२०८३ जेष्ठ ४ सोमबार
२०८३ जेष्ठ ४ सोमबार
पोखरा, १४ पुस ।
 
पोखराका ४ वटा बैंकले जिल्ला मालपोत कार्यालय कास्कीलाई कम्प्यूटर हस्तान्तरण गरेका छन् । मालपोतबाट दिइने सेवालाई सहज बनाउन नविल बैंक,सिटीजन्स बैंक,ग्लोबल आइएमई बैंकको तर्फबाट दुई थान कम्प्यूटर तथा हिमालयन बैंकको तर्फबाट एउटा कम्प्यूटर र प्रिन्टर तथा हस्तान्तरण गरिएको हो ।
 
गएको भदौ २४ गते जेन–जी आन्दोलनको क्रममा मालपोत कार्यालयसँगै त्यहाँ रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएका थिए ।  कार्यालय जलेसँगै मालपोतबाट प्रवाह हुने सेवा ठप्प भएको थियो । सेवा सूचारु गराउनका निम्ति पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीको संयोजकत्वमा एक सहजीकरण समिति गठन गर्दै तत्काल सहयोग जुटाउने अभियान थालिएको थियो ।
 
सोही समितिको अगुवाइमा विभिन्न संघ÷संस्थाको सहयोगमा तत्कालको लागि कार्यालयको मर्मत, नयाँ ट्रष्ट निर्माण एवं आवश्यक कम्प्यूटर,फर्निचरलगायत सामग्री जुटाइएको थियो । पोखरा उद्योग वाणिज्य संघका महासचिव शोभा गौतमका अनुसार मालपोत कार्यालयको सेवा सूचारु गर्न बैंकर्स एसोसियसन गण्डकीलाई पनि आग्रह गरिएकोमा अहिले विभिन्न वित्तीय संस्थाबाट सहयोग जुटेको हो ।
सोमबार पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, महासचिव शोभा गौतम,बैंकर्स एसोसियसन गण्डकीका अध्यक्ष हरि ढकाल,नविल बैंकका गण्डकी प्रादेशिक प्रमुख निराजन भण्डारी,सिटीजन्स बैंकका गण्डकी प्रादेशिक प्रमुख हरि घिमिरे,ग्लोबल आइएमइ बैंकका प्रदेश प्रमुख सुशोभन देवकोटा,हिमालयन बैंकका गण्डकी प्रदेश प्रमुख रवीन्द्रभक्त श्रेष्ठ,हिमालयन बैंक पृथ्वीचोक शाखा प्रमुख सुमिता नेपाल, नेपाल लेखापढी कानून व्यवसायी एसोसियसन पोखराका अध्यक्ष मौषम कार्कीसहितले मालपोत कार्यालय कास्कीका प्रमुख कालीबहादुर भुजेललाई ती सामग्री हस्तान्तरण गरेका हुन् ।
 
मालपोत प्रमुख भुजेलले अहिले कार्यालयबाट दैनिक सेवा प्रवाहमा कुनै कमी हुन नदिएको तर जलेका भौतिक संरचना पुननिर्माण हुन भने समय लाग्ने बताए । यसअघि लेखापढी व्यवसायी,गण्डकी आवास तथा घरजग्गा व्यवसायी समितिलगायतका संघ÷संस्थले पनि मालपोतको सेवा सूचारु गराउन सहयोग गरेका थिए । 
 

पोखरा, १४ पुस ।

पोखरा महानगरपालिका वडा नं. २६ स्थित जनप्रिय सहकारी संस्था लिमिटेडले आफ्ना लघु बचत तथा कर्जा कारोबार गर्ने सदस्यहरूलाई लक्षित गरी ५० प्रतिशत अनुदानमा कृषि सम्बन्धी सामग्री तथा औजार वितरण कार्यक्रम सम्पन्न गरेको छ।

