२०८३ जेष्ठ ४ सोमबार
२०८३ जेष्ठ ४ सोमबार

पोखरा, ०१ माघ ।

उज्वल बचत तथा ऋण सहकारी संस्था लि। पोखराको १८औँ वार्षिक साधारण सभा तथा छैटौँ अधिवेशन बुधबार सम्पन्न भएको छ । अधिवेशनबाट आगामी कार्यकालका लागि संचालक समितिको अध्यक्षमा पुनः नरेन्द्र बास्तोला निर्वाचित हुनुभएको छ ।

९ सदस्यीय संचालक समितिको उपाध्यक्षमा बैकुण्ठराज तिमिल्सिना, सचिवमा सुरेन्द्र बास्तोला र कोषाध्यक्षमा मिना कुमारी गुरुङ निर्वाचित हुनुभयो भने सदस्यहरूमा इन्दिरा बराल, विमला श्रेष्ठ, सिता पाण्डे, उमाकान्त रिजाल र सिता शर्मालाई चयन गरिएको छ । यसैगरी, लेखा समितिको संयोजकमा धिरज थापा तथा सदस्यहरुमा ओमनाथ अधिकारी र केशव बहादुर थापा निर्वाचित हुनुभयो । संचालक समिती र लेखा समितिका सबै पदहरुमा सर्वसम्मत भएको निर्वाचन संयोजक कृष्णराज आचार्यले जानकारी दिनुभयो ।

साधारणसभाको अवसरमा बोल्दै प्रमुख आमन्त्रित ब्यक्तित्व समाजसेवी एवं संस्थाका जेष्ठ सदस्य प्रेमबहादुर श्रेष्ठले आफुले जिबनको लामो समय सहकारी अभियानमा ब्यतित गरेको भन्दै अहिले केही छट्टु ब्यक्तिहरुले सहकारी क्षेत्रलाई नै बदनाम गराईदिएकोमा चिन्ता ब्यक्त गर्नुभयो । ऋण प्रवाह गर्दा बिचार गर्नु पर्नेमा जोड दिदै उहाँले बिश्वासको भरमा मात्रै ऋण दिने गरेको कारण सहकारीहरुमा समस्या देखा परेको बताउनुभयो ।

संस्थाका सल्लाहकार एवं पत्रकार नारायण कार्कीले तीन खम्बे अर्थ नितीको बिषयमा प्रकाश पार्दै सहकारीहरु सहकारीका सात सिद्धान्त भित्रै बसेर संचालन हुनु पर्नेमा जोड दिनुभयो ।

पुनस् निर्वाचित भएपछि नवनिर्वाचित अध्यक्ष नरेन्द्र वास्तोलाले उज्वल सहकारीलाई अझ सुरक्षित, पारदर्शी, प्रविधिमैत्री तथा सदस्य–मैत्री संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले सदस्यहरूको बचतको पूर्ण सुरक्षा, मर्यादित कर्जा प्रणाली, डिजिटल सेवा विस्तार, युवामैत्री कार्यक्रम तथा संस्थागत सुशासनलाई उच्च प्राथमिकतामा राखिने बताउनुभयो।

कार्यक्रममा सहकारी विज्ञ धर्मराज अर्याल, सहकारीका साधरण सदस्य एवं पृथ्वीनारायण क्याम्पसका सहायक प्राध्यापक इन्द्र प्रसाद शर्मा लगायतले बोल्नु भएको थियो ।

संचालक समिति सदस्य विमला श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा अर्का सदस्य पुजन राजभण्डारीले सहकारीका सात सिद्धान्त माथि प्रकाश पार्नुभएको थियो । संस्थाका अध्यक्ष नरेन्द्र बास्तोलाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिब सुरेन्द्र बास्तोलाले गर्नुभएको थियो ।

साधारण सभाले संस्थाको आर्थिक, सामाजिक तथा संस्थागत प्रगति समेटिएका वार्षिक प्रतिवेदनहरु सर्वसम्मत रूपमा पारित गर्दै आगामी कार्यदिशा निर्धारण गरेको छ।

