सम्मानित विद्यार्थी संघर्ष पौडेल, घार्मी जनजागरण आमा समुहका सचिव हिरादेवी पौडेल लगायतले समाजको चौतर्फी विकासमा संघ संस्थाको भुमिका र सहकार्य महत्वपूर्ण हुने बताए। सभाले अध्यक्ष पौडेल र कोषाध्यक्ष सुनिता अधिकारी पौडेलले पेश गरेको समुहको बार्षिक प्रतिवेदन पारित समेत गरेको छ।जीवन विज्ञानका योग प्रशिक्षक समेत रहेका निवर्तमान अध्यक्ष रामचन्द्र पौडेलले सहभागीलाई योग सम्बन्धि प्रशिक्षण पनि गराएका थिए।

समुहका अध्यक्ष बैकुण्ठ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष डिल्लीराम पौडेलले स्वागत र सहसचिव खेमराज पौडेलले संचालन गरेका थिए। सो अवसरमा एक आपसमा नयाँ वर्षको शुभकामना आदानप्रदान समेत गरिएको थियो।

पोखरा, २९ चैत ।

जनप्रिय माध्यमिक विद्यालय सिमलचौर पोखरा ८ कक्षा १२ मा अध्ययनरत विद्यार्थीलाई बिदाई गरिएको छ । कक्षा ११ का विद्यार्थीले सिनियर विद्यार्थीलाई मायाको चिनो प्रदान गर्दैै विदाई गरेका थिए । कक्षा ११ का छात्र सागर मरासिनीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ८ का अध्यक्ष रुद्रनाथ बरालले पास आउट विद्यार्थीलाई शुभकामना दिँदै समयको सदुपयोग गर्न सुझाव दिएका थिए ।

आफ्नो शैक्षिक यात्रा जनप्रियमै भएको बताएका बरालले उत्कृष्ट विद्यार्थी बनेर समाज र देशमा नमुना र योग्य नागरिक बन्न विद्यार्थीलाई सुझाव दिएका थिए । विदाई कार्यक्रममा विद्यालय प्रअ देवीप्रसाद बस्ताकोटीले विद्यालयको विभिन्न गतिविधिको जानकारी दिँदै सफलताको मापन परीक्षाको रिजल्ट संगै प्राप्त गरेको उपलब्धिलाई जीवनमा सफल रुपान्तरण गर्नु नै ज्ञानको दीयो बाल्नु भएको बताए ।

प्रअ वस्ताकोटीले कास्कीको मात्र नभई राष्ट्रलाई योगदान दिन सक्ने शैक्षिक एवं योग्य जनशक्ति उत्पादन गर्न विद्यालयले रचनात्मक शैक्षिक कार्यक्रम ल्याएको बताए । कक्षा १२ मा अध्ययनरत ३ सय ९७ जना विद्यार्थीलाई विदाई सभामा जनप्रिय क्याम्पसका क्याम्पस प्रमुख कृष्णबाबु बरालले लक्ष्य हासिल गर्न आजैबाट तालिका बनाउन विद्यार्थीलाई आग्रह गर्दै शैक्षिक यात्रामा क्याम्पसले स्वागत गरिरहेको उल्लेख गरे ।

विद्यालयका शिक्षक बासु तिमिल्सिनाले संचालन तथा सहजीकरण गरेको कार्यक्रममा विद्यार्थीले नृत्य प्रदर्शन गरेका थिए । विद्यार्थीहरु एलिसा राना, बबिता क्षेत्री लगायतको समूहले नेपाली मौलिक झल्कने सांस्कृतिक प्रस्तुती दिएका थिए । विदाई भएका मध्ये कक्षा १२ की छात्रा प्रशंसा पाण्डेले माया, धैर्यता र समर्पण सिकाएको विद्यालय र गुरुहरुको सम्झना जीवन भर रहने बताईन् । उनले कक्षा ११ का भाईवहिनीहरुलाई धन्यवाद दिँदै मेहनेत भोलि गरेर नपाउने भएकाले आजैबाट सुरु गर्न सुझाव दिएकी थिइन् । कार्यक्रममा नमुना विद्यालय निर्माण गर्न विद्यार्थीलाई अनुशासित, मर्यादित र सीप युक्त शैक्षिक जनशक्ति उत्पादन गर्न जनप्रिय मावि अग्र भागमा रहेर कार्यहरु गरिरहेको शिक्षकहरुले बताएका थिए ।

