पोखरा, २६ पुस ।
पोखरा–१४ मनकामना टोलको खेल मैदानमा पुस ३० गतेदेखि मनोहर कप तेस्रो क्लब स्तरीय खुला पुरुष भलिबल प्रतियोगित हुने भएको छ । मनोहर युवा क्लबको आयोजनामा हुने प्रतियोगिता माघ ३ गतेसम्म चल्ने छ ।
प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको क्लबका अध्यक्ष शैलेस बानियाँले जानकारी दिए । प्रतियोगितामा विजेता हुने टोलीले एक लाख ७५ हजार ५५५ रुपैयाँसहित ट्रफी, शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् । दोस्रो हुने टोलीलाई एक लाख एक हजार १११ रुपैयाँ प्रदान गरिनेछ । सेमिफाइनलमा पुग्ने दुई टोलीलाई समान २० हजार प्रदान गरिने आयोजकले जनाएको छ । एक टिममा धेरैमा तीन राष्ट्रिय खेलाडी राख्न पाउने अध्यक्ष बाँनियाँले बताए ।
भलिबल संघको समन्वयमा हुन लागेको प्रतियोगिताका सबै खेल हेर्नका लागि दर्शकलाई निशुल्क गरिएको छ । भलिबल खेललाई प्रोत्साहन गर्दै स्थानिय युवाहरूलाई खेलकुदमा संलग्न गराउने उद्देश्य राखिएको क्लबले जनाएको छ ।
प्रतियोगिताले समुदायमा खेलकुदप्रति उत्साह र एकता बढाउने अपेक्षा क्लबको छ । प्रतियोगिताबाट बचेको रकमले मनोहर व्यायामशाला निर्माण गर्ने र आगामी दिनमा खेलकुद क्षेत्रमा नयाँ अवसरहरू सिर्जना गर्ने आयोजकले जनाएको छ । प्रतियोगिता सञ्चालन गर्न मूल समारोह समिति र विभिन्न उपसमितिहरू गरिएका छन् ।
काठमाडौं, २६ पुस।
हिमाचल प्रदेशको सिरमौर जिल्लामा बस दुर्घटना हुँदा कम्तिमा १२ जनाको मृत्यु भएको छ। समाचार एजेन्सी एएनआईका अनुसार कुपवीबाट शिमला जाँदै गरेको एक निजी बस सिरमौर जिल्लाको हरिपुरधर नजिकै सडकबाट खसेको थियो।
सिरमौरका एसडीएम सुनील कुमार कैथले भने , “यस दुर्घटनामा १२ जनाको मृत्यु भएको छ। बसमा ४५ जना सवार थिए। घाइते सबैलाई विभिन्न अस्पतालमा पठाइएको छ।” उनले भने, “दुर्घटना के कारणले भयो भनेर अहिले नै भन्न सकिँदैन। यसको विस्तृत अनुसन्धान गरिनेछ।”
भारतको प्रधानमन्त्री कार्यालयले सिरमौर बस दुर्घटनाप्रति समवेदना व्यक्त गर्दै मृतकका परिवार र घाइतेहरूलाई आर्थिक सहयोगको घोषणा गरेको छ।
प्रधानमन्त्री कार्यालयले ट्विटरमा पोस्ट गरेको छ , “आफ्ना प्रियजन गुमाउनेहरूप्रति समवेदना। प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट प्रत्येक मृतकका आफन्तलाई २ लाख रुपैयाँको अनुग्रह रकम दिइनेछ। घाइतेहरूलाई ५०,००० रुपैयाँ दिइनेछ।”
पोखरा, २६ पुस ।
नेपाल रेडक्रस सोसाइटी पोखरा महानगरपालिका २७ उपशाखाको २८ औंसाधारण सभा शनिवार सम्पन्न भएको छ । उपशाखाका सभापति बोधराज लामिछानेको अध्यक्षतामा भएको सो साधारण सभाको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका वडा नं २७ का वडाअध्यक्ष पुर्णकुमार गुरुङले रेडक्रसकर्मीहरु मानवीय पीडा तथा जोखिम कम गर्न जुनियर , युवा, महिला सबै रेडक्रसकर्मीहरु लाग्न आग्रह गर्दै सामाजिक संघसंस्थाका कार्यहरुमा वडाको साथ सहयोग रहने वताए ।