कार्यक्रममा उत्कृष्ट बचतकर्ता हिमलाल शर्मा तिमिल्सिना र उषा काफ्ले, उत्कृष्ट कारोबार गर्ने आईती श्री थापा र लक्ष्मी कोइराला, हालै नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ गण्डकी प्रदेशको सचिबमा निर्वाचित संस्थाका सचिब सुरेन्द्र बास्तोला र कर्मचारीहरु पुस्पराज बास्तोला तथा निर्मला सापकोटालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा संस्थापक अग्रजहरू, पूर्व अध्यक्षहरू, शेयर सदस्य, कर्मचारी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागीता रहेको थियो ।

 

काठमाण्डौँ, ०१ माघ ।

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (माओवादी) मिराज ढुंगाना नेतृत्वको जेनजी समूहबीच चार बुँदे सहमति भएको छ।

बिहीबार नेकपा महासचिव नेत्रविक्रम चन्द’विप्लव’ र मिराज ढुंगानाले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

यस्तो छ ४ बुँदे सहमति

सर्वपक्षीय सहमति र अन्तरिम सरकार गठनका लागी संघर्ष गर्ने

जेन-जी विद्रोहको मागहरू पुरा गर्न संघर्ष गर्ने

आन्दोलन र जनताको चाहना वमोजिम संविधानको संसोधन र स्थिर सरकार गठन गर्ने

भ्रष्टाचारविरुद्ध विशेष न्यायिक निकाय गठन, राज्यको अग्रगामी पुनर्संरचनाका लागी संघर्ष गर्ने

काठमाडौं, ०१ माघ ।

नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट युवा नेता गगन कुमार थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति घोषणा गरिएको छ । हिजो आइतबार पुस ३० को मध्यराति निर्वाचन समितिका संयोजक सीताराम केसीले पदाधिकारीसहितको पूर्ण कार्यसमिति सार्वजनिक गरेका हुन् ।

विशेष महाधिवेशन प्रतिनिधिहरूको मागअनुसार थापालाई सभापतिमा सर्वसम्मत चयन गरेका हुन् । नयाँ कार्यसमितिको दुई उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुषाल चयन भएका छन् । त्यस्तै, दुई महामन्त्रीमा प्रदिप पौडेल र गुरु राज घिमिरे चयन भए । सह–महामन्त्रीमा समावेशी संरचनाअनुसार विभिन्न समूहबाट प्रतिनिधित्व गरिएको छ ।

महिला सह–महामन्त्रीमा डा. डिला संग्रौला पन्त चयन भएकी छन् । दलिततर्फ प्रकाश रसाईली स्नेही, आदिवासी जनजाती तर्फ बहादुर सिंह लामा, खसआर्यतर्फ उदय शम्शेर राणा, मधेशीतर्फ मुक्ता कुमारी यादव, मुस्लिमतर्फ फर्मुल्ला मन्सुर, थारुतर्फ योगेन्द्र चौधरी र पिछडिएको क्षेत्रतर्फ कर्ण बहादुर बुढा सह–महामन्त्री बनेका छन् ।

केन्द्रीय सदस्यतर्फ खुला कोटाबाट ३५ जना चयन भएका छन् । खुला सदस्यहरूमा गोपालमान श्रेष्ठ, ओमकार प्रसाद श्रेष्ठ, अर्जुन नरसिंह के.सी., राजेन्द्र कुमार के.सी., अर्जुन प्रसाद जोशी, सुरेश कुमार योङ्या, चिनकाजी श्रेष्ठ, सुधिर सिवाकोटी, भरत शाह, मधु आचार्य, अमृत अर्याल, धुर्व वाग्ले, देवराज चालिसे, विनोद चौधरी, मोहन आचार्य, उज्वल बराल, जनक गिरी, देव प्रसाद तिमिल्सिना, अजय बाबु सिवाकोटी, प्रेम बहादुर खड्का, जयराम लामिछाने, बसन्त भट्टराई, प्रदिप शर्मा, जगत जोशी, प्रमोदहरी गुरागाई, डा. केदार नरसिंह के.सी., विदुर बस्नेत, तिर्थ जंग शाही, भरत खड्का, सुवास पोखरेल, शम्भु बुढाथोकी, धर्मराज गौतम, टेकराज पौडेल, तिलक रानाभाट र राजेन्द्र गोपाल सिंह छन् ।