खुलातर्फ दार्चुलाका मुकेश थापा प्रथम, विदेशीतर्फ फ्रान्सका स्याम्यूल विजेता
पोखरा, २९ चैत ।

पर्यटनको राजधानी पोखरामा पहिलोपल्ट आयोजना भएको पोखरा रात्रिकालीन सडक दौड ९पोखरा नाइट स्ट्रिट रेस० २०८३ मा नेपालसहित पाँच देशका १ सय ४५ धावक सहभागी भएका छन् । फेवाताल किनार बाराहीघाटदेखि पोखराको मुख्य बजार क्षेत्र महेन्द्रपुलसम्मको ५ किलोमिटरको उक्त दौडमा नेपालसहित, नर्वे, फ्रान्स, थाइल्याण्ड र इङल्याण्डका धावक सहभागी थिए ।

‘जाग्छ पोखरा, दौडाउँछ पोखरा’ उद्घोषका साथ शनिबार राति ७ः२९ बजे बाराहीघाटदेखि सुरु भएको दौडमा खुलातर्फ दार्चुला २९ बर्षीय मुकेश थापा प्रथम हुन सफल भए । उनले निर्धारित दूरी १७ः३१ः६७ मिनेटमा पूरा गरे । यसैगरी, सुवास गुरुङले १७ः५४ः२५ मिनेटमा पूरा गर्दै दोस्रो हुँदा अकलबहादुर पाल तेस्रो भए । उनले उक्त दूरी पूरा गर्न १८ः०२ः०३ मिनेटमा पारे ।

पोखरा प्रवद्र्धन केन्द्र र पोखरा क्लिकको आयोजनामा भएको खेलकुद र पर्यटन प्रवद्धर्नका लागि आयोजित नेपालकै पहिलो दौडमा महिलातर्फ २३ः०३ः५४ मिनेटमा पूरा गर्दै पुष्पा शर्मा लिम्बु प्रथम हुन सफल भइन् । यू–१६ तर्फ राम ढुंगाना र विदेशी तर्फ फ्रान्सका स्याम्यूल प्रथम भए । रामले २४ः३९ः६० मिनेट तथा स्याम्यूलले २२ः०८ः०७ मिनेटमा दौड पूरा गरेको प्रतियोगिताका रेस डाइरेक्टर ओम गुरुङले जानकारी दिए । खुलातर्फ विजेताले १५ हजार, उपविजेताले १० हजार र तेस्रो हुनेले पाँचहजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।

त्यसैगरी अन्य विधाका विजेतालाई जनही ७÷७ हजार रुपैयाँसहित प्रोत्साहन पुरस्कार प्रदान गरियो । प्रतियोगितामा उत्कृष्ट २० धावकले फिस्टेल ड्रिम पार्ककातर्फबाट एकहजार बराबरको कुपन र बन्जीकातर्फबाट फ्रान्सकी खेलाडी वेनिडिडले बन्जीकुपन समेत हात पार्न सफल भइन् । बाराहीघाटदेखि शुरु भएको लेकसाइडको सेन्टर प्वाइन्ट, हल्लनचोक, जिरो किलोमिटर, सृजनाचोक, सभागृहचोक, न्युरोड, चिप्लेढुंगा हुँदै महेन्द्रपुलस्थित अन्तर्राष्ट्रिय झण्डापार्क ९फल्चा० मा पुगेर समापन भएको हो ।