कृषि विकास कार्यालय विरौटाबाट ५० प्रतिशत अनुदानमा प्राप्त मिनी टेलर (हाते ट्र्याक्टर) आलु रोप्ने फालीसहित वितरण गरिएको हो भने सहकारीको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कोदाली, चाँदे कोदाली, बाउसो, स्प्रे, करौते, हसियाँ र हजारीलगायतका कृषि औजारहरू पनि ५० प्रतिशत अनुदानमा वितरण गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि कृषि विकास कार्यालय बगबानीका सातौँ तहका अधिकृत विकास विकले सहकारीले यस्ता उत्पादनमुखी कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताउँदै आफूले पनि यस्ता कार्यक्रमलाई हरेक क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा संस्थाका सल्लाहकार मुरारी बराल, चन्द्रबहादुर रानाभाट, कृषि विकास कार्यालयका प्राविधिक सहायक सालिकराम घिमिरे तथा अनुदान प्राप्त गर्ने सदस्यहरूमध्ये राधिका शर्मालगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।

संस्थाका अध्यक्ष रविन्द्रमोहन अधिकारीको अध्यक्षतामा भएको सो कार्यक्रममा सह–सचिव पवित्रा ढुंगाना गौतमले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने कार्यक्रम संयोजक बुद्धराज बस्यालले स्वागत मन्तव्य राख्नुभएको थियो।

 

पोखरा, १४ पुस ।
 
होटल संघ पोखरा नेपालले फेवा तालको संरक्षणका लागि उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री कुलमान घिसिङको ध्यानाकर्षण गराएको छ । भौतिक पुर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मन्त्री घिसिङलाई आइतबार छ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै संघले ताल संरक्षणका लागि उचित बजेट विनियोजनको माग गरेको हो ।

होटल संघ नेपालका केन्द्रिय सदस्य एवं होटल संघ पोखरा नेपाल सल्लाहकार परिषद्का संयोजक भरतराज पराजुलीको अगुवाईमा संघको टोलीले मन्त्री घिसिङलाई भेटी पर्यटन क्षेत्रले भोग्नुपरेका समस्या र चुनौतिहरुलाई संवोधन गर्न आबश्यक पहलका लागि अनुरोध गरेको हो ।

संघका अध्यक्ष लक्ष्मण सुवेदीको हस्ताक्षरमार्फत् मन्त्री घिसिङलाई बुझाइएको ध्यानाकर्षण पत्रमा भनिएको छ– नेपालको प्राकृतिक गहनाको रुपमा रहेकोे फेवाताल वर्षायाममा आउने बाढी, पहिरो, ढल तथा अतिक्रमणका कारण दिनानुदिन पोखरीको रुपमा परिणत भएको छ । यसको संरक्षण गर्न सर्वोच्च अदालतको फैसला बमोजिम स्थानीय सरकारद्वारा सिमाङकन समेत भई सकेको अवस्थामा आवश्यक बजेट विनियोजन नभएका कारण अन्य कार्य अगाडी बढ्न नसकेको हुँदा आगामी आर्थिक वर्षको वजेटमा आवश्यक रकम विनियोजन गरी फेवातालको संरक्षण र सम्बद्र्धनमा विशेष भूमिका निर्वाह गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु ।  

जेन–जी आन्दोलनबाट प्रत्यक्ष प्रभावित होटल प्रतिष्ठानहरुलाई पुनरुत्थानको लागि उचित राहतको व्यवस्थापन गरिनु पर्ने बुँदा पनि संघले समेटेको छ । यसैगरी चालू बजेटमा पर्यटन उद्योगलाई पनि अन्य उद्योग सरहको सुविधा दिइनेछ भनि सम्बोधन भएता पनि हाल सम्म पनि कार्यान्वयन हुन नसकेको विषय समेत पत्रमा उल्लेख गरिएको छ । पोखरासँग जोडिएका मुख्य राजमार्गको स्तरोन्नती कार्यमा ढिलाई भएको हुँदा तोकिएको समयमा काम पुरा गर्न सम्बन्धित निकायलाई दबाब दिइनु पर्ने आबश्यकता औंल्याउँदै संघले पोखरालाई भारतीय बोर्डरसम्म सिधा जोड्न फाष्ट ट्रयाक निर्माणको योजना अगाडी सार्न समेत मन्त्री घिसिङसँग आग्रह गरेको छ ।    