महिला खुलातर्फ नौ केन्द्रीय सदस्य चयन भएका छन् । जसमा चम्पा देवी खड्का, धना खतिवडा, नानु बास्तोला, चिनु पोखरेल, जानकी सिंह, प्रतिमा गौतम, गिता सत्याल, सन्तोषी साउद ऐरी र दिल कुमारी राई छन् ।

प्रदेशगत संरचनाअनुसार कोशी प्रदेशबाट महिला सदस्यमा सारदा देवी कोईराला र खुलामा हिमालय कर्माचार्य तथा अग्नी पौडेल छन् । मधेश प्रदेशबाट महिला सदस्यमा मधु शाही तथा खुलामा रामानन्द यादव र बजरंग नेपाली चयन भएका छन् । यसैगरी बागमती प्रदेशबाट महिला सदस्यमा उमा दाहाल तथा खुलामा जितनारायण श्रेष्ठ र रमेश धमाला छन् । गण्डकी प्रदेशबाट महिला सदस्यमा विष्णु देवी पाण्डे तथा खुलामा रेशम बानिया र कृष्ण के.सी. चयन भएका छन् । लुम्बिनी प्रदेशबाट महिला सदस्यमा पवित्रा कुमारी अर्याल तथा खुलामा केशव आचार्य र राम बहादुर कार्की छन् । कर्णाली प्रदेशबाट महिला सदस्यमा राम देबि खड्का तथा खुलामा दिक्पाल शाही र नारायण भट्टराई चयन भएका छन् ।

सुदूरपश्चिम प्रदेशबाट महिला सदस्यमा निपा चोख्याल तथा खुलामा हिम बहादुर रावल र नरेन्द्र प्रसाद भट्ट छन् । अपाङ्गता भएका खुलातर्फ प्रकाश पन्थ र अल्पसंख्यकतर्फ शिवनारायण सिंह गनगाई केन्द्रीय सदस्य बनेका छन् । दलित महिला कोटाबाट सिता मिजार, छायाँ सुनार, गंगा सुनार र लिला नेपाली चयन भएका छन् । दलित खुलाबाट मैकुलाल बाल्मिकी, शिव बहादुर सुनार, धर्म नेपाली दर्जी, सुर्य बि.क. र दिनेश सुनार छन् ।

आदिवासी जनजाती महिलातर्फ सपनाराज भण्डारी, प्रमिला राई, मन कुमारी गुरुङ, कुशुमदेवी थापामगर, लिलादेवी बोखिम लिम्बु, डा. अमिता प्रधान र छीन्दुल्होमु शेर्पा चयन भएका छन् । आदिवासी जनजाती खुलातर्फ तारामान गुरुङ, अस्तकुमार कबे, छन्द बहादुर पहराइ मगर, नगेन्द्र कुमाल, शम्भुलाल श्रेष्ठ, भिम श्रिष, नरेन्द्र केरुङ र दिपन श्रेष्ठ छन् ।खसआर्य महिला कोटाबाट उमा सिवाकोटी, बाला अधिकारी, मुना भुषाल, इन्दिरा कार्की, विनिता खड्का र सम्झना खत्री चयन भएका छन् । खसआर्य खुलातर्फ विजय स्वार, मथुरा घिमिरे, जगदिश चन्द्र उपाध्याय, विष्णु कुमार कार्की, विश्वनाथ रिजाल, केशव भेटुवाल र कमल भुषाल छन् ।

मधेशी महिला कोटाबाट अञ्जु झा, चन्द्रकला कुमारी यादव, गोमा अन्सारी र निलम साह चयन भएका छन् । मधेशी खुलाबाट राम पल्टन शाह, नागेन्द्र शाह, राधेश्याम पाठक, सनिल कुमार यादव र रामरुप प्रसाद छन् । मुस्लिम महिला कोटाबाट सनम वेगम तथा मुस्लिम खुलाबाट अब्दुल रज्जाक गद्दी र अब्दुल सत्तार चयन भएका छन् । थारु महिलातर्फ नवोदिता चौधरी र सुनिता राना तथा थारु खुलातर्फ सुरेन्द्र प्रसाद चौधरी र गोपाल दहित केन्द्रीय सदस्य बनेका छन् ।