विजयी खेलाडीलाई पोखरा वडा ९ वडाध्यक्ष दीपेन्द्र मर्सानी, पोखरा ३ का वडाध्यक्ष प्रकाश उदास, कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बराल, पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारी, टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्य, नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल, पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष उत्तममान बुद्धाचार्य, महासचिव शोभा गौतम, रेवान पोखराका प्रथम उपाध्यक्ष वसन्त गौतम, पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदार, पोखरा महानगर आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरिया, महानगर व्यवसायीक प्रवद्र्धन केन्द्रका प्रमुख नवराज अधिकारी, सहारा क्लबका अध्यक्ष केशवबहादुर थापा, फिष्टेल ड्रिम पार्कका जनरल म्यानेजर अंकितकुमार सिंह, गो बन्जी नेपालका राकेश गुरुङ, नेपाली लेखक संघ कास्कीका अध्यक्ष कमल पौडेल अथक, पुतलीबजार प्रज्ञा–प्रतिष्ठानका उपकुलपति दुर्गाबहादुर शाह बाबा, नेलम्बो नेपालका कार्यक्रम अधिकृत भीम भण्डारी, एथ्लेटिक्स संघ गण्डकीका महासचिव मनबहादुर थापालगायतले पुरस्कार वितरण गरे ।

प्रतियोगिता संयोजक दीननाथ बरालले खेल प्रवद्र्धनसहित पर्यटकीय राजधानी पोखरा सुरक्षित छ भन्ने सन्देश दिन प्रतियोगिता आयोजना गरिएको जनाए । समापन समारोहमा बोल्दै पोखरा महानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले कार्यक्रमलाई आगामी वर्षमा अझ भव्य रूपमा आयोजना गर्न आवश्यक बजेट व्यवस्थापन गर्ने बताए । पर्यटनविज्ञ दीपेन्द्र पहारीले पर्यटकीय राजधानी पोखरामा यस प्रकृतिका इभेन्टले पोखरा पर्यटन प्रवद्र्धनका लागि २४ सै घण्टा सुरक्षित र सञ्चालित छ भन्न सार्थक रहने धारणा राखे ।

अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई, राष्ट्रिय ओलम्पिक एकेडेमीका अध्यक्ष तेजबहादुर गुरुङ, पोखरा भ्रमण वर्ष २०२५÷०२६ का संयोजक गोपीबहादुर भट्टराई लगायतले रेस डाइरेक्टर ओम गुरुङलाई राष्ट्रिय झण्डा हस्तान्तरण गरी प्रतियोगिता शुभारम्भ भएको थियो । उद्घाटन सत्रमा पोखरा ६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराई, पोखरा ७ का वडाध्यक्ष राममोहन आचार्य, पोखरा ८ का अध्यक्ष रुद्रनाथ बराल, पोखरा महानगरका मेयर धनराज आचार्यका स्वकीय सचिव पूर्ण लामालगायतको शुभेच्छा रहेको थियो ।

पोखरा प्रवद्र्धन केन्द्रका उपाध्यक्ष असफल गौतमले पोखरा नाइट स्ट्रिट रेस–२०८३ ले शहरी गतिशीलता, शान्ति–सुरक्षा, व्यावसायिक प्रवद्र्धन र स्वस्थ जीवनशैलीप्रतिको जागरूकतालगायतका शक्तिशाली सन्देश प्रवाह मात्र नभएर पर्यटकीय राजधानी पोखरामा नेपाली नयाँ वर्षमा प्रर्वद्धनात्मक नयाँ कार्यक्रम सञ्चालनमा छन् भन्ने सन्देश दिनका लागि प्रतियोगिता आयोजना गरिएको बताए । प्रदेश खेलकुद परिषद् गण्डकीको सहकार्य तथा पोखरा ९ वडा कार्यालयको समन्वयमा भएको प्रतियोगितामा विभिन्न संघ–संस्थाले सहयोग गरेका थिए । जसमा पोखरा महानगरपालिका र पोखरा भ्रमण वर्ष २०२५÷०२६ प्रवद्र्धकका रूपमा रहेका थिए ।