पोखरामा विभिन्न समयमा निर्माण भएका पुराना होटल, घर तथा भवनहरुको र्निमाण सम्पन्न प्रमाण पत्र नहुँदा व्यवसायीहरुले चाहेर पनि वातावरणीय अध्ययन गर्न पाएका छैनन् । जसले गर्दा पर्यटन कार्यालय एवम् विभागबाट गरिने स्तरीकरणको प्रमाण पत्र नविकरण नहुँदा साना तथा मझौला होटल उद्योगहरुले विभिन्न समस्याहरु झैल्दै आउनु परेको हुँदा उक्त स्तरीकरणको प्रमाण पत्र सहज रुपमा नविकरण गरिनु पर्ने माग पनि संघको अगाडि सारेको छ ।

एक्स नेपथ्यदेखि उज्जन शाक्यसम्म गुञ्जिने, आस्मा विश्वकर्माले धुम मच्चाउने
पोखरा, १३ पुस ।

पोखरा सडक महोत्सव शुरु भएसँगै पोखराको लेकसाईड कोमागाने पार्कमा सांगीतिक उत्सव पनि शुरु भएको छ । रेवान पोखराको आयोजनामा शुरु भएको सडक महोत्सवसँगै कोमागाने पार्कमा अल टेक नेपालको संयोजनमा सांगीतिक उत्सव पनि शुरु भएको हो । जहाँ एक्स नेपथ्य तीन दशकपछि गुञ्जिनेछ । न्यू ईयर ईभ विशेष कार्यक्रमको दिन पुस १६ गते बेलुका एक्स नेपथ्यका रविन श्रेष्ठ र गौतम गुरुङले विशेष प्रस्तुती दिने अल टेक नेपालका सञ्चालक शेरबहादुर गुरुङले जानकारी दिए ।

सो दिन न्यू ईयर ईभ विशेषमा उज्जन शाक्य, डिमर्चा, लेकाली, देउराली व्याण्डको पनि लाईभ प्रस्तुती रहने उनले बताए । उनका अनुसार न्यू ईयर ईभ स्पेसलका रुपमा यस वर्ष कार्टुन क्रुजकी भाइरल डान्सर आस्मा विश्वकर्मा र सरोज अधिकारीले छिकिरी, छिकिरीलगायतका गीतहरुमा प्रस्तुती दिनेछन् ।

त्यस्तै, पुस १५ गते तमु समुदायको सांस्कृतिक पर्व ल्होसार विशेष कार्यक्रम हुने उनले जानकारी दिए । उनका अनुसार सो दिन ल्होसार विशेष कार्यक्रमसँगै स्वप्न सुमन, केहर एण्ड द लुङ्गा, चक्र व्याण्डलगायतको लाईभ प्रस्तुती रहनेछन् भने प्रिती आले, देउराली व्याण्डका पुराना गायक आनन्दराज बज्राचार्य, सन्तोष बस्याललगायतले प्रस्तुती दिनेछन् ।

। त्यस्तै, सो दिन दिउँसो दीवा कार्यक्रमतर्फ लोकदोहोरी गायकहरु पुरुषोत्तम न्यौपाने, जीवन दाहाल, चोलेन्द्र पौडेललगायतको प्रस्तुती रहने उनले बताए । पुस १४ गते भने अन्तरविद्यालय खुल्ला नृत्य प्रतियोगिता हुनेछ भने दिउँसोदेखि साँझसम्म ईन्टर स्कुल व्याण्ड कम्पिटिसनको उपाधि बिजेता तथा उपबिजेताहरुको सांगीतिक प्रस्तुती रहने उनले जानकारी दिए ।

पोखरा, १३ पुस ।

नेपाल परिवार नियोजन संघ कास्कीले कास्कीको मादी गाउँपालिका वडा नं १० स्थित भाचोकमा अभिमुखिकरण कार्यक्रम गरेको छ । संघले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका र आमा समूहको नेतृत्वका लागि परिवार नियोजन र यौन तथा प्रजनन् स्वास्थ्य विषयमा अभिमुखिकरण गरेको हो ।

ग्रामिण तथा दुर्गभ क्षेत्रलाई लक्षित गरी कार्यक्रम गरिएको सभापति नवीन सिग्देलले जानकारी दिनुभयो । भाचोक स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा ४० जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै भाचोक स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष नर बहादुर गुरुङले आफ्नो क्षेत्रमा कार्यक्रम ल्याइदिदा खुशी गरेको बताउनुभयो । त्यस अवसरमा भाचोक स्वास्थ्य चौकीका प्रमुख दीपक तिवारीले पनि बोल्नुभएको थियो ।