त्यसैगरी, पिछडिएको क्षेत्र खुलातर्फ दिपक जंग शाह चयन भएका छन् । यसअघि बुधबार बसेको शेरबहादुर देउवा पक्षको केन्द्रीय समिति बैठकले गगनसहित तीन नेतालाई पार्टीबाट निष्काशनको घोषणा गरेको थियो । तर विशेष महाधिवेशनले त्यसलाई खारेज गरेको छ । यससँगै कांग्रेस विभाजित बनेको छ भने अब देउवा समूह र गगन समूहबिच आधिकारिकताको विवाद सतहमा आउने देखिएको छ । 

पोखरा, ०१ माघ

 
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले माघे (मकर) संक्रान्ति/माघी पर्वका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

बिहीबार शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख भट्टले हाम्रा चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान, अनेकतामा एकता कायम गर्नमा महत्वपूर्ण योगदान गरेको उल्लेख गर्नुभएको छ ।

‘हाम्रा सँस्कृति जोगाउनु हाम्रो कर्तव्य हो, मौलिकता जोगाउन सके मात्रै नेपालीपनको रक्षा गर्न सकिन्छ ।’ प्रदेश प्रमुख भट्टले भन्नुभएको छ – ‘सिंगो नेपाली संस्कृतिभित्रको एक महत्वपूर्ण चाडका रुपमा रहेको मकर संक्रान्ति एवं माघी पर्वले सबै नेपालीमा नयाँ उमङ्गसहित हर्षोल्लास र शान्तिको सन्देश फैलाइ सबै नेपालीबीचको एकता, सद्भाव, मित्रता, मेलमिलाप र सहिष्णुतालाई अक्षुण्ण राख्न सकोस् भन्ने कामना व्यक्त गर्दछु ।’

यस पर्वले सबै नेपालीका बीचमा आपसी सद्भाव, आत्मीयतापूर्ण व्यवहार, सम्बन्ध र राष्ट्रिय एकता कायम गर्न महत्वपूर्ण योगदान पु¥याउने प्रेरणा मिलोस् भन्ने कामना पनि उहाँले गर्नुभएको छ ।

तराई, पहाड र हिमाली क्षेत्रमा बसोबास गर्ने नेपालीहरुले आ–आफ्नै तरिकाले मनाउने यस पर्वको फरक विशेषता र महत्व रहेको छ । यो नेपालका थारुसँगै मगर र छन्त्याल समुदायको महान् सांस्कृतिक पर्व पनि हो । थारु समुदायले माघीलाई महत्वपूर्ण चाड एवं नयाँ बर्षका रुपमा मनाउने गर्छन् । तराईवासीले नहान अर्थात नुहाउने पर्वको रूपमा मनाउँदछन् । आम नेपालीले माघे संक्रान्तिमा विभिन्न परिकार बनाएर खाई हर्षोल्लासपूर्वक मनाउँदछन् ।  

पोखरा, ०१ माघ ।

आज माघ १ गते अर्थात मकर (माघे) सङ्क्रान्ति पर्व देशैभर मनाइँदै छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ ।

आजको दिनलाई माघे सङ्क्रान्ति , तिलुवा सङ्क्रान्ति या मकर सङ्क्रान्ति या माघीका रूपमा आ-आफ्नै विशेषता र सांस्कृतिक महत्त्वका साथै मनाइने गरिन्छ । माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडी लगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ । यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्छ ।

आजको दिन तरुल चाकु, गुड, तिलको लड्डु, खिचडीलगायत परिकारहरु खाने प्रचलन रहेको छ ।

यता तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन् । वर्षभर नुहाउने वातावरण नमिल्ने तराईवासीले पनि आज भने अनिवार्य नुहाउनुपर्ने मान्यता चलिआएको पाइन्छ ।

यता तराईमा बसोबास गर्ने थारू समुदायले आज माघी पर्व मनाउने गर्दछ्न । थारु समुदायको माघी प्रमुख चाड हो । माघीलाई थारूहरूको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वको रूपमा लिइन्छ।

काठमाडौं, ३० पुस ।

नेपाली कांग्रेसको विशेष महाधिवेशनले फरमूल्लाह मन्सुरलाई उपसभापति चयन गरेको छ। भृकुटीमण्डपमा भएको महाधिवेशनमा मन्सुरलाई दुई उपसभापतिमध्ये एकको रूपमा टुंगो लगाइएको नेता अजयबाबु सिवाकोटीले बताए।