उपशाखाकी कोषाध्यक्ष विष्णुकुमारी लामिछानेले रेडक्रसका सात सिद्धान्त वाचन गरेको उक्त कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका द्घितीय उपाध्यक्ष ध्रुवबाबु भट्राई , नेपाल रेडक्रस सोसाईटी कास्कीका उपमन्त्री डिल्लीराम बराल,लक्ष्मीआदर्श बहुमुखी क्याम्पसका प्रमुख हेमराज आचार्य,सल्लाहकार प्रकाशलाल श्रेष्ठ लगायतले रेडक्रसका वारेमा आ आफना धारणा राख्दै उपशाखाले खानेपानी,प्राथमिक उपचार,विगतमा एम्बसलेन्स सञ्चालन, रक्तदान,जुरेस पुनर्गठन आदिमा गरेका कार्यहरुको प्रशंसा गरेका थिए ।साथै एम्बसलेन्स पुनः सञ्चालन गर्ने ,सडक मापदण्डमा परेको कार्यालय भवन स्थानान्तरण गर्नुपर्नेमा जोड दिएका थिए ।
प्रभाकुमारी पौडेलको सचिबको प्रतिबेदन र विष्णुकुमारी लामिछानेको कोषाध्यक्षको प्रतिबेदन सर्वसम्मत पारित भएका थिए भने तारादेवी गुरुङ्ग र लामिछानेलाई सम्मान गरिएको सो कार्यक्रमको सञ्चालन उपशाखाका सचिव प्रभाकुमारी पौडेलले गरेकी थिइन् ।सोही अवसरमा नयाँआजीवन सदस्यहरुलाई रेडक्रस अभियानमा स्वागत गरिएको थियो । उपशाखामा २४६ पुरुष र ७७ महिला सदस्यहरु रहेका छन् ।
पोखरा, २६ पुस ।
दियालो कृषि सहकारी संस्था लिमिटेड पोखरा–२५ हेमजाको शनिबार सम्पन्न १४ औं वार्षिक साधारण सभा तथा पाँचौ चुनावी सभाले कुल प्रसाद त्रिपाठीको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्विरोध निर्वाचित गरेको छ ।
सञ्चालक समितिको उपाध्यक्षमा वेदराज त्रिपाठी, सचिवमा कृष्ण प्रसाद पौडेल, कोषध्यक्षमा मनिषा पोख्रेल सापकोटा, सदस्यहरुमा निर्मल प्रसाद बाँस्तोला, बविता बाँस्तोला, गौमाया छन्त्याल, खिमलाल त्रिपाठी र उमानाथ त्रिपार्ठी निर्विरोध निर्वाचित भएका छन् ।
त्यसैगरी लेखा सुपरिवेक्षक समितिको संयोजकमा दिपेन्द्र बाँस्तोला तथा सदस्यहरुमा प्रकाश त्रिपाठी ‘व्यथित’ र ओमकुमारी आचार्य रहेका छन् ।दनिर्वाचन उपसमितिका निर्वाचन अधिकृत होतराज त्रिपाठी तथा सदस्यहरु प्रकाशचन्द्र सापकोटा र शंकर सापकोटाको उपसमितिले नयाँ सञ्चलक समिति निर्विरोध निर्वाचित गराएको थियो।
कार्यक्रममा उत्कृष्ट बचतकर्ता हरि पौडेल र शोभा सुनारलाई सम्मान गरिनुको साथै सल्लाहकार तथा सञ्चालक समितिलाई प्रशंशा पत्र प्रदान गरिएको थिए ।
यसअधि कार्यक्रममा बोल्दै गौरी शंकर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष केशवशरण पौडेल र हेमजा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामचन्द्र त्रिपाठीले सहकारीलाई मजवुद बनाउँका लागि शेयर सदस्यहरुको भूमिका ठूलो रहने भएकोले आफ्ना संस्थाका वारेमा जिज्ञासु हुनु पर्ने बताए ।