प्रतियोगितामा सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश, फिस्टेल ड्रिम पार्क, शान्ति निकेतन स्कुल, हिमश्री फुड्स, चाइनिज गार्डेन रेष्टुरेण्ट, सहारा क्लब, होटल संघ पोखरा नेपाल, अटोवेज प्रा।लि।, सिटीजन फर्निचर, टेम्पल ट्रि रिसोर्ट, समियोग टुरिष्ट रिसोर्ट, पोखरा महानगर पालिका वडा नम्बर ३, ५, ६, ७, ८, ११, पोखरा पर्यटन परिषद, पोखरा महानगर खेलकुद विकास समिति, पोखरा उद्योग बाणिज्य संघ, रेवान पोखरा, टान गण्डकी, जिल्ला खेलकुद विकास समिति कास्की, पोखरेली ट्याक्सी सेवा प्रा।लि, परिचय एड्भटाइजिङ, कर्माचार्य ग्रुप, साइकल सिटि पोखरा, गल्फर खेलाडी भक्तबहादुर गुरुङ, नाट्टा गण्डकी, नेपाल हवाई खेलकुद संस्था ९ना०, वेन्जन रेष्टुरेण्ट, गो वन्दी नेपाललगायतको सहयोग रहेको केन्द्रका सचिव सागर सुनारले जानकारी दिए । प्रतियोगितामा मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर हस्पिटल पार्टनर र नेलम्बो नेपाल मेडिकल पार्टनरका रूपमा रहेका थिए ।

पोखरा, २६ चैत्र ।

पोखरा महानगरपालिका ५ मालेपाटनमा पहिलो संस्करणको ३५ प्लस भेट्रान्स सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ । गण्डकी स्पोर्टस् क्लबको आयोजनामा आज ९बिहीबार० देखि पूर्व खेलाडीहरुको सद्भावना अभिवृद्धि गर्ने उद्देश्यसहित फुटबल प्रतियोगिता सुरु भएको हो ।

आगामी चैत्र २९ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको उद्घाटन खेलमा सम्पदा अंकित स्पोट्स क्लबले आयोजक टिम ‘बि’ लाई ४–१ गोल अन्तरले पराजित गर्यो ।

सम्पदाको जीतमा बेद बहादुर थापाले २ गोलको योगदान दिए । यस्तै सुबिन श्रेष्ठ र नारायण गुरुङले समान १र१ गोलको योगदान दिए भने, आयोजकका तर्फबाट अर्जुन गुरुङले सान्त्वना १ गोल फर्काए ।

यस्तै दोस्रो खेलमा मेजर एफसीले घारीपाटन भेट्रान्सलाई २–० गोल अन्तरले हराउँदै मेजर एफसी दोस्रो चरणमा प्रवेश गरेको प्रतियोगिता संयोजक दीपक मुल्मीले जानकारी दिए ।

उनका अनुसार आज भएको अन्तिम खेलमा न्यूरोड एफसीले एलसी ब्रदर्शमाथी १–० गोल अन्तरले सँघर्षपूर्ण जीत निकाल्यो । अब शुक्रबार पहिलो चरणकै खेल हुने संयोजक मुल्मीले बताए ।

मुल्मीका अनुसार शुक्रबार आयोजक टिम ‘ए’ र टाइटन भेट्रान्सबीच हुनेछ । त्यस्तै दोस्रो खेलमा सबिन मेमोरिय एक्स एलजी एकता र एनके एफसी भिड्नेछन् ।

तेस्रो खेलमा एट टु नाइन र पोखरा १५ भिड्नेछन् । चौथों खेलमा टिचर एफसी र पोखरा लायन भिड्नेछन् भने अन्तिम खेलमा हेमजा एफसी र कस्केरी भेट्रान्सबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको विजेता टिमले नगद रु ६० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने, उपविजेता टिमलाई नगद रु ३५ हजार शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने र्यामोस गुरुङले जानकारी दिए ।