अर्को उपसभापति पदका लागि छलफल जारी छ। गगन थापाले उम्मेदवार टुंगो लगाउने प्रयास गरिरहेका छन्। मन्सुर पहिले कांग्रेसका सहमहामन्त्री थिए र १४औँ महाधिवेशनबाट निर्वाचित भएका थिए।

तर, बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले मन्सुरलाई कारबाही गर्दै साधारण सदस्यबाट निष्कासित गर्ने निर्णय पनि गरेको छ।

नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गुरु घिमिरे र प्रदीप पौडेल महामन्त्री चयन भएका छन्।

काठमाडौँको भृकुटीमण्डपमा भएको विशेष महाधिवेशनबाट घिमिरे र पौडेललाई महामन्त्री चयन गरेको हो। नेता विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट महामन्त्रीमा युवा नेताद्वय प्रदीप पौडेल र गुरु घिमिरे चयन भएको बताए। अन्य पदाधिकारी टुंगो लगाउन गगन थापा र पदाधिकारीका उम्मेदवारबीच छलफल भइरहेको छ।

निर्वाचन समितिले बुधबार बिहान उम्मेदवारी दर्ताको कार्यक्रम तय गरेको थियो। जसमा महामन्त्रीका लागि घिमिरे र पौडेलले मात्रै उम्मेदवारी दिएका हुन्। कांग्रेसमा दुई महामन्त्री रहने व्यवस्था छ।

काठमाडौं,३० पुस ।

नेपाली कांग्रेसको विशेष महाधिवशेनले पदाधिकारीलाई कारबाही गर्ने पार्टी केन्द्रीय समितिको निर्णय खारेज गरेको छ।

बुधबार भृकुटिमण्डपमा विशेष महाधिवशेनको बन्दसत्रको हलले महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुल्लाह मन्सुरलाई साधारण सदस्यसमेत नरहने गरी कारवाही गर्ने निर्णय खारेज गरेको हो।

कारबाहीको निर्णय भएपछि बन्दसत्रलाई सम्बोधन गर्दै महामन्त्री थापाले आफूहरूलाई निष्काशन गर्ने कांग्रेस पार्टी कसैको निजी कार्यालय नभएको बताए। उनले केहिदिनअघि विशेष महाधिवशेन सुरु हुँदै सभापति शेर बहादुर देउवा नेतृत्वको कार्यसमिति भंग भइसकेको र यसको जानकारी निर्वाचन आयोगमा जानकारी गराइसकेको बताए।

उनले कांग्रेस पार्टी आफुहरुको भएकाले कसैले यसमा दावी गर्न नसक्ने स्पष्ट पारे। पार्टीको विधान अनुसार नै आफुहरु चलिरहेको भन्दै कारवाहीको निर्णयका कारण बिचलित नहुने नेता तथा कार्यकर्तालाई आग्रह गरे।

त्यस्तै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पार्टी नेतृत्वलाई आफूलाई लागेको निर्णय गरेपनि पार्टीलाई अघि बढाउने काम अव विशेष महाधिवेशनको हलले गर्ने बताए। उनले विशेष महाधिवेशनले बनाउने कार्यसमितिलाई निर्वाचन आयोगमा लिएर जाने उल्लेख गरे। उनले पार्टीका बारेमा कुनै अन्यौलता नरहन आग्रह गरे।

त्यस्तै कांग्रेसका नेता फरमुल्लाह मन्सुरले विशेष महाधिवेशनको निर्णयलाई कसैले रोक्न नसक्ने बताए। उनले अब पार्टी र देशको नेतृत्व गगन थापाले मात्रै गर्न सक्ने उल्लेख गरे।

काठमाडौं, ३० पुस ।

सरकारले महान्यायाधिवक्ता कार्यालयमार्फत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा दायर गरिएको संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग फिर्ता लिएको छ।