उक्त कार्यक्रममा संस्थाका सचिव वेदराज त्रिपाठी, कोषाध्यक्ष राजेश त्रिपाठी, लेखा सुपरिवेक्षक संयोजक प्रकाश चन्द्र त्रिपाठी, ऋण उपसमिति संयोजक कुल प्रसाद त्रिपाठीले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संस्थाको शेयर पुजी २ करोड ९९ लाख २९ हजार ९ सय, निक्षेप संकलन ३ करोड ७० लाख ५२ हजार ४ सय ५६, ऋण लगानी ६ करोड ७१ लाख ७७ हजार ४ सय ८५ रहेको छ ।
दियालो कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष मोहन प्रसाद त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष कुल प्रसाद त्रिपाठीले स्वागत सदस्य मनिषा पोख्रेल सापकोटाले सहकारीका सात सिद्धान्त र सचिव वेदराज त्रिपाठीले कार्यक्रम सञ्चालन गरेका थिए ।
पोखरा, २६ पुस ।
नेसनल प्याब्सन कास्कीले २७ औँ स्थापना दिवसको अवसरमा बरिष्ठ गायिका तथा साहित्यकार प्राज्ञ हरिदेवी कोइरालालाई सम्मान गर्ने भएको छ । आइतबार नेसनल प्याब्सन कास्कीले एक कार्यक्रमको आयोजना गरि शिक्षा÷साहित्यसेवा सम्मान–२०८२ बाट बरिष्ठ गायिका तथा साहित्यकार प्राज्ञ कोइरालालाई सम्मान गर्ने भएको हो । कोइरालाई कार्यक्रमका प्रमुख अतिथि नेसनल प्याब्सनका संस्थापक अध्यक्ष बसन्तबहादुर श्रेष्ठ, र कास्कीका अध्यक्ष हेमन्त अधिकारीलेले सम्मान गर्ने कार्यक्रम रहेको छ ।
त्यसैगरी स्थापना दिवसकै अवसर पारेर स्थापना वर्षको आधारमा विद्यालयहरू सम्मान, एस.ई.ई. २०८१ मा सतप्रतिशत विद्यार्थी उर्तीण गराउन सफल विद्यालयहरू सम्मान, एस.एल.सी. परीक्षा–२०८१मा सर्वोत्कृष्टनतिजाप्राप्तगर्न सफलविद्यार्थी÷विद्यालय सम्मान, एस.ई.ई.परीक्षा–२०८१ मा सर्वोत्कृष्ट नतिजा प्राप्त गर्न सफल विद्यार्थी÷विद्यालय सम्मान दीर्घ सेवापदक सम्मान–२०८२ बाट सम्मान गरिने कार्यक्रम रहेको एन प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले जानकारी दिए ।
यसैगरी एन प्याब्सन कास्कीले स्थापना दिवसको पूर्व सन्ध्यामा वातावरण संरक्षणका लागि महाअभियान कास्कीको समन्वय तथा पोखरा महानगरपालिका र खहरे आमा समूहको सहकार्यमा हल्लन चोकको फेवाताल किनारमा फेवाताल सफाइ कार्यक्रम आयोजना गरेको थियो । उक्त अवसरमा एन प्याब्सन कास्कीले फेवताल किनार सफाइ गर्नका लागि आवश्यक सामाग्री डोको प्यालष्टिक र पञ्जा खहरे आम समूहलाई हस्तान्तरण गरेको थियो ।
उक्त अवसरमा बोल्दै एन प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले आजको कार्यक्रम सांकेतिक भएको बताए ।‘ आज संस्थाले गरेको यो कार्यक्रम सांकेतिक रुपमा रहेको छ’ अध्यक्ष अधिकारीले भने, ‘पोखराको सुन्दरतालाई जोगाई राख्नका लागि फेवाताल किनार सफाइ गर्न आवश्यक परेमा संस्थामा आवद्ध विद्यालयका विद्यार्थी शिक्षकहरुको पनि सहभागिता गराई काम गर्न हामी सधै तयार छौं ।’