कार्यक्रममा नेपाल परिवार नियोजन संघ कास्कीका वरिष्ठ शाखा प्रवन्धक नव राज तिवारी, स्टार्फ नर्स अन्जना भण्डारीले सहजिकरण गर्नुभएको थियो ।

नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रम बरिष्ठ शाखा प्रवन्धक नव राज तिवारीले संचालन गर्नुभएको थियो ।

पोखरा, १३ पुस ।
कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी २२ औं माछापुच्छ्रे कप पोखरा ओपन तथा भेट्रान्स अन्तर्राष्ट्रिय टेनिस प्रतियोगितामा आइतबार विभिन्न समुहमा प्रतिस्पर्धा भएका छन् ।
 
आइतबार भएको मेन्स ओपनतर्फ नेहाल जंग बहादुर थापाले जेयुन किमलाई ६–०, ६–० ले, राजबिर प्रधानले सोमज श्रेष्ठलाई ६–०, ६–० ले, उगेन शेर्पाले प्रकाश गुरुङलाई ६–०, ६–३ ले, प्रितम परियारले सुरेन्द्र विकलाई ६–३, ६–४ ले, आयुषमान हजुर घलेले सन्दिप विकलाई ६–३, ६–१ ले, दर्शिल श्रेष्ठले आसव सम्राट हाडालाई ७–५, ६–१ ले, करणबहादुर थापाले निशान श्रेष्ठलाई ७–५, ६–१ ले तथा प्रदीप खड्काले विकेक मगरलाई ६–१, ६–० ले पराजित गरे ।
 
३५ वर्ष माथिको मेन्स सिंगलमा विकास खड्काले सम्दुक लामालाई ६–४, ६–० ले, पेमा नोर्गुले सिमान्त गुरुङलाई ६–४, ६–१ ले, जितेन्द्र परियारले मनोक के.श्रेष्ठलाई ६–१, ६–० ले, अनिल शाहीले सन्जय श्रेष्ठलाई ६–१, ६–२ ले, भिष्म गुरुङले दावा शेर्पालाई ६–४, ६–२ ले, सोम रानाले अनिल सेन्चुरीलाई ६–४, ६–२ ले पराजित गरेका छन् ।
४५ वर्ष माथिको एकलमा कमल भण्डारीले अमृत गुरुङलाई वाकओभरमा, देव क्षेत्रीले मानबहादुर कटुवाललाई ६–१, ६–३ ले, रोहित सुनुवारले निरज थापालाई ६–१, ६–१ ले पराजित गरे । ५५ वर्ष माथि चन्द्र शाहीले महेन्द्र थापालाई ६–२, ६–१ ले पराजित गरेका छन् । ६५ वर्ष माथिको एकलमा कमल थापाले बिदुर विष्टलाई ४–१, ४–१ को सेटमा तथा पदम गुरुङले ध्रुव गुरुङलाई ५–४, ४–१ ले पराजित गरेका छन् ।
३५ वर्षको मेन्स डबलतर्फ कुमार अधिकारी र जितेन्द्र परियारको जोडीले सञ्जय श्रेष्ठ र विकास खड्काको जोडीलाई ६–०, ६–१ ले, सिमान्त गुरुङ र अनिल शाहीको जोडीले दावा शेर्पा र गगन महर्जनको जोडीलाई ६–३, ६–२ ले पराजित गरेका छन् ।

 

 
 

पोखरा, १३ पुस ।

कविशिरोमणि जन्मजयन्तीका त्रिदिवसीय कार्यक्रम आइतबारदेखि सुरु भएका छन् । कविशिरोमणि लेखनाथ पौड्यालको १४२ औं जन्मजयन्ती त्रिदिवसीय रुपमा विभिन्न कार्यक्रमहरु सहित सम्पन्न गर्ने लक्ष्य राखिएकोमा आइतबार लेखनाथ काव्य परिचर्चा, खुल्ला कविता प्रतियोगिता तथा विद्यालयस्तरीय स्थलगत कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न भएका हुन् ।