महान्यायाधिवक्ता कार्यालयको निर्देशनअनुसार सम्बन्धित सरकारी वकिलमार्फत मुद्दा फिर्ता लिने प्रक्रिया अघि बढाइएको हो। यद्यपि, लामिछानेविरुद्ध दायर सहकारी ठगीसम्बन्धी मुद्दा भने यथावत् रहने जनाइएको छ।

सहकारी ठगी प्रकरणसँगै जोडेर लगाइएका संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग राजनीतिक पूर्वाग्रहका आधारमा लगाइएको दाबी गर्दै लामिछानेको तर्फबाट यसअघि नै मुद्दा फिर्ताका लागि निवेदन दिइएको थियो।

महान्यायाधिवक्ताकाे याे निर्णयपछि जिल्ला अदालत कास्कीमा चलिरहेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता हुनेछ।

रुपन्देही, काठमाडौं र पर्सामा चलिरहेको संगठित अपराधको मुद्दा पनि फिर्ता हुनेछ। तर, चितवन जिल्ला अदालतमा संगठित अपराध र सम्पत्ति शुद्धीकरण कुनै पनि मुद्दा नचलेकाले अभियोगपत्र संशोधन गर्ने निर्णय भएको छैन।

एजेन्सी, ३० पुस । ।

गुडिरहेको रेलमाथि क्रेन खस्दा कम्तीमा २२ जनाको मृत्यु भएको छ।

बुधबार बिहान थाइल्यान्डको राजधानी बैंककमा गुडिरहेको रेलको डिब्बामा निर्माण कार्यमा प्रयोग गरिएको क्रेन खस्दा कम्तीमा २२ जनाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।

स्थानीय प्रहरीका अनुसार दुर्घटनामा ७९ जना घाइते भएका छन्, जसमध्ये आठ जनाको अवस्था गम्भीर छ। यसैले मृत्यु हुनेको संख्या बढ्ने आशंका छ।

पोखरा, ३० पुस ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको बन्दसूचीबाट कुल १७५ जना उम्मेदवारले आफ्नो नाम फिर्ता लिएका छन् । निर्वाचन आयोगले उपलब्ध गराएको अन्तिम विवरणअनुसार १७ चुनाव चिह्नका (एकलसहित) उम्मेदवारले नाम फिर्ता लिएका हुन् ।

आयोगका अनुसार बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा यही पुस २८ गते बिहान १०ः०० बजेदेखि ४ः०० बजेसम्मको समय निर्धारण गरिएको थियो । नाम फिर्ता लिने विषयमा आयोगले सूचना प्रकाशित गरी जानकारी गराएको थियो ।

आयोगले उम्मेदवार आफैं उपस्थित भएर वा वारेसमार्फत पनि नाम फिर्ता लिनसक्ने व्यवस्था गरेको थियो । 

नाम फिर्ता लिनेमा सबैभन्दा बढी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का ११० उम्मेदवार रहेकाछन । यसैगरी जनमत पार्टीका २०, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १२, जनादेश पार्टी नेपालका ६ र नेपाल कम्युनिस्ट पार्टी (एमाले) का ५ जना उम्मेदवारले नाम फिर्ता लिएका आयोगले जनाएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) र राष्ट्र निर्माण दल नेपालका ४–४ जना तथा नेपाली कांग्रेस, उन्नत लोकतान्त्रिक पार्टी, नेपाल कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २–२ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् ।

यसैगरी संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च, संयुक्त नागरिक पार्टी, राष्ट्रिय मुक्ति पार्टी नेपाल र जनता समाजवादी पार्टीका तर्फबाट जाँतो एकल चुनाव चिह्नका एक उम्मेदवारले बन्दसूचीबाट नाम फिर्ता लिएका छन् । गतिशील लोकतान्त्रिक पार्टी, नेपाल जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट एक–एक जना उम्मेदवारले नाम फिर्ता लिएका आयोगले जनाएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीका लागि यही पुस १३ र १४ गते दलहरूले आयोगमा नाम पेस गरेका थिए ।

कुल २७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत १६५ जना र समानुपातिक निर्वाचन प्रणालीमार्फत ११० जना निर्वाचित हुने व्यवस्था गरिएको छ । त्यसका लागि आयोगले पछिल्लो जनगणनाका आधारमा जातीय प्रतिनिधित्वसमेत हुने गरी आवश्यक व्यवस्था गरेको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।