उनका अनुसार विधागततर्फ सर्वोत्कृष्ट खेलाडीलाइ नगद रु ३ हजार, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही २ हजार ५ सय रुपैयाँसहित पुरस्कृत गरिनेछ । यस्तै उत्कृष्ट प्रशिक्षकलाई नगद रु २ हजार प्रदान गरिने उनले बताए ।

प्रतियोगितामा कुल १६ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ ।

पोखरा, २६ चैत ।

राष्ट्रिय हेमजा आलु महोत्सव भोलीदेखि सुरु हुँदैछ । महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । यही वैशाख ५ गतेसम्म संचालन हुने १४ औं संस्करणको महोत्सवको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उद्घाटन गर्ने कार्यक्रम छ ।

महोत्सव सुरु हुनुपुर्व हेमजा स्थित विष्णुपादुका माईस्थानबाट बाजा गाजा सहित झाँकी ¥याली निकालिने छ । उक्त ¥याली मिलनचोक, साझाचोक हुँदै महोत्सव स्थल विष्णुपादुका खेलमैदान प्रवेश गर्ने कार्यक्रम रहेको महोत्सव मूल आयोजक समितिका संयोजक समेत रहेका आयोजक विष्णुपादुका क्लवका अध्यक्ष वसन्तकुमार श्रेष्ठले जानकारी दिए ।

महोत्सवमा आलुको परिकारको एउटा स्टल, ३० वटा कृषि स्टल तथा अन्य विभिन्न सय वटा व्यापारीक स्टल रहनेछन् । महोत्सव प्रवेशका लागि साधारणतर्फ रु.१ सय तथा विद्यार्थीलाई परिचयपत्रका आधारमा ५० रुपैयाँमा टिकट व्यवस्था गरिएको छ । त्यहाँ प्रतिकेजी रु.३५ मा आलुको कारोवार हुनेछ ।

महोत्सव अन्तर्गत आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन, आलुको ठुलो पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका लागि माटो, वोट विरुवा, परीक्षण तथा रोक निधान, कृषक र कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम हुनेछन् ।

त्यस्तै कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारका प्रस्तुति लगायत विभिन्न कृषि उपज विउ विजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी लगायतका गतिविधि पनि संचालन गरिने आयोजक विष्णुपादुका क्लवले जनाएको छ । सदाझै यसपटक पनि महोत्सवमा “सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक” नारालाई अगाडि सारिएको छ ।

हेमजाको कुल १३ हजार ५ सय हेक्टर क्षेत्रफल मध्ये ५ सय ९० हेक्टरमा आलु खेती गरिदै आएको छ । यस खेतीमा त्यहाँका करिव २ हजार घरपरिवार आधारित रहे पनि १ हजार ५० कृषकले व्यवसायिक आलु खेती गर्दै आएका छन् । जसको प्रति रोपनी औसत उत्पादन लागत रु.१८ हजार ५ सय ९७ पर्ने र औसत उत्पादन ७ सय ९ केजी हुने गरेको उल्लेख छ ।

पोखरा, २६ चैत्त ।

पोखरा रंगशालामा जारी चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स फुटबल प्रतियोगितामा क्वाटर फाइनल अन्तर्गतका खेलहरु सम्पन्न भएका छन । क्वाटर फाइनल अन्तर्गतको पहिलो खेलमा बौद्ध भेट्रान्स र लेकसाइड भेट्रान्स बीचको खेल निर्धारित समयमा १–१ गोलको बराबरी हुँदा टाइब्रेकरमा २–१ गोल अन्तरले बौद्ध भेट्रान्सले लेकसाइडलाई पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको हो ।

उक्त खेलमा बौद्ध भेट्रान्सका रुपक बस्नेत म्यान अफ दी म्याच घोषित भए । दोस्रो क्वाटर फाइनलमा जोरपाटी भेट्रान्सले फ्रीडम फाइटर भेट्रान्सलाई १–० गोलले पाखा लगाउदै सेमी फाइनलको यात्रा तय गर्यो । उक्त खेलमा जोरपाटीका लागि निर्णायक गोल गर्ने खेलाडी गौतम लामा म्यान अफ दी म्याच घोषित भए ।