लेखनाथ लायन्स क्लबका अघ्यक्ष लायन बोधराज लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पद्मराज ढकालले कार्यक्रममा स्वागत गर्दै लेखनाथका कविता सुनाए । प्रमुख आमन्त्रित व्यक्तित्व नेपाल सगीत तथा नाट्य प्रतिष्ठानका पूर्व कुलपति साहित्यकार सरुभक्तले कवि लेखनाथका काव्य परिचर्चा गरेका थिए । कार्यक्रममा लेखनाथका काव्यमा अद्वैत बेदान्त दर्शन शीर्षकमा विद्यावारिधी गरेका डाक्टर बोधराज ढकाल ,संस्कृत क्याम्पस पोखराका पूर्व क्याम्पस प्रमुख डाक्टर जगन्नाथ रेग्मी, साहित्यकार नारायण मरासिनी लगायतले लेखनाथका काव्यका चर्चा गरेका थिए।

त्रिदिवसीय कार्यक्रम अन्तर्गत पौष १४ गते कविशिरोमणि जन्मस्थल सरसफाइ, पौष १५ गते अर्चलेमा मूल समारोह हुनेछ । कार्यक्रमको लेखनाथ उद्योग बाणिज्य संघ ,लेखनाथ पत्रकार मञ्च ,लेखनाथ लायन्स आमा समूहहरू, युवा क्लब, बेगनास ताल बस संचालक समिति सह–आयोजक रहेका छन् ।

पोखरा, १३ पुस ।

कास्कीको पोखरा महानगरपालिका लेखनाथस्थित तालचोकमा पुस ३ गतेदेखि सञ्चालन हुँदै आएको २१ औं लेखनाथ महोत्सव अवधिभर १० करोड भन्दा बढी आर्थिक कारोबार भएको र ३ लाख १० हजार दर्शकले महोत्सव प्रत्यक्ष अवलोकन गरेका छन् । जसका कारण महोत्सव लक्ष्य भन्दा बढी सफलता भएको हो ।

महोत्सव सोमबार पुस १४ गते पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको प्रमुख आतिथ्यमा समापन हुँदैछ । ‘महोत्सवको पनि महोत्सव’ का रूपमा परिचित लेखनाथ महोत्सवले यस क्षेत्रको सामाजिक, सांस्कृतिक, आर्थिक तथा शैक्षिक विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । यस वर्षको महोत्सवमा मनोरञ्जनसँगै साहित्य, संस्कृति, कृषि, प्रविधि र शिक्षा क्षेत्रलाई समेट्ने विविध कार्यक्रमहरू सञ्चालन गरिएका थिए ।

महोत्सव अवधिभर साहित्यिक गोष्ठी, महिला विशेष कार्यक्रम, विद्यालयस्तरीय प्रतियोगिता, सांस्कृतिक कार्यक्रम, आदिवासी जनजाति विशेष कार्यक्रम, जैविक विविधता सम्बन्धी प्रदर्शनी, कृषि तथा पशुपंक्षी प्रदर्शनी, सूचना प्रविधि तथा शैक्षिक प्रदर्शनी, हस्तकला तथा स्थानीय उत्पादनहरूको प्रदर्शनी प्रमुख आकर्षणका रूपमा रहेका थिए। यसका साथै विभिन्न जातजातिका लोपोन्मुख रीतिरिवाज, चालचलन तथा सांस्कृतिक पहिचान झल्काउने उत्कृष्ट नृत्य तथा सांस्कृतिक प्रस्तुतिले दर्शकको मन जितेको थियो ।

महोत्सवमा देशभरबाट ख्यातिप्राप्त हास्यव्यङ्ग्य कलाकारहरूको दैनिक प्रस्तुति, राष्ट्रिय लोकदोहोरी गीत कार्यक्रम, लाइभ म्युजिक कन्सर्ट, बाल उद्यान तथा खाना महोत्सवले दर्शकको उल्लेखनीय सहभागिता र उत्साह बढाएको थियो। विशेषगरी स्थानीय परिकार तथा कृषि उत्पादनको प्रवद्र्धनले स्थानीय व्यवसायी र कृषकहरूलाई प्रत्यक्ष लाभ पुगेको आयोजक समितिले जनाएको छ ।

२१ औं सस्करणको लेखनाथ महोत्सवले यस क्षेत्रको पहिचानलाई राष्ट्रियस्तरमा चिनाउन सफल भएको र यस्ता महोत्सवले सामाजिक एकता, सांस्कृतिक संरक्षण र आर्थिक विकासमा टेवा पु¥याउने ,स्थानीय तहको तर्फबाट आगामी दिनमा पनि यस्ता सिर्जनात्मक तथा विकासमुखी कार्यक्रमलाई निरन्तर सहयोग हुने महोत्सवकी मूल संयोजक अध्यक्ष जानुका पराजुली अधिकारीले बताईन् ।