कार्यक्रममा वातावरण संरक्षणका लागि महाअभियान कास्कीका संयोजक राम बहादुर पौडेलले फेवातालका सौन्द्धर्यता कायम गर्न सवैले हातेमालो गर्नु पर्ने बताए । कार्यक्रममा खहरे आमा समूहकी पूर्व अध्यक्ष मैया थापाले पनि बोलेका थिए । शुक्रबार नै एन प्याब्सन कास्कीका पूर्व अध्यक्ष राम प्रसाद शर्माको पाँचौ दिनको पुन्यतिथीमा स्वं शर्माको निवासमा उपस्थित भई संस्थाले शोक सभा गरेको छ ।
पोखरा, २६ पुस ।
आउँदो माघ महिनाको अन्तिम साता पोखरामा युवाबाट उत्पादित सूचना–प्रविधि तथा स्टार्टअप व्यवसाय प्रदर्शनी हुने भएको छ । नेपाल सरकारको युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय युवा परिषद्ले पोखरा उद्योग वाणिज्य संघसँगको सहकार्यमा सो मेला आयोजना गर्न लागेको हो ।
मेलामा गण्डकी प्रदेशभित्रबाट छानिएका १५ वटा नवीन सोचमा आधारित उद्यम,बस्तु तथा सेवा वा प्रक्रियामा नवप्रवर्तनसँग सम्बन्धित व्यवसायको प्रदर्शनी गरिने छ । सो प्रदर्शनी प्रतिस्पर्धात्मक हुने र पहिलो हुनेले ४०,दोस्रोले ३० र तेस्रो हुनेले २० हजार रुपैयाँ प्राप्त गर्ने राष्ट्रिय युवा परिषद्का प्रशासकीय प्रमुख गेहनाथ गौतमले जाननकारी दिए । उनका अनुसार सो मेलामा सहभागिताका निम्ति परिषद्ले आउँदो साता सार्वजनिक सूचना जारी गर्नेछ ।
‘सहभागी हुन चाहनेहरुले अनलाइन फाराम भर्नुपर्नेछ । तीमध्ये छानिएकालाई मेलामा सहभागी गराइने छ,’परिषद्का प्रमुख गौतमले भने,‘आवेदकको उमेर ४० वर्ष ननाघेको,उद्योग÷व्यवसाय संचालन गरेको १० वर्षभन्दा बढी नभएको तथा सरकारी कार्यालयमा दर्ता भएको एवं वार्षिक कारोबार १५ करोडभन्दा बढी नभएको हुनुपर्नेछ ।’ उनका अनुसार पोखराबाट सुरु गरिने यो प्रदर्शनी सातवटै प्रदेशमा आयोजना गरिने छ भने अन्तिममा काठमाडौंमा हुने बृहत प्रतिस्पर्धात्मक प्रदर्शनीमासमेत प्रदेशमा उत्कृट रहेकालाई सामेल गरिने छ ।
प्रदर्शनीको तयारीको सन्दर्भमा युवा परिषद्ले पोखरामा अभिमुखीकरण कार्यक्रमसमेत सम्पन्न गरेको छ । कास्कीसहित स्याङ्जा,बागलुङ,तनहुँ,पर्वतका उद्योगी÷व्यवसायीको सहभागिता रहेको सो अभिमुखीकरण कार्यक्रममा बोल्दै उद्यमशीलता विकास विज्ञ इञ्जिनियर रमेश सुवेदीले नवप्रवर्तनमार्फत् रोजगारी सिर्जना र युवा पलायन रोक्नका लागि मेला आयोजना गरिएको बताए ।
सो कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले युवा पुस्ताको पलायन रोकियोेस्,देशमै रोजगारी सिर्जना होस् भन्ने निजी क्षेत्रको चाहना रहेको बताए । गएको भदौमा भएको जेन–जी आन्दोलनको क्रममा उद्योगी÷व्यवसायीमाथि भएको आक्रमणका कारण निजी क्षेत्र हतोत्साही बनेको उल्लेख गर्दै उनले यस्ता प्रदर्शनीले युवा पुस्तालाई प्रोत्साहित गर्ने धारणा राखे ।