तेस्रो खेलमा एबीसी र हेटौडा भेट्रान्स बीच भएको खेल निर्धारित समयमा गोल हुन नसकेपछि टाइब्रेकरमा एबीसीले हेटौडालाई ३–१ गोल अन्तरले पराजित गर्दै सेमी फाइनलमा प्रवेश गर्यो । उक्त खेलमा एबीसीका गोल रक्षक सूर्य प्रसाद शर्मा म्यान अफ दी म्याच घोषित भए ।

अन्तिम खेल बगर भाइखलक र बानेश्वर फ्रेन्डसिप भेट्रान्स बीच निर्धारित समय गोल रहित बनेपछि टाइब्रेकरमा बगर भाइखलकले बानेश्वर फ्रेन्डसिपलाई ३–२ गोल अन्तरले पराजित गर्दै सेमी फाइनलको यात्रा सुरक्षित गर्यो । उक्त खेलमा बगर भाइखलकका कृष्ण राइभाट म्यान अफ दी म्याच घोषित भए ।

प्रतियोगितामा पहिलो सेमी फाइनल एबीसी र बौद्ध भेट्रान्स र दोस्रो खेल जोरपाटी भेट्रान्स र बगर भाइखलक बीच हुने आयोजक एबीसी क्लबका सचिव विजय घिमिरेले जानकारी दिएका छन् । दुईवटै सेमिफाइनलको बिजेता बिच शुक्रबार दिनको १ बजे फाइनल खेल सम्पन्न हुने सचिव घिमिरेले जानकारी दिए । फाइनल खेल हेर्नका लागि पोखराका सम्पूर्ण खेलप्रेमीहरुमा निमन्त्रणा समेत दिएका छन ।

प्रतियोगिताको विजेताले नगद एक लाख पच्पन्न हजार पाँच सय पच्पन्न सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले सतहत्तर हजार सात सय सतहत्तर सहित, शिल्ड, मेडल र प्रमाणपत्र पाउने प्रतियोगिता संयोजक मनकाजी गुरुङले जानकारी दिए ।

पोखरा, २६ चैत ।

सरकारी सञ्चारमाध्यममा मात्र सरकारी विज्ञापन प्रकासन–प्रसारण गर्नुपर्ने निर्णय तत्काल फिर्ता लिन गण्डकी प्रदेशका पत्रकारले माग गरेका छन् । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समिति तथा कास्की शाखाको आयोजनामा सो बारे बिहीबार पोखरामा आयोजित ‘अन्तरक्रिया तथा छलफल कार्यक्रम’ का सहभागीहरुले सो माग गरेका हुन् ।

गत चैत १८ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालय, आयोग, सचिवालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र स्थानीय तहलाई गरेको परिपत्र अनुसार सार्वजनिक निकायबाट सार्वजनिक खरिद लगायतका सूचनाहरु सञ्चारमाध्यममार्फत प्रशासन तथा प्रसारण गर्दा नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तह एवं सोअन्तर्गतका निकायहरु तथा सार्वजनिक कोष प्रयोग गरी कार्य गर्ने सबै सार्वजनिक निकायले आफ्ना सूचनाहरु गोरखापत्र संस्थान, रेडियो नेपाल, नेपाल टेलिभिजनजस्ता सरकारी एवं सरकारी स्वामित्वमा रहेका सञ्चारमाध्यममा मात्र प्रकाशन तथा प्रसारण गर्नुपर्ने भनी निर्देशन दिएको थियो ।