आयोजकका अनुसार महोत्सवले स्थानीय कला, संस्कृति र उत्पादनको प्रचार–प्रसार गर्नुका साथै पर्यटन प्रवद्र्धन, रोजगारी सिर्जना तथा आर्थिक चलायमानता बढाउन महत्वपूर्ण भूमिका खेलेको छ । महोत्सव अवधिभर लाखौ दर्शकले अवलोकन गरेको र अपेक्षाभन्दा उत्साहजनक सहभागिता देखिएको महोत्सवका संयोजक धु्रवबाबु भटट्राईको दावी रहेको छ ।

कार्यक्रममा विभिन्न संघसंस्था, कलाकार, स्वयंसेवक, प्रायोजक तथा सहयोगीलाई सम्मानसमेत गरिने आयोजक समितिले जनाएको छ । सफल आयोजनाका लागि स्थानीयबासी, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा सबै सहयोगीप्रति आयोजकले आभार व्यक्त गरेका छन् । एघौरौ दिनमा २२ हजार दर्शकले महोत्सव प्रत्यक्ष अवलोकन गरेको र आर्थिक कारोबार करिव ९० लाख रुपैयाको आर्थिक कारोवार रहेको संयोजक धुवबाबु भटट्राईले जानकारी दिए । महोत्सव अवधिभर १० करोड भन्दा बढी आर्थिक कारोबार भएको र दर्शक ३ लाख १० हजारले महोत्सव प्रत्यक्ष अवलोकन गरेका छन् ।

पोखरा, १३ पुस ।

पर्यटकीय सहर पोखरामा आज पुस १३देखि २७औँ पोखरा सडक महोत्सव सुरु भएको छ । अंग्रेजी नयाँ वर्षको स्वागतार्थ आयोजित महोत्सव पाँच दिनसम्म सञ्चालन हुनेछ । रेष्टुरेन्ट एण्ड बार एशोसिएसन नेपाल (रेवान) पोखराले वर्षेनी आयोजना गर्दै आएको पोखरा सडक महोत्सवका लागि लेकसाइड दुलही जस्तै सजाइएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले उद्घाटन समारोहमा बोल्दै पोखरा नेपालको प्रमुख पर्यटकीय गन्तव्य भएको बताए । यस्ता महोत्सवले पर्यटनसँगै स्थानीय उत्पादन र संस्कृतिको प्रचारप्रसारमा महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताए ।  पर्यटन प्रवर्द्धनका निम्ति पूर्वाधार, ऊर्जा र सेवाको निरन्तर सुधार आवश्यक रहेको उनले औँल्याए ।

कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकीका पर्यटनमन्त्री, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलगायतले पोखराबाट अन्र्तराष्ट्रिय उडान संचानल हुन नसकेको प्रति सरकारको ध्यानाकर्षण गराउँदै पहल गर्न आग्रह गरेका थिए । रेवान पोखराका निवर्तमान अध्यक्ष नरेश भट्टराईले महोत्सवको सुरक्षाका लागि आयोजक चनाखो रहेको बताउँदै यसका लागि सबै तहका सुरक्षाकर्मीहरुसंग समन्वय गरिएको बताए ।

 ‘सडकमै खाऔँ, सडकमै नाचौँ, सडकमै रमाऊँ’ भन्ने मूल नारासहित लेकसाइडको करिब तीन किलोमिटर सडकखण्डमा सञ्चालित महोत्सवमा स्वदेशी तथा विदेशी खानाका परिकार, सांस्कृतिक प्रस्तुति, लाइभ संगीत, खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रम समावेश छन् । साथै, अंग्रेजी नयाँ वर्षका अवसरमा आयोजना गरिने विभिन्न विशेष कार्यक्रम महोत्सवका आकर्षणका रूपमा रहेको रेवानका अध्यक्ष विश्वराज पौडेलले बताए । पछिल्ला संस्करणले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्दै पोखराबाट अंग्रेजी नयाँ वर्षको उत्सव मनाउने परम्परा स्थापना गरेको उनको भनाई छ ।