पोखरा महानगरपालिकाको व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख नवराज अधिकारीले उद्यमशीलता विकासका निम्ति पोखरा महानगरपालिकाले चालेका कदमहरुबारे जानकारी दिँदै युवा परिषद्ले आयोजना गर्ने कार्यक्रमले नयाँ सोचको विकास गराउने धारणा राखे ।
युवा परिषद्का उपसचिव तारापति खरेलले निजी क्षेत्र र खासगरी युवाहरुलाई सिर्जनात्मक व्यवसायमा सामेल गराउनका निम्ति मेला आयोजना गरिन लागेको बताए ।
काठमाण्डौँ, २५ पुस ।
काउन्सिल फर जेन–जीका संयाजक सुदन गुरुङले पनि आगामी निर्वाचनका लागि उम्मेदवारी घोषणा गरेका छन् ।
गुरुङले आज सामाजिक सञ्जालमार्फत आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
उनले सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै गोरखा क्षेत्र नम्बर १ बाट आगामी निर्वाचनका लागि उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
चुनाव लड्नका लागि सवैतिरबाट दबाव आएको भन्दै उनले नाइँ भन्दाभन्दै चुनाव लड्ने निर्णय गेको बताएका छन् । अब सदनमै जाने निर्णय गरेको पनि गुरुङको भनाइ छ ।
काठमाण्डौँ, २५ पुस ।
सामाजिक अभियन्ता आशिका तामाङले आगामी प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी छन् । माजिक सञ्जाल फेसबुकमा लेख्दै तामाङले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर २ वा ९ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी छन् ।
आफूले पछिल्लो केही हप्तादेखि सक्रिय राजनीतिमा प्रवेश गर्नेबारे गम्भीर छलफल र आत्ममन्थन गरेको उल्लेख गर्दै तामाङले दलगत राजनीतिभन्दा माथि उठेर स्वतन्त्र धारमा अघि बढ्ने निर्णयमा पुगेको बताएकी छन् ।
उनले भनेकी छन्, ‘म कुनै पनि राजनीतिक दलमा आवद्ध नहुने निर्णयका साथ आगामी हुने संसद् निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ र ९ लाई प्राथमिकतामा राख्दै स्वतन्त्र उम्मेदवारी घोषण गर्दछु ।’
जेन जेड पुस्ताका युवाले उठाएका आवाज, मुद्दा र परिवर्तनको चाहनालाई सडकदेखि सदनमा सशक्त रुपमा प्रतिनिधित्व हुनुपर्छ भन्ने भावनालाई सम्मान गर्दै स्वतन्त्र उम्मेदवारी दिने निर्णय लिएको उनको भनाइ छ ।
‘यो उम्मेदवारी व्यक्तिगत महत्वाकांक्षाभन्दा पनि नयाँ पुस्ताको आवाज, जवाफदेही राजनीति, पारदर्शिता र व्यावहारिक समाधानको प्रतिबद्धताबाट प्रेरित छ । म विश्वास दिलाउन चाहन्छु कि युवाहरूको सपना, उनीहरूको भविष्य र देशको समग्र हितका लागि दृढ, स्वतन्त्र र निर्भीक रूपमा अघि बढ्नेछु,’ उनले भनिन् ।
युवा पुस्ताको भावनाको कदर, सडकदेखि सदनसम्म जनसरोकारका मुद्दा, भ्रष्टाचारविरुद्धको निरन्तर लडाइँ आफ्नो अठोट भएको उनको भनाइ छ ।