यसैगरी, सो प्रक्रियाबाट प्रकाशन तथा प्रसारण भएका कार्यका लागि भुक्तानी गर्दा सरकारी वा सार्वजनिक कोषबाट सोझै सम्बन्धित प्रकाशन तथा प्रसारण गर्ने संस्थाको कोषमा मात्र जम्मा हुने गरी गर्ने, यसरी भुक्तानी गर्दा भुक्तानीको दर र छुट रकमको विषय सम्बन्धित सञ्चारमाध्यमले आधिकारिक रुपमा स्वीकृत गरेको हुनुपर्ने भनी निर्देशन दिएको थियो । सरकारको उक्त निर्णयको विरोधमा नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले चैत २५ देखि लागु हुने गरी चरणबद्ध आन्दोलनका कार्यक्रम सुरुवात गरेको हो ।

पोखरामा बिहीबार भएको महासंघका पूर्व अध्यक्षहरु, सम्पादकहरु, सञ्चालकहरुसँग छलफलमा बोल्दै प्रेस स्वतन्त्रता सेनानी एवं महासंघ कास्कीका पूर्व अध्यक्ष माधव शर्माले यो निर्णयको सरकारले फिर्ता लिनु बाहेकको विकल्प नभएको बताए ।

महासंघ कास्कीका पूर्व अध्यक्ष एवं स्वतन्त्र पत्रकार संघ नेपालका अध्यक्ष कृष्णप्रसाद बास्तोलाले जनताले सहजरुपमा सूचना पाउने हकको विपरीत रहेको उल्लेख गर्दै तुरुन्त निर्णय सच्चाउनुपर्ने बताए । प्रेस स्वतन्त्रता सेनानी पदम रेग्मीले प्रजातान्त्रिक मुलुकमा सरकारले मिडिया चलाउनु कुनै पनि हिसाबले जायज नभएको जिकिर गरे ।

पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य एवं ढोरपाटन दैनिकका सम्पादक हरिनारायण गौतमले सार्वजनिक खरिद प्रक्रिया विपरीत सरकारको निर्णयको विरोध गर्नुपर्ने जनाए । कार्यक्रमको अध्यक्षता गर्दै नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिका अध्यक्ष रमेश पौडेलले खुला अर्थनीतिको विपरीत रहेको निर्णयलाई फिर्ता लिन आग्रह गरे । उनले सरकारले नीति बनाएर निजी क्षेत्रका सञ्चारमाध्यमको संरक्षण एवं प्रवद्र्धन गर्नुपर्ने बताए । ज्योतिष पत्रकार प्रा।डा बलराम उपाध्याय रेग्मीले सरकारी विज्ञापनमा बेथिति भएकाले पनि यस्तो अवस्था आएको जनाए ।

कार्यक्रममा नेपाल प्रेस युनियन गण्डकीका अध्यक्ष टंकराज अधिकारी, प्रेस चौतारी नेपाल कास्की अध्यक्ष मोतीसागर अधिकारी, पब्लिक फोके टेलिभिजनका सञ्चालक मन क्षेत्री, माछापुच्छे« एफएमका अध्यक्ष देव क्षेत्री, पोखरा एफएमका अध्यक्ष उत्तममान बुद्धाचार्य, पोखरा भिन्तुनाका सम्पादक उदयबहादुर अमात्य, सराङकोट साप्ताहिकका सम्पादक यदुनाथ बञ्जारा, फोनिज गण्डकी अध्यक्ष एवं रेडियो गोरखालीकी स्टेशन म्यानेजर खीमा गुरुङ, हटलाइन दैनिकका प्रकाशन चिरञ्जीवी पौडेल, एक्प्लोर टेलिभिजनका सूर्य बास्तोला, पत्रकार महासंघ कास्कीका पूर्व कार्यसमिति सदस्य शिवराज बस्ताकोटी, पत्रकार महासंघ कास्की कोषाध्यक्ष राजाराम पौडेल राइट अफ वल्र्ड डटकमका अध्यक्ष भानु पाण्डेलगायतले बोलेका थिए ।

पत्रकार महासंघ कास्कीका कार्यवाहक अध्यक्ष माधव रेग्मीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको संचालन पत्रकार महासंघ गण्डकी महासचिव जमुना वर्षा शर्माले गरेकी थिइन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।