महोत्सव अवधिभर आन्तरिक तथा विदेशी पर्यटकको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको छ । यसले होटेल, रेस्टुरेन्ट, यातायात तथा पर्यटनसँग सम्बन्धित अरू व्यवसायमा सकारात्मक प्रभाव पार्ने आयोजकको विश्वास छ । महोत्सवमा नेपाली तथा विदेशी परिकारका खानाका स्टल, स्थानीय सांस्कृतिक प्रस्तुति, लाइभ संगीत कार्यक्रम, बोट रेस, डोरी तान्ने प्रतियोगिता, वेटर रेस तथा फोटो/भिडियो प्रदर्शनीलगायत विविध कार्यक्रम समावेश गरिएको रेवान पोखराका उपाध्यक्ष एवं महोत्सव संयोजक बसन्त गौतमले बताए । महोत्सवले पोखराको सांस्कृतिक विविधता, पर्यटन सम्भावना र स्थानीय अर्थतन्त्रलाई थप सुदृढ बनाउने विश्वास लिइएको छ ।

महोत्सवको मुख्य प्रायोजकमा गोर्खा व्रुअरी प्रालि र सह प्रायोजकमा यति डिष्ट्रिलरी, बोटलर्स नेपाल (तराई) र दि नेपाल डिष्टिलरी प्रालि रहेका छन् । प्रवद्र्धकमा नेपाल पर्यटन वोर्ड, पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार, पोखरा भ्रमण वर्ष २०२५ र पोखरा पर्यटन परिषद् रहेका छन् । त्यस्तै सिद्धार्थ बैंक लिमिटेड बैंकिङ पार्टनरमा रहेको छ । म पानी, गृहलक्ष्मी ग्याँस, अन्नपूर्ण केवल कार, रेड बुल सहयोगी संस्थामा रहेको छ ।

रेवान पोखराका महासचिव बीरेन्द्र शेरचनले कार्यक्रम सञ्चालन गरेका थिए । महोत्सवमा यस वर्ष न्यू ईयर ईभको दिन पुस १६ गते एक्स नेपथ्य, उज्जन शाक्य, डिमर्चा, लेकाली, देउराली व्याण्डको लाईभ प्रस्तुती रहने सांगीतिक उत्सव कार्यक्रम संयोजन गरिरहेको अल टेक नेपालका सञ्चालक शेरबहादुर गुरुङले जानकारी दिए ।

पोखरा, १३ पुस ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले मुलुक पूर्ण रूपमा निर्वाचनको दिशामा अघि बढिसकेको बताएका छन् । आज पोखरामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकाे आयाेजनामा आमसञ्चारलाई व्यावसायिक बनाउन यस क्षेत्रमा विकसित नविनतम अवधारणा सम्बन्धि अन्तरक्रिया तथा छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।

उनले प्रमुख राजनीतिक दलहरूबिच निर्वाचनमा जाने विषयमा उच्चस्तरीय सहमति भइसकेको दाबी गरे । उनले नयाँ अनि सुनौलो बिहानीसङै मुलुक निर्वाचनमय भएको बताउदै अब कोही पनि पछि हट्ने अवस्था नरहेको बताए ।

सरकारको प्रवक्ता समेत रहेका मन्त्री खरेलले राजनीतिक दलहरू समानुपातिक बन्द सूची तयार गर्न र गठबन्धन निर्माणमा जुटिसकेको बताए । फागुन २१ गतेपछि मुलुकको राजनीतिमा नयाँ आयाम र मानक स्थापित हुने दाबी गर्दै उनले निर्वाचनमार्फत आउने नयाँ नेतृत्वले देशलाई विकास, समृद्धि र सुशासनको बाटोमा लैजाने विश्वास व्यक्त गरे ।

फरक विषयमा उनले सञ्चार क्षेत्रको रूपान्तरण अपरिहार्य भएको बताए । उनले युट्युब, अनलाइन न्युज पोर्टल र डिजिटल मिडियाहरू नै अबको देशको नयाँ मूलधारको मिडिया भएको बताएका छन् । नेपालमा आवश्यक्ता भन्दा बढी सञ्चारमाध्यम खुलेको र सञ्चालनमा असहज अवस्था बनेको पनि उनले सुनाए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।