चलचित्र क्षेत्रबाट उदाएकी तामाङ पछिल्लो केही वर्षदेखि सामाजिक कार्यमा सक्रिय छिन् । फाउण्डेशन नै खोलेर सामाजिक गतिविधिमा लागेकी तामाङले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका शहीद र घाइतेलाई दाताहरूमार्फत सहायता गरेकी थिइन् ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकताअघि तामाङलाई बोलाएर सामानुपातिकमा प्रस्ताव गरेका थिए । तर, तामाङले आफू प्रत्यक्षबाटै उम्मेदवार बन्ने बताएकी थिइन् ।
सक्रिय राजनीतिमा आउनेबारे सामाजिक सञ्जालमा राखेको मत सर्वेक्षणमा ९२ प्रतिशत बढीले आफूलाई प्रत्यक्षबाटै निर्वाचन लड्न सुझाएको तामाङको भनाइ थियो ।
काठमाडौं, २५ पुस ।
प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनको तयारी र सुरक्षा व्यवस्थालगायतका विषयमा निर्वाचन आयोगका प्रमुखसहित सुरक्षा निकायका उच्च अधिकारीहरूसँग छलफल गर्नुभएको छ ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरुको उपस्थिति रहेको थियो । छलफलमा आगामी फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउने विषयमा केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
२०८२ भदौमा जेन–जी आन्दोलनपछि अन्तरिम सरकारको नेतृत्व सम्हाल्नुभएकी प्रधानमन्त्री कार्कीले निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन सुरक्षा निकायहरूलाई आवश्यक निर्देशन दिनुभएको छ । उहाँले निर्वाचन आयोगलाई निर्वाचन तयारी तिब्र पार्न आग्रह गर्दै सबै पक्षलाई निर्वाचन प्रक्रियामा सहभागी हुन अपिल पनि गर्नुभएको छ ।
पोखरा, २५ पुस ।
पोखरा महानगरपालिका वडा नं. १७ महतगौडास्थित जानकी माध्यमिक विद्याँलयलाई लक्ष्मी सनराईज बैकको अमरसिंचोक शाखाद्धारा एक थान युरोगार्ड उपलव्ध गराएको छ । वैकले सामाजिक उत्तरदायित्वमार्पmत विद्यार्थीलाई सोच्छ खानेपानीको सुविधा पु¥याउने लक्ष्यका साथ विद्युतीय युरोगार्ड सहयोग गरेको हो ।
विद्यालयमा आयोजित एक कार्यक्रमका बीच विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद बास्तोलालाई बैकका शाखा प्रमुख दिपक कडेलले २२ हजार मुल्य बरावरको युरोगार्ड हस्तान्तरण गर्नुभयो । कार्यक्रममा वैकका माधव प्रसाद दवाडी,वलराम पौडेल र सुस्मीता ढकाल सहभागिता रहेको थियो ।
सो अवसरमा शाखा प्रमुख कडेलले कक्षा ९ र १० का विद्यार्थीलाई वित्तीय साक्षरता सम्वन्धी प्रशिक्षण प्रदान गर्दै आम्दानी अनुसारको खर्च व्यवस्थापन गर्न सके भविष्य सुरक्षित हुने विश्वास व्यक्त गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक अर्जुन कडेलले स्वागत र शिक्षिका चन्द्रा तिमिल्सिनाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । विद्यालयमा ३५० जना विद्यार्थी अध्ययनरत छन् ।